साहित्यपोस्टले अन्य प्रकाशनका भाषा, साहित्य, समाज र इतिहासका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  nayapatrikadaily  काे शनिबारिया अङ्क झन् नयाँबाट लिएका हौँ । यो लेख नयाँ पत्रिकाका लागि शिवहरि घिमिरेले लेख्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँपत्रिकामै पनि पढ्न सक्नुहुनेछ ।

=================

रानीपोखरी जति सुन्दर छ, त्यति नै कारुणिक छन् यसभित्र लुकेका कथा । नयाँ पुस्तालाई मल्लकालीन सभ्यताको झझल्कोसमेत दिलाउने यो पोखरी निर्माण भएयता यससँग जोडिएका घटना र रोचक प्रसंगहरू थुप्रै छन् । जानकारहरूका अनुसार रानीपोखरीलाई राणाकालीन समयमा सजायस्थलका रूपमा पनि लिने गरिन्थ्यो । प्रताप मल्लले विसं. १७२७ मा बनाएको यो पोखरीलाई राणाहरूले जनता र अपराधीलाई सजाय दिने स्थल बनाएका थिए ।

संस्कृतिविद् काशिराज टमोटका अनुसार रानीपोखरीसँग कैयौँ सत्यकथा र प्रसंग जोडिएका छन् । रानीपोखरीसँग जोडिएका कतिपय घटना र प्रसंग सुन्दा धेरैलाई आश्चर्य पनि लाग्छ । ‘मल्लकालमा निर्मित यो पोखरीका बारेमा धेरैले सुनेको र थाहा पाएका प्रसंग सकारात्मक होलान्,’ टमोट भन्छन्, ‘तर, यो पोखरीभित्र यतिधेरै घटना लुकेका छन् ती घटना सुन्दा अचम्म लाग्छ ।’ जानकारहरूका अनुसार यो पोखरीमा राणाकालीन समयमा गरिब र पीडित व्यक्तिहरू हाम फाल्थे । सहरका धनी व्यक्तिहरू जुवाखालमा हारेपछि प्राण त्याग गर्न रानीपोखरीलाई नै रोज्थे । त्यस्तै, तत्कालीन समयको सुरक्षा प्रशासन र सरकारले पनि रानीपोखरीलाई सजाय दिने स्थल बनाएको थियो । नेपाली सेनाले राणाकालमै यही पोखरीमा सेनालाई तालिम दिन्थ्यो । दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको टीका लगाइदिने परम्परा पनि यही पोखरीभित्र अटेको छ ।

रानीपोखरीमा हाम फाल्थे गरिबहरू

काठमाडौं सहरमा रोग, भोक र शोक पहिलेदेखि नै थियो । राणाकालमा सहरमा जग्गाजमिन नभएका व्यक्तिहरू पनि थिए । सडकमा मागेर खानेहरू थिए । उनीहरू गरिबीको पीडा सहन नसकेर रानीपोखरीमा हाम फानेर आत्महत्या गर्थे । सहरका गरिब र विपन्न पोखरीमै डुबेर जीवनत्याग गरेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । उनका अनुसार काठमाडौं उपत्यकामा पहिलेदेखि नै हुनेखाने र हुँदाखाने वर्गहरू छुट्टिएका थिए । गरिब र भोकले छटपटिएकाहरू रानीपोखरीमा गएर हाम फाल्थे । ‘पहिले–पहिले उपत्यकामा मानिसहरू धेरै गरिब हुन्थे, सहरमा अझै पनि गरिबको संख्या कमी भएको त छैन,’ उनी भन्छन्, ‘तर त्यतिवेला गरिबहरू रानीपोखरीमा हाम फालेर आत्महत्या गर्थेे, त्यो निकै कारुणिक लाग्थ्यो ।’ उनका अनुसार आत्महत्या गर्नेको संख्या बढेपछि तत्कालीन राणा सरकारले पोखरीआसपासमा ढोका र बार बनाएको थियो । त्यसपछि आत्महत्याका घटना कम भयो ।

रानीपोखरी आत्महत्या भएका घटना आफू १२/१५ वर्षको हुँदा पनि सुन्ने गरेको जोशीको भनाइ छ । ‘त्यतिवेला फलानो व्यक्ति रानीपोखरीमा डुब्यो रे, कति त उपत्यकाबाहिरबाट आएर केही गर्न नसकेकाहरू डुब्थे, कतिपय उपत्यकाकै मानिसहरू पनि त्यहाँ हाफ फाल्थे,’ उनी भन्छन्, ‘बाहिरी बार लगाएपछि यस्ता घट्ना रोकिएका थिए ।’ पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव गोविन्द टन्डनका अनुसार विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा सर्वसाधारणलाई प्रवेश दिँइदैनथ्यो । तत्कालीन समयमा बालगोपालेश्वरबाट सर्वसाधारणले पोखरीमा हाम फाल्थे । उक्त घटना रोक्न जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीलाई टीका लगाउन सुरु गरिएको टन्डनको भनाइ छ ।

