साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्युजिक कम्पनीबाट ठगिँदै स्रष्टा : करोडौंको सिर्जना तस्करी

गीतकार यादव खरेल भन्छन्,'शोषण र ठगीविरुद्ध अदालत जान्छौं'

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो फिचर  kantipurdaily बाट लिएका हौँ । यो लेख  रीना मोक्तानले लेखेकी हुन् । यहाँ क्लिक गरेर यस लेखलाई कान्तिपुरमै पनि पढ्न सक्नुहुनेछ ।

=========

२०५६ मा रेकर्ड भएको ‘बसमा छैन मेरो मन’ बोलको गीत विभिन्न अकाउन्टबाट युट्युबभरि अपलोड गरेको देखेपछि संगीतकार राजन इशानलाई आफ्नै च्यानल खोल्न मन लाग्यो । एक वर्षअघि युट्युब खोलेर उनले यो गीत अपलोड गरे । गीत अपलोड गरेको केही क्षणमै ‘एप्पल म्युजिक’ले प्रतिलिपि अधिकार दाबी गर्‍यो ।

गीतमाथि कुनै कम्पनीको लगानी थिएन । आफ्नो गीतमाथि कसैले प्रतिलिपि अधिकारको दाबी गर्दा राजन झस्किए । त्यसबारे खोज्दा अमेरिकी म्युजिक कम्पनी ‘दि अर्चाड’ले एप्पललाई यो गीत बिक्री गरेको थाहा पाए । त्यसपछि उनले गीतमाथि आफ्नो अधिकार रहेको प्रमाण अर्चाडलाई देखाए । अर्चाडले रञ्जना र इन्द्रेणी क्यासेट सेन्टरले आफूलाई उक्त गीत बेचेको जानकारी दियो ।

गीतमाथि प्रतिलिपि अधिकार दाबी गरेसँगै आफ्नो आधिकारिक च्यानलमा राजनले गीत अप्लोड गरे । त्यसपछि आफ्नो अनुमतिबिना ५ सय ५६ अनलाइन पोर्टलमा गीत बिक्री गरेको भन्दै रञ्जना र इन्द्रेणी क्यासेटविरुद्ध २०७६ मा अदालतमा मुद्दा हाले । अहिले यी दुई संस्था मुद्दा खेपिरहेका छन् ।

०००

दुई वर्षअघि अनुमतिबिना अनलाइन पोर्टलमा संगीत बिक्री हुँदै आएको विषयमाथि अध्ययन भयो । दुई अध्ययनकर्ताले तथ्यांकसहित दुई ठूला पुस्तक नै निकाले । तथ्यांकमा स्रष्टा अम्बर गुरुङ, माधव घिमिरे, प्रेमध्वज प्रधान, भक्तराज आचार्य र यादव खरेलका सिर्जना कुन पोर्टलमा कसरी चोरी गरेर दुरुपयोग गरिएको छ भन्ने उल्लेख गरिएको थियो । उनीहरुका सिर्जना अन्तर्राष्ट्रिय स्ट्रिमिङ पोर्टल डिजर, स्पोटिफाइ, अमाजोन, टाइडल, गुगल प्लेलगायतमा बिक्रीका लागि राखिएको तथ्यांकले देखायो । यो तथ्यांक हातमा पर्दा गीतकार/संगीतकार यादव खरेल आश्चर्यचकित भए । म्युजिक कम्पनी र एग्रिगेटरले स्रष्टालाई थाहै नदिइ यी पोर्टलबाट अरबौं कमाएको देखिएपछि सत्यराज आचार्य र स्वरुपराज आचार्य, राजन इशान, अम्बर गुरुङका छोरा किशोर गुरुङ र संगीतकार लक्ष्मण शेषसँगै खरेल प्रतिलिपि अधिकार हनन् विरुद्धको अभियानमा लागे ।

