मानिस चेतनशील प्राणी हो । उसले आफैले देखेभोगेको परिवेशबाट अनुभव प्राप्त गर्छ । मानिसलाई अनुभवै-अनुभवको एउटा पुञ्ज पनि मान्न सकिन्छ । आफ्नो वरिपरि अर्थात् चारै दिशामा देखेका र सुनेका अनुभवहरू उसको मानसपटलमा पुग्छन् र त्यहाँ एउटा छाप बस्छ । भौगोलिक परिवेशमा व्याप्त विभिन्न वस्तुहरूले मानिसलाई प्रभाव पारेका हुन्छन् । ती वस्तुहरूको बिम्बका कारण मानिसमा सोहीअनुरूपको संस्कार बन्छ । यसरी संस्कार बन्नका लागि बाह्य जगतका विविध चीजबीजहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।

यद्यपि संस्कार बन्नका लागि आन्तरिक तथा मनोजगतले खेल्ने भूमिकालाई पनि कम महत्वको आँक्नु हुँदैन । बाह्य वातावरणका विविध गतिविधिहरू जब मानिसको मनमस्तिष्कमा पुगेर डेरा जमाउँछन् तब ती विविध गतिविधिहरूलाई मस्तिष्कबाट हटाउन निकै गाह्रो पर्छ । ती गतिविधिहरू त अझ लिसोझैँ टाँस्सिएर अर्थात् झनझन जमेर बस्छन् । यसको एउटा उदाहरण यसरी पनि दिन सकिन्छ–

पहिले पहिले हाम्रो समाजमा गर्मी भएको अवस्थामा चामल पखालेको चौलानी पानी अथवा कागतीपानीलाई सर्बत बनाएर पिउने चलन थियो । शारीरिक स्वस्थताका दृष्टिले यो राम्रो पनि हो तर आजभोलि त्यो चलन लगभग पूरै हटिसकेको छ । चौलानी पानी अथवा कागतीको रस र चिनी हालेर घोलघाल पारी बनाइएको सर्बत पिउनतिर हाम्रो ध्यान जाँदैन । हामीलाई बाह्य वातावरणले गाँजिसकेको छ । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू हाम्रा गाउँघरका दैलाठेलाबाट भित्र पसिसकेका छन् । हाम्रा पिँडी र आँगनतिर पनि कोकाकोलाका बोतलहरू लडेका छन् । हामीले टेलिभिजनमा कोकाकोला पिएको देख्छौं, रेडियो र एफएमहरूमा कोकाकोलाकै विज्ञापन सुन्छौं ।

हाम्रै वरपरका छिमेकीहरूले पनि कोककै बोतल ठाडो घाँटी लगाइरहेको देख्छौँ । चारैतिर कोकाकोलै कोकाकोला देखेपछि हाम्रो मनमस्तिष्कबाट चामलको चौलानी तथा कागती निचोरेर बनाइएको सर्बत क्रमशः हट्दै जान्छ र हामीलाई पनि कोकाकोला पिउन मन लाग्छ । यद्यपि कोकाकोला स्वास्थ्यका लागि हानिकारक छ । यो आर्थिक दृष्टिले पनि राष्ट्रिय हितमा छैन तर पनि हामी कोकाकोला पिउँछौँ । हामी कोकाकोलाबाट प्रभावित हुन्छौं र पिउनु हाम्रो संस्कार बन्छ । संस्कार सनातनी हुन्छ, यो धेरै पुस्तासम्म फैलन्छ अर्थात् यसले धैरै पुस्तासम्म प्रभाव पार्दछ । हाम्रा छोरानातिहरू पनि स्वास्थ्यकर सर्बत बिर्सेर अस्वस्थकर कोकाकोला नै पिइरहेका हुनेछन् ।

हाम्रो परम्परामा आजसम्म चलेका श्राद्ध तथा पूजाआजा र मृत्युलगायतका विविध संस्कारहरू पनि यसरी नै आएका हुन् जसको प्रभावबाट हाम्रो समाज पूर्ण रूपमा मुक्त हुन सकेको छैन । यसरी वातावरण तथा परिवेशले मान्छेको संस्कार निर्माण गर्दछ ।

माथि उदाहरणका रूपमा प्रस्तुत गरिएको कोकाकोला बाह्य वातावरण हो जसले हाम्रो मनमस्तिष्कमा पुगेर प्रभाव जमाएको छ र एउटा संस्कारको निर्माण गरेको छ । आदिम कालमा मान्छेका आवश्यकताहरू थोरै थिए । जनसङ्ख्या न्यून थियो । उसका अनुभवहरू पनि सामान्य किसिमका तथा साधारण थिए । उसले आफ्नै आसपासका अर्थात् जङ्गलका फलफूल कन्दमूल एवम् पशुपन्छीहरूबाट आफ्ना आवश्यकताहरू पूर्ति गर्दथ्यो । यही परिवेशमा ऊ क्रियाशील रहन्थ्यो यसर्थ उसका अनुभवहरू पनि सीमित थिए ।