जुवामा हारेपछि रानीपोखरीमा हाम फाल्थे

जानकारहरूका अनुसार यो पोखरी पहिले खुला थियो । त्यतिवेला बढी पीडा भएका, जीवनदेखि निराश भएका गरिबीले डसेका व्यक्तिहरू मात्रै आत्महत्या गर्दैनथे, जुवाखालमा हार्ने सहरमा धनी व्यक्तिले पनि यस पोखरीमा डुबेर प्राण त्याग गर्थे । इतिहासकार महेशराज पन्तका अनुसार जुवाखालमा हारेर भएभरको सम्पत्ति सकाएकाहरू रानीपोखरीमा हाम फाल्थे । यस्तो घटना २००७ सालयता पनि भएका थिए । राणाकाल वा प्रजातन्त्र आइसकेपछि पनि कतिपयले जुवाखालमा खेतबारी नै गुमाएका घट्ना पनि त्यतिवेला सुन्ने गरेको पन्तको भनाइ छ । उनका अनुसार मल्लकाल र राणाकालमा पोखरी वरिपरि खुला रहन्थ्यो । गहिरो पोखरीमा नीलो रङको पानी टिलपिल टल्किरहेको हुन्थ्यो । त्यतिवेला जोकोही पनि पोखरीको डिलमा पुग्न सक्थे । ‘पोखरीमा हाम फालेको मैले सुनेको छु र केही त देखेको पनि छु,’ उनी भन्छन्, ‘अहिले मात्रै जुवा खेल्दैनन, त्यतिवेला पनि यस्ता विकृतिहरू थिए, जुवामा हार्दा वा जीवनदेखि निराश हुँदा मानिसहरू यहीँ गएर हाम फाल्थे ।’

‘त्यतिवेला कतिपय गरिबहरू रानीपोखरीमा हाम फालेर आत्महत्या गर्थेे, त्यो निकै कारुणिक लाग्थ्यो ।’ संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार आत्महत्या गर्नेको संख्या बढेपछि तत्कालीन राणा सरकारले पोखरीआसपासमा ढोका र बार बनाउन लगाएको थियो ।

पन्तका अनुसार रानीपोखरीमा हाम फाल्ने र आत्महत्या गर्नेहरूको संख्या बढेपछि जुद्धशमशेरले विसं २००० सालतिर फलामेबार हाल्न लगाए । उक्त समयभन्दा अघि जंगबहादुरले सानो ढुंगे पर्खाल लगाएर पोखरी घेरेका थिए । तर, सर्वसाधारण पर्खाल नाघेर पोखरीमा डुब्न जान्थे । त्यस्ता घट्नाहरू बढ्न थालेपछि जुद्धशमशेरले फलामेबार लगाएका थिए ।

रानीपोखरीमा दिव्य परीक्षा

कुनै अपराध भइसकेपछि त्यसको ठोस प्रमाण नभेटिएमा शंका लागेको व्यक्तिलाई अघि राखेर लिइने परम्परागत नियमलाई दिव्य परीक्षा भनिन्छ । संस्कृतिविद् पन्तका अनुसार राणाकाल वा मल्लकालमा लिखित कानुन नभएको अवस्थामा त्यतिवेला आपराधिक गतिविधिको अनुसन्धानका लागि दिव्य परीक्षा लिइन्थ्यो । अपराध गरेको कोही व्यक्ति नदेखे वा अपराध हुँदाको कुनै प्रमाण नभेटिए आपराधिक गतिविधिमा शंका लागेको व्यक्ति पत्ता लगाउन दिव्य परीक्षा लिइने गरिन्थ्यो । उक्त समयमा रानीपोखरीमा दिव्य परीक्षा लिइन्थ्यो । त्यतिवेलाको सुरक्षाकर्मी (आठ पहरिया)ले अनुसन्धानका लागि पोखरीमा डुबाउने परम्परा रहेको संस्कृतिविद् पन्तको भनाइ छ । ‘लिखित प्रमाण नभएको अवस्थामा शंका लागेका व्यक्तिहरूलाई रानीपोखरीको डिलमा उभ्याइन्थ्यो, उनीहरूलाई सोधिन्थ्यो, उनीहरूले सत्य कुरा नबोलेपछि पोखरीमा डुबाइन्थ्यो,’ उनी भन्छन्, ‘कतिपयलाई जबर्जस्ती पोखरीमा घचेटिन्थ्यो, त्यसपछि अपराधी को हो भन्ने पुष्टि हुन्थ्यो ।’

