नेपालमा ‘पद’ भनेको साधारण शब्द होइन । यो शब्द उच्चारण गर्दा नै कुर्सी गद्गद हुन थाल्छ । कोठाको पंखाले हावामा गर्व गर्न थाल्छ र चिया पिउने कपले आफूलाई VIP भएको अनुभूति गर्छ । पदको हदको कुनै सीमा तोकिएको छैन त्यसैले होला, विभिन्न ठाउँमा विभिन्न पदले विभिन्न खाले चर्तिकला देखाउन थाल्छ । यस्तो लाग्छ पद पाउनु भनेको लटरी जित्नु जस्तै हो, तर फरक यति मात्र हो कि लटरी जित्दा पाएको पैसा एकै चोटि सकिन सक्छ, तर पद जित्दाको फाइदा जिन्दगीभरि सकिँदैन ।
पद भनेको यहाँ काम गर्न पाउनु मात्र होइन; ‘काम नगरी व्यस्त देखिनु’, ‘फोन नउठाए पनि महत्त्वपूर्ण देखिनु’, ‘ढिला आए पनि सबैभन्दा पहिले हस्ताक्षर गर्न पाउनु’ अनि ‘अफिसै नआईकन, कामै नगरीकन पनि अरूभन्दा धेरै तलब कुम्ल्याउनु’ पनि हो ।
पद पाउने बित्तिकै सबैभन्दा पहिला परिवर्तन हुने कुरा हो, कुर्सी । पहिले साधारण प्लास्टिकको कुर्सीमा बसेर ढाड दुख्थ्यो, पद पाएपछि कुर्सीले नै ढाड सम्हाल्छ । कुर्सी यति आरामदायी हुन्छ कि मान्छे काम गर्न होइन, ध्यान (Meditation) गर्न बसेको जस्तो देखिन्छ । जति कुर्सी ठूलो भयो मान्छे त्यति नै ठूलो देखिन्छ भन्ने वैज्ञानिक तथ्य नेपालमै प्रमाणित भएको छ । पद अनुसार कुर्सीको उचाइ बढ्दै जान्छ, अनि मान्छेले अरूलाई तलबाट हेर्ने होइन, माथिबाट नियाल्ने अभ्यास गर्छ । पद पाएपछि नाम हराउँछ । राम अब राम हुँदैन, ऊ ‘सर’ हुन्छ । सीता अब ‘म्याम’ बन्छिन् । घरमा श्रीमतीले ‘ए सुन न”’ भने पनि, अफिसमा सबैले ‘सर’ भनेर झुक्छन् । यही नै पदको सबैभन्दा ठूलो मानसिक फाइदा हो । हाकिम साहेब भनेर घर, शहरमा चिनिनु, पदले दिएको सबैभन्दा ठूलो उपलब्धि हो भन्छन् पदवहाली गर्नेहरू ।
अर्को रमाइलो कुरा फोनमा हुने व्यवहार जुन पद पाएपछि अचम्मको हुन्छ जसको अनुभव शायद सबैलाई उस्तै छ होला । पद पाउनुअघि फोन बज्दा डर लाग्थ्यो पदवहाल गर्नेलाई, “कामको फोन त होइन ?” भन्दै तर पद पाएपछि फोन नबज्दा डर लाग्छ, “किन कसैले फोन गरेन ?” भनेर । त्यति मात्र कहाँ हो र फोन उठाउने शैली पनि बदलिन्छ । पहिले “हेलो” हुन्थ्यो, अब “हजुर भन्नुस्” हुन्छ । कहिलेकाहीँ फोन नउठाएर पनि व्यस्त देखिनु पदको विशेष कला हुन पुग्छ । फोन बजिरहन्छ, तर पदवाला सोच्दै हुन्छ, “अहिले नउठाऊँ, अलि पछि उठाउँदा झन् महत्त्वपूर्ण देखिन्छु ।”
पदले समयको परिभाषालाई नयाँ बनाइदिन्छ । पदवहाली अघि समय भनेको घडीले देखाउने कुरा थियो । पद पाएपछि समय भनेको आफूले चाहेको बेला हो । १० बजे मिटिङ भनेको ११ बजे सुरु हुन्छ, अनि ११ बजे सम्म पनि “सर आउँदै हुनुहुन्छ” भन्ने मात्र सुन्न पाइन्छ । ढिला आउनु पनि एउटा कला हो । यस्तो कला पद सम्हाले पछि आफूजस्तै पदवालाहरूको साथले सिकाएको अनुभव सबै पदवालाहरू सँग हुन्छ । समयमै आए भने मान्छे साधारण देखिन्छ । ढिला आएपछि सबैले कुर्नु पर्छ, अनि त्यो कुर्ने क्षण नै पदको वास्तविक सम्मान हो ।