उनीहरुले म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मासँग बसेर छलफल पनि गरे । गीतकार यादवका अनुसार सन्तोषले यो विषयमा खासै वास्ता गरेनन् । प्रतिलिपि अधिकार हननको विषय प्रधानमन्त्री, गृहमन्त्री हुँदै संस्कृतिमन्त्री, सञ्चारमन्त्रीसम्म पुग्‍यो । गृहमन्त्रालयले आवश्यक छानबिन गर्न भनेर उच्चस्तरीय समिति बनायो । समितिमा रहेका खरेल र शेषका अनुसार दुई पटक बैठक बस्यो । त्यसपछि आजसम्म अर्को बैठक बसेको छैन ।

०००

पछिल्लो समय गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचको विवादले प्रतिलिपि अधिकारको विषय फेरि बहसमा ल्याएको छ । सम्झौता अवधि सकिएपछि विन्ध्यवासिनीसँग खरेलले ‘प्रणय’ एल्बम फिर्ता मागे । तर विन्ध्यवासिनीले दिएन । खरेल २०७१ मै एल्बमको करार सकिएको बताउँछन् । एल्बम फिर्ता माग्दा विन्ध्यवासिनीका कार्यकारी निर्देशक सुवास रेग्मीले फेसबुकमा तथानाम गालीबेइज्जती गरेको खरेल सुनाउँछन् । उल्टै विन्ध्यवासिनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाउँदै हिँडेको आरोपसहित एक करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दियो । ‘प्रणय’माथि आफ्नो सर्वाधिकार दाबी गर्ने खरेलसँग प्रतिलिपि अधिकार नभएको विन्ध्यवासिनी बताउँछ । खरेलले प्रतिलिपि अधिकार हनन भएको भन्दै प्रहरीमा उजुरी हाले ।

त्यसपछि विन्ध्यवासिनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परिन् र २ लाख ७५ हजार धरौटीमा छुटिन् । ‘प्रणय’ माथिको वास्तविक प्रतिलिपि अधिकारका धनी को हुन् त ? प्रश्न गर्दा सुवासले भने, ‘अब एल्बममाथि कसको अधिकार छ त्यो जिल्ला अदालतले बताउँछ । संगीत क्षेत्र बेथितिमा अगाडि बढ्दै थियो । यो थितिको लडाइँ हो । अदालतले नै प्रणय एल्बम प्रमोदको हो कि विन्ध्यवासिनीको हो, त्यो फैसला सुनाउला । अहिले अदालतलाई नै सबै कुरा छोडिदिएको छु ।’

प्रतिलिपि अधिकार हननको मुद्दा एउटै भए पनि गायक खरेल र स्रष्टाहरुका विषयवस्तु फरक छन् । स्रष्टाहरु म्युजिक कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन पोर्टलमा बिक्री गरेको सिर्जनाको लाभांश र रोयल्टीका लागि लडिरहेका छन् । म्युजिक कम्पनी र एग्रिगेटरले अनुमतिबिना गीत बिक्री गर्दा स्रष्टाको नैतिक र आर्थिक अधिकार हनन भएको दाबी गर्छन् गीतकार यादव । ‘गैरसरकारी संस्थाले नैतिक र आर्थिक दुवै अधिकारको व्यापक शोषण गरेको छ । उनीहरुले अधिकार हनन गरिदिँदा स्रष्टा मारमा परे,’ उनले भने, ‘हाम्रा उत्पादनका सिर्जना धेरै पोर्टलमा बेचिएको रहेछ । गीत बिक्रीबारे स्रष्टालाई जानकारी दिएनन् । त्यसको लाभांश दिएनन् । यो त इँटाभट्टामा मानिस हालेर मारेको जस्तै भयो ।’

म्युजिक कम्पनीले संसारभर आफू उत्पादक भनेर स्रष्टाको सबै अधिकार खोसिदिएको संगीतकार शेषको आरोप छ । ‘आर्थिक अधिकार अन्तर्गत गीत बिक्री भएको केही प्रतिशत रोयल्टी संकलक समाजमा पठाउनुपर्छ,’ शेषले भने, ‘स्रष्टाको बौद्धिक सम्पति बेचेर आम्दानी गर्दा स्रष्टाले रोयल्टी पाउनुपर्छ । यो हाम्रो आवाज हो ।’

