साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  nayapatrikadaily.com काे शनिबारीया विशेष jhannaya.nayapatrikadaily.com बाट लिएका हौँ । यो लेख अनु गुरूङले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पनि पढ्न सक्नुहुनेछ ।

====================

सन् २०१९ को डिसेम्बरमा जब चीनको वुहान सहरमा दर्जनौँ मानिसहरू ‘निमोनिया’को लक्षणसहित अस्पताल धाउन थाले, त्यहाँका स्थानीय अधिकारीहरूलाई त्यो संक्रामक रोग विश्वव्यापी रूपमा फैलिन सक्छ भन्ने नलागेको हुन सक्छ । तर, सन् २००३–४ मा महामारीको रूपमा फैलिएको सार्स भनिने जुनेटिक अर्थात् जनावरबाट सर्ने भाइरसबाट हुने संक्रामक रोग चीनमै पहिलोचोटि देखिएकाले त्यहाँका स्वास्थ्य अधिकारीहरू केही हदसम्म सतर्क थिए होलान् भनेर अनुमान गर्न सकिन्छ । सन् २०१७ मा चिनियाँ वैज्ञानिकहरूले सार्स भाइरस दक्षिण–पश्चिमको युनान प्रान्तमा पहिलोचोटि चमेराबाट मानिसमा सरेको कुरा प्रामाणिक गरेका थिए ।

पश्चिमा देशहरूको लोकतान्त्रिक र खुला समाजभन्दा भिन्न व्यवस्था, अनि उनीहरूसँग तीव्र राजनीतिक, आर्थिक र सामरिक प्रतिस्पर्धा गरिरहेकाले महामारीलाई स्रोतबाटै निमिट्यान्न पार्ने, र आफ्नो देशको स्वास्थ्य संकटलाई अन्य देशले कमजोरीको रूपमा लिने र त्यो संकटलाई आफ्नो राजनीतिक व्यवस्थासँग जोड्न सक्ने आकलन गरेको चीनले केही समय महामारीलाई गुपचुप नै राख्ने प्रयास गर्‍यो । यद्यपि, भाइरस चीनबाट बाहिर गइसकेको वा जानसक्ने स्थितिको जानकारी हुँदासम्म पनि धेरै देशहरूलाई सक्दो पूर्वतयारी गर्न केही समय मिलेको थियो । सन् १९७२ को ‘वाटर गेट स्क्यान्डल’लाई उजागर गरेका र अमेरिकी सरकारको कोभिडविरुद्धको लडाइँबारे ‘रेज’ (सन् २०२०) पुस्तक लेखेका पत्रकार बब उडवर्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीसँगको रेकर्डेड कुराकानीमा आफूले जानाजान कोरोना भाइरसलाई केही पनि होइनजस्तो गरी भ्रम फैलाएको स्विकारेका थिए । त्यो लिक भएको कुराकानीमा ट्रम्पले आफूलाई भाइरस कति खतरनाक र संक्रामक छ भन्ने कुरा चिनियाँ राष्ट्रपति सीबाट पहिले नै थाहा भएको बताएका छन् ।

सन् १९१८ मा अमेरिकाका राष्ट्रपति विड्रो विल्सनले बनाएको सार्वजनिक सूचना समितिले ‘स्पेनिस फ्लु’बारे थुप्रै र धेरैपटक गलत सूचना प्रवाह गर्थ्यो ताकि आफ्ना नागरिकले सुरक्षाको झुटो अनुभूति गरून् र प्रतिस्पर्धी देशहरू अलमलमा परून् । यस्तै कारणले अमेरिकामा स्पेनिस फ्लुले ५० लाखको ज्यान लियो ।

महामारीविज्ञहरू र ठूलो स्वास्थ्य पूर्वाधार भएको महाशक्ति राष्ट्र अमेरिका पहिलो चरणको कोरोना महामारीमा कसरी असफल भयो होला ? यसका थुप्रै कारणमध्ये एउटा प्रमुख कारक भ्रम, प्रोपोगन्डा, छद्मविज्ञान र फेक न्युजको जगजगी, र त्यो जगजगीलाई प्रश्रय र प्रोत्साहन गर्ने राष्ट्रपति हुन् भन्दा अत्युक्ति नहोला । कोरोना महामारीलाई ठूलो मानवीय क्षतिविना नै नियन्त्रण गर्न सक्ने परिस्थिति र स्रोत भएका, तर त्यसो गर्न असफल देशहरूको सानो सर्वेक्षण गर्‍यो भने यो अलि प्रस्ट हुन्छ । भ्रम, छद्मविज्ञान र फेक न्युजको विनाहिचकिचाहट प्रयोग गर्ने अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका जइर बोल्सोनारो, भारतका नरेन्द्र मोदी वा नेपालका केपी ओली, उनीहरूको मुख्य ध्येय नै विज्ञानको सामान्य सिद्धान्तविपरीत ‘अदृश्य’ भाइरसलाई कम आँक्नु थियो । भ्रम र छद्मविज्ञानको त्यो शृंखलाले कतिले अकालमा ज्यान गुमाए, र उनीहरूको परिवारले भोगेका पीडा र त्यसको दीर्घकालीन असर समाजमा कति पछिसम्म रहनेछ यसै भन्न सकिँदैन ।

