घुमिफिरी रुम्जाटार ।
मानिसले भन्न खोजेको कुरा सबै भन्न पाएन भने उसको मनमा के बित्छ ? जसलाई बितेको छ उसैले सम्झे हुन्छ । हामी त्यतातिर नजाऔँ । जान मन लागेको ठाउँमा जान पाइएन भने के हुन्छ ? केही हुँदैन । मलाई अस्ति विश्वकप हेर्न कतार जान मन थियो । म गइनँ । केही भयो ? भएन । मेसी दाजुले जितिहाले मलाई पुगिगयो । मेसीले जितेको पनि नभनौँ, अर्जेन्टिनाले जितेको भनौँ । ढुक्क । यो मुला मेसीको फ्यान रैछ भनेर प्रस्तुत संस्मरणबाट तपाईँ नभाग्नू ल ? किनकि हामी जानुपर्ने मैदानतिर होइन विद्यालयतिर हो ।
हामी फेरि बुधबारेको वार्ड १ तिर जाऔँ ।
बिहानको नौ बज्नै लाग्दा पनि सुपारी बारीमा मरीच टिप्दै गर्नुभएका सुनिल तिम्सिनाको बुवा वसन्तकुमार तिम्सिनालाई धारामा हातखुट्टा पखाल्न लगाऔँ । गोबर ग्याँसमा पकाएको भात, दाल र निगुरोको तरकारी पस्केर दिऔँ । आकाशे रङको सर्ट र कालो धर्के पाइन्ट लगाउन लगाएर हरियो रङको ‘हिरो’ साइकलमा विद्यालयतिर पठाऔँ । अब सुनिल, रुजा, तनुजा, कुसुमका बाको कुरा होइन, हेडसरको कुरा गरौँ ।
बाटो त अहिले पिच भयो । हामीले कुरा गर्ने बाटो त ढुङ्गैढुङ्गाको हो । त्योबेला नै बाटो पिच भएको भए हेडसर सायद ‘हिरो’ साइकलमा सरर.. हल्का कुम माथि उठाएर देउरालीको ओरालो बाटो आउनुहुन्थ्यो ।
खैर, बाटो त ढुङ्गैढुङ्गाको हो, अलिक अप्ठ्यारो गरेर साइकल कुदाउँदै देउरालीको ओरालो बाटो आउने हेडसरकै कुरा गरौँ ।
म त चौलागाइँको घर मुन्तिरको बाटो आउँथे । बाटोमा मलाई डराउनलाई ध्रुव सरबाहेक अन्य कुनै कारण थिएन । ध्रुव सरसँग कक्षामा मात्र डराए हुन्थ्यो । म स्वतन्त्र थिएँ ।
भोटेटार, देउराली, इडी गाउँतिरबाट आउनेहरू बाटोमा पनि डराउँदै आउने सम्भावना अहिले रवि लामिछाने फेरि चुनावमा उठे भने उनले जित्ने सम्भावनाभन्दा धेरै सम्भावना हेडसरसँग बाटोमा डराउनेहरू थिए । किनकि त्यो बाटो हेडसर आउने बाटो थियो ।
यदि विद्यार्थी नडराई आए भने जयपुरतिरका विद्यार्थी हुनुपर्छ । त्रिभुवन निमाविका विद्यार्थी नडराई आउनलाई उनीहरूसँग बाघको मुटु हुनुपर्दथ्यो । र, बाघको मुटु हुन असम्भव थियो । किनकि बाघ नै त्यही बाटो हिँडिरहेको थियो । अस्ति भन्या थेँ त ! बाघ भनेर । कुरो बुझ्नुभएन ? हेडसर क्या ! टाइगर ।
हल्ला गर्दै हिँडिरहेका विद्यार्थीहरू चुपचाप हिँडे । झगडा गर्दै हिँडिरहेका विद्यार्थीहरू एक छेउ लागे । छाडा बोल्दै हिँडिरहेका विद्यार्थीहरू हेडसरलाई देखेपछि के सम्झेर हिँडेका थियौ ? आफैँ सम्झनू । बाटो नै छेकेर हिँडिरहेका विद्यार्थीहरूले बाटो छाडिदिए ।
(त्योबेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कता थिइन् होला ? बाटो छाड्नुपर्ने कुरा आएपछि ठ्याक्क सम्झेँ । अहिले पौडेल बालाई बाटो छाडिदिनु पर्दैन र हाइसन्चो छ । नभए सम्झनू त ! यो घाममा सवारीको लागि १५/२० मिनेट कुर्नु परेको भए ? बूढो ज्यानलाई कति गाली गर्थे ?)
