साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

पाँच दशक अघि यसरी गरियो कर्णाली अध्ययन

त्यो बखत जुम्लेलीको मुख्य बजार बाँकेको नेपालगञ्ज थियो, जहाँ पुग्न जुम्लादेखि ११ दिन जति पैदल यात्रा गर्नुपर्दथ्यो भने भारी सहित फर्कंदा १४ दिन जति लाग्थ्यो।

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  www.himalkhabar.com बाट लिएका हौँ । यो लेख हिमालखबरका लागि  बिहारीकृष्ण श्रेष्ठले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई हिमाल खबरमै पनि पढ्न सक्नुहुनेछ ।

=============

पाँच दशक अघि सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु र प्रदीप रिमालले कर्णालीको जुम्ला पुगेर स्थलगत अध्ययनका आधारमा लेखेको पुस्तक कर्णाली लोक संस्कृति’ ले २०२८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। त्यो पुस्तकको दोस्रो संस्करण भर्खरै हिमाल किताबले प्रकाशन गरेको छ। त्यति वेलाको जुम्ला यात्रा, जुम्लेली समाज स्मरण गर्दै अहिले लेखक बिहारीकृष्ण श्रेष्ठले दोस्रो संस्करणका लागि लेखेको भूमिका :

बिहारीकृष्ण श्रेष्ठ

आधा शताब्दी पहिलेका तुलनामा नेपालमा अहिले समाजविज्ञानका विभिन्न विधाको पढाइलेखाइमा निकै विकास भइसकेको भए तापनि स्थलगत प्रत्यक्ष शोधकार्यमा आधारित अनुसन्धान सामान्यतः दुर्लभ छन्। यस परिप्रेक्ष्यमा पाँच दशक अगाडि त्यो पनि अति दुर्गम तथा जीवनयापनको अवस्था कठिनतम रहेको जुम्लाको भौगोलिक परिवेशमा गरिएको यो अन्वेषणमूलक कृतिको आफ्नै महत्व छ।

त्यो वेला नेपालमा स्थलगत अनुसन्धान मूलतः विदेशी अन्वेषकले गर्थे। उनीहरू यहाँ आएर पढेलेखेका केही स्वदेशी व्यक्तिहरूलाई सहायकका रूपमा साथमा लिई सामान्यतया विस्तृत अवधिको अनुसन्धान गर्थे। त्यसपछि आफ्नै देश फर्केर ती शोधकार्यका प्रतिवेदनलाई आफ्नै संस्थाका नामबाट प्रकाशित गर्थे। ती बाह्य शोधकर्ताहरूले नेपाललाई आफ्नो अनुसन्धान स्थलका रूपमा प्रयोग गर्ने गर्थे।

कतिपय अवस्थामा नेपाली समाजको अवलोकन र बुझाइमा ती शोधकर्ता अपरिपक्व हुनाले उनीहरूको प्रस्तुति तथा प्रकाशनमा कहिलेकाहीं नेपाल सम्बन्धी अवास्तविक, असान्दर्भिक तथा भ्रामक अभिव्यक्ति पनि हुन्थे, जसले गर्दा कतिपय विषयमा नेपाल सम्बन्धी भ्रामक सामग्री प्रवाहित भई विश्वसामु मुलुकको छविमै प्रतिकूल असर पर्थ्याे। त्यति वेलाको नेपालमा समाजविज्ञान सम्बन्धी वाङ्मयमा त्यस्तो सीमितता हुँदाहुँदै पनि तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको नेतृत्वको, मुख्यतया त्यति वेला सो प्रतिष्ठानको सह-सदस्य रहनुभएका, वर्तमान शताब्दी पुरूष श्री सत्यमोहन जोशीज्यूको विहङ्गम दृष्टिकोण, अग्रगामी सोचाइ र अथक प्रयासको फलस्वरूप नेपालको समाजविज्ञानको इतिहासमै पहिलो प्रयासका रूपमा स्थलगत अध्ययनमा आधारित यो बहुआयामिक अन्वेषण कार्य सम्पन्न भएको थियो।

यस शोधकार्यको प्रतिवेदन नेपालको समाजविज्ञानको इतिहासमा विशुद्ध नेपाली संस्थाले आफ्नै सीमित साधनको प्रयोग गरी नेपाली शोधकर्ताहरूको टोलीबाट सफलतापूर्वक सम्पन्न गराएको अन्वेषणको अभिलेखका रूपमा रहिआएको छ। यसै कारणले होला पाँच खण्डको यस शोधग्रन्थलाई २०२८ सालको मदन पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार पनि प्रदान गरिएको थियो।

प्रकाशनको केही वर्षपछि नै यो शोधग्रन्थ दुर्लभ भइसकेको थियो। माग हुँदाहुँदै पनि संस्थागत चाँजोपाँजो नमिलेकाले यसको पुनः प्रकाशन हुन सकेको थिएन। अहिले आएर समाजविज्ञान सम्बन्धी नेपालको सुप्रसिद्ध संस्था सोसल साइन्स बहाःले यस शोधग्रन्थलाई पुनः प्रकाशन गरी पाठकसमक्ष ल्याउन प्रयास गरेको छ। यसका लागि यस ग्रन्थका लेखक मण्डल सो संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछ। सुखद संयोगकै कुरा हो, यसको पुनः प्रकाशन शताब्दी पुरूष सत्यमोहन जोशीजीले सय वर्ष पूरा गर्नुभएको अवसरमा हुन गएको छ।

कर्णाली लोक संस्कृति सङ्ग्रहको प्राज्ञिक महत्व

नेपालको समाजविज्ञान क्षेत्रमा यस ग्रन्थको खास ऐतिहासिक महत्व छ। किनभने सडक यातायात, सञ्चार माध्यम, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा भएको विकास, सरकारको बढ्दो उपस्थिति, राष्ट्रिय राजनीतिको मूलधारमा गहिरिंंदो सहभागिता र स्थानीय जनतामा आफ्नो अधिकार र कर्तव्यको बढ्दो चेतना आदि सबै कारणले आजको कर्णाली मुलुकका अन्य भूभाग जस्तै गरी सङ्गठित राष्ट्रको अभिन्न अङ्गका रूपमा रहेको छ।

पाँच दशक पहिले कर्णाली लोक संस्कृतिको अध्ययन गरेका बेला कर्णाली समाजको कथा अर्कै थियो। त्यो बेलाको कर्णाली समाजको अवस्थालाई अहिले फर्केर हेर्दा के देखिन्छ भने त्यो समाज सदियौं पहिले अर्कै राजनैतिक र सांस्कृतिक परिवेशमा सञ्चालन हुँदै आएको थियो। पछि गोर्खा राज्यमा विलीन भएपछि लगभग दुई सय वर्ष एक किसिमको सांस्कृतिक यथास्थिति र निश्चितताको अवस्थामा रह्यो।

