गोरखा जिल्ला निवासी आर सी संकल्प एक प्रखर गजलकार हुन् । सपनाका डोबहरू पछ्याउँदै पछ्याउँदै हिँडेका उनी हाल युएईमा कर्म गरिरहेका छन् । जीवनको ऊर्जाले भरिएको किशोर समयदेखि नै मार्क्सवादी विचारधाराले प्रभावित संकल्प केही समय देश र जनताको लागि भनेर आफूलाई समर्पित गरे । प्रगतिवादी विचारधारामा अडिएर मैदान, मञ्च र अक्षरहरूमा लगातार आवाज उठाइरहे । तर देशको दृश्य उनले चाहेको जसरी बदलिएन । हाल उनी तिनै समयले दिएका खतहरू हेर्दै गजलमा पोखिन्छन् ।

गजलकार संकल्प जीवनको अस्थिरता, प्रेमभित्रको बिडम्बना र सामाजिक राजनीतिक विकृतिप्रति सजग र आलोचनात्मक दृष्टिकोण राख्छन्। उनका गजलहरूमा प्रेम-वियोग र सामाजिक आक्रोश समानान्तर रूपमा देखा पर्छन् । सरल तथा बोलचालको भाषा प्रयोग गर्दै गहिरो भाव दर्शन तथा तीक्ष्ण व्यङ्ग्य प्रस्तुत गर्नु उनको मुख्य विशेषता हो । सामाजिक अन्याय, वर्गीय विभाजन र सत्ताको एकाधिकारप्रति निर्मम प्रहार सहितका उनका गजलहरूले पाठकलाई केही समय सोच्न बाध्य बनाउँछन् । प्रेम, समय, सत्ता र नैतिक क्षय – यी चार आयाम उनका गजलका केन्द्रीय आधारहरू हुन् । आजको मुगलानी चराको १६ औँ शृङ्खलामा हामीले गजलकार आर सी संकल्पका ४ वटा गजल प्रस्तुत गर्दैछौँ –

 

गजल १.

भन ओ प्रिया ! के के कुरामा हद चाहिन्छ ?

मलाई तिमी जत्रो हुन कत्रो कद चाहिन्छ ?

आर सी संकल्प

अहिल्यै आँसु सापटी लैजाऊ मसँग तिमी ।

भोलि मेरो याद आयो भने सायद चाहिन्छ ।

 

म यसर्थ खुब खुसी छु दुखी भएर पनि ।

ऊ खुसी हुन मेरो खबर दुःखद चाहिन्छ ।

 

हिजो जिन्दगी बेचियो उधारोमा कसैलाई ।

आज आफ्नै जिन्दगी किन्न नगद चाहिन्छ ।

 

जसलाई सम्झेर म आफैलाई बिर्सन्छु ।

मलाई सम्झिन उसलाई फुर्सद चाहिन्छ ।

‍‍‍…

गजल २.

रातमा तिम्रो याद आउँछ, अभाव दिनमा आउँछ ।

तिमी बाहेक जिन्दगीमा सबै छिनछिनमा आउँछ ।

 

मेरो भन्नु के नै छ र सुम्पिऊँ तिमीलाई म प्रिया ।

आफ्नो भन्ने यो दिल त अरूकै अधीनमा आउँछ ।

 

तिम्रो सवाल थियो मेरो जिन्दगीमा किन आयौ ?

खै कुन्नि के सोचेर पुतली लाल्टिनमा आउँछ ।

 

यो प्रविधिको युग हो, यत्ति त थाहा थियो मलाई ।

थाहा थिएन अचेल सम्बन्ध पनि मेसिनमा आउँछ ।

 

ए समय ! कहाँ पुग्न खोज्छ पुग्न दे यार उसलाई ।

आफ्नै उचाइले बाँस एकदिन जमिनमा आउँछ ।

गजल ३.

यो जिन्दगीको चमकधमक एकैछिन हो ।

बेहुलीको घरमा बिहेको रौनक एकैछिन हो ।

 

भर्खरै छातीमा तिम्रो नाम लेखेको छु मैले ।

यहाँ लेखेर जिउँदो रहने चक एकैछिन हो ।

 

मोटरबाट झरेर पैदल हिँड्नुपर्छ सरकार ।

भोट माग्न जाने गाउँको सडक एकैछिन हो ।

 

सधैँ साथमा कहाँ हुन्छ र आफ्नै भएर पनि ।

जितेर पनि गलामा बस्ने पदक एकैछिन हो ।

 

आजको दिन त आँखाबाट टाढा नजाऊ प्रिय ।

तिमीलाई आफ्नो भन्न पाउने हक एकैछिन हो ।

 

गजल ४.

जसले जानेको छ कपट, छल उनीहरूको हो ।

यो देश केवल, मात्र केवल उनीहरूको हो ।

 

हामी ज्यान दिएर चुकाउछौं गरिबीको मूल्य

शीतलहर पो हाम्रो हो, कम्बल उनीहरूको हो ।

 

दुश्मन हुन्छौँ हामी, सवाल गर्ने मान्छेहरू

दल उनीहरूको हो, दलदल उनीहरूको हो ।

 

फिस्टे चरो चुच्चोमा पानी बोकेर उडिरहेछ

आगोमा आगो थप्ने दमकल उनीहरूको हो ।

 

कस्तो बिचार हो यो, कस्तो भाष्य हो हजुर

खराब सबै अरूको, असल उनीहरूको हो ।