बाँकीको आम्दानी देखाउनु पर्ने डरले म्युजिक कम्पनीले रोयल्टी लुकाएको शेष बताउँछन् । ‘गीतका तस्कर/माफियाले रोयल्टीमा जुन विवाद सिर्जना गरेका छन् यो बाँकी तथ्यांक दिनुपर्छ भनेर गरेको लफडा हो । पैसा दिनुपर्छ भन्ने कुरामा होइन,’उनले भने,’हिजो खाएको अर्बौं रुपैयाँ अब तिर्नुपर्‍यो भनेर उनीहरुको सातोपुत्लो गएको हो । यी बिचौलियाले अरबौंको तस्करी गरेका छन् ।’

रोयल्टी संकलक समाजका अध्यक्ष महेश खड्का व्यक्तिगत संस्था वा कम्पनीले विभिन्न पोर्टलमा बिक्रीमा राखेको गीतको रोयल्टी अहिलेसम्म प्राप्त नभएको बताउँछन् । ‘सिडी /क्यासेट होस् या डिजिटल प्रवधिमा होस्, कुनै पनि गीतको सार्वजनिक प्रसारण गरेबापत रोयल्टी दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पोर्टलमा प्रसारण गरेको गीतको रोयल्टी दिन जरुरी छ ।’

गीतकार यादव खरेल सिडीका लागि सम्झौता गरिएको गीत अवैध बिक्री गरेर अर्बौं रकम म्युजिक नेपालले कमाएको बताउँछन् । ‘म्युजिक नेपालसँग सिडी बनाउन ५/१० वर्षका लागि सम्झौता भएको हो । त्यो सम्झौता अरु पोर्टलका लागि गरिएको थिएन । अहिले सम्झौता नाघेको २५ वर्ष भइसक्यो । अनलाइन पोर्टलमा गीत बेचेर चलाखीपूर्ण ढंगले म्युजिक कम्पनीले ठगी/शोषण गरेको देखिन्छ,’ उनले भने ।

‍दसैंको छेकोमा म्युजिक नेपालले दिने ३ हजार नै रोयल्टी बुझ्दै आएका थिए यादव । ‘मैले मेरो जीवनभर म्युजिक नेपालबाट त्यही तीन पटकमा लिएको ३/३ हजार हो,’ उनले सुनाए, ‘युट्युबमा म्युजिक नेपालले मेरा गीत उसकै कपीराइट भनेर राखेको छ । अब उसले हाम्रो गीतको रोयल्टी दिँदैन । तर अदालतले मागेपछि बाध्यात्मक हुन्छ । मलाई लाग्छ न्याय पाउने प्रक्रियामा प्रवेश गरेका छौं हामी ।’

म्युजिक नेपालका महाप्रबन्धक उत्तम थापा स्रष्टासँग भएको सम्झौताका आधारमा रोयल्टी दिने गरेको बताउँछन् । ‘हामीसँग उहाँको रोयल्टीको रेकर्ड छ । हो क्यासेट/सिटीको बेलामा उहाँसँग सम्झौता भएको हो,’ उनले भने,’तर अरु पनि जुनसुकै व्यवसायमा गीत दिन पाउने र रोयल्टी उहाँलाई दिनुपर्ने करारमा उल्लेख छ । त्यही अनुसार रोयल्टी दिएकै छौं । कुन गीत कसरी बिक्री हुन्छ, कति कमाउँछ हाम्रो हातमा पनि छैन ।’