तर यसपछि थप व्याख्या गरिए जस्तै त्यति बेला कर्णाली समाजले यथास्थितिलाई परित्याग गरी दूरगामी महत्व र प्रभावको सङ्क्रमणमा पदार्पण गर्नै लागेको थियो। त्यसैले प्रस्तुत कर्णाली लोक संस्कृति ग्रन्थ सो ऐतिहासिक सङ्क्रमणको सङ्घारमा उभिएको कर्णाली सभ्यताको तत्कालीन यथास्थितिको एउटा अभिलेखका रूपमा प्रस्तुत हुन आएको छ।

कर्णाली अध्ययन परियोजनाका प्रमुख, तत्कालीन राजकीय प्रज्ञा-प्रतिष्ठानका सह-सदस्य श्री सत्यमोहन जोशीद्वारा लिखित यस ग्रन्थको पहिलो खण्ड, इतिहासमा व्याख्या गरिए अनुसार संवत् १८४६ मा तत्कालीन गोर्खा राज्यमा विलीन हुनुभन्दा पहिले कर्णाली क्षेत्रको राजनैतिक तथा सांस्कृतिक अन्तक्रिया सदियौंदेखि यस भूभागको पश्चिममा पर्ने हालको भारतको कुमाउ गढवालसित र उत्तरमा हाल चीनको तिब्बतमा पर्ने समुदायहरूसित रहिआएको थियो। उदाहरणका लागि, सो खण्डमा प्रा. राम राहुललाई उद्धृत गर्दै लेखिएको छ, ‘बाह्रौं शताब्दीमा नागदेव अथवा नागराज नाम गरेका गढवालका खस राजाले जुम्लालाई अधीनस्थ पारे। कर्णालीको पूर्वी शाखा भेरी नदी तथा उत्तरमा पश्चिमी तिब्बतको मार्युमलादेखि उत्तर-पश्चिममा माथिल्लो सतलज उपत्यकासम्म फैलिएका हिमालका प्रारम्भिक मध्यकालीन राज्यहरूमध्ये त्यस बेलाको जुम्ला सबभन्दा ठूलो केन्द्रबिन्दु नै भएको थियो’ (जोशी, इतिहास, खण्ड १, पृ. २८)।

सिंजा उपत्यका।

यसै गरी ‘तिब्बती वंशावलीहरूमा सेंजा अथवा सिन्जालाई ‘यात्से’ (Yatse) भनेर उल्लेख गरेको पाइन्छ’ (उही, पृ. ३६)। सो क्षेत्र कुनै वेला कुमाउंँ गढवालका खस राजाहरूले जितेको र कुनै वेला जुम्लाका राजा जितारिमल्ल (चौधौं शताब्दीमा) कुमाउँ गढवाल क्षेत्र सर गरेको देखिन्छ (पृ. ५९)। यसरी हालको कर्णाली र सोभन्दा पश्चिमको क्षेत्र तत्कालीन गोर्खा राज्यमा विलीन भई सन् १८१४-१८१६ को अंग्रेजसितको युद्धपश्चात् महाकाली नदी नेपालको पश्चिमी सीमा निर्धारण नभएसम्म कर्णाली क्षेत्र, कुमाउँ गढवाल र तिब्बतको पश्चिमी भूभाग समेत सम्मिलित एउटा बृहत् आफ्नै विशेष अस्तित्व भएको छुट्टै सांस्कृतिक क्षेत्रका रूपमा रहिआएको पनि देखिन्छ।

मानवशास्त्रको परम्परामा सांस्कृतिक क्षेत्र (culture area) भन्नाले यस्तो अविच्छिन्न भौगोलिक क्षेत्रको बोध हुन्छ जहाँका विभिन्न समुदायका चारित्रिक विशेषता उही वा उस्तै हुन्छन् वा एउटा प्रभावी सांस्कृतिक अभिमुखीकरणका साझेदार हुन्छन् (a contiguous geographic area comprising a number of societies that possess the same or similar traits or that share a dominant cultural orientation)। यसरी गोर्खा राज्यको उदयपश्चात् तत्कालीन जुम्ला क्षेत्र नयाँ राज्यमा विलीन हुनु भनेको महत्वपूर्ण राजनैतिक परिवर्तन मात्रै होइन।

यसले गर्दा जुम्ला क्षेत्रले पश्चिममा पर्ने कुमाउँ गढवालतर्फ उन्मुख सांस्कृतिक क्षेत्रलाई परित्याग गरी गोर्खाली प्रभुत्वमा रहेको पूर्वतिरको नौलो सांस्कृतिक क्षेत्रसित सम्बन्ध विकसित गर्नुपर्ने स्थितिको सृजना हुनु पनि हो। तर विलयपश्चात् झण्डै २०० वर्षसम्म नवआगन्तुक जुम्ला वा कर्णाली क्षेत्रसित नेपाल अधिराज्यको सम्बन्ध प्रशासनिक नियन्त्रणमा मात्र सीमित रह्यो। कुमाउँ गढवालको इतिहास लेख्नेहरूले सो क्षेत्र सन् १७९० देखि २४ वर्षसम्म गोर्खा राज्यकै अधीनमा थियो र त्यो शासन अति नै कठोर र दमनकारी पनि थियो भनेका छन्।

गोर्खा राज्यले त्यस क्षेत्रलाई कठोरतापूर्वक आफ्नो शासकीय नियन्त्रणमा राख्यो तर बाँकी कुरा शासकको प्राथमिकतामा रहेको देखिएन। त्यसैले प्रज्ञा-प्रतिष्ठानको टोलीले २०२७ सालमा अध्ययनका लागि त्यहाँ जाँदाका बखतसम्म पनि सरकारी कर्मचारीलाई स्थानीय जनताले निर्मम शोषकका रूपमा गोर्खालीका रूपमा हेर्थे। यो अध्ययन भएका वेलासम्ममा कर्णाली नेपाल राज्यमा विलीन भएको झण्डै दुई शताब्दी भइसकेको थियो। यति लामो अवधिसम्म पनि यो क्षेत्र राष्ट्रको मूलधारबाट अलि पृथक् रहेको स्पष्ट देखिन्थ्यो।

यस अर्थमा, यो अध्ययन त्यस अवस्थाको कर्णाली समाजको अभिलेखका रूपमा प्रस्तुत हुन आउँछ जुन वेला एकातिर त्यहाँको समाजले साबिकको कुमाउ गढवाल सम्मिलित सांस्कृतिक क्षेत्रलाई धेरै पहिले नै छोडिसकेको थियो भने, अर्कोतिर तत्कालीन नेपाल अधिराज्यको सांस्कृतिक मूल प्रवाहमा पनि पूर्ण रूपले सम्मिलित भइसकेको थिएन। तर तल व्याख्या गरिएझैं यस अध्ययनको केही वर्षपछि नै यो क्षेत्र राष्ट्रिय मूलधारमा तीव्र रूपले सम्मिलित हुने प्रक्रियाको थालनी भयो। यस अर्थमा, प्रस्तुत कर्णाली लोक संस्कृतिको अध्ययन कर्णाली क्षेत्र अभूतपूर्व ऐतिहासिक सङ्क्रणको सङ्घारमा उभिएका वेलाको यथास्थितिको अभिलेखका रूपमा रहिरहनेछ।

