विदेशलाई पनि स्वदेशी चौतारो नै बनाउने ध्याउन्नमा थिएँ । त्यसकै पछि–पछि लागेर क्यानडातिर पो हान्निएँ । फर्केर हेर्दा त बाह्र वर्ष मात्र हैन पन्ध्र नै पुग्न आँटेछ । यतै धर्ना टेकेर यत्रो धेरै वर्ष बसें । तर पनि स्वदेशलाई विदेश नै भनेर बोलाउँछु । यो त मेरो दुई जिब्रे बानी नै हो । जुन अझै हटेको छैन । बाह्र वर्ष ढुंग्रोमा राख्दा कुकुरको पुच्छर बरु सोझो हुन्छ होला । तर मेरो बानी चाहिँ खै किन हो सुध्रिएन ? यो कुरा सम्झेर ल्याउँदा मलाई अलि ताजुक लागेर आउँछ । “अब यो लेखकलाई किन यस्तो हुन गयो त ?” पक्कै पनि तपाईंको मनमा चिसो त पसिसक्यो क्यारे ! उसो त फेरि चिसो ठाउँमा बस्दा कति बेला कसलाई र कहाँ चिसो पस्छ ? कुनै पनि कुराको हेक्का नहुने । र त्यसको ठेक्का पनि कसैले नलिने नै रहेछ ।
यतातिर त धेरै कुराको ठेगान नै नहुने बेठेगानको ठाउँ । अब म सबै कुरा बेलिबिस्तारमा उतार्दै जान्छु । अनि आफ्नै दुःख–सुखले पकाएको खिचडी पस्केर बाँडीचुँडी नै खान्छु । त्यसपछि म मेरै विगतका दिनतिर फर्किन्छु । ठेगान नभएका विदेशका जागिरका कुरा गर्छु ! अनि यताको मौसमको कुरा सुरु गर्दै बेमौसको खेती गर्छु ।
जन्मदेश पहिल्यै छोडें र कर्मदेशतिर घरबार नै जोडें । त्यसपछि धेरै प्रश्न एकैपटक तेर्सिएर आउने त भै नै हाल्यो । यदि कसैले यतातिरको बसाइ के कस्तो भयो त नि ? भनेर सोध्थ्यो भने मैले उल्टै प्रश्न सोधेर झपार्दै पठाइदिन्थें होला । यता बस्दै गर्दा के चैं भएन र ? अब के नै हुन बाँकी रह्यो त ? जे होस् कान हैन कि कुरा त जसरी पनि बटार्न सकिएला । तर खासमा वास्तविकतालाई टार्न भने परिरहेकै हुन्छ । यता जीवन पनि त टरिरहेकै छ । बाह्र वर्षमा बरु खोला फर्केला । तर मानिसको मति किन फर्केला । के कुरामा र किन भन्ने उत्तर दिँदै जान्छु । अनि औंला नै भाँचेर विगतका दिनहरू गन्दै जान्छु ।
सोच्दै छु ! अब म उहिलेका कुरा गर्छु ! तर खुइलेका चाहिँ छैन । प्रश्न उठ्ला फेरि – उहिले भनेको कहिले हो त ? मतलब डेढ दशक पहिले । अब म दशक पहिलेका कुरा कुनै ढसक नपारी सुरु गर्न चाहन्छु । एयरपोर्टमा पहिलो पटक खसेसँगै यतै माया बसेको कुरा निवेदन गर्न चाहें । सुरुकै दिनमा दुईचार जना सुकिला, मुकिला र गाला फुकिला परेकाहरू पनि देखिए । गर्मी महिना आउँदै त थियो तर बाहिर चिसो साठ चलेर एक दनक पनि दियो । म त जुन महिनामा घरबाट हिँडेको थिएँ । त्यो त खै कुन महिना पो परेछ ? त्यसो त मैले कुनै कुराको मेसो नै पाइनँ । पहिलो सालमै क्यानडाको चिसोले हानेर धन्नै सिल्टिमुर खाएँ । मैले यो भन्दिन कि यता बसेर केही दुःख नै पाइनँ ।
यसरी नै चिसो ठाउँमा लिसो जस्सै गढेर बस्दै गर्दा ! मानिसहरू बाहिरी साठको कुरा हैन कि भित्री गाँठको कुरा मात्रै बढी गर्थे । म भने लाटोले केरा हेरेझैं टुलुटुलु हेरिरहन्थें । के होला यो गाँठ भनेको ? तर समय बित्दै गर्दा मैले पनि बल्ल बुझें । सास्काचुवनको चिसो हावा, हुन्डरी, हिउँ र वर्षातमा समेत बडो गजबले रुझें ।
