केही कुराको सोधखोज गरौँ, ज्ञान प्राप्त गरौँ र त्यसको प्रयोगबाट केही नयाँ आविष्कार वा तत्त्वको अन्वेषण गरी समाज विकासमा उल्लेख्य योगदान गर्न सकौँ भन्ने मानव मात्रको इच्छा हो, यही इच्छा पूरा होस् भन्ने ध्येयले निरन्तर मनन गर्ने भएकाले नै मानवलाई मननशील मनुष्य हुँदै मानिस भन्न थालिएको हो ।
यही आफूमा रहेको मननशील/शोधशील स्वभावकै कारण मानिस ढुङ्गे युगको अविकसित अवस्थाबाट अघि बढ्दै अहिले अन्तरिक्षसम्मको यात्रा गर्न सफल भइसकेको छ । प्रारम्भिक समयमा नयाँ कुराको सोधखोजका लागि अनुमान, उपमान, अनुभव र कल्पनालाई आधार बनाउने गरिएकामा अहिले यसका लागि वैज्ञानिक अनुसन्धान पद्धतिको विकास भइसकेको छ ।
अनुसन्धान पद्धतिको विकास भइसकेपछि पनि यसलाई अद्यावधिक बनाउने कार्यमा धेरै विद्वान् अनुसन्धाताहरूले निकै समय खर्चिसकेका छन् । भर्खरै अनुसन्धान विमर्श, नेपालद्वारा प्रकाशित अनुसन्धान पद्धति : सिद्धान्त र प्रयोग शीर्षकको पुस्तक पनि अनुसन्धान पद्धतिलाई अद्यावधिक बनाउने उद्देश्यले तयार पारिएको उल्लेख्य कृति हो ।
यो कृति त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापनरत डा. दुर्गाबहादुर घर्तीको शोधशील स्वभाव, तदनुरूपको शोधसाधना र सैयौँ शोधार्थीलाई शोधनिर्देशन गर्दा आर्जन गरेको अनुभवको उपज हो । यस पुस्तकमा डा. घर्तीले भनेझैँ अनुसन्धान पद्धतिले व्यवस्थित रूपमा अनुसन्धान गर्नका लागि बाटो देखाउँछ । विशिष्ट योजनाको निर्माण, शोधसामग्रीको सङ्कलन र विश्लेषणको विधि तथा अभिलेखीकरण अनुसन्धान पद्धतिका प्रमुख पक्ष हुन् ।
ती कुराको ज्ञानका अभावमा अनुसन्धानको दिशा पहिल्याउन र समस्याको समाधान गर्न कठिन हुन्छ । अनुसन्धान पद्धतिको प्रयोगबिनाको निष्कर्ष विश्वसनीय हुन सक्तैन र त्यसले वैधता पनि प्राप्त गर्न सक्तैन । अनुसन्धानका अभावमा कुनै व्यक्तिको विश्वास, मान्यता वा धारणा वैयक्तिक, पूर्वाग्रही एवम् आत्मगत हुन सक्छ । यो जुनसुकै ज्ञानका क्षेत्रमा पनि लागु हुने कुरा हो । यसर्थ हरेक विषयमा विभिन्न आधारमा अनुसन्धान गर्न सकिन्छ । त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउन अनुसन्धान पद्धतिको ज्ञान आवश्यक पर्छ (पृ.१) ।
यही उद्देश्यले प्रस्तुत पुस्तकमा लेखकले अनुसन्धान पद्धतिको सैद्धान्तिक पक्षका बारेमा गहन विमर्श र विश्लेषण गरी प्राप्त भएको निष्कर्ष प्रस्तुत गर्नुका साथै निष्कर्षले निर्देश गरेबमोजिम प्रायोगिक नमुनासमेत दिएर अनुसन्धान पद्धतिका बारेमा सरल र सहज किसिमले जान्न चाहने सबै किसिमका पाठकलाई अत्यन्तै उपयोगी सामग्री दिएका छन् ।
डा. घर्तीले भनेझैँ मानजाति जिज्ञासु स्वभावको प्राणी भएकाले सभ्यताको आदि कालदेखि नै उसले आफ्नो ज्ञान, क्षमता र धारणाका आधारमा आफ्नो जिज्ञासाको समाधान खोज्ने प्रयास गर्दै आएको छ । यही जिज्ञासाको समाधान खोज्ने प्रयास नै अहिलेको अनुसन्धान शब्दले वहन गरेको अर्थ हो (पृ.७) ।