कर्णाली लोक संस्कृतिमा ‘यथास्थिति’ को अवधारणा

आधा शताब्दी पहिले यो अध्ययन गरेका वेला जुम्ली समाज कुनै पनि हिसाबले दुर्भेद्य, सदियौं लामो परम्परागत निश्चलताको स्थितिमा जकडिएर बसेको प्रतीत हुन्थ्यो। प्रज्ञा-प्रतिष्ठानले यो अध्ययन थालनी गरेकै वेला अमेरिकाको शिकागो विश्वविद्यालयका भूगोलविद् डा. बाएरी सी. बिशपले १६ महीना लामो कर्णाली अध्ययन सम्पन्न गरेका थिए। उनले सन् १९९० मा प्रकाशित गरेको सो अध्ययन सम्बन्धी पुस्तकको दबाबमा त्यति वेलाको कर्णाली समाजको अवस्था चित्रण गर्न समाजविज्ञानको समकालीन प्राज्ञिक बहसमा प्रचलित ‘होमियोस्टासिस’ (homeostasis) को अवधारणा प्रयोग गरेका थिए।

‘होमियोस्टासिस’ भन्ने अवधारणालाई उनले सामाजिक व्यवस्थाहरूमाथि तिनीहरूको पद्धति नै बिथोल्ने किसिमका परिवर्तन वा दबाब आइपरे पनि तिनीहरूमा साबिककै सन्तुलनलाई पुनः कायम गर्ने प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्। सो पुस्तकमा उनले माथिल्लो कर्णाली उपत्यकालाई अन्तर्मुखी (insular) भएको संज्ञा दिंदै त्यहाँको जीवनशैलीलाई ‘होमियोस्टासिस’ को अवधारणा अनुसारको भनेका छन् र त्यसलाई उनले ‘विभिन्न दबाब पर्दापर्दै पनि यथास्थितिमा कायम रहने जीवन पद्धति’ (homeostatic state of life) भनी व्याख्या गरेका छन्। त्यति बेलाको स्थितिलाई मनन गर्दै उनले के पनि भनेका थिए भने कर्णाली क्षेत्रमा जनसंख्या वृद्धि जस्ता अन्तर्निहित कारणले दबाब सृजना भए तापनि त्यहाँको समाजले यथास्थितिलाई कायम राखी राख्नेछ।

‘यथास्थिति’ को अवस्थाबाट अपरिवर्तनीय गतिशीलतातर्फ सङ्क्रमण

प्रज्ञा-प्रतिष्ठानले कर्णाली अध्ययन गरेको ठीक २० वर्षपछि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) नामक नेपालस्थित संस्थाको आयोजनामा प्रज्ञा-प्रतिष्ठानको अध्ययन टोलीका मानवशास्त्री सदस्य बिहारीकृष्ण श्रेष्ठबाट पहिलो अध्ययनपश्चात्का दुई दशकमा हाडसिन्जा गाउँमा भएको परिवर्तनबारे तीन महिने स्थलगत अध्ययन भएको थियो। त्यस अध्ययनमा आधारित पुस्तक सन् १९९३ मा सो संस्थाले अ हिमालयन एन्क्लेव इन ट्रान्जिसन नाममा प्रकाशित गरेको थियो।

त्यो अध्ययन पनि माथि उल्लेखित ‘यथास्थिति’ कै अवधारणामा आधारित भए तापनि के देखाएको थियो भने त्यहाँ यातायातको समस्या झण्डै दुई दशक पहिलेकै जस्तै रहे पनि सो अवधाराणात्मक परिकल्पनाभन्दा विपरीत त्यहाँ महत्वपूर्ण, व्यापक, दूरगामी र अपरिवर्तनीय प्रकृतिको सङ्क्रमणले जरा गाडिसकेको थियो। नेपालगन्जदेखि सुर्खेतसम्म जाने सडक निर्माण भइसकेको थियो भने जुम्ली गरिबलाई हाट जान अर्थात् आयआर्जनका निम्ति हिउँदमा सालाना केही महीना परदेश जानका निम्ति सुर्खेतसम्म पुग्न अझै ६ दिन पैदल हिँड्नुपर्ने बाध्यता छँदै थियो।

त्यसैले, त्यहाँ त्यति वेला भएको परिवर्तन अहिले जस्तो सडक सञ्जालसित जोडिएका कारणले भएको होइन। यातायातको समस्या यथावत् हुँदाहुँदै पनि जुम्ली समाज राष्ट्रिय मूलधारमा धेरै हदसम्म सम्मिलित भइसकेको थियो। उदाहरणका रूपमा, त्यहाँका मानिसले सरकारी कर्मचारीलाई गोर्खाली भन्न छाडिसकेका थिए भने ठाउँठाउँमा व्यापारका निम्ति पसल खुलिसकेका थिए। त्योभन्दा महत्वपूर्ण कुरा, स्थानीय जनप्रतिनिधिहरूको काठमाडौंसितको सम्पर्क घना भएको थियो, विभिन्न विकास कार्यक्रमका केही प्रभाव स्थानीय जनताको जीवनमा पर्न थालिसकेका थिए।

गाउँघरमा पहिलेभन्दा धेरै नगद प्रवाह हुन थालेको थियो। नयाँ ओखर र स्याउ खेतीको निकै विस्तार भएको थियो। महिला र बाल स्वास्थ्यमा सुधार भएको थियो। ती दुई दशकमा स्थानीय जनसंख्या ३२ प्रतिशतले वृद्धि भएको थियो। जनसंख्याको यो चापले गर्दा गाउँबाट टाढा रहेको, वर्षमा एक बाली मात्र हुने लेकको थप जग्गा फडानी हुन थालेको थियो। तर अर्कोतर्फ, समुदायमा परम्परागत रूपले मौजुद धनी र गरिबबीचको खाडल पहिलेभन्दा गहिरो र व्यापक भइसकेको थियो। त्यति वेला कमसेल भनिने तल्लो जातका मानिसहरूको प्रतिव्यक्ति जग्गा ४.८ मुरी (६३.८५ लेकाली) थियो भने धनी वर्गको प्रतिव्यक्ति जग्गा ८.४ मुरीबाट १२.७ मुरी पुगेको थियो।

संक्षेपमा, गाउँमा विकासको कामले गति लिए तापनि अधिकांश गरिबमा ‘कमसेल जात’का मानिस पर्दथे। उनीहरूको अवस्था सापेक्षिक रूपले अझ दयनीय हुन गएको थियो। यस्तो अवस्थामा स्थानीय शक्तिशाली तर आपसमा प्रतिस्पर्धी ठालुहरूमाझ सुरक्षित रहन उनीहरूले सबैसँग सन्तुलित व्यवहार गर्नु आवश्यक थियो। लोकतन्त्रको पुन:स्थापना भएपश्चात् भएको आमनिर्वाचनमा उनीहरूका परिवारले प्रतिस्पर्धी ठालुहरूका दल प्रत्येकलाई एक-एकवटाका दरले पुग्ने मत दिएका थिए।