पदोन्नति पश्चात पाइने अन्य केही महत्त्वपूर्ण उपलब्धिहरूलाई केही बेर नियालेर हेरौं अब :
हस्ताक्षरको महिमा
पद पाउनुअघि हस्ताक्षर अभ्यास कपीमा हुन्थ्यो । पद पाएपछि हस्ताक्षर कागजमा मात्र होइन, मानिसको भविष्यमा पनि हुन्छ ।
पदमा रहेर हस्ताक्षरको सही उपयोग गर्न जानेको खण्डमा आफ्नो बैंक एकाउन्ट खचाखच भरिने कुरा पदमा रहेका हस्तीहरूको सामूहिक अनुभव हो । हस्ताक्षर यति शक्तिशाली हुन्छ कि एक झट्कामा फाइल अघि बढ्छ, अर्को झट्कामा अड्किन्छ । अड्काउनु र बढाउनु दुवैमा लाभै लाभ देख्छन् हस्ताक्षर गर्न जान्ने महारथीहरू । जसलाई हस्ताक्षर चाहिन्छ, उसको अगाडी झुक्ने बाहेक अरू केही विकल्प हुँदैन । कहिलेकाहीँ हस्ताक्षर नगरी फाइल थन्क्याउनु पनि एउटा रणनीति हो, “पछि गरौँला” भन्ने बहानामा । यो रणनीति अपनाउँदा हस्ताक्षर अझ महँगो हुने कुरा यिनै महारथीहरू भन्ने गर्छन् ।
चिया, कफीको स्वर्ग
पद पाउनुअघि चिया आफैँ बनाइन्थ्यो । पद पाएपछि चिया आफैँ आउँछ । चिनी कति, दूध कति, अदुवा छ कि छैन सबै कुरा सोधिन्छ ।
चिया पिउनु अनिवार्य हुन्छ मिटिङहरूमा । साँझपखको मिटङहरूमा चियाले मात्र नपुग्ने कुरा पदमा बसेका सबैलाई थाहा भएकै कुरा हो ।
“चिया सिया खाँदै छलफल गरौँ” भन्ने वाक्य सुन्दा नै थाहा हुन्छ, काम भन्दा चिया सिया महत्त्वपूर्ण छ । सिया के हो भन्ने उत्सुकहरूलाई बोतलमा पाइने चिसो पेय पदार्थ हो भन्ने सुन्दा छक्क लाग्छ कहिलेकाहीँ । शायद पदको अभावले गर्दा सियाको स्वाद चाख्न नपाउँदा चियामा नै जिन्दगी बिताउन बाध्यहरूलाई सियाको परिभाषा सुन्दा छक्क लाग्नु स्वाभाविकै पनि होला । चिया पिउने कप अनि सिया पिउने ग्लासले आफूलाई पदवालाको हातमा पाउँदा VIP अनुभव गर्ने कुरा पनि रमाइलो लाग्दो छ ।
सिफारिसको मौसम
पद भनेको सिफारिसको खेती हो । टाढाको नातेदार, नदेखेको साथी, गाउँको छिमेकी सबैलाई काम पर्छ पदवालासँग ।
पदवाला सोच्छ, “मैले पद पाएको कि सेवाकेन्द्र खोलेको ?” तर बाहिर देखाउँछ, “हेरौँ न, के गर्न सकिन्छ ।” अनि यही “हेरौँ न, के गर्न सकिन्छ” को आशामा पदवालाको वरिपरि भन्किनेको लस्कर फुलको वरिपरि भन्किने माहुरीको भन्दा ठुलो भैदिन पुग्छ । कोही पदवालालाई यो लस्कर पैसा कमाउने मेला हुन्छ भने कसैलाई नदुखेको टाउकोमा डोरी बानेर दुखाएको जस्तो ।
गाडी र गार्डको गौरव
पद पाएपछि पैदल हिँड्न मन लाग्दैन । गाडी नभए पनि “गाडीको व्यवस्था मिलाइदिनुस्” भन्ने अधिकार पाइन्छ । कहिलेकाहीँ गार्ड पनि आउँछ । गार्ड हुनुको फाइदा सुरक्षा भन्दा पनि स्टाइल हो । मानिसहरू सोच्न थाल्छन्, “यो त साँच्चै ठूलो मान्छे रहेछ ।” मान्छे ठूलो त कामले हुनु पर्ने हो तर यहाँ पद पाउने बित्तिकै ठुलो भइन्छ र दुई चार महिनामै करोडपति ।