हेडसरको बारे मैले अस्ति टाउको लेखेँ । केही साथीहरूले ‘अब खुट्टा पनि लेख’ भनेर उक्साए । केही साथीहरूलाई सहयोग मागेँ । धेरै साथीहरूले नाम गोप्य राख्ने सर्तमा किस्सा सुनाए ।
त्रिभुवन निमाविका विद्यार्थीलाई हेडसर भयङ्कर उकालो बाटो हो । जुन चढ्न मुस्किल थियो । चढेर पार भएपछि पछि त्यही कुरा सुन्दर हुन्छ । हुन त विगत कालान्तरमा बहुतै सुन्दर हुन्छ । नभए हेडसरलाई झेलेर इन्स्पेक्टर बनेको देव रिजाललाई सोध्नू । प्रहरी कञ्चन लेप्चालाई सोध्नू । डा.भीष्म मिश्रलाई सोध्नू । अमेरिका बस्ने बैङ्कका म्यानेजर पवन अधिकारीलाई सोध्नू । कृषि विज्ञ केशव दाहाललाई सोध्नू । साहित्यकार उमा सुवेदीलाई सोध्नू । त्रिभुवन विश्वविद्यालय पढिसकेका विद्यार्थीलाई सोध्नू । पढ्दै गरेका नारायण पोख्रेल, सुजन भुर्तेल, नतिजा र भावनालाई सोध्नू । पत्रकार रोशन भट्टराई र नारायण अर्याललाई सोध्नू । शिक्षक बनेको पवन भण्डारीलाई सोध्नू । इन्जिनियर बनेको अर्जुन घिमिरेलाई सोध्नू । (यहाँ मेरो (तपाईँको) नाम किन आएन भनेर खुल्दुली भयो भने पहिला मेरो म्यासेज सिन गर्नू, अनि मलाई सोध्नू ।)
हेडसरले साइकल कुदाउँदै विद्यालयको चउरमा प्रवेश गर्नुभयो । मानौँ, त्यो दिन पियन शेरबहादुर राईको घरमा खाना ढिलो पाक्यो र वहाँलाई विद्यालय आउनलाई ढिलो भयो । अफिसको अतिरिक्त चाबी नभएकाले हेडसरले कुर्नुपर्यो । चउरको दाहिनेतिर भएको शिरीषको रूखको फेदमा हेडसर बस्नुभयो । विद्यालय छिटै आइपुगेर मोचे गोल खेलिरहेका विद्यार्थीहरू अलिक बिस्तारै दौडिन थाले । चुङ्गी खेलिरहेका खड्काका छोरीहरू शौचालय गएजस्तो गरे । मिलन मगरको घरमा पालेका माछा हेर्न गएका एक हुल विद्यार्थी हेडसरलाई देखेपछि उतै छेलिए ।
एकैछिनमा गजाधर सर, याम सर र प्रेम सर आएपछि हेडसरको ध्यान गफतिर गयो । विद्यार्थीहरू पानीबाट माछालाई निकालेर फेरि पानीतिरै हुत्याएपछिको माछाझैँ चहलपहल गर्न थाले ।
(यहाँ तपाईँले आफ्नै स्कुलको हेडसरलाई सम्झन सक्नुहुन्छ । आफ्नो स्कुल सम्झन सक्नुहुन्छ । ती दिनहरू सम्झन सक्नुहुन्छ ।)
अब अर्को अध्यायमा जानेबेला भयो । तपाईँ तयार हुनुहुन्छ ? तयार हुनुहुन्न भने अलिकति मिलेर बस्नुहोस् । टेवलमा पानी छ भने पनि एक घुट्की पिउनुहोस् ।
नोटः व्यक्तिगत गोपनीयताको कारणले नाम हटाइएको छ । खुकुरीलाई भन्दा अचानोलाई पीडा थाहा हुने भएकाले हेडसरलाई मुस्कुराउन यहाँ छुट छ ।
कुरा मबाटै सुरु गर्छु ।
साल महिना गते बार बिर्सेँ । मौसम गर्मीको थियो । मलाई स्कुल जान बानी लगाउन मेरो सहोदर कान्छा काकाको साथमा स्कुल पठाइन्थ्यो । काका पनि त्यही स्कुल पढ्ने भएकाले घर मास्तिरको स्कुल छाडेर काकासँगै अलिक टाढा पठाइयो । यदि म घर मास्तिरको नमुना स्कुल गएको भए यो संस्मरण तपाईँले पढ्न पाउनुहुन्थेन । यसको मतलब भेटेको बेला तपाईँले मलाई चिया खुवाउनुपर्छ ।
