नेपाली आख्यानमा माया ठकुरी एक सुपरिचित नाम हो । कविता विधाबाट नेपाली साहित्य लेखनतर्फ उन्मुख भएकी माया ठकुरीको जन्म लखनउमा जुलाई २, १९४६ मा भएको हो ।
माया ठकुरीको पहिलो कविता उनलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई घृणा गर्ने पत्रमा आधारित थियो । ठकुरीले कुनै औपचारिक शिक्षा नपाए पनि आफ्नै स्वअध्ययनबाट ज्ञान हासिल गरेकी हुन् । वि.सं.२०२१ सालदेखि निरन्तर कथा लेखनमा सक्रिय ठकुरीका यो चार दशक लामो सेवाकाल अर्थपूर्ण र सफल भएको छ । आफ्नै प्रयत्न र परिश्रमले उनलाई सफल कथाकारमा स्थापित गराएको छ । आफ्नो सङ्घर्षमय जीवन र त्यसबाट प्राप्त उपलब्धिलाई लेखनको विषय बनाउँदै आफ्नो लेखन यात्रालाई अगाडि बढाएकी छन् । वञ्चित भएका कुराहरूलाई आफूजस्ता धेरै महिलाहरूबाट प्राप्त गर्न संघर्ष गरेकी छन् । उनका साहित्यमा क्रान्तिकारी अवधारणाहरू प्रशस्त मात्रामा पाइन्छ ।
उनका नेपालीमा ७ वटा र अङ्ग्रेजीमा १ वटा पुस्तक प्रकाशन भएका छन् । कथासङ्ग्रहहरूमा नजुरको जोडी (२०३०), गमलाको फूल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू ( २०४८), आमा जानुहोस् (२०६४) र प्रियंवदा (२०६९) प्रकाशित छन् भने इन्द्रधनुष गीतसङ्ग्रह तथा अङ्ग्रेजी कृति स्वीट स्पोकन आदि हुन् । सामाजिक मनोविज्ञानलाई विषयवस्तु बनाएर लेखिएका उनका कथाहरू अंग्रेजी, हिन्दी, बंगाली, तमिलमा पनि अनुवाद गरिएका छन् । भारत र नेपालका विभिन्न विश्वविद्यालयहरूमा पाठ्यक्रममा राखिएका छन् ।
माया ठकुरी मूलतः सामाजिक यथार्थवादी कथाकार हुन् । नेपाली नारीले भोग्नुपरेका दुःख दर्द र पीडाहरूको गम्भीर अध्ययन गरी समाजलाई रूपान्तरण गर्दै अगाडि बढ्नु उनको कथाकारिताको मूल उद्देश्य हो । उनका कथाका तथ्य, शिल्प र प्रस्तुतिमा आफ्नै विशेषता छन् । ‘माया ठकुरीको कथाहरू’ भित्र जीवन छ, सामाजिक परिवेश र पारिवारिक अवस्थाको यथार्थ छ । तर यसमा यात्रामा अमानवीय संस्कार र ममताशून्य स्वार्थलाई परिवेशको रूपमा अङ्कित गरेर नियति जस्तै लाग्ने विवशता जुन दुःखद करुणा बिम्बित छ त्यसले मर्मलाई स्पर्श गरेरै छाड्छ । ‘माया ठकुरीको कथाहरू’ सङ्ग्रहभित्र १७ वटा कथा समाविष्ट छ ।
‘माया ठकुरीका कथाहरू’ नेपाली पृष्ठभूमिमा आधारित छन् र ग्रामीण समाज र त्यहाँका जीवन नै यसमा धेरैजसो अङ्गीकृत छन् । फेरि पनि कथामा जुन यथार्थले ठाउँ पाएका छन् यो नेपाली मात्रको भिन्न छैन । यस सङ्ग्रहभित्र माया ठकुरीका प्रायः सबै नै कथाहरू परिष्कृत, परिमार्जित भएर हृदयस्पर्शी हुन सकेका छन् ।