संक्षेपमा, इसिमोडको अध्ययनले देखाए अनुसार त्यति वेलाको हाडसिन्जा गाउँ दुई दशक पहिलेका तुलनामा यथास्थितिमा थिएन। जेजस्तो परिवर्तन भएको थियो, त्यो स्थायी र भविष्यमा अझ तीव्र हुँदै जाने प्रकृतिको थियो।

यस परिवर्तनको मुख्य कारक तत्व के थिए भने सो गाउँमा स्थापित स्थानीय पञ्चायतहरूको काठमाडौंसितको राजनीतिक सम्बन्ध निकै सघन भइसकेको थियो। सोही अनुरूप विभिन्न विकासे सरकारी कार्यालय खुलेर मुलुकको कर्मचारीतन्त्रको उपस्थिति पनि निकै बाक्लो तथा व्यापक भइसकेको थियो। त्यसमाथि, वि.सं. २०४६ सालपछि राजनीतिक दलहरू सक्रिय हुन थालेपछि यो सघनता अझ गहिरो भएको थियो।

यसरी यतायातको समस्या विद्यमान रहे पनि यी संस्थागत आबद्धताको सघनताले गर्दा संवत् २०५० तिर आइपुग्दा जुम्ला राष्ट्रिय मूलधारमा अपरिवर्तनीय रूपले सम्मिलित हुन थालिसकेको थियो। उपर्युक्त कारणले तत्कालीन कर्णाली समाजमा माथि चर्चा गरिएको ‘पद्धति नै बिथोल्ने किसिमको’ परिवर्तन भएको भए तापनि सो समाज पहिलेको ‘यथास्थिति’ मा फर्कन असम्भव भइसकेको थियो। यही कारणले गर्दा माथि भनिए जस्तो यो पाँच खण्डयुक्त कर्णाली लोक संस्कृतिबारेको ग्रन्थ हालको परिवर्तनभन्दा पूर्वको जुम्ली समाजको यथास्थितिको एकीकृत अभिलेखका रूपमा प्रस्तुत हुन आएको छ।

जुम्ली समाजको तत्कालीन यथास्थितिका केही आयाम

कर्णाली लोक संस्कृति सम्बन्धी अध्ययन जुम्ली संस्कृतिको समग्रतालाई पाँच विषयमा विभक्त गरी गरिएको थियो। ती हुन्ः इतिहास, भूगोल, जनजीवन, भाषा तथा साहित्य सङ्गीत कला। यसका लागि ५० दिनसम्म कर्णाली क्षेत्रमै रहेर क्षेत्रगत जानकारी तथा तथ्यांक संकलन गरिएको थियो भने त्यहाँबाट काठमाडौं फर्केपछि विभिन्न स्रोतबाट थप सान्दर्भिक जानकारी बटुलिएको थियो। यस अध्ययनले कर्णाली क्षेत्र व्यापक रूपले सान्दर्भिक हुने गरी विभिन्न विषयमा प्रकाश पारेको भए तापनि यहाँ के उल्लेख गर्नु आवश्यक छ भने त्यो अध्ययनको अवलोकन बिन्दु मुख्यतया सिन्जा उपत्यकाको हाडसिन्जा गाउँ थियो।

आधा शताब्दीपछि यो पाँच खण्डयुक्त ग्रन्थलाई पाठकसमक्ष पुनः प्रस्तुत गर्ने सिलसिलामा सो अध्ययनलाई अझ बोधगम्य तुल्याउन सो समयका केही सान्दर्भिक जानकारी प्रस्तुत गर्नुका साथै यस अध्ययनले त्यति वेलाको ‘यथास्थिति’ को समग्रतालाई कसरी प्रस्तुत गरेको छ भन्ने कुरामा केही प्रकाश पार्नु उपयुक्त देखिन्छ। साथै, यस अध्ययनले उजागर गरेको कर्णाली सभ्यताका उल्लेखनीय संस्थागत व्यवस्थामध्ये कमसेकम एउटाले सम्पूर्ण राष्ट्रको स्थानीय विकासको संस्थागत व्यवस्था सम्बन्धी नीतिलाई कसरी पुनर्परिभाषित गरेको छ भनेर हेर्नु पनि उचित हुन्छ।

कर्णालीको दुर्गमता

त्यति वेला जुम्ला सदरमुकाम खलङ्गामा अवस्थित शिलालेखमा कोरिएको जानकारी अनुसार जुम्लादेखि काठमाडौंको हनुमानढोका ९६ कोश टाढा थियो। तर सामान्य जनताका निम्ति बाह्य संसारबाट जुम्ला पुग्ने सबैभन्दा छोटो बाटो नेपालगन्जबाट पैदल उकालो लाग्नु थियो। सो बखत जुम्लेलीको मुख्य बजार बाँकेको नेपालगन्ज थियो, जहाँ पुग्न जुम्लादेखि ११ दिन जति पैदल यात्रा गर्नुपर्दथ्यो भने भारीसहित फर्कंदा १४ दिन जति लाग्थ्यो।

पाँच सदस्य रहेको हाम्रो कर्णाली अध्ययन टोलीले काठमाडौंबाट जुम्ला सदरमुकाम पुग्न त्यस्तो कठिन यात्रा गर्नुपरेको थिएन। त्यति वेला त्रिभुवन विश्वविद्यालयमा कार्यरत समर इन्स्टिच्युट अफ लिङ्गुइस्टिक्स नामक विदेशी संस्थासित रहेको सानो हवाईजहाज भाडामा लिएर हामी काठमाडौंबाट सीधै जुम्लाको सदरमुकाम खलङ्गा पुगेका थियौं। त्यसपछि त्यहाँको दुर्गमताको कठोरता र सो दुर्गमताले सिर्जना गरेको अन्तर्मुखी प्रवृत्ति हामीलाई सर्वथा नौलो अनुभूति भएको थियो। त्यसले हाम्रो अन्वेषणको परिवेशलाई परिभाषित गरेको थियो।

जुम्ली समाजसित पहिलो साक्षात्कारः गैरजुम्ली सबै गोर्खाली

त्यति वेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे। उनीहरूले विगतमा गोर्खाली शासकको प्रतिनिधित्व गर्दथे। त्यसैले, लगभग दुई शताब्दी पहिले जुम्ला गोर्खा राज्यमा विलीन हुँदाको अवस्थालाई स्मरण गराउने प्रतीकका रूपमा ती कर्मचारीहरूलाई गोर्खाली भनिन्थ्यो। सबै कर्मचारी गोर्खाली, सबै गोर्खाली कर्मचारी।

२०१८ सालमा नेपाल ७५ जिल्लामा विभक्त हुनुभन्दा पहिले जुम्ला हालको कर्णाली अञ्चल र धवलागिरि अञ्चलको डोल्पासम्म फैलिएको थियो। त्यति वेला जुम्लालाई औपचारिक रूपमा नदी उपत्यकाका आधारमा विभाजन गरिएको थियो जसलाई दरा भनिन्छ।