तर महाप्रबन्धक थापाले कुन स्रष्टालाई कति रोयल्टी दिएको भन्नेबारे बताउन चाहेनन् ।

सत्यराज आचार्य बुबा भक्तराज आचार्यका ७० वटा गीत म्युजिक नेपालले अनधिकृत रुपमा धेरै पोर्टलमा प्रयोग गर्दै आएको सुनाउँछन् । ‘२०४३ सालमा बुबाले ती गीत सिडी/क्यासेटका लागि सम्झौता गरिएको छ,’ उनले भने,’तर बुबालाई जानकारी नदिई युट्युबलगायत अन्य पोर्टलमा बेचिएको भेटियो । रोयल्टी बुझाउँदा पनि सिडी/क्यासेटको दरले वर्षमा ८–१० हजार दिनु त न्यायोचित लागेन ।’

सिडी र क्यासेट मात्र नभई भविष्यमा आउने प्रविधिमा प्रयोग गर्ने सम्झौता भएका कारण देश विदेशमा गीत/संगीत बिक्री गरेको बताउँछन् म्युजिक नेपालका महाप्रबन्धक थापा । ‘म्युजिक नेपालले स्रष्टासँग गरेको सम्झौता अनुसार काम गर्छ । त्यही आधारमा देश/विदेशमा सम्झौता गरेर पठाउँछौं । त्यहाँ बिक्री भएको आम्दानी पनि स्पष्ट छ । धेरै पोर्टलमा गयो भन्ने कुरामा हामीले मात्र पठाएको भन्ने ग्यारेन्टी हुँदैन,’ थापाले भने,’कसैलाई रोयल्टीको कुरामा चित्त नबुझे सबै हिसाब देखाएर रोयल्टी दिन तयार छौं ।’

म्युजिक नेपालसँग स्रष्टाको हिसाब माग्दा केही बिल देखाउने गरेको शेष बताउँछन् । ‘वर्षमा एक पटक दसैंमा भक्तराज आचार्य, यादव खरेलजस्ता स्रष्टाले पाँच हजार १० हजार बुझेर हुन्छ ? अहिले एउटा गीतबाट युट्युबले लाखौं दिइरहेका हुन्छन्,’ शेषले भने,’वर्षमा ८० हजार गीत बेच्नेले कति आम्दानी गर्दो हो । वर्षमा ३/४ लाख रोयल्टी संकलन समाजमा पठाइदिएको जस्तो गर्ने । के यो समाधान हो त, होइन नि । गीत लेख्ने, संगीत गर्ने गाउनेलाई कमसेकम गर्नपर्ने सम्मान गर्नपर्‍यो ।’

नेपालमा सिएमओ(संगीत उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल, रोयल्टी संकलक समाज) ले रोयल्टी संकलन गर्दै आएको छ । अन्तर्राष्ट्रिय रोयल्टी उठाउन नेपालको रोयल्टी संकलकलाई ‘आइएस डब्लु सी नम्बर’ लिनुपर्ने हुन्छ । त्यो नभएसम्म स्रष्टाको अन्तर्राष्ट्रिय रोयल्टी उठाउन नसकिने रोयल्टी संकलक समाजका खड्का बताउँछन् । ‘हाम्रो छाता संगठनले हामीलाई आइएस डब्लु सी कोड गर्छ । त्यो कोड आएपछि अमाजोन, डिजर्ट, युट्युबलगायतमा प्रयोग हुने रोयल्टी संस्थालाई आउँछ,’ उनले भने ।

‘म्युजिक नेपाल’ले गीत/संगीत बिक्री गरेर आम्दानी लुकाएर शोषण गरेको स्रष्टाहरुको आरोप छ । क्यासेट र सिडी सम्झौता गरेका कयौं स्रष्टाका गीत युट्युबलगायत अन्तर्राष्ट्रिय अनलाइन पोर्टलमा बिक्री गरेर पाउनुपर्ने लाभांश र रोयल्टी नदिएको खरेल दाबी गर्छन् ।

