साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

को हुन् कविताका नायक– बिसे नगर्ची ?

वास्तवमा इतिहास र कर्मले बिसे नगर्चीको विम्बलाई पछिल्ला परिवर्तनकामी आन्दोलनहरूमा सहभागी हुने छुट दिँदैन । उनी परिवर्तनका बाहक त थिएनन् नै, राजाप्रति वफादार र यथास्थितिका पक्षधर नै थिए ।

इलुस्ट्रेसन कलाः विशेषांक सि. अर्याल
ratna book ads

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  www.chetlung.com बाट लिएका हौँ । यो लेख चेतलुङका लागि  आशकुमार राईले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई चेतलुङमै पनि पढ्न सक्नुहुनेछ ।

=============

०६२/६३ को जनआन्दोलनमा ऐतिहासिक पात्र बिसे नगर्चीलाई नायक बनाएर रचित कविता ‘बिसे नगर्चीको बयान’ जुलुसदेखि आम जनमानससम्म बैंसालु आगोसरी फैलियो । त्यसले दर्शक, श्रोता र पाठकको अपार माया पनि पायो । जनआन्दोलनमा सहभागी र साहित्य अनुरागीको पंक्तिमा यो चर्चित कविता नसुन्ने सायदै कोही होला ।

संयोग भनौँ या आकस्मिकता, खड्ग ओलीको पछिल्लो प्रतिगामी कदमविरुद्धको आन्दोलनमा पनि यो कविता सुनियो । फेरि दोहोर्‍याएर, घोत्लिएर पढ्ने संयोग जुर्‍यो । फेरि पढियो । त्यसको अर्थ खोजियो । अक्षर–अक्षर केलाइयो । लाखौं पाठक र श्रोता कमाएको त्यो प्रिय क्रान्तिकारी कवितालाई यसपालि त मैले बुझ्दै बुझिनँ पो । दलित तथा उत्पीडित समुदायको सहानुभूति र सद्भावको दृष्टिकोणबाट मिलाएँ । मेल खाएन । आदिवासी जनजाति तथा आफ्नै किराँत समुदायको ठाउँमा उभिएर हेरेँ । अहँ, कतै मिलेको देखिएन ।

अनि फेरि प्रगतिशीलताको उचाइबाट त्यसलाई हेरेँ । झन् दिग्भ्रमित पो भएँ । त्यसपछि त्यसकै वैचारिक काँधमा चढेर हेरेँ, बेग्लै दृश्य देखियो । बिसे नगर्चीको ऐतिहासिक पृष्ठभूमि र उनको भूमिकाबाट हेरेँ । झन् प्रश्नहरू पो पंक्तिबद्ध भएर आए । कवि श्रवण मुकारुङले ती पात्रलाई कसरी नायक बनाए ? कवितामै वास्तविक बिसे नगर्चीलाई आन्दोलनको नायक बनाउन मिल्थ्यो कि मिल्दैनथ्यो ? प्रगतिशील आन्दोलनसँग बिसे नगर्चीको के साइनो छ ? कविताका नायकको वैचारिक कित्ता कहाँ हो ? प्रिय कविले कुन दृष्टिकोणबाट त्यो कविता लेखे ?

ऐतिहासिक पात्र बिसे नगर्ची वा उक्त कविता मन नपरेर यो लेख लेखिएको होइन । बिसे नगर्चीको इतिहास सुहाउँदो भूमिका कवितामा मिलेन भन्ने मात्र हो ।

इतिहासमा बिसे नगर्ची

सत्ताधारी इतिहासकारहरूको दृष्टिमा बिसे नगर्ची गोरखा दरबारमा नगरा बजाउने, लुगाफाटो सिलाउने दरबारका प्रिय बुद्धिजीवी दमाई हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहलाई उनले राज्य विस्तार अभियानमा भौतिक र बौद्धिक सहयोग गरेका थिए । इतिहासकारहरूका अनुसार गोरखा र लमजुङबीच भएको सिरानचोकको लडाइँमा गोरखली पक्षले जितेपछि गोर्खालीहरूले जितको हर्षबढाइँ गर्दा शत्रु पक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सैनिक अधिकृतहरूलाई त्यहाँबाट छिर्न लगाएका थिए ।