जनवरी ६, २०२० मा जब चीनबाहेक अन्य देशमा कोरोनाका १० केसहरू मात्र देखिएका थिए, वुहान सहरमा एउटा हल्ला नराम्ररी फैलियो । सामाजिक सञ्जालमा जनमुक्ति सेनाले आकाशबाट हेलिकोप्टरद्वारा किटनाशक औषधि छर्ने, र त्यो औषधि एकदमै हानिकारक भएकाले सबैजना घरभित्रै बस्नुपर्ने, र बाहिरबाट खानेकुरा ल्याइसकेको भए राम्ररी पखालेर मात्र खानुपर्नेजस्ता सूचनाहरू आइरहेका थिए । चिनियाँ अधिकारीहरूले ती सूचनाहरू भ्रामक हुन् भनेर बारम्बार स्पष्टीकरण दिइरहँदा पनि औषधि छर्किरहेका ड्रोन र ट्रकहरूका फेक तस्बिरहरू सञ्जालमा पोस्ट भइनैरहे । त्यो हल्ला चीनमा मात्र सीमित रहेन । मार्च महिनाभरिमा त्यो भ्रामक सूचना स्पेन, रुस, युक्रेन, ट्युनिसिया, इजिप्ट, जोर्डन, कुवेत, भारत, दक्षिण अफ्रिका, स्विट्जल्र्यान्ड, पाकिस्तान, श्रीलंका, अमेरिका र क्यानाडासम्म फैलिइसकेको थियो । अध्येताहरू अलेकजेन्ड्रा आर्खिपोभा र इयान ब्रोडीका अनुसार त्यो हल्ला महामारीको नवयथार्थीय षड्यन्त्रको अन्तर्राष्ट्रिय भाषा बनेको थियो । महामारीका वेला सबैले एकसाथ आक्रामक तरिकाले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले फेक न्युजले भौगोलिक दूरी र सिमाना पार गरेर नयाँ अन्तर्राष्ट्रिय प्याराडाइम प्राप्त गरेको छ ।

सन् २०२० को फेब्रुअरी महिनामै फ्रान्सका भाइरसविज्ञ दिदिए राउटले कोरोनाका लागि क्लोरोकुइन र अजिथ्रोमाइसिनको सेवन अचुक औषधि हुने बताएका थिए जुन समाचार आगोझैँ फ्रेन्च सामाजिक सञ्जालमा फैलियो । त्यसपछि, डोनाल्ड ट्रम्पले क्लोरोकुइन, मास्क र किटनाशक औषधिलगायत सन् २०२० मार्चको आधा महिनामा मात्रै कोरोनाबारे ३० पटकभन्दा बढी झुट र भ्रामक कुरा बोलेका थिए । संसद्को रोस्ट्रममै उभिएर प्रधानमन्त्री ओलीले चीन र भारतबाट आएका भाइरसका प्रकार, ‘मृत’ भाइरस नाक र मुखभन्दा आँखाबाट छिटो सर्ने, र त्यसलाई जडीबुटी, तातोपानी र नेपालीको इम्युनिटीले (रोग प्रतिरोधी क्षमता) सजिलै ठिक पार्न सक्ने भ्रामक दाबी पेस गरेका थिए । प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि र आत्मविश्वास देखेर धेरै नेपालीहरूले उनका कुरा अहिले पनि पत्याइरहेका छन् । नेपाली इम्युनिटी र पूर्वीय आयुर्वेदको पक्षमा खरो गरी उत्रेकाले उनले धेरैबाट सहानुभूति पाए । अहिले पनि घरघरमा र क्वारेन्टिनहरूमा सामान्य व्यक्ति र बिरामीलाई तातोपानी, बेसार र गुर्जो खुवाउने चलन सर्वत्र चलेको छ । जीवनमरणको सवाल हुने महामारीजस्तो गम्भीर विषयमा हलुका र गलत टिप्पणी गर्ने, तर सघन तयारी गर्न अग्रसर नहुने बानीले अहिले नेपालमा भयावह स्थिति निम्तिएको छ । नाम चलेका केही विज्ञहरूले पनि उनका टिप्पणीका कतिपय बुँदाहरू छानेर दोहोर्‍यारहँदा सर्वसाधारणलाई के गर्ने र कसरी जोगिने भन्नेबारे बुझ्न कठिन र अलमल बनाएको छ ।