(यहाँ बाँदरले मुख छोपेर लजाएको इमोजी छ भन्ने सम्झनू । अनि त्यो बाँदरका ती इमोजी भनेको महात्मा गान्धीको तीन कुरा १. हेर्दिनँ २. बोल्दिनँ ३. सुन्दिनँ भन्ने कुरा हो भन्ने बुझ्नू । यहाँ मलाई व्याख्या गर्न आएन तपाईँ आफैँ मिलाएर बुझ्नू ल ?)
खैर….
तपाईँलाई पुरानो त्रिभुवन माविको संरचना याद छ भने शौचालय तलतिरको कक्षामा हेडसरले आफ्नो कक्षा लिइरहनुभएको थियो । त्यहीँ मेरो काका लास्ट बेन्चर भएर बस्नुभएको थियो । लास्ट बेन्चर कडा पनि हुन्छन् । हाम्रा काकाचाहिँ साउदीतिर हुनुहुन्छ ।
एकजना दाइ त्यो गर्मीमा बरफ बेच्न ल्याउँथे । रातो बरफ एक रुपियाँको दुई वटा र कुल्फी बरफ एक रुपियाँको एउटा पाइन्थ्यो । अर्को आइस पाउँथ्यो । त्योचाहिँ बरफ सकिएपछि सित्तैमा बाँडेर जान्थे । केटाकेटी न हुँ, बरफ आएको देखेपछि काकालाई पैसा माग्न दौडिएँ । कसम, त्योबेला मलाई हेडसरसँग डर लाग्दैन थियो । हेडसरलाई चिनेको भए पो डराउनू ।
म झ्यालको डन्डी समाएर, ‘काका ! एक रूपे दिन न, काका ! एक रूपे दिन न’ भनिरहेको थिएँ । कक्षा शान्त थियो । हेडसरको कक्षा भएपछि शान्त नहुने कुरा पनि त भएन, अहिले सम्झँदा । काकाले ‘टिफनमा किन्दिन्छु’ भन्ने उत्तरलाई मैले बाल नदेर एकोहोरो एक रुपियाँ मागिरहेको थिएँ । जीवनमा पहिलोपटक हेडसरको भाटा मैले त्यहीँ भेटेँ । (यो संस्मरण लेखिरहँदा मलाई मन्द ज्वरो आइरहेको छ ।)
ए ! म कहाँ पो थिएँ ? भाटामा । पहिलोपटक हेडसरको भाटा मैले त्यहीँ भेटेँ । ज्वरो आउञ्जेल भेटेँ । हेडसरको कक्षा नसकिञ्जेल रोएँ । बरफ पाएपछि म फकिएँ । त्यो दिनबाट मेरो मनमा हेडसरप्रतिको डरको बीजारोपण भयो ।
धेरै समयपछि…
हेडसरको नाति इज्जु भन्ने मेरो साथी थियो । अहिले तीन छोराको बाउ भएको छ रे, यो खबर सुनेपछि बिहे कहिले भनेर सोध्नेहरूलाई अब मैले तार्किक जवाफ दिनुपर्छ भन्ने लागेको छ ।
स्कुलमा सानो टिफिन र ठुलो टिफिन भन्ने हुन्थ्यो । दोस्रो कक्षापछि सानो टिफिन जुन १० मिनेटको हुन्थ्यो । चौथो कक्षापछि ३० मिनेटको ठुलो टिफिन हुन्थ्यो । दोस्रो र चौथो कक्षा यदि गजाधर काफ्लेको पर्यो भने त्यो वर्ष टिफिन भन्ने कुरा बिर्सिए हुन्थ्यो । टिफिनभर पढाएर टिफिन सकिएको घण्टी बजेपछि ‘जस्ट, टु मिनट्स’ भन्दै बाहिरिँदा धेरै वर्ष धेरै विद्यार्थीले गजाधर सरलाई गाली गरेका छन् ।
इज्जुले अमला खान जानुपर्छ भनेर एसेम्लीमा नै भनेको थियो । सानो टिफिन त्यो वर्षको लागि कोमामा गएको थियो, दोस्रो कक्षा गजाधर सरको थियो नि त !
