‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले,

पिरतीको भाका बोल्छ फूल मञ्जरीले ।’

बर्मा छँदा म बेला बेला यो लोकगीत सुन्ने गर्थें । प्रकृतिलाई गहिरोगरी छोएका यसका शब्द–शब्द मेरो मनमा घुलेका थिए । यी हरफमा आकर्षण छ, मिठास छ, एक किसिमको कोमल स्पर्श छ ।

यी सुन्दर शब्दहरू कसैले कोरेको हो भन्ने मेरो कल्पनामा थिएन । मेरो विचारमा लोकगीत पुस्तौंपुस्ता सर्दै आएका हुन् ।

एक दिन कफी खाने क्रममा एकजना कथाकारसँग लामै साहित्यिक कुराकानी भयो । उनले हालसालै लेखेको कथा मलाई उपहारको रूपमा दिए । किताब लिएर थन्काउने वर्गमा म पर्दिनँ ।

हामीले लामै कुराकानी गर्‍यौँ । त्यही बेला उनले भने, “म गीत पनि लेख्छु नि ! कथा लेख्न थालेको चाहिँ भर्खरभर्खर हो ।”

म अचम्ममा परेँ ।

मैले गीत सुनाउन अनुरोध गरें । शायद सर्जकहरूको आफ्नै शैली हुँदो रहेछ— काममा विश्वास गर्ने । धेरै बेर कुरा कोट्याएपछि, झरनाको पानी झरेझैँ, उनैको आवाजबाट यी पंक्तिहरू बग्न थाले ।

त्यस क्षण मैले शब्दलाई मात्र होइन, शब्दभित्र लुकेको सर्जकलाई पनि चिनें ।

यी नै सर्जक हुन्—लक्ष्मण वियोगी !

उनलाई गीतकारको रूपमा चिनिसकेपछि मैले उनको किताब पल्टाउन धेरै हतार गरिनँ । उनी मेरा मन पर्ने गीतकार थिए । म यसलाई उनका गीतका शब्द जस्तै चपाउँदै पढ्न चाहन्थेँ । करीब ६ महिनापछि जब म अलि फुर्सदमा भएँ, अनि पढ्न थालेँ— उनको पहिलो कथाकृति ‘सत्यम’ ।

म समीक्षक होइन । नितान्त पाठक हुँ । तर पढ्दै गर्दा केही लेख्न मन लाग्छ । वियोगी केवल पाठकका रूपमा आफ्नो अनुभव सुन्न चाहन्छन् । तर म लेखेर उनलाई सुनाउन चाहन्छु । तर लेखेको पाठकीय कसरी सुनाउनु ? लेख्न थालेपछि प्रश्न उठ्यो, “तैँ तैँ, तँ समीक्षक हुन सक्दिनस् ?”

शायद समीक्षक हुन सक्दिनँ । समीक्षक हुने कठोरता, दूरी र विश्लेषणात्मक स्वभाव मसँग छैन । तर पाठकका रूपमा केही लेख्ने गर्छु । यस्ता लेखाइ कहिले डायरीमा थन्किन्छन् । कहिले लेखकलाई मात्र सुनाउन प्रयोग हुन्छन् । कहिलेकाहीँ पत्रिकामा देखिन्छन् ।

मलाई यो लेख्दासम्म थाहा छैन यो डायरीमा थन्किने सामग्री हो कि, पत्रिकामा देखिने ।

पहिलो कथा पढेँ । दोस्रो कथा पढेपछि केही टिपेँ । प्रथम कथा पढेर किन केही लेखिनँ भन्ने सोच्नु भएको हो भने पर्खनुहोस् । त्यसको उत्तर पछि खुल्नेछ ।

दोस्रो ‘चुन्कीको रहस्य’मा रहस्य खोज्न हतारिनुभयो भने तपाईं आफैँ रहस्यमै हराउनुहुनेछ । कुनै क्राइम वा थ्रिलर फिल्मभन्दा कम छैन यसको तनाव र कौतूहल । चुन्की ललनसँग भागी कि विनयसँग ? प्रश्न यति मात्र होइन—चुन्की को हो ? ऊ किन भाग्छे ? कसबाट भाग्छे, वा केतर्फ भाग्छे ? चुन्कीलाई बुझ्न सक्नुभयो भने मात्र रहस्यको गाँठो फुक्छ, र त्यो बुझाइ वियोगीको प्रस्तुति शैलीले बिस्तारै मनमा बसाल्दै जान्छ । अन्तिम प्रश्न फेरि उभिन्छ—कससँग भागी ?