बिसे नगर्ची आफ्नो समयको राजनीतिक प्रणालीका एक जैविक बुद्धिजीवी मात्रै होइन, जात व्यवस्थामा आधारित सामन्ती युगका एकजना चतुर पात्र र पृथ्वीनारायण शाहको बढ्दो प्रभाव र रापतापका उपज पनि हुन् भन्न सकिन्छ । आन्टोनियो ग्राम्सीका अनुसार प्रत्येक वर्गले आफूसँगसँगै जैविक बुद्धिजीवी पनि सिर्जना गर्छ र आफ्नो विकासक्रममा तिनलाई पनि विस्तार गर्दै लैजान्छ । राज्यसत्तामार्फत सम्पूर्ण सेवा सुविधा दिएर आफ्ना जैविक बुद्धिजीवीको महत्ता स्थापित गर्दछ । पृथ्वीनारायणको सामन्ती राज्य विस्तार अभियानले पनि बिसे नगर्चीजस्ता जैविक बुद्धिजीवीको उत्पादन र संरक्षण गर्नु अनौठो होइन । यस कोणबाट हेर्ने हो भने उनी पृथ्वीनारायणको आदेशपालक, उत्पीडित समुदायभित्रको एक दरबारिया बालिघरे दमाई तथा दरबारको आडमा बनेका दलित समुदायभित्रकै एक शासक पात्र देखा पर्छन् ।

दलितको नजरमा बिसे नगर्ची

हरेक व्यवस्था निश्चित उत्पादन शक्तिमाथि खडा हुन्छ । त्यसैले त्यस बेलाको धार्मिक तथा जात व्यवस्थाभित्र रहेर सामन्ती राज्य विस्तारको क्रममा उत्पादन गरिएका धेरै बुद्धिजीवीमध्ये बिसे नगर्ची एक थिए । दलित समुदायको भएकै कारण उनलाई महत्त्वपूर्ण पात्रका रूपमा स्थापित गरियो । राम्ररी हेर्ने हो भने पृथ्वीनारायणको राज्य विस्तार अभियानमा योगदानभन्दा पनि धार्मिक तथा जात व्यवस्थामा आधारित सामन्तवादी व्यवस्थालाई वैधानिक बनाउन र टिकाउनको निमित्त खेलेको भूमिकाकै कारण उनलाई महत्त्व दिइएको हो । उनी आफैं पनि जात व्यवस्थाको चरम विभेदमा परेका हुँदैन थिए भने उनको धोती खोल्ने काम किन गरिन्थ्यो ?

यसर्थ भन्न सकिन्छ कि पृथ्वीनारायणले सम्पूर्ण दलित समुदायलाई आफ्नो प्रणालीमा समाहित गर्दै आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गरेको पात्र हुन्– बिसे नगर्ची । बिसे नगर्चीमाथि शासन गरेपछि उसको समुदायमाथि स्वतः शासन गरियो । बिसे नगर्चीले नै आफूमाथि भएको अपमान र अत्याचारको विरुद्ध बोल्न नसकेपछि उनको समुदायको बोली बन्द हुने भइहाल्यो ।

वास्तवमा इतिहास र कर्मले बिसे नगर्चीको विम्बलाई पछिल्ला परिवर्तनकामी आन्दोलनहरूमा सहभागी हुने छुट दिँदैन । उनी परिवर्तनका बाहक त थिएनन् नै, राजाप्रति वफादार र यथास्थितिका पक्षधर नै थिए ।