संस्कृतिविद् टमोटका अनुसार पनि अपराधीलाई बहकाउनका लागि राणाकालीन समयमा आगोले डाम्ने प्रथा पनि थियो । पोखरीमा डुबाएपछि आपराधिक कार्यमा संलग्न व्यक्तिले घटनाका बारेमा खुलासा गर्थे । पोखरीमा डुबाउँदा कतिपयको मृत्युसमेत हुन्थ्यो । संस्कृतिविद् टमोट भन्छन्, ‘रानीपोखरी प्राचीन सम्पदा मात्रै होइन, सजाय दिने ठाउँ पनि हो, अपराध गर्ने र नियम–कानुन मिच्नेलाई राजाले पोखरीमा चोपल्न लगाउँथे, राणाहरूले जनतालाई दुःख दिनु परे त्यही ल्याउँथे ।’ उनले यसबारेमा पुराना पुस्तकमा लेखिएको पनि जानकारी दिए । संस्कृतिविद् पन्तका अनुसार करिब ६० वर्षअघि जुम्लामा पनि अपराध गर्ने व्यक्तिलाई यसरी नै पोखरी वा पानीमा डुबाउने चलन रहेको थियो । ‘जुम्लामा पनि कुनै समय यस्तै परम्परा थियो, केही वर्षअघि मैले पढेको थिएँ,’ उनी भन्छन् । उनी त्यतिवेला नेपालमा मात्रै नभएर अन्य मुलुकहरूमा पनि यस्तै प्रकारका सजाय–व्यवस्था हुने गरेको बताउँछन् ।

अपराधी पत्ता लगाउने ठाउँ 

नेपालमा पहिलो लिखित कानुन १९१० को मुलुकी ऐन हो । यो ऐन बन्नुपूर्व कानुनी र सजाय व्यवस्था व्यवस्थित र न्यायोचित थिएन । राणाकालीन समयमा अपराधको खुलासा गर्न शंका लागेको व्यक्तिलाई पनि बढी दुःख दिने चलन थियो । कोही व्यक्ति कुनै घटनामा संलग्न छ भन्नेबारे पुष्टि गर्न रानीपोखरीमा डुबाइन्थ्यो । अपराध गरेको ठोस प्रमाण नभेटिए यसो गरिन्थ्यो । पोखरीमा डुबाएकामध्ये पानीमा तैरिए वा डुबेनन् भने अपराधी होइन भन्ने पुष्टि हुन्थ्यो । जो पानीमा डुब्यो, उत्रन सकेन ऊ नै अपराधी रहेछ भन्ने पुष्टि हुन्थ्यो । उक्त अपराधीलाई अपराधका आधारमा तत्कालीन सुरक्षाकर्मी (आठ पहरिया)ले सजाय दिने गर्थे । संस्कृतिविद् जोशीका अनुसार अपराधको पुष्टि गर्न रानीपोखरीमा शंका लागेको व्यक्तिलाई डुबाउँदा कोही निर्दोष व्यक्तिको मृत्यु हुन्थ्यो । पौडन सकेका बाँच्थे । तर, अपराध गरेको व्यक्ति पौडन सक्दैन भन्ने तत्कालीन मान्यता थियो ।

संस्कृतिविद् पन्त कतिपयलाई तराजुमा राखेर तौलने चलन पनि भएको बताउँछन् । राणाकालमै जघन्य अपराध भए उक्त अपराधमा संलग्न व्यक्तिलाई कसमसमेत खुवाउने गरिन्थ्यो । ‘कुनै काममा विश्वास नलागे वा कोही व्यक्तिले विश्वास नगरे अहिले पनि कसम खुवाइन्छ, ‘कुनै समय अपराध गर्ने, ढाट्ने, लुटपाट गर्ने व्यक्तिलाई कसम खुवाइथ्यो ।’

पछिल्लो समय माओवादी द्वन्द्वकालमा पनि निर्दोष मानिसलाई पानीमा डुबाउने गरिन्थ्यो । उक्त समयमा रानीपोखरीमा समेत केही व्यक्तिहरूलाई डुबाएका घटना भएको संस्कृतिविद् पन्तको भनाइ छ । उनका अनुसार राजा र राणाहरूको पालामा मात्रै नभएर द्वन्द्वकालमा पनि केही व्यक्तिहरूलाई रानीपोखरीमा डुबाइएको थियो । ‘राजा र राजनीतिक दलका गुन्डा नाइकेहरूले कति व्यक्तिलाई रानीपोखरीमा डुबाएका थिए, तर उक्त घटनाका बारेमा लिखित प्रमाण भेट्टाउन कठिन छ, द्वन्द्वकालमा रानीपोखरीमा कतिपयलाई डुबाइएको थियो’ भन्छन्, ‘चिसो महिनामा पानीमा डुबाउँदा कतिपय त्यही डुबेर मर्थे भने कति पौडेर भाग्थे ।’

संस्कृतिविद् जोशीका अनुसार रानीपोखरीमा नेपाली सेनाले तालिम पनि गथ्र्यो । पानीमा पौडिन सिक्ने तालिम गर्न नेपाली सेनाका थुप्रै सैनिक पोखरीमा पुग्थे । आजभन्दा करिब ३०/४० वर्षअघि पनि नेपाली सेनाले आफ्ना सैनिकहरूलाई रानीपोखरीमा पौडन सिकाउँथ्यो । त्यतिवेला सेनाले पोखरी पोहोर बनायो भनेर पनि आलोचना भएको जोशीको भनाइ छ । ‘रानीपोखरी उपत्यकाको मुख्य पोखरी हो, भक्तपुर र ललितपुरमा भएका पोखरीभन्दा यो पोखरीको महत्व बेग्लै छ,’ उनी भन्छन्, ‘कुनै समय त्यहाँ डुंगा पनि चलाइथ्यो ।’