अर्को कथा हो ‘रित्तो गुँड’ । शीर्षकले नै पाठकसँग भलाकुसारी गर्छ—मान्छे किन गुँड छाड्न बाध्य हुन्छ ? के ले बाध्य बनाउँछ ? देशकाल, सामाजिक संरचना, परिस्थितिको चाप—कारण अनेक हुन सक्छन् । तर गाउँ छाड्नुको पीडा भोगेकालाई मात्र थाहा हुन्छ, जरा उखेलिँदाको पीडा कस्तो हुन्छ । प्राणी अन्तिम अवस्थामा वासस्थान त्याग्छन्—नयाँ सम्भावनाको खोजीमा, खुला आकाशको कल्पनामा । तर भविष्य कहिल्यै सुनिश्चित हुँदैन । यही अनिश्चितता बीच मान्छे गुँड छाड्छ, र कथाहरू जन्मिन्छन् । यस कथामा लेखकको चतुर्याइँ स्पष्ट देखिन्छ । पाठकलाई कसरी कथामा तान्ने र अन्तिममा पुग्दा झ्वाम्मै मात लागेजस्तो बनाउने कलमको कौशल पाठकले यहाँ अनुभूत गर्न सक्छन् ।

गुँडको कुरा गर्दैगर्दा ‘चराहरू उडे’ कथाका चरारूपी बालकहरू सम्झँदा हृदय उम्लेर आउँछ । ती साना हातखुट्टाहरू श्रमको भारी बोक्नका लागि बनेका होइनन् । ती अबोध, निश्चल मुस्कानहरू कुनै मालिकलाई खुशी पार्नका लागि होइनन् । उनीहरू त आमाबुबाको न्यानो काखमा लुटुपुटु खेल्दै, स्कुल, पार्क र घरको आँगनमा उफ्रिँदै हुर्किनुपर्ने हुन् ।

चराहरू उडेकै भरमा आकाश आकाश बन्छ—तर जब ती चराहरू समयभन्दा पहिले उड्न बाध्य हुन्छन्, आकाश पनि अलि उदास देखिन्छ । यही पीडा, यही विडम्बना वियोगीको कलमले मार्मिक ढङ्गले कोरेको छ । शब्दहरू चिच्याउँदैनन्, तर मनभित्र गहिरो धक्का दिन्छन् । संवेदना चुपचाप छिर्छन् र पाठकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछ ।

बालक कसरी समाज र परिवारको अव्यवस्थित परिवेशमा बिस्तारै फस्दै जान्छ भन्ने ज्वलन्त उदाहरण हो – ‘बागियान’ । जब परिवेश नै असन्तुलित हुन्छ—घरभित्रको कलह, अभाव, उपेक्षा वा सामाजिक विकृतिले घेरिएको वातावरण—त्यही बालमन दिशाहीन बन्छ । यसले यही विडम्बनालाई नजिकबाट देखाउँछ । यो कथा केवल युवकको कथा होइन, यो समाजको ऐना हो । जहाँ दोष बालकको होइन, परिस्थितिको हुन्छ । तर सजाय भने प्रायः बालकले नै भोग्नुपर्छ । वियोगीको प्रस्तुति यहाँ पनि करुणामय छ—उनी आरोप लगाउँदैनन्, तर प्रश्नहरू उभ्याउँछन् । शायद यी प्रश्नहरूले समाजको मात्र होइन, देशकै तहसनहस अवस्थालाई छर्लङ्ग पार्छन् ।