म्युजिक नेपालले यादवका खरेलका गीत र फिल्म बिक्री गर्दै आएको छ । रेडियो नेपाल र उनकै लगानीमा बनेको गीत पनि म्युजिक नेपालले प्रयोग गर्दै आएको खरेल बताउँछन् । ‘मेरा बिसौं एल्बम छन् । त्यसमध्येको एउटा एल्बममा म्युजिक नेपालको लगानी छ । लोकभाकामा आधारित त्यो गीत बाहेक सबैमा मेरै लगानी छ,’ उनी भन्छन्,’ती गीत प्रयोग गर्दा लेखकलाई त पैसा दिनुपर्‍यो । रेडियो नेपालको गीतका हकमा लेखकका हिसाबले मलाई गीतकारको भाग दिनुपर्‍यो । निर्माताले पाउने पैसा रेडियो नेपाललाई जानुपर्‍यो न्याय त्यहीँनिर हुन्छ ।’

प्रतिलिपि अधिकारको विवाद चर्किरहँदा म्युजिक नेपालले उनका केही गीत हटाएको यादव सुनाउँछन् । उनले निर्देशन र निर्माण गरेको फिल्म ‘चेलिबेटी’, ‘लोभी पापी’ पनि म्युजिक नेपालले युट्युबलगायत अन्य प्लेटफर्ममा बिक्रीमार्फत आम्दानी गर्दै आएको बताए । प्रविधिको फड्कोसँगै अगाडि बढ्न नसक्दा स्रष्टाले यो समस्या झेल्नु परेको खरेल बताउँछन् ।

स्रष्टाले आफ्नो हक अधिकार नखोज्दा म्युजिक कम्पनीले वर्षौंदेखि आर्थिक शोषण गरेको सत्यराजको भनाई छ । ‘स्रष्टाले दिल चलाउँछ । म्युजिक कम्पनी दिमाग चलाउँछ । उहाँहरु व्यापारी । स्रष्टा आफ्नो हक अधिकारमा भन्दा पनि सिर्जनामा तल्लिन हुन्छन्,’ उनी भन्छन्,’स्रष्टाले आफ्नै सिर्जनाबारे चासो नदिँदा म्युजिक नेपालले त्यसको फाइदा लिएको हो ।’

राज्यको सम्पत्ति दोहन

म्युजिक नेपालले रेडियो र रत्न रेकर्डिङका हजारौं गीत प्रयोग गरेको तर त्यसबाट स्रष्टा लाभान्वित नभएको अभियन्तासमेत रहेका संगीतकार शेष बताउँछन् । रेडियो नेपालका अधिकांश गीत म्युजिक नेपालको युट्युबमा देखेपछि शेषलगायत खरेलको टिमले रेडियो नेपाललाई यसबारे प्रश्न गर्दै निवेदन दिएको थियो । ‘आजसम्म हाम्रो संस्थाका गीतहरु कुनै व्यक्ति वा संस्थालाई प्रयोग गर्न दिएका छैनौं । यो गैरकानुनी हो । त्यस्ता मानिसलाई सजाय दिलाउँछौं,’ रेडियो नेपालले निवेदनको जवाफ दियो । त्यसपछि ३५ दिने सूचना निकाल्दै रेडियो नेपालको सम्पत्ति दुरुपयोग गरेर आर्जन गरेकाहरुसँग क्षतिपूर्तिसहित सम्झौता गर्न बोलायो । त्यसपछि विषय अगाडि बढेन ।

रेडियो नेपालले आफ्नो सम्पत्ति लुटेर दोहन गरेको विषयतिर ध्यान दिन नसककेको शेषको आरोप छ । ‘रेडियो नेपालले स्रष्टालाई रोयल्टी दिने कुरा त त्यस्तै हो । उल्टो आफ्नो सम्पति लुटेर खाइरहेको तिर पनि ध्यान दिएन,’ शेष भन्छन्,’यो तस्कर/माफियाहरुसँग कस्तो जालो हुन्छ । कसैलाई राज्यको सम्पत्ति र स्रष्टाको सम्पति प्रयोग गरेर अर्बपति हुने हक छैन । यो हाम्रो सम्पति हो । रेडियो नेपालसँग पनि हाम्रो गुनासो छ । आफ्नो सम्पत्तिको विषयमा रेडियो नेपालले चासो राखेन ।’