दुई चार दाना अमला कर्यामकुरुम चपाएर पानी पिउँदा जुन गुलियो स्वाद आउँथ्यो त्यो स्वाद अझै मुखमा छ । (बाटोमा अमला बेच्न राखेको भेट्नुभयो वा घरमा अमला छ भने एक पटक खानू ल ? लास्टै मिठो हुन्छ यार )
गुलियो तीमाथि बाहुन । हुन त खसीको मासुको पनि खत्रा फ्यान हुँ म । घरकाले ‘संस्कृत पढ्न बनारस जान्छस् ?’ भन्दा ‘मासु त खान पाइँदैन किन जानु ?’ भन्ने मान्छे मै हुँ ।
इज्जुसँग म अमला खान तल चारआँखेको बारीमा गएँ । चराले झारेका अमला खाएर पानी पिएपछि म तृप्त भएँ । इज्जुको बारेमा मलाई थाहा भएन, उसलाई कस्तो भयो भन्ने । फर्किँदा, पौडी पनि खेलेर जाने कुरा भयो । पौडी खेल्न थाल्दा टिफिन सकियो । मिलन सरको कक्षा सुरु भइसकेको थियो । हतार हतार कक्षातिर जाँदै थियौँ । पछाडिबाट आवाज आयो ‘पर्खी…’ आवाज हेडसरको थियो । राम… त्योबेला म कस्तो भएँ ? हेडसर इज्जुको हजुरबुवा पनि त हो कुट्नचाहिँ कुट्नुहुन्न होला । यही सोचेँ ।
हेडसरकै क्यारिकेचर गरिदिएर डायलगलाई जीवन्त पारिदिनुभएकोमा छवि गड्तौलालाई हार्दिक धन्यवाद । अब तपाईंले हेडसरलाई झन् नजिकैबाट चिन्नुहुन्छ ।
हेडसरको लवजमा पढ्नू ल ?
‘भिजिस् कि.. भिजाइस् कि.. भिजाइदियो ?’ मरुञ्जेल पौडी खेलेर आएको छ के का भिज्नु ? के का भिजाउनु ? इज्जुले हेडसरलाई गोजीकै मान्छे सम्झेर सायद भन्या हुनुपर्छ, ‘नुहाएर आएको हजुरबुवा ।’ हेडसरले कानको मुनि रननन हुने गरी बजाएपछि इज्जुलाई भन्नुभयो ‘चार बजेपछि हजुरबुवा भन्लास्’ अब तपाईँलाई लाग्न सक्छ मैले कुटाइ खाइन होला । उफ्… मैले ‘भिजिस् कि.. भिजाइस् कि.. भिजाइदियो ?’ भनेर हेडसरले भन्दाभन्दै दुई झापड खाइसकेको थिएँ ।
अब तेस्रो भाटातिर जानेबेला भयो । हेडसरको हातबाट खाएको अन्तिम भाटा पनि यही हो ।
स्कुलमा बसीलात्ती खेल चर्चित थियो । उक्त खेल त्यही विद्यालयबाहेक अन्य ठाउँमा खेलेको थाहा छैन । ६,७ जना भेला भएर चउरमा बस्ने । जो उठ्छ त्यसलाई लात्ता हान्ने । एउटाले अर्कोलाई हान्न खोज्दा पछाडिबाट भुक्क हान्ने र थचक्क बस्ने । खेल रमाइलो ।
ठुलो टिफिनमा डिलबाट फुत्त झरेर मैदानमा जानेबेला भइसकेको थियो । भीष्म, नारायण, अनुप, म र सुरज फस्ट बेन्चर थियौँ । म झ्यालतिर थिएँ । केटाहरू सरासर निस्किए । म पछि लागेँ । डिलमा उभिएको सुरजलाई पछाडिबाट भ्वाक्क हानेको मात्र थिएँ । मेरो पिठ्युँमा एकाएक भाटा बर्सियो । एउटा भाटा होइन । दुई वटा भाटाले हेडसरले एकैपटक बजाउनु भयो । एउटा भाटा भाँचिएपछि अर्को भाटा त संसारको कारबाहीमा धेरै प्रयोग भए होलान् । तर दुई वटा भाटा एकैपटक प्रयोग भएको व्यक्तिचाहिँ म नै हुँ ।