‘युद्ध’ भन्ने शब्द कानमा पर्दा मात्र पनि आँखाअगाडि चोइटिएका शरीरका टुक्राहरू सलबलाउन थाल्छन् । मन अत्तालिन्छ—कहाँ भागूँ, के गरूँ ? द्वन्द्वलाई शायद रातो बाहेक अरू रङ थाहा हुँदैन । त्यसलाई हतियारबाहेक अरू भाषा आउँदैन । द्वन्द्व जब साँच्चै द्वन्द्व बन्छ, त्यहाँ भावनाको नाममा बारुद पड्काइन्छ, र मान्छे शरीरबिनाको ‘टाउको’मा सीमित गरिन्छ ।

‘टाउको’ कथा यही निर्मम यथार्थको प्रतीकझैँ लाग्छ । यो कथा सिमाना नाघेर अझै विश्वभर फैलिँदै छ, किनकि प्रश्न सार्वभौम छ—टाउकाको मूल्य कति हो ? कसले तोकिदिने ? के यसको मूल्य पार्टीहरूले, नेताहरूले आफ्ना नारामा, आफ्ना भाषणमा खसालेका छैनन् र ?

जबसम्म देश, सत्ता र शक्ति–संरचनाहरू रहिरहन्छन्, तबसम्म शायद टाउकोको वास्तविक मूल्य खोजेर पाउन गाह्रो हुन्छ । त्यहाँ मान्छेभन्दा माथि विचारधारा उभ्याइन्छ, र जीवनभन्दा भारी बनाइन्छ सत्ता । यही पीडादायी यथार्थलाई सत्यम्ले धारिलो स्वरमा उजागर गर्छ ।

योद्धा कस्तालाई भनिन्छ ? के टाउको काट्न सक्नु नै वीरता हो ? कि न्यायको नाममा रजस्वला भएकी महिलामाथि जबर्जस्ती गर्नु ‘क्रान्ति’ हो ? यी प्रश्नहरू असहज छन्, तर यथार्थका गहिरा घाउहरू यस्तै असहज प्रश्नबाटै खुल्छन् । यो हजारौँ कथामध्ये एउटा मात्र हो । देशको नाममा, विचारधाराको नाममा, परिवर्तनको नारामा—भित्रभित्रै कति महिलाले अन्याय भोगे होलान् ! कति पीडाहरू इतिहासका पानामा लेखिएनन्, कति चिच्याहटहरू नारा र गोलीको आवाजमा हराए होलान् ! द्वन्द्व कालका धेरै कथाहरू पढ्न पाइन्छ—लडाइँका, बलिदानका, वीरताका । तर त्यही लडाइँको छायामा लुकेका महिला–अत्याचारका उपकथाहरू कति छन् भन्ने कुरा सत्यम्ले निर्भीक भएर देखाउँछ । यहाँ युद्ध केवल मोर्चामा मात्र छैन, युद्ध शरीरमाथि छ, अस्मितामाथि छ, मौनतामाथि छ । इतिहास बोकेको सत्यम् सधैं सत्यकै पक्षमा छ—अप्रिय भए पनि, असहज भए पनि ।

यही कथा ‘स्वप्नलोक’मा वियोगीको कलमलाई प्रशंसा नगरी रहन सकिँदैन । पुरुष सर्जकका रूपमा महिलामाथि भएका यस्ता पीडाका प्रसङ्ग लेख्नु आफैंमा जोखिमपूर्ण काम हो । कुनै ठाउँमा पनि संवेदनशीलता चिप्लिएको भए, एक वाक्य पनि असावधान भएको भए, धेरै अवगाल आउन सक्थ्यो । तर वियोगीले त्यो जोखिम सचेत रूपमा मोलेका छन् ।

महिलाको देहलाई कथा बनाउने होइन, उनको अनुभवलाई स्वर दिने प्रयत्न वियोगीको विशेषता हो । यही कारणले उनका कथाहरू केवल घटनावृत्तान्त हुँदैनन्, ती अनुभव र आत्मसम्मान बन्छन् ।