रेडियो नेपालले कुनै व्यक्ति वा संस्थालाई युट्युब च्यानलमा प्रयोगका लागि गीत नदिएको संगीत शाखा संयोजनकी चन्द्रकला शाह बताउँछिन् । ‘म्युजिक कम्पनीले हाम्रो गीत प्रयोग गर्दै आएको विषयमा रेडियो नेपालले ध्यानाकर्षण दिँदैछ,’ उनले भनिन्,’रोयल्टीका हकमा आक्कलझुक्कल म्युजिक नेपाल र रेडियो सगरमाथाले रोयल्टी बुझाउने गरेका छन् ।’

स्रष्टाले आफ्नो गीत भन्दै रेडियो नेपालका गीत म्युजिक नेपाललाई दिइएको थापा बताउँछन् ।

म्युजिक कम्पनीले नारायण गोपाल, गोपाल योञ्जन, अरुणा लामा, तारादेवी, नातिकाजी लगायतका गीतको प्रयोगबाट आएको आम्दानीबाट स्रष्टा वा स्रष्टाका परिवारलाई रोयल्टी दिनुपर्ने शेषको भनाई छ । ‘अर्बौं तस्करी गर्दा स्रष्टा ठगिए । बौद्धिक सम्पतिमाथिको मौलिक हक हनन भयो,’ शेषले भने,’दसैंको मुखमा पाएको केही रकममै स्रष्टा रमाए यही हो कमजोरी । म्युजिक नेपालले वर्षमा गर्ने अवार्ड थापेर सम्मानित भएको गर्व गर्छौं । अनि हाम्रो करोडौं पैसा माग्न डराउँछौ ।’

राज्यले स्रष्टाको अधिकारमा कदम चालिदिए एक हप्तामा यो समस्या सुल्झिने शेषको दाबी छ । प्रतिलिपि अधिकारको विषय सांगीतिक क्षेत्रमा बेलाबखत उठिरहन्छ । र त्यसरी समाधानसम्म नपुगी टुंगिन्छ । तर यसपटक स्रष्टाहरु हात बाँधेर बस्ने मुडमा छैनन् । गीतकार यादव खरेल आफूहरु चाँडै नै मुद्दा हाल्ने तयारीमा रहेको बताउँछन् । ‘हामी यो अत्याचार र शोषणका विरुद्ध कानुनी लडाइँमा जाने तयारीमा छौं । फागुनमै हामी अदालत पुग्छौं,’ उनले भने ।

संगीतकार शेष थप्छन्,’राज्यसँग कति रोइकराइ गर्ने । यो वर्ष एक सय मुद्दा दर्ता गर्ने भनेर एउटा अभियान चलाएका छौं । त्यसमा दुई वटा मुद्दा दर्ता भइसक्यो । पटकपटक छलफल हुँदा पनि कुनै निष्कर्ष निस्किएन । अब तपाईंहरु मुद्दाको माला लगाउनुस् ।’

रोयल्टी संकलक समाजका अध्यक्ष खड्का भन्छन्,’कसैले थाहै नदिई व्यापार गरेको छ भने मुद्दा लड्नैपर्छ । रोयल्टी पाउने नैसर्गिक अधिकार हो । हामी स्रष्टाको रोयल्टीको हक अधिकारको लडाइँमा साथ दिन्छौं ।’

२०७५ देखि अहिलेसम्म नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा गीत/संगीतबारे १० भन्दा बढी उजुरी परेको छ । तर, संस्थाले यी विवादमा दुई पक्षलाई छलफलमा बोलाउने, छलफलमा दुई पक्षको कुरा नमिले अनुसन्धानका लागि प्रहरीमा नै पठाउने गरेको छ ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा २०७५ देखि अहिलेसम्म परेका उजुरी