वस्तुतः जिज्ञासा भनेको वैचारिक वा तत्त्वगत सत्यबारे जान्ने इच्छा हो । जान्ने इच्छा भन्ने बित्तिकै जान्ने व्यक्ति, जानिने तत्त्व/विचार, जान्ने माध्यम, जानिसकेपछि प्राप्त भएको ज्ञान यी चार कुरा आउँदछन् । यसैलाई पूर्वीय दर्शनले प्रमाता, प्रमेय, प्रमाण र प्रमाका माध्यमबाट स्पष्ट पारेको छ । प्रमाता भनेको ज्ञाता अर्थात् जान्ने व्यक्ति हो भने प्रमेय भनेको जानिने अर्थात् ज्ञेय तत्त्व/विचार हो । प्रमाताले प्रमेय (सत्य) को ज्ञानका लागि निश्चित माध्यमको अनुसरण गर्छ । त्यो माध्यम भनेको प्रमाण हो । यसबाट प्राप्त हुने ज्ञान चाहिँ प्रमा हो ।
यसर्थ प्रमाताले प्रमाणका माध्यमबाट प्रमेयको ज्ञान गर्नु नै सत्यको ज्ञान गर्नु हो भन्ने बुझिन्छ । अनुसन्धानका सन्दर्भमा भन्दा अनुसन्धाता/शोधार्थी प्रमाता हो भने अनुसन्धेय/शोध्य विषय (तत्त्व वा विचार) चाहिँ प्रमेय हो । यस्तै अनुसन्धान विधि प्रमाण हो भने त्यसबाट प्राप्त हुने निष्कर्ष/ज्ञान प्रमा हो । यस अर्थमा ज्ञान दुई किसिमको देखिन्छ : साधन ज्ञान र साध्य ज्ञान ।
अनुसन्धानका सन्दर्भमा भन्दा अनुसन्धान पद्धति साधन ज्ञान हो भने अनुसन्धानबाट प्राप्त हुने निष्कर्ष साध्य ज्ञान हो । साध्य ज्ञान भनेको सत्यको ज्ञान पनि हो । यसर्थ अनुसन्धान भनेको सत्यअन्वेषण र ज्ञानप्राप्तिको विशिष्ट प्रक्रिया हो भने सत्यबारे जान्ने इच्छा नै अनुसन्धानको समस्या हो । अनुसन्धान समस्याकै समाधान गर्ने क्रममा नवीनतम सिद्धान्तको निर्माण, पूर्ववर्ती सिद्धान्तको पुनर्व्याख्या, खण्डन, समन्वय, तुलनाबाट व्यावहारिक सत्यका साथै प्रकृतिमा रहेका अक्सिजन, हाइड्रोजन, रेडियम, फोस्फोरस, क्याल्सियम, कार्बन लगायतका अनेकाैँ तत्त्वको ज्ञान हुन्छ र भएको पनि छ ।
अहिलेका अधिकांश अनुसन्धान यिनै विषयमा केन्द्रित छन् । यसभन्दा अघि बढ्न चाहनेले अनुसन्धानबाटै पारमार्थिक सत्यको ज्ञान पनि गर्न सक्छ । अध्यात्मवादीले गरेको ब्रह्मको खोजी र वैज्ञानिकहरूले गरेको क्वान्टमको खोजी यही पारमार्थिक सत्यको खोजीको यात्रा हो । लेखकले यस पुस्तकमा पनि निश्चित समस्याको समाधानका लागि वैज्ञानिक ढङ्गमा गरिने गहन र वस्तुगत अध्ययनलाई अनुसन्धान भनेका छन् । वैज्ञानिक ढङ्गमा गरिने गहन र वस्तुगत अध्ययनबाट नै सत्यको अन्वेषण र ज्ञानको प्राप्ति हुने भएकाले अनुसन्धानलाई सत्यान्वेषण र ज्ञानार्जनको विशिष्ट प्रक्रियाका रूपमा लिइएको हो ।
वेदान्त दर्शनले सत्यलाई सत्ताका रूपमा अर्थ्याएको छ । वेदान्त दर्शनका अनुसार सत्ता तीन प्रकार छन् : प्रातिभासिक सत्ता, व्यावहारिक सत्ता र पारमार्थिक सत्ता । डोरीमा देखिएको सर्प र चर्को घाम लाग्दा बालुवाका टल्कने कणमा देखिएको पानी प्रातिभासिक सत्य हुन् । प्रातिभासिक सत्य भनेको वस्तुतः सत्य होइन, यो केवल सत्यको आभास मात्र हो ।