जुम्ला त्यति वेला १८ दरामा विभक्त थियो, जस्तै सिन्जादरा, मुगुदरा, रकालदरा, आदि। ती दरा निवासीलाई ती दराकै नामबाट उल्लेख गरिन्थ्यो, जस्तै सिजाल, मुगाल, रकाल आदि। त्यसैले, त्यति वेला जुम्लाका रैथाने संसारमा मानिस दुई किसिमका मात्र हुन्थेः या त विभिन्न दरा निवासी छिमेकी, या त गोर्खाली। त्यति वेला नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका शोधकर्ताको छुट्टै अस्तित्व थिएन। ती पनि गोर्खाली नै भएका थिए।

गोर्खालीको खाने बस्ने र भारी फाल्ने व्यवस्था

त्यति वेला जुम्लाको सामाजिक संरचनाको एउटा विशेषता के थियो भने त्यहाँ विस्तृत रूपले इस्टहरूको जालो स्थापित थियो। त्यस समयमा जुम्ला सदरमुकाम खलङ्गामा खुलेका (२०२७ सालमा) ३० वटा पसलबाहेक अन्त कुनै किसिमको पसल वा बजार थिएन। स्थानीय जनताको जीवनयापनका लागि जुन हदसम्म सामान र सेवाको विनिमयको आवश्यकता पर्थ्याे त्यसको परिपूर्ति त्यहाँको इस्टहरूको जालोले गर्ने गरेको थियो। त्यसैले प्रत्येक जुम्ली परिवारले ठाउँठाउँमा त्यहाँका धेरैथोरै निवासीसित घनिष्ठताको विभिन्न तहमा इस्टको सम्बन्ध गाँसेका हुन्थे।

समाजव्यापी यही इस्टहरूको विशाल जालोभित्र आ-आफ्ना आवश्यकता अनुसार सेवा वा सामानको विनिमय हुने गर्दथ्यो। साधारणतया, यसरी विनिमय हुने सामग्री आपसमा परिपूरक हुन्थे, जस्तै जङ्गल धेरै भएको बोता गाउँको इस्टले धान फल्ने हाडसिन्जाका इस्टलाई खेत जोत्दा धेरै चाहिने काठका फालीका मुठा उपहार लिएर आउँथे। हाडसिन्जाका इस्टले बोता गाउँका इस्टलाई धान दिन्थे।

एउटा ठाउँको इस्ट अर्काे ठाउँमा रहेको आफ्नो इस्टकहाँ पुगेपछि उसको बस्ने खाने व्यवस्था इस्टले गर्दथ्यो। संक्षेपमा इस्टहरूको यो विशाल जालोले जुम्ली समाजमा आपसी सौहार्दताका साथै आर्थिक विनिमयको आवश्यकता पनि परिपूर्ति गर्ने व्यवस्था गरेको थियो।

त्यहाँ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको कुनै इस्ट थिएन। समय-समयमा गोर्खालीहरू गाउँ पुग्ने हुनाले तिनको खाना र बासका निम्ति प्रत्येक गाउँमा छुट्टै व्यवस्था गरिएको हुन्थ्यो। गाउँमा गोर्खाली आउँदा उसलाई कसको घरमा राख्ने, चामल दाल कसले दिने, भाँडाकुँडा कसले दिने, दाउरा पानी कसले गर्ने र पकाएर कसले ख्वाउने भनेर पालो बाँधेको हुन्थ्यो।

आफूले सामान्यतयाः जौ, गहुँ खाने भए तापनि गोर्खाली आउँदा उसलाई भातै ख्वाउनुपर्ने भएकोले त्यस्तो पालो पर्ने घरले त्यसको निम्ति समयमै चामलको जोहो गरेर राखेको हुन्थ्यो। प्रतिष्ठानका शोधकर्ताहरूका लागि पनि नवआगन्तुक गोर्खालीका रूपमा त्यही व्यवस्था अनुसार खाना र बास जुटेको थियो।

त्यति वेलाको नेपालमा सरकारी सामान वा व्यक्ति प्रायः अभियुक्त, एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्न अड्डासार भन्ने विशेष व्यवस्था थियो। अर्थात्, कुनै अभियुक्तलाई काठमाडौं वा तोकिएको कुनै ठाउँमा पुर्‍याउन एउटा अड्डाको कर्मचारीले निजलाई साथ लिएर अर्को अड्डा पुगेर त्यस अड्डाको जिम्मा लगाउँथ्यो। त्यसपछि सो अड्डाले पनि त्यसै गरी अर्को अड्डा पुगेर जिम्मा लाउँथ्यो। एवं रीतले अभियुक्तलाई गन्तव्यमा पुर्‍याइन्थ्यो। जुम्लाका गाउँलेले पनि गोर्खालीलाई ठीक त्यही अनुरूप अर्को गाउँसम्म मात्र पुर्‍याउँथे।

यसरी गोर्खालीलाई अर्को गाउँसम्म पुर्‍याउन कमसेल अर्थात् तल्लो जात भनिनेका परिवारबीच पालो बाँडेको हुन्थ्यो। यस कामलाई स्थानीय भाषामा गोर्खालीको भारी फाल्ने भनिन्थ्यो। यसरी एउटा गाउँमा पुगेर आफ्ना सबै सामान मिलाएर खाने बस्ने व्यवस्था गर्न धेरै समय लाग्दथ्यो।

पहिलो कुरो त, यो अध्ययन टोली गाउँ पुग्दा, अधिकांश गाउँले या त खेतबारीको काममा या त वनतिर गएका हुन्थे। त्यसैले तिनीहरू गाउँ फर्केपछि मात्र कुन काम कसको पालोमा परेको छ भन्ने कुराको निर्क्यौल हुन्थ्यो। यसो भएपछि बेलुकीको खाना खाँदा रातको १०-११ बजिसकेको हुन्थ्यो।

त्यसै गरी एउटा गाउँबाट प्रस्थान गर्दा दिन छिप्पिएर १२-१ बजिसकेको हुन्थ्यो। ती भारी फाल्ने मानिसहरूले अर्काे गाउँमा भारी फालेर समयमै आफ्नो गाउँ फर्किसक्नुपर्ने हुनाले हामीले दुई-तीन घण्टा हिँडेर उज्यालोमै अर्को गाउँमा बास बसिहाल्नुपर्दथ्यो। नयाँ गाउँ पुगेपछि कुन कामको पाला कसको भन्ने कुराको निर्क्याैल गर्ने प्रक्रिया सुरू हुन्थ्यो।

सदरमुकामको उत्तरपश्चिममा अवस्थित हाडसिन्जा गाउँ भौगोलिक दूरीका हिसाबले सदरमुकामबाट त्यति धेरै टाढा छैन। स्थानीय बासिन्दा सदरमुकाम उत्तरको लेक (उच्च पहाड) छिचोलेर एकै दिनमा हाडसिन्जा पुग्न सक्थे। पूरै बाटो जङ्गलै जङ्गल भएकोले र बीचमा बास बस्ने गाउँ नभएकाले यो बाटो एकै दिनमा पार गर्नुपर्दथ्यो, जुन हाम्रो क्षमताभन्दा बाहिरको कुरा थियो। फलतः, हामी पश्चिम बगेको तीला नदी पछ्याउँदै सिन्जा खोलाको दोभान पुगेर त्यहाँबाट उँभो लागेर हाडसिन्जा पुगेका थियाैं। यसो गर्न हामीलाई पाँच दिन लागेको थियो।