विद्यार्थीअनुसार नै हेडसरको प्रस्तुति हुन्थ्यो भन्नचाहिँ अलिक मिल्दैन । सरले आफैँलाई कुनै समय समीक्षा गर्नुभयो भने यसको जवाफमा हामीले आकारमा नै सही पढ्न पाउने थियौँ । खासमा मैले कुरा घुमाएर ‘किताब लेख्नू ल सर !’ भन्न खोजेको हुँ ।
सरले कुटेकै कारण स्कुल छाडेका केही साथीहरू ड्राइभर बनेका छन् । कति विदेशतिर लागेका छन् ।
खैर, उनीहरूले हेडसरलाई कसरी सम्झन्छन् । त्यो उनीहरू नै जानुन् ।
केही विद्यार्थी सरको रामेधुलाईबाट सर्लक्कै बचेका छन् । जस्तो…
फेसनले स्कुललाई आफ्नो कब्जामा राख्न सुरु गरेको थियो । सेतो सर्टमा कालो धागोले सिलाउने होस् वा सर्टको पछाडि भी आकारमा बनाउने होस् । बेरिनाको मेहेन्दी लगाउने होस् वा तेरे नामको सलमानको स्टाइलमा बिचमा सिउँदो काढेर कपाल कोर्ने फेसन होस् । लगभग लगभग यी फेसनले त्रिभुवन निमाविमा आफ्नो हैकम जमाइसकेको थियो ।
किस्सा नं १
कार्की (नाम परिवर्तन) ले कपालमा बेरिना मेहेन्दी लगाएर आयो । एसेम्लीमा हेडसरले सरर.. आँखा डुलाउनु भयो । कार्कीको कपालमा हेडसरको आँखा रोकियो । सरको आवाज आयो, ‘कार्की निस्केर घर गइहाल, हामी तँ तँ तँ जस्ता खैरेलाई पढाउन सक्दैनौँ ’
किस्सा नं २
निकै टाढाबाट पनि विद्यार्थी आउँथे । दुई वटा खोला तरेर आउने विद्यार्थी पनि थिए । केही विद्यार्थीको सहुलियतको लागि दोस्रो चरणमा एसेम्ली हुने गर्दथ्यो । स्कुल मास्तिर विष्णु दाइ भन्ने थिए । शिक्षकदेखि विद्यार्थीका कपडा प्राय उनकै हातले सिलाएको याद छ मलाई । उनको घर र स्कुलको दूरी गनेर दश पाइला थियो ।
दोस्रो चरणमा एसेम्ली सकिएपछि त्यही बिस्नु दाइको छोरा आइपुग्यो । ‘शिवा…….’ मैले भने नि हेडसरले विद्यार्थीलाई नामले बोलाएको सुनेकै छैन । हेडसरले भन्नुभयो, ‘तेरो घर पाकिस्तानमा हो ?’ यहाँनेर सरलाई रिस उठ्नु स्वाभाविक नै हो । दश पाइलामा आइपुगिने ठाउँबाट दोस्रो चरणमा एसेम्ली सकिँदा आइपुग्नु भनेको के थियो ? बिस्नु दाइको छोराको भाग्य बलियो । नभए उसले जति कुटाइ सायदै अरूले खाने थिएनन् । तर त्यो दिन उसले कुटाइ खाएन ।
किस्सा नं ३
राम श्याम हरि (नाम परिवर्तन) केटाहरू बिस्तारै आए स्कुल । बिस्तारै आउँदै गर्दा स्कुलको एसेम्ली छिटै बित्यो । उनीहरूलाई थाहा थियो कि अहिले जाँदा कक्षा कोठामा पस्न पाइँदैन । उनीहरूले निर्णय लिए । अहिले कक्षा कोठामा नजाने । उनीहरू बिस्नु दाइको टेलरमा गएर बसे । टेलरमा गएपछि श्यामले आफ्नो सर्ट निकाल्यो र बिस्नु दाइलाई केही बनाउन दियो ।