प्रातिभासिक सत्ताले क्षणिक रूपमै भए पनि आफ्नो कार्य गर्ने भएकाले यसलाई सत्य मान्नुपरेको हो । डोरीमा देखिएको सर्पबाट तर्सेर लडेको मान्छेको मृत्यु भएको घटना श्रुतिपथमा आएको छ । यस्तै जङ्गलको मृगले मरुभूमिको चर्को घाममा टल्केको बालुवाको कणलाई पानी देखेर त्यहाँ पुग्दा पानी नभेटाएपछि तिर्खाले झन् व्याकुल भई मृत्युवरण गरेको घटनाको अभिलेखीकरणका सन्दर्भमा ‘मृगतृष्णा’ शब्द बनेको हो ।
यसर्थ अनुसन्धानको उद्देश्य भनेको प्रातिभासिक सत्ता अर्थात् भ्रमको निराकरण गरी व्यावहारिक सत्ता र पारमार्थिक सत्ताको ज्ञान गर्नु हो । वेदान्त दर्शनका अनुसार व्यावहारिक सत्ता भनेको जीवनजगत्को वैचारिक वा तत्त्वगत यथार्थता हो भने पारमार्थिक सत्ता भनेको ब्रह्म हो । वाङ्मयका विभिन्न विधामा भएका अनुसन्धानबाट प्राप्त वैचारिक सत्य र अक्सिजन, हाइड्रोजन, रेडियम, फोस्फोरस, क्याल्सियम, कार्बन आदि तत्त्वगत सत्यको ज्ञान पनि अनुसन्धानकै कारण सम्भव भएको हो । वाङ्मयका विभिन्न विधाबाट उपलब्ध सत्य व्यावहारिक सत्य हुन् ।
अहिले अनुसन्धानका क्षेत्रमा व्यवहारमा सत्य एउटै हुन्छ र त्यो वस्तुगत र मापनयोग्य हुन्छ भन्ने एउटा मान्यता स्थापित छ भने सत्य एउटै हुँदैन, यो त मानिसका विचार, बुझाइ र सामाजिक परिवेशअनुसार फरक फरक हुन्छ र ज्ञानको निर्माण विषयगत हुन्छ भन्ने अर्को मान्यता छ ।
यस आधारमा अनुसन्धानलाई परिमाणात्मक र गुणात्मक गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । सत्य एउटै हुन्छ र त्यो मापनयोग्य हुन्छ भन्ने मान्यता राख्ने अनुसन्धान परिमाणात्मक अनुसन्धान हो भने मानिसका विचार, बुझाइ र सामाजिक परिवेशअनुसार सत्य फरक फरक हुन्छ र ज्ञानको निर्माण विषयगत हुन्छ भन्ने मान्यता राख्ने अनुसन्धान गुणात्मक अनुसन्धान हो । कतिपय अनुसन्धानमा यी दुवै कुराको मिश्रण हुन्छ । यस्तो अनुसन्धानलाई चाहिँ मिश्रित अनुसन्धान भनिएको छ । प्रस्तुत कृतिका लेखकले पनि यी तीनै किसिमका अनुसन्धानको विस्तृत व्याख्या गरेका छन् ।
लेखकले भनेझैँ गुणात्मक अनुसन्धान सङ्ख्यामा नभएर शब्दमा आधारित हुन्छ । यसमा तर्क, व्याख्या, विश्लेषण, तुलना आदिबाट निष्कर्ष प्राप्त हुने भएकाले यो खुलाअन्त्य किसिमको हुन्छ । सामाजिक शास्त्रका अनुसन्धान प्रायः गुणात्मक प्रकृतिका हुन्छन् (पृ.१३) । यसैले साहित्य, भाषा र लोकसाहित्यमा गरिने अधिकांश अनुसन्धान गुणात्मक प्रकृतिका हुन्छन् । यस्तै सङ्ख्यामा आधारित हुने अनुसन्धान परिमाणात्मक अनुसन्धान हो । यसमा चरको मापन गरिन्छ । गणना, तौल, नाप, भराइ, आदिबाट प्राप्त हुने परिणामको अध्ययन यस अनुसन्धानमा गरिन्छ । निश्चित उत्तरको खोजीका लागि यसप्रकारको अनुसन्धान गरिने भएकाले यो बन्दअन्त्य प्रकारको हुन्छ (पृ.१३) ।