हुन त, त्यो बाटो कुनै पनि हिसाबले पाँच दिन लाग्ने किसिमको थिएन। तर, हामी गोर्खाली भएकाले ढिलाइ भएको थियो। त्यो ढिलाइले असुविधा त सिर्जना गरेको थियो तर यसले गर्दा अध्ययन टोलीलाई त्यति वेलाको जुम्ली समाजको सामाजिक संरचनाको विशेषतासित साक्षात्कार हुने मौका पहिलो पटक प्राप्त भएको थियो।

हाडसिन्जाको अध्ययनले प्रस्तुत गरेको जुम्ली समाजको ‘यथास्थिति’ को समग्रता

हाडसिन्जा पुगेपछि अध्ययन टोली त्यहाँ लगभग एक महिना बसेको थियो। टोलीले पूरा कर्णाली अञ्चलमा ५० दिन अध्ययन गरेको थियो। काठमाडौंमा अन्य स्रोतहरूबाट पनि जानकारी सड्कलन गरिएको थियो। यस अध्ययन कार्यमा नेपाली अन्वेषकहरू नै संलग्न भएकाले अनुसन्धान स्थलको वास्तविकता विदेशी अनुसन्धानकर्तालाई भन्दा सजिलै बोधगम्य थियो। त्यसो हुनाले दुई महिनाभन्दा कम अवधिमा गरिएको अध्ययन भए तापनि सापेक्षिक रूपले खँदिलो मानिनुपर्ने प्रतिवेदन तयार भएको हो।

यस अध्ययनले कर्णाली लोक संस्कृतिलाई अवलोकन गर्न पाँच विषय क्षेत्रमा विभक्त गरेको थियो। ती हुन्ः इतिहास, भौगोलिक दृष्टिकोण, जनजीवन, भाषा तथा साहित्य सङ्गीत कला। ती प्रत्येक विषय क्षेत्रमा छुट्टाछुट्टै पुस्तक यस सङ्ग्रहका खण्डका रूपमा प्रस्तुत छन्। यी सबै प्रकाशनबाट तत्कालीन कर्णाली समाजको यथास्थितिको चरित्रबारे पनि महत्वपूर्ण जानकारी प्राप्त हुन्छ।

सत्यमोहन जोशीद्वारा लिखित इतिहास खण्डले तत्कालीन जुम्लाको राजनीतिक अस्तित्व र इतिहास प्रवाहको विस्तृत सर्वेक्षण गर्नुका साथै स्थानीय मौखिक इतिहास, त्यस क्षेत्रमा पाइने ताम्रपत्र, शिलापत्र तथा व्यक्तिसित भएका पुराना कागजात एवम् केही पुरातात्विक उत्खनन समेतका विभिन्न अभिलेखहरूको प्रयोगबाट त्यस क्षेत्रको इतिहासको भव्यतालाई अगाडि सारेको छ। चौधौं शताब्दीमा त्यहाँका राजा जितारि मल्लले नेपाल उपत्यकामा तीन पटक आक्रमण गरेको र त्यसपछि जुम्लै फर्केको घटना वर्णन गरिन्छ।

यस सन्दर्भमा तत्कालीन ‘कर्णाली प्रदेशको मल्लवंशको विशालता अनि सिन्जाको केन्द्रीय शासनको महत्वको दाँजोमा नेपाल उपत्यकाले लोभ्याउन नसकेको’ (पृ. ५५) भनी त्यति वेलाको कर्णाली सभ्यताको वैभवप्रति इङ्गित गरिएको छ। यसै गरी स्थिर जंगबहादुर सिंहद्वारा लिखित त्यहाँको भूगोल सम्बन्धी पुस्तक (खण्ड २) मा कर्णाली क्षेत्रको भौगोलिक विविधता, जङ्गलको बाहुल्य र त्यसले त्यहाँको कठोर प्राकृतिक परिवेशमा बस्ने समुदायको अर्थव्यवस्थालाई दिएको व्यापक योगदानबारे विस्तृत चर्चा गरिएको छ।

यस सम्बन्धमा एउटा विशिष्ट उदाहरण यहाँ प्रस्तुत गरौं। भारतमा अंग्रेज शासन अन्त्य हुनुभन्दा पहिले जुम्लाका अक्कलदार मानिसहरूले त्यहाँका जङ्गलमा विशेष किसिमको पासो थापेर शिकारी बाज समात्थे। ती शिकारी बाजलाई गाउँमा ल्याएर तालिम दिन्थे र भारत पुर्‍याएर त्यहाँका नवावहरूलाई बेच्दथे। त्यसबाट ठूलै नगद आम्दानी गर्दथे (भौगोलिक दृष्टिकोण, पृ. १५७–१६६)।

तेस्रो खण्डमा जनजीवन सम्बन्धी विवेचना गरिएको छ। यो खण्ड हाडसिन्जा गाउँका सबै ‘चोखा र कमसेल’ जात समावेश भएको २१ परिवारको नमुना समूहलाई मानवशास्त्रीय विधि अनुसार गरिएको सर्वपक्षीय अध्ययनका आधारमा तयार गरिएको हो। यस खण्डले जुम्ली समाजमा आपसी सद्भाव कसरी कायम भएको छ, सहभागिता-प्रवर्धक संस्थागत संरचनाहरू समाजमा कसरी छाएका छन् भन्ने देखाएको छ। अर्कोतिर, यही समाज आपसमा प्रतिस्पर्धात्मक र शोषणयुक्त पनि कसरी रहेको छ भन्ने कुरा पनि देखाइएको छ।

यस सङ्ग्रहको चौथो खण्ड प्रा. चूडामणि बन्धुद्वारा लिखित भाषा सम्बन्धी अध्ययनले राष्ट्रभाषा नेपाली र सिन्जाली भाषाबीचको समानता र विविधताबारे दुईवटा महत्वपूर्ण तथ्य उजागर गरेको छ। पहिलो, सिन्जाली (भाषा) लाई नेपाली राष्ट्रभाषाको मूल स्रोत हुने गौरव प्राप्त भएको छ। दोस्रो, हाल सिन्जाली भाषाभाषीहरूका निम्ति नेपाली भाषा पूर्णरूपले बोधगम्य छैन (पृ. १८)।

यसले के देखाएको छ भने ‘नेपाली र सिन्जाली (भाषाहरू) एउटै मूल भाषा’ बाट आएका भए तापनि तिनीहरू ‘वि.सं. १३१२ देखि १५९० को बीच छुट्टिएका हुन्’ (पृ. ८)। यसबाट पनि कर्णाली क्षेत्रमा सदियौं पहिलेदेखि पृथक् सभ्यताको विकास हुँदै गएको देखिन्छ।