त्यहीबेला हेडसर बुधबारे स्रोत केन्द्रतिर बैठकको लागि साइकलमा जाँदै हुनुहुन्थ्यो । बिस्नु दाइको घरमा राम श्याम हरिलाई देखेपछि हेडसरको साइकल रोकियो । फिल्मी शैलीमा हेडसरले साइकलको स्टेण्ट नलाई आँगनमा आउनुभयो । यतिबेला साइकल लडेको आवाजले केटाहरूले हेडसर आएको देखिसकेका थिए ।
कम्मरमा हात राखेर हेडसरको बोली स्कुलसम्म सुनिने गरी निस्कियो, ‘यो के हो ?’ केटाहरूले आफ्नो समस्या राखे । हेडसरको बानी आँ गर्दा अलङ्कार बुझ्ने थियो भन्ने केटाहरूले किन बुझेनन् ? आवाज आयो ‘क्लासमा हिँड्..’ केटाहरू अघिअघि हेडसर पछिपछि । लडेको साइकल लडिरह्यो, साइकल बोल्न सक्ने भएको भए भन्थ्यो होला ‘मलाई उठाएर त जानू’ । तपाईँलाई के लाग्छ साइकलले यसो भन्थ्यो होला त ? अहँ, संसार डराउने हेडसरसँग साइकल नडराई बस्न कसरी सक्थ्यो ?
कक्षामा केटाहरू छिरे र सँगै हेडसर पनि । केटाहरू आफ्नो बेन्चतिर लागे, आवाज आयो ‘कहाँ जाँदैछस् ? अगाडि आइज..’ केटाहरूले सम्झे आज सकियो । तर त्यो दिन उनीहरूले गालीमात्र खाए । कस्तो गाली ? विद्यार्थीतिर हेर्दै..‘तँहरूले यिनारुलाई चिन्छस् ?’ यदि यो कुनै चलचित्र हुन्थ्यो भने त्यो कक्षाको विद्यार्थी बुद्धि तामाङले भन्थ्यो होला ‘हैट ! साथी हो । किन नचिन्नु ?’ तर बोल्ने आँट कसैको आएन । हेडसरले आफैँ जवाफ दिनुभयो, ‘यिनीहरू भनेका पुच्छर उम्रन बाँकी रहेका नर पशुहरू हुन । यिनीहरूले पढ्नु आवश्यक छैन ।’ बैठक थिएन भने सायद केही कुरा आउँथ्यो । तर हेडसरलाई ढिलो भइसकेको थियो । हेडसर जानुभयो ।
लगभग डराएरै भए पनि विद्यालय त सम्झन्छौ होला नि ?
हेडसरको प्राय डाइलग सुन्दा सरसँग सेन्स अफ ह्युमर अथाह नै छ भन्ने महसुस हुनु सामान्य कुरा हो । तर सम्झनू त कसैले निधारमा बन्दुक तेर्साएर ‘डर लागेको छ ?’ भनेर प्रश्न गर्यो भने उसले जवाफ के दिन्छ ? केही दिन सक्दैन नि.. हो हाम्रो हाल पनि त्यही थियो डरको पहिरो पुरेको बेला सरको डाइलगमा हाँस्नु भनेको युद्ध मैदानमा विपक्षीको तिर एक्लै दौडिनु जत्तिकै हो ।
अब हेडसरलाई स्कुलमा नै छाडौँ । शेरबहादुर बडालाई अफिसको चाबी दिएर हेडसरलाई त्यही हिरो साइकलमा घरतिर पठाऔँ । घरमा गाई पनि त दुहुनु छ । केटाकेटीका कुरा पनि त सुन्नु छ । हेडसर ! आज मिलन सरको घरमा नगईकन घरै जानू ल ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।