प्राकृतिक विज्ञानका क्षेत्रमा गरिने अनुसन्धान प्रायः परिमाणात्मक प्रकृतिका हुन्छन् । यसरी साहित्य, भाषा, लोकसाहित्य र प्राकृतिक विज्ञानलगायतका अनुसन्धान व्यावहारिक सत्ताकै अन्वेषणमा केन्द्रित छन् ।
वेदान्त दर्शनले ब्रह्मलाई पारमार्थिक सत्य मानेको छ । निर्गुण, निराकार र असीमित ऊर्जापुञ्जका रूपमा रहेको ब्रह्मबाटै जीवनजगत्को सृष्टि हुने भएकाले र अन्त्यमा ब्रह्ममा नै विलीन हुने भएकाले ब्रह्मलाई पारमार्थिक सत्य मानिएको हो ।
असीमित ऊर्जापुञ्ज भनेको अदृश्य उपपरमाणुका रूपमा रहेका सत्, चित् र आनन्दको एकीकृत रूप
हो । यसैले ब्रह्मलाई ‘सच्चिदानन्दरूप’ नाम दिइएको छ । उपपरमाणुका रूपमा रहेको सत् भनेको भौतिक सत्यको पारमार्थिक रूप हो भने चित् र आनन्द चाहिँ वैचारिक सत्यका पारमार्थिक रूप हुन् । अहिले वैज्ञानिकहरूले पनि सिङ्गुलारिटीमा रहेका क्वान्टम (अदृश्य उपपरमाणु) पुञ्जबाट जीवनजगत्को सृष्टि हुने र प्रलयकालमा दृश्यमान स्थूल जीवनजगत् पुनः क्वान्टम पुञ्जमै परिणत हुने भएकाले क्वान्टम पुञ्जलाई पारमार्थिक सत्यका रूपमा लिएका छन् । यसर्थ अनुसन्धानको लक्ष्य पनि व्यावहारिक र पारमार्थिक सत्य र साध्य ज्ञानको खोजी नै हो । अहिलेको अनुसन्धानले पनि सत्यको खोजी (ontology) र ज्ञानको खोजी (epistemology) लाई मुख्य लक्ष्य बनाएको छ । लेखकले प्रस्तुत पुस्तकमा पनि तत्त्वमीमांसा (metaphysics) र ज्ञानमीमांसाको व्याख्याका क्रममा यही तथ्यलाई स्पष्ट पारेका छन् ।
तत्त्वमीमांसालाई पछिल्लो समयमा सत्तामीमांसा भनिएको छ । निर्धारित विधि (method) र तर्क (logic) का आधारमा निश्चित नियमको परिधिमा रही खोजी गर्दा सत्य र ज्ञान सहज रूपमा उपलब्ध हुन्छन् र यस प्रक्रियाबाट प्राप्त भएको निष्कर्ष नै मूल्यको सिद्धान्त (axiology) मा आधारित अर्थात् वैध र विश्वसनीय हुन्छ भन्ने अहिलेको अनुसन्धान पद्धतिले दिएको निष्कर्ष हो । लेखकले प्रस्तुत पुस्तकमा यिनै दार्शनिक आधारमा केन्द्रित भई अनुसन्धान पद्धतिको व्याख्याका साथै प्रायोगिक नमुनासमेत प्रस्तुत गरेका छन् । एउटै अनुसन्धान कृतिको गहिरिएर अध्ययन गर्न निकै गाह्रो हुन्छ तर डा. घर्तीले अनुसन्धानका दर्जनौँ पुस्तकको गहन अध्ययन गरी तिनमा प्रस्तुत विचारको तार्किक विश्लेषण र तुलना गरी निष्कर्ष प्रस्तुत गरेका छन् । यसरी असाधारण बौद्धिक व्यायाम गरेकाले नै लेखक अनुसन्धान पद्धतिको सिद्धान्त र प्रयोगका क्षेत्रमा निकै गहकिलो, प्रामाणिक र उपयोगी पुस्तक दिन सफल भएका छन् ।