सभ्यताको विकास क्रमसँगै उसका आवश्यकताहरूमा तीव्रता आयो । क्रमिक रूपले ऊ जीवन र जगतमा फैलँदै गयो । एउटा पहाडी जङ्गलको सीमित भूभागमा खुम्चिएको मान्छे क्रमशः अन्यत्र फैलन थाल्यो । गुफा छोडेर छाप्रो हुँदै क्रमशः गाउँ, बस्तीमा रूपान्तरित हुन थाल्यो । जीवन र जगतसँग बढी साक्षात्कार गर्न थाल्यो । जीवन र जगतसँग सम्पर्क बढ्दै गयो ।

अन्य परिवेश एवम् समुदायको सम्पर्कका कारण उसका अनुभवहरूमा वृद्धि हुन थाल्यो । क्रमशः उसको चेतनामा विकास हुँदै आयो । चेतना परिष्कृत तथा परिमार्जित हुन थाल्यो । क्रमिक रूपमा उसको मानसपटलमा विभिन्न किसिमका स्मृति, चाहना, कल्पना आदि शक्तिको उदय हुन थाल्यो । उसमा सत्य र असत्य छुट्टयाउने विवेकको विकास भयो । यसरी सुरुमा आसपासको दृश्यबाट प्रभावित भई अनुभवहरू बटुलेको मान्छेले अब क्रमशः आफूले नदेखेका र नसुनेका विषयका बारेमा पनि कल्पना थाल्यो । उसले अनौठा अनौठा सपनाहरू देख्न थाल्यो । उसका इच्छा अभिलाषाहरू बढ्दै जाँदा उसमा सुन्दर र असुन्दर, सत् र असत्, उचित र अनुचित छुट्ट्याउने सामर्थ्यको विकास भयो । सुरुमा यो सामर्थ्य कम थियो भने कालान्तरमा यो अझ विकसित र विस्तारित हुँदै गयो ।

आवश्यकता र उपयोगिताअनुरूप मान्छेका प्रयोगमा जेजस्ता वस्तु आए तिनमा मान्छेले विभिन्न विचारहरूको आरोपित गयो । चेतनाको स्तर यसरी बढ्दै गयो कि उसले धेरै कुरालाई व्यवस्थित तरिकाले बुझ्न थाल्यो र सर्वाङ्गीण बुझाइपछि तिनलाई प्रयोगमा ल्याउन थाल्यो । उसका व्यवहार र सोचविचारहरू क्रमशः संस्कारका रूपमा विकसित हुन थाले । जुन समाजको संस्कार व्यापक हुँदै गयो त्यही समाज उत्तिकै बढी उन्नतशील र सभ्य बन्न पुग्यो ।

कुनै पनि विषयवस्तुले हृदयमा पार्ने छाप वा प्रभाव अभिव्यञ्जना हो । अभिव्यञ्जना कलासँग सम्बन्धित हुन्छ । यद्यपि सम्पूर्ण अभिव्यञ्जना कला हुन सक्दैन । वस्तु देखेपछि त्यसको आकारप्रकार वा चित्रलाई मात्र मान्छेले आफ्नो मस्तिष्कमा उतार्दैन उसले त त्यस वस्तुप्रति आफ्नो धारणा, निश्चित नियम वा सिद्धान्त समेत बनाउँछ । मान्छेको बुद्धि तथा विवेकमा यही सामर्थ्य हुन्छ कि उसले वस्तुलाई केवल साकार वा मूर्त वस्तुको रूपमा मात्रै नहेरेर अमूर्त तत्वका रूपमा पनि दृष्टि पुर्‍याएर विश्लेषण गर्न सक्छ ।

मान्छे कलाकार मात्रै होइन ऊ दार्शनिक पनि हो । उसले आफ्नो सूक्ष्म दर्शनबाट यस सृष्टिको विकासमा हाम्रो सम्बन्ध र भूमिका बारेको विवेचना, विश्लेषण तथा स्तर विभाजन अनेक कोणबाट गर्दछ । भिन्न-भिन्न वस्तुका भिन्न-भिन्न प्रतिबिम्ब जब मानवमस्तिष्कमा उत्रन्छ तब त्यहाँ कलाको सम्बन्ध स्थापित हुन्छ । कलाअन्तर्गत सृष्टिका समस्त वास्तविक र काल्पनिक क्रियाकलापको अभिव्यक्ति पर्दछ । मान्छेका अनुभूति, कल्पना तथा उसले आर्जन गरेका सम्पूर्ण ज्ञान कलाको विषय बन्न सक्छ । विभिन्न वैज्ञानिक अनुसन्धान, दार्शनिक तथ्य आदिको वर्णन पनि कलाकै परिवेशमा समेटिन्छन् ।

मान्छेको भावना व्यापक छ । भावनाको फैलावट असीमित छ । मान्छेमा अन्तर्निहित यही असीमित भावनालाई कलामा समेटिने हुँदा कलाको विषय र क्षेत्र व्यापक तथा असीमित छ भन्न सकिन्छ ।