प्रदीप रिमालद्वारा लिखित साहित्य सङ्गीत कला (खण्ड ५) सम्बन्धी पुस्तकले पनि जुम्ली समाजका विशेषताबारे यथेष्ट प्रकाश पारेको छ। उदाहरणका रूपमा, यहाँको लोक साहित्यमा पैकेलो नामका यस्ता पात्रहरू राराका पैकेलो र काशीराम पैकेलो छन् जसलाई लेखकले पाश्चात्य जगतको ग्रीक र रोमन साहित्यमा रहेको हर्कुलस नामको धेरै प्रचलित पात्रसित तुलना गरेका छन् (साहित्य सङ्गीत कला, पृ. २७-२८)। ती पात्रहरू हर्कुलस जस्तै बलिया छन् र आपत्-विपत्‌मा परेका मानिसहरूको उद्धार गर्ने स्वभाव यिनीहरूमा छ भन्ने लोकमान्यता रहिआएको छ।

जुम्लाको तत्कालीन यथास्थितिमा त्यहाँको समाज उच्च संस्कृतियुक्त, सजीव तथा अन्तर्मुखीभन्दा पनि स्वाभिमानी देखिन्छ। बाह्य जगत्‌ले हेर्दा आधा शताब्दी पहिलेको जुम्ली समाजमा व्यापक गरिबी भए पनि, कमसेल जातहरूप्रति विभेद गरिने भए पनि र अन्य भौतिक विपन्नताले गर्दा पिछडिएको जस्तो देखिए पनि वास्तवमा त्यो समाज त्यस्तो कठिन परिवेशमा पनि सुसंस्कृत, सुसङ्गठित, आत्मनिर्भर र बाहिरका मान्छेको बुझाइमा, आ-आफैमा सीमित रहन रूचाउने अन्तर्मुखी पनि देखिन आउँछ। वास्तवमा, प्रस्तुत कर्णाली लोक संस्कृति ग्रन्थमा निहित तत्कालीन कर्णाली समाजको ‘यथस्थिति’ को सारसंक्षेप यही हो।

कर्णाली लोक संस्कृति अध्ययनबाट सरकारको विकास नीतिलाई योगदानः उपभोक्ता समूहको अवधारणा

कर्णाली सभ्यताको अर्को उल्लेख्य पक्ष के हो भने यो समुद्र सतहबाट लगभग ७ हजार ५ सय फिटको उचाइमा अवस्थित छ, जहाँ धान खेती गर्न आवश्यक पर्ने तापक्रम हुने दिन कम हुन्छ। तैपनि सो सीमितताको विपरीत प्रभावलाई निस्तेज गर्न सोही अनुसारको प्रविधि विकास गरेर सफलतापूर्वक धान खेती गरिएको छ। त्यहाँको सामाजिक संरचना र व्यवहार पनि त्यस प्रविधिका लागि उपयुक्त हुने गरी सङ्गठित गरिएको छ।

पहिलो, त्यहाँबाट परदेश गएका मानिस गाउँ फर्कने निश्चित दिन तोकिएको हुन्छ। त्यति वेलाको जुम्लामा व्यापक गरिबी थियो। जाडो महिनामा खेतीको काम हुँदैनथ्यो। त्यसैले त्यहाँका सबैजसो वयस्क लोग्नेमानिस आ-आफ्ना अनुकूल अनुसार सामान्यतया कात्तिकमा नेपालको तराई र उत्तर भारतका गाउँघरतिर जान्थे। त्यहाँ विभिन्न जुक्ति गरी तीन-चार महीना आफ्नो ज्यान पाल्थे र घर खर्चको निम्ति केही सामग्री र नगद आर्जन गर्थे।

यस कामलाई माथि उल्लेख गरिएझैं हाट जाने भनिन्छ। तर त्यहाँको धान खेती सम्बन्धी प्रविधिले सिर्जना गरेको बाध्यताले गर्दा यसरी हाट जानेहरू चैतको १२ गतेसम्ममा अनिवार्य रूपमा गाउँ फर्किसकेको हुनुपर्छ। यो नियम कति कडा भने सो मितिमा नफर्कनेहरू बाटैमा मरे होलान् भनी काजक्रिया गर्ने चलन थियो भनिन्छ।

अर्को विशेषता हो, त्यहाँको सिंचाइको व्यवस्थापन विधि। जुम्ला क्षेत्रमा पानी धेरै नपर्ने हुनाले धान खेतीका निम्ति सिंचाइ नितान्त आवश्यक छ। त्यसका निम्ति हाडसिन्जा गाउँमा सदियौं पुरानो जचौरी कुलो नामक सिंचाइ कुलोको व्यवस्था गरिएको छ। त्यो कठिन भौगोलिक परिवेशमा झण्डै दुई कोश लामो कुलो खनिुन आफैमा सभ्यताको एउटा उपलब्धि हो। डा. हर्क गुरूङका अनुसार सो कुलो तेह्रौं शताब्दीतिर निर्माण भएको अनुमान छ।

अहिलेको डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-६ फालगाउँ। तस्वीर : रासस

यसरी सयौं वर्षदेखि निर्वाध तथा अत्यन्त प्रभावकारी रूपले कुलो सञ्चालन भइरहनु कर्णाली सभ्यताको अर्को चमत्कारी विशेषता हो। यस कुलोलाई प्रभावकारी रूपले सञ्चालन गर्न कुम्थी नामक संस्थाको व्यवस्था गरिएको छ। पानी व्यवस्थापन गर्न गाउँका गरिब, शारीरिक रूपले बलिया तथा इमान भएका र निष्पक्ष भई काम गर्न सक्ने भनी ख्याति कमाएका मध्येबाट दुई वा तीन जनालाई धान खेती हुने अवधिभरका लागि खेत धनीहरूले नियुक्त गर्ने समूहलाई कुम्थी भनिन्छ। यसरी नियुक्त कुम्थेल (कुम्थीका सदस्य) हरूले खेत धनीको रोपाइँभन्दा दुई दिनअघि छुट्टाछुट्टै कुलोमार्फत उनीहरूका खेतका गरामा पानी उपलब्ध गराउँछन्।

धान बाली भित्र्याइसकेपछि आ-आफ्ना जग्गाको क्षेत्रफल अनुसार तोकिएको दरमा ज्याला स्वरूप जग्गा धनीले कुम्थेललाई धान दिने व्यवस्था छ। देशमा हालै संघीयता लागू गर्ने सिलसिलामा ‘सिंहदरबार गाउँमा पुर्‍याउने’ भन्ने नारा दिइएको थियो। त्यसको व्यावहारिक स्वरूप भनेको गाउँलेको आफ्नै स्वामित्व र व्यवस्थापनबाट सदियौंदेखि निर्वाध रूपले सञ्चालित ‘जचौरी कुलो’ को व्यवस्थापनले जस्तै गरी लाभान्वित हुने गाउँलेकै हातमा अधिकार र साधन पुर्‍याउनु हो।