अनुसन्धान पद्धतिले निर्देश गरेअनुसार सत्य र ज्ञानको खोजीका लागि गरिने पहिलो कार्य भनेको विषय/क्षेत्र चयन हो । अनुसन्धाताले पहिले कुन क्षेत्रको कुन विषय र शीर्षकमा शोध गर्ने भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । यसपछिको कार्य भनेको कार्ययोजना वा शोधप्रस्ताव तयार पार्नु हो । अनुसन्धान के बारेमा हो, अनुसन्धान किन गरिँदै छ, कहाँ गरिने छ, कुन प्रकारका सामग्री आवश्यक पर्ने छ, आवश्यक सामग्री कहाँ पाउन सकिन्छ, अनुसन्धानका लागि कति समयावधि लाग्ने छ, नमुना प्रारूप के हुने छ ? सामग्री सङ्कलनका लागि कुन कुन प्रविधिको उपयोग गरिने छ ? सामग्री विश्लेषण कसरी गरिने छ, प्रतिवेदन कुन शैलीमा तयार पारिने छ ? भन्ने प्रश्नका आधारमा तयार पारिएको अनुसन्धानको प्रारूप नै अनुसन्धानको प्रस्ताव हो । यसैले अनुसन्धान प्रस्तावअन्तर्गत शीर्षकचयन, विषयपरिचय, शोधसमस्या, शोधको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधअन्तराल, शोधको औचित्य, शोधको सीमाङ्कन, शोधविधि र शोधप्रबन्धको रूपरेखा समाविष्ट हुन्छन् ।
लेखकले यस पुस्तकमा पनि अनुसन्धान प्रस्तावका यी सबै अङ्गको सैद्धान्तिक परिचय दिई तिनका नमुनासमेत प्रस्तुत गरेका छन् । पुस्तकको अन्तिम खण्डमा अनुसन्धान प्रतिवेदनको संरचनागत सङ्गठनको सैद्धान्तिक चर्चाका साथै त्यसअन्तर्गत आउने विभिन्न संरचकका नमुनासमेत दिइएका छन् । अनुसन्धान प्रतिवेदनमा पूर्व भाग, मूल भाग र अन्त्य भागमा समावेश गरिने घटक, यसमा प्रयोग गर्न नहुने शब्द, प्रतिवेदन लेखनमा टङ्कनको अक्षर आकृति, टङ्कनमा अन्तराल, सङ्ख्यावाची अङ्क र शब्दको प्रयोग, तालिका तथा आकृति, पाठमा उद्धरण गर्ने प्रक्रिया, पाठ र सन्दर्भसामग्रीबिच सामञ्जस्य, साहित्यिक चोरीको दुष्परिणाम, सन्दर्भ सामग्री सूचीको ढाँचा र क्रमका बारेमा पनि सोदाहरण विमर्श गरेका छन् ।
प्रतिवेदनमा प्रयोग हुने भाषा त्रुटिरहित होस् भन्ने उद्देश्यले आवश्यक व्याकरणिक नियम र चिह्नप्रयोगको समेत चर्चा गरेका छन् । यसरी अनुसन्धान पद्धतिको सैद्धान्तिक परिचय दिनु र उक्त सैद्धान्तिक आधारले निर्देश गरेअनुसार अनुसन्धानका प्रयोगपक्षसँग सम्बद्ध विविध नमुनासमेत प्रस्तुत गर्नु यस कृतिको उल्लेख्य वैशिष्ट्य हो ।
अनुसन्धान पद्धति (methodology) र विधि (method) को गहन विमर्शका साथै यिनका बिचको अन्तरको निर्क्योल गर्नु यस कृतिको अर्को उल्लेख्य पक्ष हो । अनुसन्धान पद्धति र विधिलाई समान अर्थमा अर्थ्याउने गरिएको पाइए पनि यी दुवै भिन्न हुन् । अनुसन्धान पद्धतिले विषयचयन, सैद्धान्तिक आधारको निर्धारण, सामग्री सङ्कलन र विश्लेषणको विधिलगायत अनुसन्धानसँग सम्बद्ध समग्र प्रक्रियालाई बुझाउँदछ भने अनुसन्धान विधिले चाहिँ सामग्री सङ्कलन र विश्लेषणको तरिकालाई मात्र सङ्केत गर्दछ । प्रस्तुत पुस्तकमा यी दुवै पक्षको सैद्धान्तिक चर्चाका साथै यिनका बिचको अन्तरको निर्क्योल गरी नमुनासमेत प्रस्तुत गरिएको छ ।