दास मनोवृत्तिबाट उठाइएका बिसे नगर्चीजस्ता पात्रलाई प्रशंसा गर्ने नाममा अहिलेसम्मको एकल नश्लीय धार्मिक सर्वसत्तावादी सामाजिक सत्ता र अमानवीय जात व्यवस्था जीवित राख्‍नेप्रपञ्‍च गरिएको छ । सडकदेखि महलसम्म, उत्पीडित समुदायदेखि उत्पीडक समुदायसम्म, सर्वसाधारणदेखि बौद्धिक तप्कासम्म बिसे नगर्चीका नयाँ–नयाँ संस्करणहरू बाँचिराखेकै छन् । समय र भौतिक परिस्थितिको फेरबदलसँगै बिसे नगर्ची अहिले एक प्रवृत्तिको रूपमा विकास भइसकेको छ । उसले समर्थन गरेको राजनीतिक प्रणालीले नै उसलाई शूद्र, ‘अछुत’ बनाएको छ, ऊ स्वयं उत्पीडनमा परेको छ । तर, ऊ यसलाई फगत कर्मको खेल ठान्दछ । शासकको आदेश पालन गर्नुलाई नै उसले धर्म सम्झेको छ । यस्ता बिसे नगर्चीहरू प्रवृत्तिको रूपमा जीवित रहेपछि पृथ्वीनारायण प्रवृत्ति झनै विकसित हुने नै भयो ।

दलित आफैंमा कला, सीप र सिर्जनामा अब्बल, मिहिनेती, विवेकशील र आत्मनिर्भर समुदाय हो । मानव सभ्यताको गति हेर्दा विकासको उन्नत चेतना दलित समुदायले नै पहिले समातेको तथ्यहरू भेटिन्छ । उनीहरूको महत्त्वपूर्ण योगदानले समाज यहाँसम्म आइपुगेको हो । विडम्बना, त्यही विज्ञान प्रविधि, कला र शिल्पका धनी समुदायलाई जात व्यवस्थामा आधारित राजनीतिक प्रणालीले बहिस्करण गर्‍यो, ‘अछुत’ बनायो । दास बनायो । सोचौँ त, कथित शूद्रकै ज्ञान, सीप र क्षमतालाई सम्मान गर्दै विज्ञान–प्रविधिको विकास गर्न सकेको भए हाम्रो समाज कहाँ पुग्ने थियो ? पश्चिमा सभ्यता कहाँ पुगिसक्दा पूर्वीय सभ्यता कहाँ छ ? यसका लागि यही जात व्यवस्था जिम्मेवार छ । अनि यही व्यवस्थाको मजबुत जग हाल्नमा योगदान गर्ने बिसे नगर्चीलाई दलित समुदायले कसरी हेर्ने ?
त्यसैले दलितको नजरमा बिसे नगर्ची र जात व्यवस्थामा आधारित राज्यसत्ता बनाउने पृथ्वीनारायण शाह एकै हुन् ।

किराँती तथा आदिवासी नजरमा बिसे नगर्ची

नेपालको लिखित इतिहासअनुसार सबैभन्दा लामो समय शासन किराँतीहरूले चलाएका हुन् । उनीहरूले ८ सय वर्ष लामो शासन गरेको इतिहास छ । यस देशमा व्यवस्थित ढंगले शासन सुरु गर्ने पुरानो समुदाय किराँती नै हो । उनीहरूको आफ्नै सभ्यता, दर्शन, भाषा, सांस्कृतिक परम्परा र राजनीतिक प्रणाली छ ।

तर, त्यति महत्त्वपूर्ण इतिहास बोकेको किराँती समुदायको अहिले कन्तबिजोग छ । ऊसँग धेरै भाषा छन्, लिपि छैन । संस्कृति छ, पहिचान छैन । राजनीति छ, आत्मसम्मान छैन । जनसंख्या छ, राज्यका अंगमा प्रतिनिधित्व छैन । यस्तो अवस्था के कारणले आयो ? यसको एउटै सटिक उत्तर छ– पृथ्वीनारायण शाहको कथित नेपाल एकीकरण । किराँतीहरूको सर्वस्व त्यतिखेरै गुमेको थियो । पृथ्वीनारायण शाहले कसैको भाषा, संस्कृति र सभ्यताहरू ध्वस्त पारे त, कसैको नाक कान काटेर धार्नी पुर्‍याए । अनेक छलछाम गरे, धेरैको सर्वस्व हरण गरे । त्यति मात्र होइन, उनै पृथ्वीनारायणले तलैतला भएको जात व्यवस्थाको बन्दिलो जग पनि हाले । अनि बिसे नगर्ची तिनै पृथ्वीनारायणका एक वफादार कारिन्दा थिए । त्यसैले किराँतीहरूको मात्र होइन, सम्पूर्ण उत्पीडित समुदायको नजरमा बिसे नगर्ची र पृथ्वीनारायण एकै सिक्काका दुई पाटा हुन् ।