ऐरे, गैरे, पैरे तथा भिर खैरेहरू त मैले स्वदेशमै पनि भेटेको थिएँ । विदेश आएर त खास खैरेहरू पनि भेटिए । खैरेहरूले कसैले त सोधेका हुन्थे, किन र के ले तँलाई क्यानाडा ल्याइपुर्यायो त ? अर्थात “ह्वाट ब्रिङ्स यू टु क्यानाडा ?” मैले सिधा तर टेढो जवाफ दिन त सक्थें तर “दि एरोप्लेन ब्रिङ्स मि टु क्यानाडा” नभनेरै टारें । गोरेदाइ वा गोरीसँग किन पो जोरी खोज्नु र खोजिएन ! क्यानाडा राम्रो देश छ । त्यसैले म यता बसोबासका लागि आएको हुँ नि भन्न त परिहाल्यो । यति सुनेपछि उसको ओठमा मुस्कानसहित “वेलकम टु क्यानाडा” त झरिनै हाल्यो । तर उनीहरू पनि सबै राम्रा मानिस होइनन् । कोही डाम्रा त कोही ढोंगी, कोही सन्काहा साँढेजस्ता । जे जसो भएता पनि रहस्यका रंगिन पाटाहरू एकपछि अर्को गर्दै हेर्दै र हृदयमा केर्दै रहें ।
“नेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै” भन्ने त चलन नै छ । विदेशिनेहरू युरोप अमेरिका क्यानडा वा संसारको जुन ठाउँमा पुगेता पनि कतिपय आनी-बानीले यता पनि उनीहरूलाई तानिरहेकै हुन्छ । सबै कुराको नालीबेली बताउँदा त ठूलै किताबकै ठेली होला । तर म केही कुरा कोट्टाउँदै र केही कुरा छोट्टाउँदै जाने छु । बोली, भाषा लवाई–खवाई चालचलन जे छन् । लगायत मनभित्रका अनेक जलन र घाउहरू पनि आज यसै मेसोमा उधिन्न मन लागेको छ । आज त मेरो निद्रा नै कता हो कता भागेको छ । किनकि मभित्र पनि केही लेख्ने भूत एकाएक जागेको छ ।
कोही मन्दिरतिर धाएर भगवानलाई सात ठाउँमा लड्डु चढाउँछन् । क्यानाडा वा अमेरिकाको भिसा लागोस् भनेर पुकार्ने गर्छन् । तिनीहरू पनि यता आइसकेपछि भाउ बढाउँदै हिँडेको पाइन्छ । “यसो कोसिस गरेको मात्रै थिएँ । भिसा त लागि पो हालेछ । मेरो खास उतै पनि दह्रो कमाइ थियो । अब केही समय यतै बसेर हेर्छु ।” राम्रो कमाइ थियो त के खान आयौ नि भाइ यता ? भनेर सोध्न पनि नसकिने रहेछ । “हाम्रा सम्धीज्युका त गफै ठूला” भनेझैं मानिसले पार्दिने नै रहेछन् यता पनि आँखैमा फुला । उनीहरू परे खास क्यानेडियन अरू सबै हुन् त के बारीका मुला ? होइन त हजुर कुरा त्यसो ? यता पनि नपाइने नै रहेछ कुनै कुराको खास मेसो । अब म राष्ट्रिय पोशाकको कुरा गर्न पट्टि लाउँछु ! अनि म फेरि अन्तर्राष्ट्रिय सेरोफेरोमै फर्केर आउँछु ।
उता छँदा खुट्टामा जुत्ता र शिरमा ढाका टोपी लाउन भनेसी सातकोस परपर भाग्ने । तिनै विदेश पसेकाहरू यता सधैं टाउकोमा टोपी धसेका हुन्छन् । अनि दौरासुरुवाल बिना त पार्टीतिर तिनीहरूको पाइला पनि सर्दै सर्दैन । आफू हिरो बन्दै हिँडेर के गर्नु अरूको लागि कीरो पनि मर्दैन । एक सुको पनि खल्तीबाट झर्दैन । भनेर भन्दा खास केही फरकै पर्दैन । बाफ रे बाफ ! पोशाकप्रति कति धेरै माया मोह होला ! आफ्नो आँत दह्रो बनाएर दाँत देखाउँदै फोटो खिच्यो फेसबुकमा लगेर पसारो पार्यो । क्या बात ! विदेशमा फलेकै त छ । पैसाको ठूलो खातै खात । सायद जति टाढा उति माया गाढा भनेको त्यसै त हैन रहेछ । हे प्रभु !