अनुसन्धानको सैद्धान्तिक (theoretical) र अवधारणात्मक ढाँचा (conceptual framework) को गहन विश्लेषण गरी यिनका बिचको अन्तरलाई स्पष्ट पार्नु यस पुस्तकको अर्को उल्लेख्य वैशिष्ट्य हो । अनुसन्धानको सैद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचालाई वैकल्पिक रूपमा प्रयोग गरिएको पाइए पनि यिनमा भिन्नता छ र यस कृतिमा यिनका बिचको भिन्नताको निरूपण पनि गरिएको छ । लेखकका अनुसार सैद्धान्तिक ढाँचा पूर्वस्थापित सिद्धान्त नै हो । शोधमा पूर्वस्थापित सिद्धान्तलाई यथावत् रूपमा प्रयोग गर्न सकिँदैन ।
जस्तो- मनोविश्लेषणात्मक सिद्धान्त लिने हो भने फ्रायड, एडलर, युङ्ग र लकाँ आदिका सबै मान्यता र प्रगतिवादी सिद्धान्त लिँदा मार्क्स, एङ्गेल्स आदिका सबै मान्यता शोधमा यथावत् राख्न सकिँदैन । आवश्यकताअनुसार तिनको ग्रहण गरिन्छ (पृ.२१) । यसैले पूर्वस्थापित सिद्धान्तका आवश्यक मान्यताको ग्रहण गरी र तिनमा आवश्यक कुरा थपी प्रयोगयोग्य बनाइएको रूपलाई अवधारणात्मक ढाँचा भनिन्छ । यसैले अवधारणात्मक ढाँचा सैद्धान्तिक ढाँचा भन्दा बढी विशिष्ट हुन्छ । वस्तुतः अनुसन्धानमा अवधारणात्मक ढाँचाको प्रयोग गर्नु निकै उपयोगी हुने देखिन्छ । समाजविशेषमा र समयविशेषमा प्रतिपादन गरिएका सिद्धान्तका आधारमा सबै किसिमका सामग्रीको विश्लेषण सम्भव हुँदैन । त्यसैले त्यस्ता सिद्धान्तलाई केवल आधारका रूपमा लिएर अवधारणात्मक ढाँचाको निर्माण गर्नुपर्ने हुन्छ ।
लेखकले प्रस्तुत पुस्तकमा यस बारेमा विशद विमर्श गरेका छन् । यस्तै प्रस्तुत पुस्तकमा पूर्वीय र पाश्चात्य क्षेत्रका दर्शनका मान्यताको तुलनात्मक विश्लेषण गरी प्राप्त निष्कर्षका आधारमा अनुसन्धान दर्शनको वैशिष्ट्य प्रस्तुत गरेका छन् । यसैले अनुसन्धान पद्धतिको अद्यावधिक सैद्धान्तिक खाका र प्रयोगात्मक ढाँचाबारे जानकारी लिन चाहने विद्यार्थी र शिक्षक सबैका लागि प्रस्तुत पुस्तक निकै उपयोगी बनेको छ ।
अहिले नेपालमा आधा दर्जनभन्दा बढी विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानहरूमा नेपाली भाषाका माध्यमबाट अनुसन्धान हुने गरेको छ । नेपाली भाषाका माध्यमबाट गरिने अनुसन्धानमा ढाँचागत र पारिभाषिक शब्दगत एकरूपता हुनु आवश्यक छ । यस कार्यमा यो पुस्तक मानक बन्न सक्छ । अहिले नेपालमा गरिने अनुसन्धानका लागि यस्तै मानक कृतिको खाँचो पनि छ । यसतर्फ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागले विचार गर्नुपर्ने समय आएको छ । यसका लागि लेखकले पनि प्रस्तुत कृतिमा चर्चा हुन बाँकी रहेका केही पक्षलाई आगामी संस्करणमा समावेश गर्नु जरुरी छ ।
खासगरी पाठमा उद्धरण विधि र सन्दर्भ सामग्रीसूचीको ढाँचालाई निर्देशन गर्ने पद्धतिको कुरा गर्दा यस पुस्तकमा एमएलए (नवौँ संस्करण, सन् २०२१), एपिए (छैटौँ संस्करण, सन् २०१० र सातौँ संस्करण, सन् २०२०) र सिकागो (सत्रौँ संस्करण, सन् २०१७) पद्धतिको चर्चा गरिए पनि पाठमा गरिने उद्धरण र सन्दर्भ सामग्रीसूचीको विन्यास गर्दा यसमा एपिए साताैँ संस्करण (सन् २०२०) लाई आधार बनाइएको छ ।