गल्तीको नयाँ परिभाषा
पद नभएको बेला गल्ती अपराध हुन्थ्यो । पद पाएपछि गल्ती “प्रक्रियागत समस्या” बन्छ ।
कुनै काम बिग्रियो भने दोष सिस्टमलाई, फाइललाई, मौसमलाई, कहिलेकाहीँ त चियालाई पनि दिइन्छ । पद वाला सधैं निर्दोष साबित हुन्छ, यो पनि पदको अद्भुत फाइदा हो । पदको कुर्सीले गल्ती छोप्न कुनै गाह्रो हुँदैन यहाँ । अदालतको फाइल हराउने अनि विभिन्न ओहदामा रहेकाहरूको सरुवा गरिदिनु पनि जायज हुन पुग्छ गल्ती छोपछाप गर्ने क्रममा । ठुलो कुर्सी ओगटेकाहरूले सानो कुर्सीकाहरूलाई आफ्नो गल्ती थोपार्छन् अनि सानो कुर्सीकाहरूले आफूभन्दा सानालाई । यो क्रम चलिरहन्छ, पदको वर्चस्व पनि चलिरहन्छ ।
ज्ञान आफैँ आउने अनुभूति
पद पाएपछि मान्छे आफूलाई सबै विषयको विज्ञ ठान्न थाल्छ । कृषि, शिक्षा, स्वास्थ्य, अन्तरिक्ष, सबैमा राय दिन शुरू गर्छ । पदवाला सबैभन्दा जान्ने बन्छ । हरेक दुई शब्द पछि उसको थेगो सुनिन थाल्छ, “यो विषयको विज्ञ भएर नै यो पद पाएको हो मैले !” यथार्थमा उसलाई त्यो विषयमा केही जानकारी हुँदैन । पद ग्रहण पश्चात काम कहाँबाट शुरू गर्ने अनि अन्त्य कहाँ हुन्छ, केही पत्तो हुँदैन यस्तालाई तर उनीहरू यसका असली विज्ञहरूलाई पनि सुझाव दिन हिचकिचाउँदैनन् । यस्ता पदवालाको नेतृत्वमा पुरै कार्यालयको डाँवाडोल भएका धेरै उदाहरण भेटिन्छन् ।
फोटो र माला
पद पाउनु भनेको फोटो खिचाउने अवसर पाउनु हो । कार्यक्रम भएन भने पनि कार्यक्रम बनाइन्छ, फोटो चाहियो जो । अनि त्यो फोटोलाई सामाजिक सञ्जालमा पोस्ट गर्यो, आफ्ना आसेपासेलाई देखायो र वाहवाही लुट्यो । माला, खादा, फूल सबैले पद को तौल बढाउँछन् । जति पदको तौल बढ्छ, त्यति पद महँगो हुन्छ अनि त्यति नै महँगो हुन्छ हस्ताक्षर, सिफारिसदेखि लिएर चिया सियाको साथमा हुने रङ्गीन मिटिङहरू ।
पदले दिएको फाइदा पैसाभन्दा ठूलो, सम्मानभन्दा चम्किलो, र जिम्मेवारीभन्दा हलुका हुन्छ । पद भनेको काम गर्ने अवसर मात्र होइन, नाटक गर्ने मञ्च पनि हो । सही अर्थमा भन्ने हो भने, हाम्रो देशमा पद ओगटेर बसेकाहरूको नाटक ‘मुनामदन’ भन्दा पनि बढी रोचक अनि सफल छ ।
यदि पद सही मान्छेको हातमा पर्यो भने देश बदलिन्छ, गलत हातमा पर्यो भने कुर्सी मात्र चम्किन्छ । तर जे भए पनि, पद ले हाँसो, व्यङ्ग्य र यथार्थको मिश्रण देखाइदिन्छ । नेपालको सबैभन्दा लोकप्रिय “फुल टाइम” तर “पार्ट टाइम” को अनुभव भनेकै पदले दिएको जिम्मेवारी हो ।
अन्त्यमा भन्नै पर्छ पद राम्रो हो, तर पद भन्दा पनि राम्रो कुरा भनेको पद बिना पनि जिम्मेवार हुन सक्ने मान्छे हुनु हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 