अब खानपानका कुरा पनि सँगै गरौं कि अन्तैतिर डेरा सरौं ! स्वदेशी खाना र स्वादिला गानाका पारखी पनि यता बढेको बढ्यै छन् । विदेशमा मिठा गाना बजाउने मात्र हैन कि दुईचार बोत्तल साथमा भजाउने चलन अझै काइदाको छ । दुई चार डलर बैना मारेर ऐना हेर्दै बिदाको दिन कटाउने यतातिरको महान मार्गदर्शन नै हो । जसले गर्दा यताका भुंडी भरणम् पार्टीहरूका जीवन चलेका छन् । तिनीहरूका चुलो पनि हरहमेसा बलेकै छन् ।
ए मैले त साँढेको कुरा पो गर्दै थिएँ ! भुसुक्कै बिर्सेछु । पशुपतिमा प्रसाद र फलफूल खानुसम्म खाएर गजधम्म परेका साँढेहरू कसैलाई टेर्दैनन् । उनीहरू कसैको मुखैमा हेर्दैनन् । हेकुलाले पेलेर मासु र तीन थाल भात उडाएपछि यता पनि कसैको त गर्दन पनि साँढेकै समान हुन्छ । कोही कसैसँग नबोल्दा तिनको के छुन्छ ? त्यसैले पनि साँढेहरूलाई सोध्न मन लाग्छ । “हे साँढेहरू हो तिमी बाँच्नको लागि खाइरहेका छौ वा खानकै लागि बाँचेका हौं ?” कुरा जे भएता पनि साँढेले भुइँमा लडेकाहरूलाई नहेर्दा पाँडे गाली दिन नसकिने नै रहेछ । यो त विदेश बसेपछि लाग्ने महारोग पो भएछ । भनेर चित्त बुझाउनुपर्छ । तर सबै कुरा सम्झिएर ल्याउँदा धन्नैले आँसु नै झर्छ ।
भेषभूषाको कुरा त पूरा गरियो अब भाषाको कुरा नगरौं कि ! अरू नै कुरा गरेर हजुरलाई थकित पारौं ! देश छोडेर विदेश पसेपछि र यतै जमेर बसेपछि हाम्रो अंग्रेजी राम्रो नहुने त कुरै भएन । यसो भन्दा कसैको खास केही पनि गएन ! गोरेदाइहरू बरु कनिकुथी बोल्लान् तर हामीहरू त पटटट बोलिएकै छ । बाहिरको के कुरा घरमा समेत अंग्रेजी छाट्नु हाम्रो जानी नजानी बानी नै भएको छ । हामी नै भाषाका खास्सा पण्डित भएझैं गर्न खोज्छौं ! उता भुराहरू नेपाली बोले भने दण्डित गर्ने बाटो रोज्छौं ! (अनुमान मात्र हो) अंग्रेजी बोल्न पाए मसक्क मस्किने । म पनि एउटा कुशल पात्र हो ।
यतातिर पनि कतै हेप्नी कतै चेप्नी कुरा बडा बुरा तरिकाले सुनिन्छ । किन, कसले र कसरी होला त्यो हेप्नी ? नयाँ र पुरानाहरूका बाध्यताका कुरा गरेर साध्य पनि हुँदैन ! सानो माछालाई ठूलो माछाले खाएकै हुन्छ । यता पनि ठूला माछाहरू सानालाई भाउ नदिनकै लागि दाउ हेरेर बसेका हुन्छन् । जातीय क्षेत्रीय पेशागत तथा मानिसका हविगत अनुसारका झुन्डमुन्डको यता पनि डरलाग्दो बिगबिगी चलेकै हुन्छ । “मिठो खानु राम्रो लाउन र रमाउन नै जीवनका सार हुन् ! म र मेरा आफ्ना अरौटे-भरौटेहरू बाहेक अरू सबै पृथ्वीका भार हुन् ।” यसो भन्नेहरू तथा गर्नेहरू बाक्लै छन् यतातिर । उनीहरू मात्र हैनन् कि नयाँ आउनेहरू पनि बलेको आगो ताप्न खप्पिस हुन्छन् । कमजोर र आफूलाई फाइदा नहुने ठाउँमा उनीहरू पनि हात नै हल्लाउन खोज्दैनन् । यही नै उनीहरूको जन्मजात विशेषता भनौँ वा योग्यता हो । यो कुरा होइन भन्ने खासमा को ? हैन नै भन्न त हिम्मत भए पो ?