यस्तै यौनमनोविज्ञानमा आधारित ‘ऊ’ कथा संग्रहमध्ये एउटा उत्कृष्ट कथा हो । यसमा लेखकले कान्छी पात्रका माध्यमद्वारा महिला मनोवेगलाई गहिरो तरिकाले प्रस्तुत गरेका छन् ।

प्रायः कथाहरूले बिछोडका गीत गाउँछन् । प्रेमिल शब्दहरू पनि परिस्थिति र सामाजिक संरचनाका कारणले कठोर हुनुसम्म हुँदा रहेछन् । ‘मनफूल झरेपछि’ बल्ल थाहा पाइन्छ – सेतीले साँच्चै रुवाउँछिन् । ‘म’ पात्रलाई जस्तै हामीलाई पनि अलपत्र पारिदिन्छिन् । हामीभित्र अँकुराइरहेको मनफूल पनि झारिदिन्छिन् । शायद यो सेतीको चित्कार हैन, सामाजिक पीडा हो, जातीय पीडा हो । भेद्भावको पर्खालमा प्रेम कतिञ्जेलसम्म खाली खुट्टा टेकिरहन सक्ला । शायद संवेदनाभन्दा माथि छ त्यो पर्खाल । प्रेम सेतीको चीत्कारसँगै, सेती प्रेमको चीत्कारसँगै जीवनको अन्त्य हुन्छ ।

यही चीत्कारको अर्को कथा हो ‘क्रमु’ । कथामा रेस्मा लेख्छिन् – ‘बिहा त आफ्नै जातमा गर्नुपर्छ’ ।

संग्रहमा जोडिन नसकेका जोडीहरूको कथा मात्र छैन । ‘छुटेका पानीहाँस’ जस्तै छुटेका जीवनका कथाहरू पनि छन् । रमणको कथा त्यसैको उदाहरण हो । हर कोहीझैँ रमण पनि जीवनको उकालो चढ्न चाहन्छ । तर लरखराउँदै ऊ उद्देश्यविहीन बस चढ्न बाध्य हुन्छ । शायद बस चढ्नु उसको रहर थिएन, भौंतारिनु पनि उसको चाहना थिएन । मधेस आन्दोलनका नारा उसले चाहेको थिएन । तर मान्छे रहरले मात्र चल्दैन । उसका अगाडि–पछाडि, दायाँ–बायाँ राजनीति छ, निराशा छ, र शून्यता पनि उत्तिकै मात्रामा छ । रमणलाई जस्तै, कतिको जीवनलाई पनि यस्तै गरी हरक्षण धकेलिरहन्छ पछाडिपछाडि ।

जीवन धकेलिनु भनेको कहिलेकाहीँ मृत्युसँग लडिरहनु हो । मृत्यु सधैँ समयले मात्र ल्याउँदैन, कहिले दुर्घटनाले ल्याउँछ, कहिले कसैको अहम्ले, कहिले अस्पतालको बेवास्ताले, त कहिले डाक्टरको कमजोरीले । मृत्यु संरचनागत त्रुटिहरूबाट पनि जन्मिन्छ । यही मृत्युको लहरको कथा हो ‘आँसुको लोरी’ । लोरीले सबैलाई लोलाउँछ, सुताउँछ । तर ‘आँसुको लोरी’ पढ्नु भनेको मेघमणि र सरिताको पीडासँग आमनेसामने हुनु हो । त्यो लोरीले निद्रा होइन, मनका गहिरा तहहरू ब्युँझाउँछ । आँसुको लोरी सुन्न मुटु बलियो हुनुपर्छ ।

मृत्युको अर्को कथा हो ‘सौंराइ’ । तर यहाँ मृत्यु अन्तिम सत्य बनेर उभिएको छैन बरु छायाबाट फर्किएको जीवनको कथा छ । पत्रकार तेजेन्द्रले कथा लिएर जुनालाई पुनर्जन्म दिएको छ । जुना केवल एक पात्र होइन, एउटा प्रवाह हो, भित्रैभित्र गुम्सिएको वेदनाको नदी हो । आखिर समाजले कति जुनाहरूलाई मौन कर्णाली बनाइरहेको छ ?

