पशुपतिको दर्शन गरेर फर्कन लाग्दा हठात् श्यामलाल सामु आएर कसैले भन्यो, ‘तपाईं जिउँदै हुनुहुन्छ, दाइ ?’
अप्रत्याशित प्रश्नले श्यामलाल जिल्ल परे । त्यो मान्छे उनलाई देखेर स्तब्ध भएको थियो । आँखा आश्चर्यले फैलिएका, मुख विस्मयले विस्फारित भएको, हत्केला आकाशतिर फर्किएका, शरीरको माथ्लो भाग अलिकति पछाडि ढल्किएको । भन्छन् नि, भौचक्का †
‘मलाई के भएको छ र ?’, श्यामलालले प्रतिप्रश्न गरे, ‘तर तपाईं को ? मैले त चिनिनँ नि ?’
‘म लेखनदास क्या, चारखालको । पोहोर तपाईंको जग्गा मैले नै पास गराइदिएको होइन ? कस्तो नचिन्नुभएको ?’
‘ए, हो त नि । नमस्कार है भाइ,’ श्यामलालले हात जोडे, ‘बुढेसकाल लागेपछि सुद्धी नै हराउँदो रहेछ ।’
‘सुद्धी होइन, तपाईंको जग्गा चैं हराउला जस्तो छ । तपाईंका भाइले तपाईं मरिसक्नुभो, त्यसैले त्यो जग्गा नामसारी गरिपाऊँ भनेर हिजो मात्र निवेदन हाल्या छन्,’ लेखनदास हाँस्यो, ‘म त तपाईं साँच्चै मरिसक्नुभएछ भन्ठान्या । यहाँ ठमठमी हिंडिराख्या देख्ता त झन्डै ढल्या नि !’
श्यामलाल छाँगाबाट खसे । ‘हे भगवान्, के हुन लाग्या यस्तो !’ खुइय्य गर्दै उनले थाप्लामा हात लगाए ।
‘तपाईंको औंला चैं के भो नि दाइ ?’, उनको दाहिने हातमा बूढीऔंलो नदेखेर लेखनदास फेरि छक्क पर्यो ।
‘काटेर फयाँक्नुपर्यो भाइ,’ संक्षिप्त उत्तर दिएर श्यामलाल पिरोलिन थाले, ‘अब के गर्ने होला ? जग्गा गयो भने त मेरो सर्वस्वै जान्छ । जिन्दगीभरिको कमाइ…’
‘चिन्ता नगर्नोस् दाइ, म छँदैछु नि,’ खग्गू लेखनदासले ढाडस दियो, ‘आज शनिवार भैगो । भोलि बिहान मकहाँ आउनोस् । म मिलाइहाल्छु नि । तपाईं जिउँदो छँदाछँदै तपाईंको जग्गा अर्कालाई कसरी हडप्न दिउँला र ?’
लेखनदास मुस्कुराउँदै पशुपतितिर लाग्यो, श्यामलाल चिन्ताले डोरिंदै डेरातिर ।
सिन्धुपाल्चोकको विकट गाउँमा ६२ वर्ष अघि जन्मेका श्यामलाल २० वर्षको उमेरमा मुगलान भासिएका थिए । अनेक हन्डर खाँदै ४० वर्ष उता बिताएपछि पोहोरसाल स्वदेश फर्केर काठमाडौंमा चार आना जग्गा किनेका थिए । बुढेसकाल आफ्नै देशमा बिताउने उनको धोको थियो । कम्पनीको रहलपहल हिसाब टुंग्याऊँ भनेर जग्गा किने लगत्तै उता लागेका, कोरोनाको लकडाउनले उतै अड्किए । यसैबीच एउटा दुर्घटनामा परेर हातको औंलो गुमाउनुपर्यो । बल्लतल्ल काठमाडौं फर्केका थिए, जग्गा पास गर्दा साक्षी बसेको भाइले नै जग्गा हडप्न लागेको थाहा पाएर मर्माहत भए । भोक, प्यास सबै हरायो । ‘जिन्दगीभरि त्यो असत्तीको मुख हेर्दिनँ,’ मनमनै अठोट गरे, र बारम्बार पशुपतिनाथलाई धन्यवाद दिइरहे, ‘धन्न प्रभु, वेलैमा लेखनदाससँग भेट गराइदिनुभो । नत्र मैले थाहै नपाई जग्गा गुमिसक्ने रहेछ †’
भोलिपल्ट १० बज्दा नबज्दै श्यामलाल चारखाल पुगे र लेखनदासलाई भेटे । उसले मालपोतको सुब्बासँग भेट गरायो । सुब्बाले फाइल खोलेर देखाइदियो : जग्गा नामसारीका लागि भाइले दिएको निवेदनमा ‘श्यामलालको मृत्यु भएको’ डाक्टरी–पत्र पनि नत्थी गरिएको रहेछ, एउटा प्राइभेट अस्पतालले बनाइदिएको ।
फाइल लिएर हाकिमकहाँ पुग्दा उसले भन्यो, ‘डाक्टरले मृत्यु भएको प्रमाणित गरिसकेपछि हाम्रो केही लाग्दैन । हामीले केका आधारमा तपाईंलाई जीवित मान्ने ?’