उसो त विदेशमा बसेर यतै मालामाल राम्रो गर्नेहरू पनि कम छैनन् । कोही धेरै नै पढेका त कोही अघि बढेका छन् । कोही उत्तानो परेर लडेका पनि छन् । अझ भनौँ न कोही अलि चढेका त कोही सढेका पनि होलान् । यो त मेरो मनगणन्ते भनाइ हो । तर कनाइ हैन । कसैमाथि चिसो पानी खन्याइ पनि हैन !
नेपाल बाहिर पुगेर कोही नेता, कोही समाजसेवी, कोही दानवीर, कोही सेलिब्रेटी त कोही लेखक पनि जन्मिएकै छन् । यी सबैतिर मारामार प्रगति देखेर म पनि फेसबुक कवि बनेर छवि उज्यालो पार्दै छु । तर आफू अलि दिग्गज नै हुन पाइन्छ कि भनेर म पनि जोखाना हेर्दै कागजमा यसो केर्दै पनि छु । तर मेरो यो सपना कुइँनोले पहाड भत्काउने कुचेष्टा नबनोस् । म होशियार हुनुपर्ने छ । तब मात्र देश र दुनियाले मलाई पनि स्याबास गर्नेछ । यो त मेरो केवल दिवा सपना हो तर सपना भने हैन ! भनेर त म भनेकै छैन ।
अनि अर्को तर अलि धेरै चर्को कुरा पनि छ । विदेश बस्नेले विदेशतिरको कुनै चिन्ता नलिँदा पनि हुन्छ । चौबीसै घण्टा सोच्ने भनेकै जन्मभूमिको बारेमा हो । समाज राजनीति तथा अर्थनीतिका बारेमा अर्थ न बर्थका उपदेश दिन त बडा सजिलो छ । यताबाट दिनेले अर्ती उपदेश दिए पनि उताको नै थर्थर्ती हुन हुँदैनन् । चलाउनेले देश चलाएकै छन् ! जलाउने वालाले जलाएकै छन् । तर जलाउनेको बुद्धि पलाउने चाहिँ कहिले होला ? मूल प्रश्न त्यही नै हो । मेरो खास कुरा पनि यही नै हो ।
कोही फेरि अर्ती त दिँदैनन् । सरसर्ती उतै गएर सेवा गर्ने कुरा गर्छन् । वन छोड्ने बेलामा बाघ पनि डुक्रिने गर्छ रे । यता पनि विदेशिएका बुढा बाघहरू भन्छन् । “म त उतै जाने हो । बुढौलीमा हिमालको चिसो हावा खाने हो ।” हैन बाबै ! क्यानाडाको चिसोले पुगेन अझै । भएको जवानीको जोश विदेशमा बलि चढाएर किन जानुपर्ने ? हाडखोर मात्र लगेर उता के गर्ने ? भनेर कसैले सोधे पनि हुने हो । जाने भए जाऊन् सम्झेर किन रुनी हो ? बास् कुरा यही हो खास । बुढो गोरु जोतेर बाली लगाउने कसैलाई पनि हुँदैन आश ।
कोही भन्छन् – म पनि त उतै जोने हो । बाहिर-बाहिर बाह्र र सत्ताइस कुरा चुट्दा भने जानै पर्ने । तर भित्री मनले यतै बस्न मरिहत्ते नै गर्ने । यस्ता दुई जिब्रे मनुष्यका कुरा गरेर कुनै साध्य नै हुँदैन ! बिहानै उठेर चिसो पानीले शरीर नुहाउँदैमा कोही पनि उपाध्याय बाहुन हुँदैन । सबैका सपना एक दिन अवश्य पनि पूरा हुने नै छन् । तिनीहरू फेरि पनि सफलताको शिखर छुने नै छन् । सबैको जय होस् ! तर फुर्ती लाउने साँढेहरूको नभए पनि नहोस् । भनेर भन्न त अलि नसकिने नै रहेछ । अब यो कलम यहीँनेर रोकेर कामतिर लागौँ होला । बाहिर त उज्यालो नै भएछ । रौँ फुल्ने फल्ने तालु हेर्दाहेर्दै रित्तिएर गएछ ! “उडायो सपना सबै हुरीले” भनेझैँ पो भएछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 