एपिए छैटौँ संस्करणमा सन्दर्भ सामग्रीसूचीमा प्रकाशन स्थान समावेश गरिएकामा सातौँ संस्करणमा प्रकाशन स्थानलाई हटाइएको छ । अहिलेको विद्युतीय सञ्चारको समयमा सामग्री कहाँबाट प्रकाशित भएको हो भन्ने भन्दा पनि कसले प्रकाशन गरेको हो भन्ने कुराले मात्र महत्त्व पाउँछ । यसर्थ अहिले एपिए छैटौँभन्दा सातौँ संस्करणको प्रयोग गर्नु उपयुक्त देखिन्छ । नेपालीका सन्दर्भमा एपिए सातौँ संस्करणका पनि कतिपय सीमाहरू भेटिन्छन् । नेपालीमा अनुसन्धान गर्दा पूर्वीय वाङ्मयमा श्रुतिपरम्पराबाट हस्तान्तरित हुँदै पछि मात्र लिपिबद्ध भएका र लेखकविशेषको नाममा नरहेका ऋग्वेद, यजुर्वेद, सामवेद लगायत वेद र ब्राह्मण, आरण्यक एवम् उपनिषद्का विशिष्ट ग्रन्थहरू छन् ।
लेखकको पहिचान नभएका यस्ता ग्रन्थको एपिए पद्धतिका आधारमा पाठमा उद्धरण गर्दा सम्पादक, व्याख्याता, टीकाकार र अनुवादकको थर, प्रकाशन मिति र पृष्ठका आधारमा गरिएको पाइन्छ । यस पुस्तकमा यस्ता कृतिको पाठमा उद्धरण गर्ने प्रक्रिया उल्लेख गरिएको छैन र सन्दर्भ सामग्रीसूचीमा पनि त्यस्ता ग्रन्थ परेका छैनन् । यस्ता कृतिमा सम्पादक, व्याख्याता, टीकाकार र अनुवादकको थर, प्रकाशन मिति र पृष्ठका आधारमा भन्दा पनि ग्रन्थकै आधारमा गर्नु उपयुक्त हुन्छ ।
पाठमा उद्धरण गर्दा ग्रन्थको नामका साथै त्यसको मण्डल, सूक्त र ऋचा सङ्ख्या (जस्तै : ऋग्वेदसंहिता १०। १२९। १) र सन्दर्भ सामग्रीसूचीमा विन्यास गर्दा ग्रन्थनाम, मिति, सम्पादकको नामथर र प्रकाशकको नाम (जस्तै : ऋग्वेदसंहिता (पाचौँ संस्क. सन्.१९४६), सम्पा. नारायण सोनटक्के, वैदिक संशोधन मण्डल ।) दिँदा उत्तरवर्ती अनुसन्धाताका लागि सामग्रीको उपलब्धताका दृष्टिले बढी व्यवस्थित हुने देखिन्छ । यस्तै एपिए पद्धतिमा नाम, मिति र कृतिका पछाडि प्रयोग गरिएको थोप्लो चिह्नभन्दा नेपाली भाषाको प्रकृतिअनुसार अल्पविराम चिह्नकै प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।
यस्ता कतिपय कतिपय कुरालाई सम्बोधन गरेका खण्डमा यो पुस्तक नेपाली अनुसन्धान पद्धतिका क्षेत्रमा मानक बन्ने देखिन्छ । अनुसन्धान पद्धति जस्तो कठिन विषयमा यस्तो गहकिलो, प्रामाणिक र अत्यन्तै उपयोगी पुस्तक तयार पारेर नेपाली वाङ्मयको भण्डारलाई सुम्पने लेखकलाई धेरै धेरै बधाई र यस्तै अन्य कृतिहरू आइरहुन् भन्ने शुभकामना । अनुसन्धान विमर्श नेपालले प्रकाशन गरेको यो पुस्तकको संरचनागत आयाम १५१ पृष्ठको छ ।
प्राज्ञिक बुक्स बागबजार वितरक रहेको यस पुस्तकको मूल्य रु.३५० रहेको छ । कृति पठनीय र शोधकर्ताका लागि सङ्ग्रहनीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।