‘म तपाईंका सामुन्ने खडा छु, सर । म जीवित रहेको प्रमाण यही होइन र ?’ श्यामलालको स्वर भारी थियो ।
‘तपाईंले बोलेर हुँदैन । कागजले बोल्नुपर्छ,’ हाकिमले भन्यो, ‘तपाईंले आफू जीवित भएको लिखित प्रमाण ल्याउनुपर्छ ।’
‘कहाँबाट ल्याउने त्यस्तो प्रमाण–पत्र ?’
‘मानिस जिउँदै भएको प्रमाणित गर्ने एउटा अफिस छ । त्यहीं जानोस् र आफू जीवित रहेको पत्र लिएर आउनोस् ।’
‘त्यस्तो पनि अफिस हुन्छ र ?’ श्यामलाललाई उदेक लाग्यो ।
‘अफिसै हो । म चिठी लेखिदिउँला,’ हाकिमले कुरा टुंग्यायो ।
श्यामलाल चिठी लिएर दगुरे । अफिस महानगरपालिका कार्यालयमा रहेछ । त्यहाँको हाकिमले भन्यो, ‘यसका लागि वडामा सर्जमीन गराउनुपर्छ । म चिठी लेखिदिन्छु ।’
उसको चिठी बोकेर श्यामलाल आफ्नो वडा कार्यालय पुगे । वडाध्यक्षले निर्धारित शुल्क बुझाउन लगायो र सर्जमीनको चाँजोपाँजो मिलायो । ६० हजार जनसंख्या भएको वडामा सर्जमीनका लागि २० जना जति भेला भए । तीमध्ये कसैसँग श्यामलालको परिचय थिएन । श्यामलाललाई चिन्छु भन्ने पनि कोही भएन । आफ्नै घरमा ओल्लो–पल्लो कोठामा बस्नेलाई त राम्ररी चिनेको हुादैन, वडाको डेरावाललाई कसले चिनोस् ! अधिकांशले भने, ‘कहिलेकाहीं यताहुँदि देखेको त हो, तर को हुन्, के नाम हो, कहाँ बस्छन् थाहा छैन ।’ बाँकीले उनलाई कहिल्यै नदेखेको बताए । वडाध्यक्षले सोही बमोजिम पत्र तयार गर्यो ।
‘आफ्नै वडामा तपाईंलाई कसैले नचिनेपछि मैले के आधारमा तपाईं जीवित भएको प्रमाणित गर्ने ?’ वडाको पत्र पढेर हाकिम टकटकिन खोज्यो । श्यामलालले धेरै नेहोरा गरेपछि उसले हाल नगरपालिकामा परिणत भएको उनको गाउँलाई चिठी लेखिदियो । श्यामलाल चिठी झोलामा हालेर गाउँ पुगे । तर, त्यहाँ पनि उनलाई चिन्ने कोही भेटिएनन् ।
भेटिउन् पनि कसरी ? ४२ वर्ष अघि गाउँ छोडेर हिंडेपछि श्यामलाल एकचोटि पनि त्यहाँ पुगेका थिएनन् । उनको घर पाताल भैसकेको थियो । परिवारको कोही गाउँमा थिएन । बूढाखाडा मरिसकेका थिए । आफन्त र समवयस्कहरू गाउँ छोडेर शहरतिर लागेछन् । युवाहरू विदेशतिर । एउटी बूढी आमै भेटिइन्, जसले आँखा देख्न छोडिसकेकी थिइन् । सर्जमीनमा केहीले श्यामलालको नाम त सुनेको बताए, तर उनलाई उनी नै हुन् भनिदिने कोही भएन । जिन्दगीमा कहिल्यै नदेखेको बूढो मान्छेलाई कसैले कसरी चिनोस् ?