यस सङ्ग्रहको पहिलो कथा ‘पचास वर्षपछि’ उनको उत्कृष्ट कथा हो । यस कथामा देशप्रेमको भाव अत्यन्त टड्कारो रूपमा अभिव्यक्त भएको छ । आजीविकाका लागि लामो समय परदेश गुजारेका टेकबहादुर आफ्ना छोरासहित पचास वर्षपछि आफ्नो गाउँ रूकुमकोटको यात्रा प्रसङ्गले पश्चिमी नेपालको परिवेशको चित्रण भएको छ । यस कथामा आएका टेकबहादुर, धनवीरे, महेश्वरी, टङ्कप्रसाद, बिस्ने, विनोद, शोभा, चन्द्रमणिहरू, कलावती, माधुरी र कुन्ताहरूले समेत आफ्ना कथाव्यथा प्रस्तुत गरेका छन् ।
यस कथासङ्ग्रहमा उपस्थित पात्रपात्रा सबका सबले पाठकहरूसँग संवाद गरेजस्तै अनुभूति हुन्छ अनि ति प्रत्यक्ष उपस्थित भएर आआफ्ना चरित्रको छाप छोड्नेछन् –पाठकका हृदयमा र मस्तिष्कमा ।
सामाजिक यथार्थलाई टपक्क टिपेर ‘कविको छोरा’, ‘पासो’ जस्ता कथाद्वारा उनी मानवीय संवेदना, पीडाका कोमलतम अनुभूतिलाई प्रस्तुत गर्दछिन् । त्यसैले खाटा बसिसकेको घाउलाई कोट्याएर होइन, हल्का स्पर्श दिएर संवेदना सञ्चारित गर्दा आँसु टलपलिन्छ ।
उनको ‘कुन्ता’, ‘बन्द गर ! यो स्वर’, ‘कहाँ जाने दाइ’ जस्ता कथामा विगतका पीडा अनुभूत हुन्छ । नारी पीडाका जिन्दगी, नारी समस्या र तिनका कोमल वृत्तिको चित्रण यी कथाले गरेका छन् । कथाभित्र आफैं उभिएर हेरेजस्तो, देखेजस्तै भएर एक प्रकारको सहानुभूति र करुणाको सिर्जना कथाको पात्रद्वारा बनाइदिन्छ । सामाजिक र पारिवारिक परिवेशमा समेटिएका ‘माया ठकुरीका कथाहरू’मा रहेका पात्रका अन्तर्मनको संवेदनशील कथा र व्यथा हाम्रो सामाजिक अवस्थाको चित्रण पनि हो । कथाकार ठकुरी त्यस पीडाबाट हामीलाई मुक्त गरेर संस्कारयुक्त जीवन जिउन सिकाउँछिन् । उनका विचारमा संस्कार र संस्कृति बेगरको मानव जीवनले सार्थक गति प्राप्त गर्न सक्दैन । नारी अस्मिता जोगाउन र सामाजिक आदर्श बचाउन कथा लेख्छिन्, कल्पनालाई भन्दा यथार्थलाई बढी मन पराउँछिन् ।
सामाजिक घटना आरोह र अवरोहका क्रममा सर्वप्रथम प्रत्यक्ष रूपले प्रभावित हुने हुनाले ठकुरीका प्रत्येक कथामा घरघरका कथा व्यथा एवम् मानव जीवनका संवेदनाहरू छरपस्ट भएर रहेका पाइन्छन् । उनका कथामा सामाजिक सुसेलीका स्वरहरू मुखरित भएर रहेका हुन्छन् । उनका कथामा मेरो, उनको र सबैको पीडा, वेदना र छटपटीको चित्रण पाइन्छ ।
कथामा नवीनता, प्रयोगशीलता, प्रतीकात्मकता, सङ्क्षिप्तता, मार्मिकता, बौद्धिकता र अस्तित्ववादी चिन्तन नै माया ठकुरीका कथात्मक विशेषताहरू हुन् । उनका कथाले मानव जीवनका असजिला पक्ष, अभाव, नैराश्य, पीडा, द्वन्द्व, विकृति, विसङ्गतिजस्ता कुरालाई केलाएर जीवनमा शुद्धता, सम्पूर्णता, सहजता, स्पष्टता, उदारता आदि थपिदिने प्रयत्न गरेकी छन् । जीवनमा नैराश्यता र अकर्मण्यता रहनु हुँदैन भन्ने उनको वैचारिकता रहेको छ यो हिसाबले कथाकार ठकुरी समाज बुझेकी कथाकार मान्न सकिन्छ ।