सत्यममा बेग्लै रूपमा बेग्लै प्रस्तुति लिएर फुलेको अर्को कथा हो – ‘प्रेत–यान’ । यहाँ मान्छे मुटुले हैन चिप्सले चल्छ । जब संवेदना सर्किटमा रूपान्तरित हुन्छ, तब जीवन जैविक होइन, प्रोग्रामित बन्छ । कल्पना गरौँ—चिप्सले चलेको संसार कस्तो होला ? त्यहाँ निर्णयहरू एल्गोरिद्मले लिन्छन्, सम्बन्धहरू डेटा बन्छन्, र भावनाहरू कोडमा सीमित हुन्छन् ।

प्रकृति, प्रेम, पीडा र परिवर्तनको सजीव तथा संवेदनशील आख्यान हो– ‘हिउँखोलाको आलाप’ । जलविद्युत् आयोजना, सडक र आधुनिक विकासले ल्याएको परिवर्तनले हिमाली गाउँ रित्तिँदै गएको अवस्थालाई मार्मिक रूपमा देखाइएको छ । यस कथामा हिमाल, कुहिरो, खोला र लेकाली वनको चित्रण अत्यन्त काव्यमय र दृश्यात्मक छ ।

माथि छाडेको संग्रहको पहिलो कथा हो – ‘राँकेभूतको लीला’ । मलाई भूतसँग डर लाग्दैन । शायद यही कारण यो कथा मन परेन । मेरो मनलाई नछुने कथा पहिलो कथा बन्दा म निरास भएकी हुँ । तर त्यस पछाडिका कथा मन परे । त्यसैले त त्यति लेख्न सकेँ ।

पन्ध्र कथा भएको यस संग्रहमा दुईतीन कथाले निराश बनाउँछ मलाई । यसको अर्थ ती खराब थिए भन्न खोजेको होइन । यी कथाहरूमा लेखक हराएर सम्पादक हाबी भएर उभिएको जस्तो लाग्यो । कुनै पनि लेखमा सम्पादन अनिवार्य छ तर लेखक मर्न दिनु हुँदैन ।

कथालाई अगाडि बढाउन केले मद्दत गर्छ शायद घटनाले, शायद भाषाशैलीले, शायद प्रस्तुतिले । तर भावनात्मकमा कलात्मक बढी रूपमा समावेश भयो भने पनि त्यसले पाठकलाई कतै अलमलाउने त हैन ? यसैको हिसाबले भने मलाई एकादुई कथा अन्तिमसम्म पुग्न धौधौ पर्‍यो । कथा आफ्ना लागि लेखिन्छ भने यहाँ १५ वटै कथाप्रति सन्देह गर्नु पर्दैन । तर पाठकका लागि हो भने एक–दुई कथाले कथाको प्राविधिक पक्ष खोजेको महसूस भयो ।

डढेको वा नपाकेको तरकारी मीठो हुन्न । धेरै पाक्यो भने पनि तरकारीको स्वाद तिक्खर नहुँदो रहेछ । मलाई सत्यम मीठो लाग्यो तर अलि बढी पाकेको हो कि ? उसो त बढी पाके पनि लोकगीतको मरमसलाले सत्यम्को स्वाद लिइरहूँ जस्तो लाग्यो ।

लेखकसँग बेला बेलामा साहित्यिक गफ तथा कफी खाने बहानामा भेट्छु । त्यो बेला वियोगीले भनिरहने एउटा वाक्य छ–मबाट सत्यम् हैन, सत्यम्बाट म चिनिन चाहन्छु । उनको यो आत्मविश्वास मलाई मन परेको छ । आफ्नो सन्तानप्रति यति विश्वास हुनैपर्छ  ।