गाउँबाट पनि निराश भएर फर्केपछि श्यामलालले हाकिमसँग दु:खपुकारा गरे, ‘कुनै न कुनै उपाय निकालेर म जीवित भएको प्रमाणित गरिदिनोस्, सर । नत्र म बर्बाद हुन्छु ।’
श्यामलालको वृत्तान्त सुनेर हाकिमलाई उनीप्रति सहानुभूति जागेको थियो । उसले भन्यो, ‘मैले सर्जमीनका आधारमा प्रमाणित गर्ने हो । तर त्यो आधारै बनेन । तपाईंका लागि जोखिम मोल्न पनि तयार छु । तर केही न केही आधार त अवश्य चाहिन्छ ।’
अर्को दिन उसले ल्याप्चे विशेषज्ञलाई बोलायो र श्यामलालको नागरिकता प्रमाणपत्र देखायो । विशेषज्ञले ‘म्याग्निफाइङ ग्लास’ लगाएर त्यसमा भएका दुवै ल्याप्चेको सूक्ष्म निरीक्षण गर्यो र निष्कर्ष सुनायो, ‘यसमा दाहिने औंठाको छाप स्पष्ट छ, तर अहिले उहाँको त्यो औंठै छैन । यो ल्याप्चे उहाँको औंठाको हो भनेर कसरी भन्ने ? उहाँको देब्रे औंठा छ, तर यसमा त्यसको छाप ल्याप्प एक ढिक्का छ, रेखा छुटयाउनै सकिंदैन । यो ल्याप्चे पनि उहाँको हो भनेर कसरी भन्ने ?’
विशेषज्ञलाई बिदा गरेर हाकिमले श्यामलाललाई भन्यो, ‘अब एउटै उपाय छ । तपाईं आफ्नो डाक्टरबाट औंला काटिएको प्रमाणपत्र लिएर आउनोस् । त्यसका आधारमा सिडियोले नागरिकता प्रमाणपत्र सच्याइदिन्छ । बूढीऔंलाको सट्टा चोरऔंलाको ल्याप्चे प्रमाणित गरिदिन्छ र तपाईंको फोटो पनि नयाँ राखिदिन्छ । त्यो भएपछि म तपाईं जिउँदो रहेको प्रमाणित गरिदिन्छु ।’
श्यामलाल आँखा चिम्लेर भारततिर कुदे । लकडाउनका कारण यात्रा सहज भएन, तर डाक्टरले बूढीऔंला काटिएको पत्र सहजै तयार गरिदियो । एक हप्ताभित्रै उनी विजयी मुद्रामा हाकिमसामु उपस्थित भइसकेका थिए ।
हाकिमले खाम खोलेर पत्र हेर्यो र देब्रे हातले पुर्पुरो समात्यो, ‘के लिएर आउनुभएको यो ? तपाईंको दाहिने हातको बूढीऔंला काटिएको होइन ? यसमा त देब्रे हातको बूढीऔंला पो काटेर फयाँकेको भन्ने लेखेको छ त †’
श्यामलाललाई रिंगटा लाग्यो र जीउ लल्याकलुलुक भयो । स्वाँ–स्वाँ गर्दै उनले एक जग पानी एकै सासमा रित्याए ।
हताश भएर लेखनदासकहाँ पुग्दा उसले भन्यो, ‘हत्तेरी दाइ, कत्रो हन्डर खानुभएछ ! त्यत्ति जाबो कामका लागि किन भारत गइराख्नुपथ्र्यो ? म यहीं व्यवस्था गरिदिहाल्थें नि †’
नभन्दै उसले भोलिपल्टै ‘श्यामलालको दाहिने हातको बूढीऔंला काटेर फयाँकेको’ डाक्टरी–पत्र ल्याइदियो र श्यामलालसँगै लागेर तीन दिनमा नागरिकताको नयाँ प्रतिलिपि निकालिदियो । त्यसका आधारमा महानगरपालिकाको हाकिमले उसै दिन श्यामलाल जीवित भएको प्रमाण–पत्र बनाइदियो । अर्को दिन मालपोतको हाकिमले उनको भाइको निवेदन खारेज मात्र गरेन, जालसाजी बापत उसलाई प्रहरीको जिम्मा पनि लगाइदियो ।
तमाम झमेला, तनाव र निराशा बाहेक यस काण्डमा श्यामलालको एक लाख भन्दा बढी खर्च भएको थियो । सोझै होइन, लेखनदास मार्फत । कसलाई कति दियो र आफ्नो गोजीमा कति हाल्यो, उसैलाई थाहा थियो । तर ऊ खुशी देखिन्थ्यो । श्यामलाल झन् खुशी थिए । किनभने, आफू जिउँदै भएको प्रमाणित गर्न सफल भएका थिए ।
(पूर्व प्रकाशित)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।