सन् १९१८ मा अमेरिकाका राष्ट्रपति विड्रो विल्सनले बनाएको सार्वजनिक सूचना समितिले ‘स्पेनिस फ्लु’बारे थुप्रै र धेरैपटक गलत सूचना प्रवाह गथ्र्याे ताकि आफ्ना नागरिकले सुरक्षाको झुटो अनुभूति गरून् र प्रतिस्पर्धी देशहरू अलमलमा परून् । यही र यस्तै कारणले अमेरिकामा स्पेनिस फ्लुले ५० लाखको हाराहारीमा मानिसहरू मरेका थिए । नेपालमा पनि ‘आत्मविश्वास’, घरेलु उपचार, जडीबुटी, आयुर्वेद, ‘इम्युनिटी’जस्ता कुराहरूको बढाइचढाइले कोरोना रोकथाम र उपचारमा असर गरेको छ ।

भ्रम, प्रोपोगन्डा, हल्ला, छद्मविज्ञान र फेक न्युजको इतिहास एउटा व्यक्तिले अर्कोलाई झुट बोल्न थालेकोजत्तिकै पुरानो छ । इन्टरनेटको सुरु हुनुभन्दा धेरै पहिले सन् १९२० मा बेलायतमा ‘फेरी’ भनिने स्वैरकाल्पनिक जीवले मानिसहरूसँग अन्तत्र्रिmया गरिरहेको तस्बिर चर्चित बनेको थियो । त्यही तस्बिरको हवाला दिएर ‘सेर्लक होल्म्स’का जासुसी उपन्यासकार सर आर्थुर कोनन डाएलले एक लेखमार्फत संसारमा फेरीहरूको अस्तित्व प्रमाणित गर्न खोजेका थिए । अहिले यस्ता फेक न्युजको भोल्युम र स्पिड यति बढेको छ कि मानव समाज ‘पोस्ट–ट्रुथ’को युगमा प्रवेश गरेको मान्ने गरिन्छ । फेक न्युजमा झुटा भ्रम, हल्ला, छद्मविज्ञान र षड्यन्त्रका सिद्धान्त मात्र नभएर छानिएका सत्य, अर्धसत्य वा गलत व्याख्या पनि पर्दछन् । महामारीको संकथनमा छद्म र अर्धविज्ञानले खेलेको नकारात्मक भूमिका फराकिलो छ । उदाहरणका लागि, महामारीका वेला जलवायु परिवर्तन एक महत्वपूर्ण विषय, जसले सबैको ध्यान आकृष्ट गरायो । महामारीको दोस्रो लहर चलिरहँदा एउटा कार्टुन वातावरणप्रेमीबीच निकै लोकप्रिय बनेको छ । कार्टुनमा एक व्यक्ति काटिएका रूखहरूका बीच अक्सिजनको सिलिन्डर समाएर बसिरहेका छन् ।

कार्टुनको आशय वनविनाश र जलवायु परिवर्तनले वातावरणमा अक्सिजनको कमी भएर बिरामीहरूले कृत्रिम तरिकाले सास लिनुपरेको अतिरञ्जना छ । महामारीको सुरुवाती चरण, र कोरोना भाइरस सर्प, चमेरा वा प्यान्गोलिनबाट मान्छेमा सरेको समाचार आउन थालेसँगै मिडियामा एसियाली खानपानको शैलीमाथि वातावरणीय विनाशको माध्यम र भाष्यबाट आक्रमण भएको थियो । एसियामा वर्षौँदेखि सञ्चालन भइरहेका जिउँदा जनावरहरू मारेर बेच्ने ‘वेट मार्केट’हरू बन्द गर्नुपर्ने, र त्यसको बदलामा सबै ठाउँमा ‘विकसित’ र पश्चिमा देशमा जस्तै औद्योगिक, सुपरमार्केट र कर्पोरेट शैलीको खाद्यबजार हुनुपर्ने मिहिन तर्क आएका थिए । मानव समाजमा विविध र कल्पनाशील खाद्यशैली र संस्कृतिहरू हुन्छन् भन्ने कुरालाई हेक्का नराखी ‘वेट मार्केट’लाई जलवायु परिवर्तनको कारण र परिणामको रूपमा लिएर ‘सरसफाइ नश्लवाद’ र ‘विकासवाद’को संकथन उजागर भएको थियो । अध्येताहरूका अनुसार ‘जलवायु परिवर्तन’को विषय महामारीजस्तो विकराल समस्या भएको वेला ‘चित्ताकर्षक’ बनेर आउँछ, र धेरै विज्ञ र साधारण मानिसहरू छोटो, छरितो, आकर्षक र छद्म तरिकाले विचार निर्माण, प्रसार र ग्रहण गर्न पुग्दछन् ।