यतिखेर किराँती समुदायभित्रैका शेरधन राई, सुवास नेम्बाङ, राजेन्द्र लिङ्देनजस्ता पछिल्लो संस्करणका बिसे नगर्चीहरू प्रशस्तै छन् । उनीहरूले मुक्तिको तगारो बनेर आफ्नै समुदायलाई चुनौती दिइरहेका छन् । त्यसैकारण बिसे नगर्ची उत्पीडित आदिवासी जनजाति समुदायको नजरमा नायक होइन, खलनायक हुन् ।

निष्कर्ष

यद्यपि समय चेतना र अवस्था बिसे नगर्चीको भन्दा निकै अगाडि बढिसकेको छ । तैपनि अग्रगामी परिवर्तनका आन्दोलनमा अझै पनि कैयौं बौद्धिक तप्काले बिसे नगर्चीलाई नायकको मानक बनाइरहेकै छन् । त्यसैले अढाइ सय वर्ष अगाडिका बिसे नगर्चीलाई आजको कसीमा जाँच्‍नै पर्ने हुन्छ ।

वास्तवमा इतिहास र कर्मले बिसे नगर्चीको विम्बलाई पछिल्ला परिवर्तनकामी आन्दोलनहरूमा सहभागी हुने छुट दिँदैन । उनी परिवर्तनको बाहक त थिएनन् नै, राजाप्रति वफादार र यथास्थितिका पक्षधर नै थिए । त्यसैले हिन्दु राष्ट्र र राजतन्त्रको माग राख्‍नेप्रतिगमनकारी कित्ता पो उनको कित्ता होइन र ?

अर्को एक प्रसंगमा ग्राम्सीले भनेका छन्– उत्पादक शक्ति संरचनाको विकासकै अभिव्यक्तिको रूपमा आधारभूत सामाजिक समूहहरूको उत्पादन हुन्छ । तिनै समूहले पहिल्यैदेखि विद्यमान बुद्धिजीवीको कित्ता खोजी गर्छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक प्रणालीमा आमूल परिवर्तन हुँदा पनि यो रहिरहन्छ । वास्तवमा सही/सत्य कुरो यही हो । पञ्‍चायत उहिल्यै गयो । तर, पञ्‍चायत ठीक थियो भन्ने बुद्धिजीवी अझै छन् । राजा हट्यो, राजावादी बुद्धिजीवी अझै छन् । एकात्मक हिन्दु राजनीतिक प्रणाली हटिसक्यो । तर, हिन्दु अतिवादी बौद्धिक सर्कल अझै छ ।

दरबारिया बुद्धिजीवीहरूको अझैसम्म जीवित मानसिकताले नै पृथ्वीनारायण र बिसे नगर्चीलाई एउटा प्रवृत्तिको रूपमा फेरि जगाउन खोजिरहेका छन् । त्यही मानसिकताले बिसे नगर्चीलाई आन्दोलनको मानक बनाउँछ । शाहवंशीय सत्ताले निर्माण गरेको भ्रमपूर्ण विचार अझैसम्म बोकिहिँड्नेले बिसे नगर्चीलाई नायक बनाइरहेका छन् । मुख्य प्रश्न यो हो कि हामी परिवर्तनकामी आन्दोलनमा उनलाई किन उपस्थित गराइरहेका छौँ ?

अन्त्यमा, यस आलेखको उद्देश्य बिसे नगर्चीलाई निषेध गर्ने होइन, उनको इतिहास र कित्ता जहाँ थियो, त्यहीँ रहन दिऔँ भन्ने मात्रै हो । अनि ‘बिसे नगर्चीको बयान’ जस्ता कविताले दिएको उनको विम्बलाई पुनर्परिभाषित गर्ने प्रयत्न हो । परिवर्तनको आन्दोलनमा प्रतिगामी पात्रको वाहवाही सुहाउँदैन ।

प्रतिक्रिया
Loading...