  • चेतन चापकोटाले ‘बुद्ध पठाइदेउ’ बोलको गीत नवमन नेपाल, स्मार्ट नेपाल र उज्यालो नेपालले दुरुपयोग गरेको भन्दै उजुरी : २०७६-३-३१
  • राजु तामाङले ‘छमछम’ बोलको गीत दुरुपयोग गरेको भन्दै दिनेश लामा, शर्मिला श्रेष्ठविरुद्ध उजुरी : २०७६-५-१
  • कल्पना खरेलले ‘सेतो काँत्रोमा गोजी हुँदैन’ बोलको गीतको शब्द चोरी गरेर अर्को गीत बनाएको भन्दै गणेश परियारविरुद्ध उजुरी
  • लीलाराम श्रेष्ठले ‘हातमा घडी’ बोलको गीतको लय हुबहु कपी गरेको भन्दै सरोज लामिछानेविरुद्ध उजुरी : २०७६-६-१३
  • नविन श्रेष्ठले ‘संसारी माया विचित्र’ बोलको गीतको भिडियो रत्नबहादुर घिसिङले नसोधि दुरुपयोग गरेको भन्दै उजुरी : २०७६-५-३
  • घनश्याम (विमल) अधिकारीले ‘बैंस जोवन’ बोलको म्युजिक भिडियो सुटिङमा बिना जानकारी सुत्र इन्टरटेन्टमेन्टले खिचेको भन्दै उजुरी
  • सावित्रा चिलुवालले ‘फूलझैं फूलेको’ बोल गीत तयार पारिसकेपछि प्रियसी म्युजकको प्रस्तुति भन्दै म्युजिक नेपालले अपलोड गरेको : २०७६-१-८
  • शिवनारायण जोशीको ‘बोके फूल फूल्यो वनभरि’ बोलको गीत सरोज लामिछाने, सिर्जना हुमागाईंले बिना अधिकार लय बिगारेको भन्दै उजुरी
  • -पुनप्रसाद सुवेदीको ‘माया टोक्नै नमिल्ने’ बोलको गीतको कभरचित्र(थम्बनेल) प्रयोग गर्दै अर्कै भिडियो राख्ने व्यक्ति/संस्था पत्ता लगाई पाउँ भन्दै उजुरी
  • शम्भु राईले प्रकाश सपुतको गीत ‘गलबन्दी’ सँग आफ्नो गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिलेको भन्दै उजुरी

कानुनमा के छ ?

प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ मा यस्तो प्रावधान छ ।

संरक्षित अधिकारको उल्लंघन भएको मानिने :

(१) कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम संरक्षित अधिकार उल्लंघन गरेको मानिनेछ

(क) रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लंघन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आनो हक नपुग्ने रचना वा ध्वनी अंकनको प्रतिलिपिहरु उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा

दफा २६. अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्ध :

नेपाल अधिराज्यभित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनी अंकनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यापारिक प्रयोजनको लागि नेपालअधिराज्यभित्र पैठारी गर्न हुँदैन ।

प्रतिलिपि अधिकार उल्लंघन गर्दा यस्तो सजाय हुन्छ

दफा २७. संरक्षित अधिकारको उल्लंघन गरेमा दण्ड सजाय :

(१) कसैले दफा २५ उल्लंघन गरेमा त्यस्तो उल्लंघन गर्ने व्यक्तिलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ र दोस्रो पटकदेखि पटकैपिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ ।

(२) संरक्षित अधिकारको उल्लंघन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।

दफा २८. अनधिकार प्रतिलिपि पैठारी गरेमा सजाय : कसैले दफा २६ उल्लंघन गरी कुनै रचनाको अनधिकार प्रतिलिपिहरु पैठारी गरेमा त्यस्तो प्रतिलिपिहरु जफत गरी निजलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ ।

दफा २९. अन्य सजाय : कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएका अन्य कुनै कुरा उल्लंघन गरेमा कसुरको मात्रा अनुसार पाँच हजार रुपैयाँ देखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया
Loading...