अहिले इन्टरनेटको विस्तार र समयदूरीको खुम्च्याइसँगै सूचनाको हेराफेरी र फेक न्युजको भोल्युम र गतिमा बढोत्तरी आएको छ । सामाजिक सञ्जाल, युट्युब, ब्लग र अनलाइन पोर्टलहरूमा निरन्तर र सर्वसुलभ रूपमा समाचारहरू आइरहन्छन् । फेक न्युज सधैँ सजिलो, सर्वसुलभ, र चित्ताकर्षक तरिकाले प्राप्त हुन्छ । नेपालमा फेक न्युज सबैभन्दा सजिलो माध्यम युट्युबबाट बढी आउने गर्छ जहाँ मानिसहरू विना कुनै मानसिक कष्ट हेर्न सक्छन् । महामारीकै बीच युट्युबमा यस्ता अनेकौँ अन्तर्वार्ता आए जसले यो महामारीलाई कृत्रिम र पुँजीवादी षड्यन्त्रको रूपमा प्रचार गरे, र भ्याक्सिनलाई एउटा ‘न्यारेटिभ’को रूपमा अथ्र्याए । परम्परागत ‘गेटकिपर’ हुने भएकाले तुलनात्मक रूपमा छापामा पूर्वीय ज्ञान, आयुर्वेद, र जडीबुटीका कुराहरू कम आए । यस्ता सनसनीपूर्ण फेक न्युजहरू अनलाइन र युट्युबमा आउनुको आर्थिक पाटो धेरै छ, र सँगै अध्ययनहरूले सहीभन्दा भ्रामक सूचना बढी र छिटो प्रसार हुने गरेको देखाएका छन् । फेक न्युजबारे गहिरो अध्ययन गरेका जस्टिन पी म्याकब्रेएरका अनुसार मानिसहरूका साना र ठूला समस्याहरू हुन्छन् ।

मानिसले साना समस्याहरू आफैँ वा आफ्ना वरिपरिबाट समाधान गर्न सक्छ । तर, मुलुकको आर्थिक अवस्था वा महामारीलगायतका ठूला समस्याहरू भने एक्लै बुझ्न निकै सकस पर्छ । विभिन्न माध्यम र स्रोतबाट आएका सूचना र ज्ञानका आधारमा मानिसले ती ठूला समस्याको समाधान खोज्ने प्रयास गर्दछ । यसरी समाधान खोज्ने सन्दर्भमा प्राय मानिसले एकदमै सरलीकृत कोणबाट आएको उत्तरलाई ग्राह्यता दिने गर्छ । म्याकब्रेएरका अनुसार मानिसले पैसा (मितव्ययिता), स्वास्थ्य र विज्ञानको लेखाजोखामा भर पर्न खोज्छ, तर इन्टरनेटमा आएका सूचना र सरलीकृत विश्लेषणबाट झुक्किएर गलत समाधान वा उपाय अपनाउन पुग्छ । कतिपय अवस्थामा आफ्नो सामाजिक समूह, चाहे त्यो प्रगतिशील, दक्षिणपन्थी वा समाजशास्त्रीहरूको समूह नै किन नहोस्, बाट आउने हरेक कुराहरूलाई आँखा चिम्लेर विश्वास गर्ने, सेयर गर्ने, र कसैलाई कुनै जडीबुटी खाएर क्यान्सर निको भएजस्तो व्यक्तिगत किस्सा वा सफलताको कथामा परेर फेक न्युज पत्याउने गर्दछन् ।

फेक न्युजले फैलाएको अर्धसत्य, भ्रम र छद्मविज्ञानले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ । भारतमा केही चिकित्सकहरूसमेतले कोरोनाको औषधिको रूपमा गाईको पिसाब र गोबरको प्रयोग गर्दा ‘ब्ल्याक फंगस’लगायत धेरै स्वास्थ्य समस्याहरू देखापरेका छन् ।

 