यस सिलसिलामा के उल्लेख गर्नु आवश्यक छ भने ‘जचौरी कुलो’ को व्यवस्थापन विधि प्रभावकारी भएकाले तत्कालीन सरकारले २०३९ सालमा विकेन्द्रीकरण ऐन बनाउँदा स्थानीय स्तरमा सबै किसिमका विकास आयोजनाहरूको निर्माण र सञ्चालन गर्न उपभोक्ता समूहको कानुनी व्यवस्था गरेको थियो। हाल मुलुकभरि स्थानीय विकासका योजना सञ्चालन गर्दा उपभोक्ता समूहको गठन गर्ने प्रथाको उद्गमस्थल जुम्ला हो।

सबै उपभोक्ता समूहको माउ उपभोक्ता समूह भनेको ‘जचौरी कुलो’ व्यवस्थापन गर्दै आएको हाड सिन्जाका कृषकहरूको समूह हो। पछि २०४५ सालमा सरकारले त्यही विकेन्द्रीकरण ऐनमा व्यवस्था भएको उपभोक्ता समूहको अवधारणाका आधारमा सामुदायिक वन उपभोक्ता समूह र आमा समूहको व्यवस्था गरेको हो। यी संस्थाहरूले यो अध्ययनस्थल हाडसिन्जा गाउँ लगायत मुलुकका सबै कुनाकाप्चामा काम गरिरहेका छन्।

अर्को नीतिजन्य दिशाबोधः सरकारी कर्मचारीमा अनुसन्धानात्मक क्षमता विकास गर्नुपर्ने

कर्णालीको दुर्गम परिवेशमा सदियौंदेखि यति प्रभावकारी रूपले सञ्चालन हुँदै आइरहेको यस्तो जनसहभागितामूलक व्यवस्थापन विधिलाई तत्कालीन सरकारले आफ्नै अग्रगामीत्वमा खोजीनीति गरी विकेन्द्रीकरण ऐनमा व्यवस्था गरेको होइन। संयोगवश, त्यति वेला जनजीवनका विषयमा अध्ययन गर्ने मानवशास्त्री तत्कालीन सरकारका कर्मचारी पनि थिए। उनकै अग्रगामीत्वमा सरकारले स्थानीय विकासको नयाँ नीति तर्जुमा गर्ने वेलामा यही जचौरी कुलोको व्यवस्थापन विधिमा निहित अवधारणालाई वि.सं. २०३९ सालको विकेन्द्रीकरण ऐनमा उपभोक्ता समूहका रूपमा समावेश गरेको हो।

त्यो संयोग नमिलेको भए उपभोक्ता समूह जस्तो उपयोगी संस्थागत व्यवस्थाले सरकारी नीतिमा कमसेकम त्यति वेला प्रवेश पाउने थिएन। त्यसैले, यस घटनाको एउटा निष्कर्ष के हुन आउँछ भने सरकारी कर्मचारीको व्यावसायिक क्षमता विकासका निम्ति उनीहरूलाई यस प्रकारका शोधकार्यमा संलग्न हुन उत्प्रेरणा गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ। साथै विभिन्न अनुसन्धानका उपलब्धिहरूको अध्ययन गरी सरकारी नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनतिर सदा प्रयत्नशील रहने वातावरण बनाउनु पनि नितान्त आवश्यक छ।

यहि असोज पहिलो साता उवा भित्र्याउने चटारोमा डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-६ फालगाउँका बासिन्दा।

नीतिका माध्यमबाट मात्र स्वस्फूर्त र सर्वव्यापी विकास सम्भव हुने

यस सम्बन्धमा अर्को रोचक कुरा के छ भने राष्ट्रको स्तरमा भएको यो नीतिगत विकासले गर्दा मुलुकका अन्य भागले लाभ पाएकाले नै हाडसिन्जा आफै पनि लाभान्वित भएको छ। कुरा के हो भने, तत्कालीन सरकारले सामुदायिक वन उपभोक्ता समूहको नीति बनाएर देशभरिका उपभोक्तालाई आफ्नो वन आफै व्यवस्थापन गर्ने अधिकार प्रदान गरेपछि हाडसिन्जाका जनताले पनि त्यो अधिकार प्राप्त गरे। तत्पश्चात्, आफ्नो वनको व्यवस्थापन आफै गर्ने सिलसिलामा उनीहरूले गाउँमाथिको ‘एकल सल्ला’ नाउँ गरेको एउटा मात्र सल्लाको बोट भएको उजाड पाखोमा वन संरक्षण गरे।

केही समयपश्चात् यस ठाउँलाई हजारौं रुख भएको हराभरा जङ्गलमा परिणत गरे। यस सम्बन्धमा मनन गर्नुपर्ने कुरा के छ भने त्यो नाङ्गो पाखो त्यही गाउँकै ‘जचौरी कुलो’ का कारणले जङ्गल भएको हो किनभने सो कुलोको व्यवस्थापनमा अन्तर्निहित सिद्धान्त सरकारी नीतिमा परिणत भएपछि मात्र उनीहरूले वन संरक्षण गर्ने अधिकार पाएका थिए। विकासलाई सधैं ठीक सरकारी नीतिले डोर्‍याउनुपर्छ भन्ने कुराको यो एउटा ज्वलन्त उदाहरण हो।

अन्त्यमा, यहाँ के पनि उल्लेख गर्नु आवश्यक छ भने यस ग्रन्थका लेखकहरूले आ-आफनो व्यावसायिक जीवनको प्रारम्भिक अवस्थामा यस्तो ऐतिहासिक महत्वको शोधकार्यमा संलग्न हुन पाएका थिए। यसको सुखद फलस्वरूप यसले हामी सबैको व्यावसायिक प्रगतिका निम्ति ठूलो सहयोग गरेको छ।

अर्काे के कुरा पनि यहाँ विशेष रूपले स्मरण गर्नु आवश्यक छ भने यस अन्वेषण कार्यमा टोली प्रमुखको हैसियतमा श्री सत्यमोहन जोशीजीले त्यति वेलाको त्यस्तो कठिन परिस्थितिमा जुम्लाको अनुसन्धान स्थलमा र त्यसपछि प्रतिवेदन लेखनको अवधिमा पनि जुन प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो, त्यो त्यस परियोजनाको सफलताको मुख्य कारक थियो।

यस घडीमा अति खेदपूर्वक के उल्लेख गर्नु आवश्यक छ भने यस अध्ययन टोलीका एक प्रमुख सदस्य तथा साहित्य सङ्गीत कला (खण्ड ५) का लेखक श्री प्रदीप रिमालको केही वर्ष पहिले निधन भयो। अध्ययन टोलीका बाँकी सदस्य उहाँको सहयोग र सहृदयताका निम्ति उहाँप्रति सधैं आभार रहनेछन्।

साथै, दोस्रो संस्करणको भूमिका लेख्न मलाई अभिभारा दिनुभएकोमा म अध्ययन टोली प्रमुख श्रद्धेय श्री सत्यमोहन जोशीज्यूप्रति विशेष रूपले आभार अर्पण गर्दछु।

प्रतिक्रिया
Loading...