गोरखा जिल्ला निवासी आर सी संकल्प एक प्रखर गजलकार हुन् । सपनाका डोबहरू पछ्याउँदै पछ्याउँदै हिँडेका उनी हाल युएईमा कर्म गरिरहेका छन् । जीवनको ऊर्जाले भरिएको किशोर समयदेखि नै मार्क्सवादी विचारधाराले प्रभावित संकल्प केही समय देश र जनताको लागि भनेर आफूलाई समर्पित गरे । प्रगतिवादी विचारधारामा अडिएर मैदान, मञ्च र अक्षरहरूमा लगातार आवाज उठाइरहे । तर देशको दृश्य उनले चाहेको जसरी बदलिएन । हाल उनी तिनै समयले दिएका खतहरू हेर्दै गजलमा पोखिन्छन् ।
गजलकार संकल्प जीवनको अस्थिरता, प्रेमभित्रको बिडम्बना र सामाजिक राजनीतिक विकृतिप्रति सजग र आलोचनात्मक दृष्टिकोण राख्छन्। उनका गजलहरूमा प्रेम-वियोग र सामाजिक आक्रोश समानान्तर रूपमा देखा पर्छन् । सरल तथा बोलचालको भाषा प्रयोग गर्दै गहिरो भाव दर्शन तथा तीक्ष्ण व्यङ्ग्य प्रस्तुत गर्नु उनको मुख्य विशेषता हो । सामाजिक अन्याय, वर्गीय विभाजन र सत्ताको एकाधिकारप्रति निर्मम प्रहार सहितका उनका गजलहरूले पाठकलाई केही समय सोच्न बाध्य बनाउँछन् । प्रेम, समय, सत्ता र नैतिक क्षय – यी चार आयाम उनका गजलका केन्द्रीय आधारहरू हुन् । आजको मुगलानी चराको १६ औँ शृङ्खलामा हामीले गजलकार आर सी संकल्पका ४ वटा गजल प्रस्तुत गर्दैछौँ –
गजल १.
भन ओ प्रिया ! के के कुरामा हद चाहिन्छ ?
मलाई तिमी जत्रो हुन कत्रो कद चाहिन्छ ?

आर सी संकल्प
अहिल्यै आँसु सापटी लैजाऊ मसँग तिमी ।
भोलि मेरो याद आयो भने सायद चाहिन्छ ।
म यसर्थ खुब खुसी छु दुखी भएर पनि ।
ऊ खुसी हुन मेरो खबर दुःखद चाहिन्छ ।
हिजो जिन्दगी बेचियो उधारोमा कसैलाई ।
आज आफ्नै जिन्दगी किन्न नगद चाहिन्छ ।
जसलाई सम्झेर म आफैलाई बिर्सन्छु ।
मलाई सम्झिन उसलाई फुर्सद चाहिन्छ ।
…
गजल २.
रातमा तिम्रो याद आउँछ, अभाव दिनमा आउँछ ।
तिमी बाहेक जिन्दगीमा सबै छिनछिनमा आउँछ ।
मेरो भन्नु के नै छ र सुम्पिऊँ तिमीलाई म प्रिया ।
आफ्नो भन्ने यो दिल त अरूकै अधीनमा आउँछ ।
तिम्रो सवाल थियो मेरो जिन्दगीमा किन आयौ ?
खै कुन्नि के सोचेर पुतली लाल्टिनमा आउँछ ।
यो प्रविधिको युग हो, यत्ति त थाहा थियो मलाई ।
थाहा थिएन अचेल सम्बन्ध पनि मेसिनमा आउँछ ।
ए समय ! कहाँ पुग्न खोज्छ पुग्न दे यार उसलाई ।
आफ्नै उचाइले बाँस एकदिन जमिनमा आउँछ ।
…
गजल ३.
यो जिन्दगीको चमकधमक एकैछिन हो ।
बेहुलीको घरमा बिहेको रौनक एकैछिन हो ।
भर्खरै छातीमा तिम्रो नाम लेखेको छु मैले ।
यहाँ लेखेर जिउँदो रहने चक एकैछिन हो ।
मोटरबाट झरेर पैदल हिँड्नुपर्छ सरकार ।
भोट माग्न जाने गाउँको सडक एकैछिन हो ।
सधैँ साथमा कहाँ हुन्छ र आफ्नै भएर पनि ।
जितेर पनि गलामा बस्ने पदक एकैछिन हो ।
आजको दिन त आँखाबाट टाढा नजाऊ प्रिय ।
तिमीलाई आफ्नो भन्न पाउने हक एकैछिन हो ।
…
गजल ४.
जसले जानेको छ कपट, छल उनीहरूको हो ।
यो देश केवल, मात्र केवल उनीहरूको हो ।
हामी ज्यान दिएर चुकाउछौं गरिबीको मूल्य
शीतलहर पो हाम्रो हो, कम्बल उनीहरूको हो ।
दुश्मन हुन्छौँ हामी, सवाल गर्ने मान्छेहरू
दल उनीहरूको हो, दलदल उनीहरूको हो ।
फिस्टे चरो चुच्चोमा पानी बोकेर उडिरहेछ
आगोमा आगो थप्ने दमकल उनीहरूको हो ।
कस्तो बिचार हो यो, कस्तो भाष्य हो हजुर
खराब सबै अरूको, असल उनीहरूको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 