हाकाहाकी मिथकलाई सत्य, सत्य घटनालाई मिथक भनिने र मानिने समयमा फेक न्युजलाई चिर्न एकदमै कठिन हुन्छ । समाज विज्ञानमा झैँ दैनन्दिन जीवनमा पनि ‘कुनै एउटा सत्य हुँदैन’, ‘सत्य धेरै हुन्छन्’ र ‘सत्य सापेक्ष हुन्छ’जस्ता संकथनहरूले मानिसलाई फेक न्युजभन्दा पर सत्यको नजिक पुग्न अल्मल्याइरहेको छ । कोरोनाकै सन्दर्भमा पनि उपचारका विधिहरू फरक–फरक हुन सक्छन् भन्ने भाष्य धेरै चलेको पाइन्छ । त्यस्तै, राष्ट्रवादबाट ग्रसित जडीबुटी र आयुर्वेदको संकथनसँग मानिसको भावुकता मिसिएको हुन्छ, र उसले सामाजिक स्थितिका आधारमा ‘आफ्नो’ उपचार पद्धतिलाई प्रचार–प्रसार गर्न खोज्छ ।

फेक न्युज सर्वत्र फैलिरहँदा, सत्यको खोजी गर्न धेरै गाह्रो हुन्छ । कोरोनाको सन्दर्भमा सत्य सूचना र जानकारी मानिसको स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । फेक न्युजले फैलाएको अर्धसत्य, भ्रम र छद्मविज्ञानले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ । भारतमा केही चिकित्सकहरूसमेतले कोरोनाको औषधिको रूपमा गाईको पिसाब र गोबरको प्रयोग गर्दा ‘ब्ल्याक फंगस’लगायत धेरै स्वास्थ्य समस्याहरू देखापरेका छन् । फेक न्युजलाई चिर्ने र सही सूचना प्राप्त गर्ने मुख्य उपाय विज्ञ र समाचारका ‘अथेन्टिक’ स्रोतबाट जानकारी प्राप्त गर्नु हो ।

तर, प्रामाणिक समाचारका असल स्रोतहरू र विज्ञहरू आफैँ नै जब आत्मविश्वासका साथ अर्धसत्य कुरा प्रसार गर्छन्, तब मानिसहरू झनै भ्रमित बन्न पुग्छन् । सन् २०२० को मार्च महिनामा अमेरिकामा मास्कको अभाव भएका आधारमा त्यहाँका सर्जन जनरल जेरेमी एडम्स र अरू स्वास्थ्यविद्हरूले सर्वसाधारणलाई मास्क नचाहिने कुरा व्यक्त गरेका थिए । नेपालमै पनि पटक–पटक विज्ञहरूबाट यस्ता भ्रामक कुराहरू नआएका होइनन् । सन् १९२३ मा भौतिकशास्त्री रोबर्ट मिलिकनले इलेक्ट्रोनको चार्जको मापनसम्बन्धी काममा नोबेल पुरस्कार पाएका थिए । त्यो कामका लागि उनले मापन गरेका तथ्यांकहरू गलत भएको थाहा पाउँदापाउँदै पनि उनका जुनियरहरूले शक्तिशाली र मेधावी वैज्ञानिकलाई आलोचना गर्न धेरै वर्षसम्म हिचकिचाइरहे । समाज विज्ञानमा अर्धसत्यको प्रयोग गर्ने चलन अझ धेरै हुन्छ । यसर्थ, विज्ञलाई सुन्ने र उनीहरूलाई आलोचनात्मक दृष्टिकोणले ग्रहण गर्न सक्ने स्थितिमा मात्र फेक न्युजबाट बच्न सकिन्छ ।

महामारीमा स्वास्थ्यसम्बन्धी फेक न्युज जथाभावी प्रसारण गर्नु, र फरकधारलाई ठाउँ दिने नाममा कोरोनालाई एउटा संकथन, न्यारेटिभ वा षड्यन्त्रको रूपमा मात्र बुझ्ने व्यक्ति र प्रवृत्तिलाई प्रश्रय दिनु एकदमै हानिकारक हुन्छ । महामारीमा आत्तिरहेको सर्वसाधारणलाई सकारात्मक वा नकारात्मकभन्दा सही र यथार्थ सूचना दिनु मिडिया र विज्ञहरूको कर्तव्य हो । साथै, विज्ञहरू पनि कहिलेकाहीँ चुक्ने भएकाले आलोचना र आत्मआलोचनालाई उचित ठाउँ दिनुपर्ने देखिन्छ । राज्यको प्रमुख ओहदामा बसेको मानिस आफैँ नै फेक न्युजको निर्माता र ग्राहक भएको समयमा यो काम पक्कै पनि कठिन हुन्छ, तर असम्भव भने होइन ।