उनका कथामा अन्तर्मनको विश्लेषण पनि छ । व्यक्तिका मनको पीडा बुझ्नु र समाजको व्यथालाई शल्यक्रियाद्वारा निर्मल गर्ने प्रयत्न गर्नु उनको लेखनीको विशेषता हो । मानव सभ्यता र मानव संस्कृतिको विकासमा नारी जातिको अहम् भूमिका रहने कुरालाई आत्मसात् गर्दै अगाडि बढेका कथा प्रायः सबै नै अस्तित्ववादी छन् । पात्र र परिवेश अस्तित्वको भोगाइ र जोगाइमा रहेको पाइन्छ । नारी पात्रहरू पुरुषको थिचोमिचो सहेर रहन सक्दैनन् । पात्रहरू पलायन हुनबाट समेत जोगिएका छन् ।
माया ठकुरी मूलतः सामाजिक यथार्थवादी प्रवृत्ति र परम्पराका आधारमा रमाएर कथा लेख्ने कथाकार भएकीले सामाजिक परिवर्तनको तीव्र चाहनाका साथ उद्देश्यमूलक कथा संरचना गर्नु र समाजबाट विकृति र विसङ्गति झल्काउँदै त्यसको परिवर्तनको उद्देश्य राख्नु कथाकार ठकुरीको कथाशिल्प हो । पुराना र थोत्रा मूल्यमान्यताप्रति अनास्था प्रकट गर्दै नयाँ नयाँ सम्भावनाको खोज गर्न उनी सिपालु छिन् । हिन्दु दर्शनका आदर्श गुण सहिष्णुता, धैर्य, परोपकार, उदारता, शिष्टता र विनम्रतालाई आत्मसात् गर्दै कथाको माध्यमबाट आधुनिक नेपाली कथालाई गतिशील यात्रा दिन सफल देखिन्छिन् ।
माया ठकुरीका कथामा सरलता, स्पष्टता, संवेदनशीलता, रोचकता, मनमोहकता, परिवर्तनशीलताजस्ता कुराका अतिरिक्त बौद्धिक चिन्तन परिमार्जित शैली, मनोगत अध्ययन, मानव अस्मिताको संरक्षण एवं जीवन र जगत्को व्यापक अध्ययनजस्ता कुराहरूले समेत व्यापकता पाएका छन् । उनका कथामा काल्पनिकता र सस्तो भावुकता भने पाइँदैन ।
माया ठकुरी एक सफल आख्यानकार हुन् । प्रवासमा जन्मिएर नेपाली साहित्यको अनवरत सेवामा खटिरहने ठकुरीका आधा दर्जन भन्दा बढी आख्यानका कृति प्रकाशित छन् । सामाजिक विषयवस्तुलाई कथाका माध्यमबाट प्रस्तुत गर्दै त्यसको सुधार गर्नु उनका कथाका अभिष्ट हुन । नेपाली ग्रामीण समाजको दैनिक घटना र परिवारको अवस्थाका केन्द्रित विषयवस्तु भएका उनका कथाले कथा साहित्यमा इँटा थप्ने काम गरेको छ । माया ठकुरीका कथाहरूमा मानिसका मर्महरू छोइएर उनले आफैले आफ्ना संवेदनाहरूले सिञ्चित गरेकी हुँदा नै करुणा र प्रेमको सृष्टि गर्न सकेकी छन् ।
कथाकार माया ठकुरीका राष्ट्रिय स्वाभिमान, देशभक्ति, जातीय प्रेम, मानव प्रेम र नारी अस्मिताजस्ता विषय समेटिएका उत्कृष्टको सङ्ग्रह ‘माया ठकुरीका कथाहरू’ वि.सं.२०४८ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएकोहो ।
भानु प्रकाशनले माया ठकुरीका कथाहरूको यो दोस्रो संस्करण प्रकाशन गरेका हो भने यसै गरी स्वदेश प्रकाशन प्रा.ली.ले वि.सं. २०८० यस कृतिलाई परिमार्जन एवम् सम्पादन गरी तेस्रो संस्करण पुनः प्रकाशन गरेको छ । १६४ पृष्ठमा संरचित यस पुस्तकको मूल्य रु.४०० रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१८ माघ २०८२, आईतवार 









