“खोइ तिम्रो मासिक चन्दा ? फेरि तिमी युनियनको मिटिङमा किन आउँदैनौ ।” युनियनको मन्त्रीले उसलाई धम्काउँछ ।

ऊसित अरू पाँच जना युवकहरू पनि आएका हुन्छन् । त्यस बखत ऊ चिसो दाउरा सोंतेले फुकिरहेको हुन्छ –  चुलोमाथि रहेको कालो देक्चीमा मकैको च्याख्ला र अल्वा चामलको खोले उम्लिरहेको हुन्छ । उसका दुई साना छोराहरू बडो उत्सुकतासाथ त्यो उम्लिरहेको खोलेलाई हेरिरहेका हुन्छन् । चुलोको दाहिने तिर रहेको पलङमाथि उसकी बिरामी स्वास्नी बेसरी खोकिरहेकी हुन्छे । घरमा मट्टीतेल नभएकोले टुकी आदि केही बलेको हुँदैन-केवल त्यो बल्दै गरेको दाउराको ज्वालाले मात्रै कोठाभित्र प्रकाश छरिदिने कोशिश गरिरहेको हुन्छ । ऊ चुल्लोबाट उठेर आगन्तुकहरूको स्वागतमा अघि बढिदिन्छ नम्रता र स‌द्भावना देखाउँदै ।

युनियनका मानिसहरू कोही पनि उसका घरभित्र पस्तैनन् – कारण त्यो कोठाभित्र थाइसिसले गलिसकेकी एक स्त्री लगातार खोकिरहेको आवाज उनीहरूको कानमा परिरहेको हुन्छ । तसर्थ युनियनको मन्त्री ढोकाको संघारमा उभेर गर्जिन्छ- “एई ठूले खोई टर्च देखा त, खातामा हेरूँ यसले कति महीनाको चन्दा नदिइरहेछ ।”

ठूलेको टर्चको प्रकाश मन्त्रीको खाताको पानामा खस्छ मन्त्रीको चोर औंलो ‘कान्छा मगर’ लेखिएको ठाउँमा गएर अडिन्छ । नाउँ लेखिएको तेर्सो धर्कामा औंलो केही क्षण दौडाएपछि मन्त्रीको फेरि उही घोर्ले स्वर सुनिन्छ- “देख्यौ, यसले आठ महीनाको चन्दा नतिरी रहेछ, फेरि मलाई राम्ररी थाहा छ यो युनियनको मिटिङमा अनुपस्थित भएको पनि चार-पल्ट भइसक्यो । अब यस्ता सदस्यहरूद्वारा युनियन कसरी चल्न सक्छ है ? भोलिसम्म तिमीले युनियनको चन्दा चुक्ता गरिसक्नू नत्र युनियनको नामावलीबाट तिम्रो नाउँ काटिने छ । पर्सि बेलुकी युनियनको अपर्झट सभा हुँदैछ त्यो सभामा पनि तिमी आउनै पर्छ नत्र तिमीमाथि केही परिआयो भने हामी जिम्मेवारी हुने छैनौं ।”

मन्त्रीको कुराको समर्थन गर्दै सबै युवकहरू एक साथ बोलेको सुनिन्छ- “हो, मन्त्रीज्यूले मुनासिब कुरा गर्नु हुँदैछ ।”

प्रत्युत्तरमा कान्छा मगर केही बोल्न चाहन्छ तर उसको मुखबाट शब्द निस्कनुभन्दा अघिनै मन्त्री र उसका सहकर्मीहरूले घुम्ती काटिसकेका हुन्छन् । कान्छा मगर तिनीहरू गएका दिशातिर एक छिनसम्म हेरिरहन्छ कुन्नि के के थुप्रै कुराहरू सोच्दै ।

एकाएक नानीहरूको रुवाइले उसको तन्द्रा भङ्ग गरिदिन्छ । ऊ कुदेर चुलोमा पुग्छ । आगो निभेर कोठामा छरिएको अन्धकारमा नानीहरू निस्सासिएर रोएका हुन्छन् । उसले फेलुंगाहरू जोडेर फुकेपछि फेरि कोठाभरि प्रकाश छरिन्छ – त्यो छरिएको मन्द प्रकाशमा उसले नियालेर हेर्छ उसका दुई बालकहरू टीठ लाग्दा प्रकारले उसलाई हेरिरहेका हुन्छन् ।

त्यस्तैमा उसकी स्वास्नीले स्याँ-स्याँ हुँदै सोध्छे- “कोहरूका आएका थिए ? किन चर्को स्वरमा कराइरहेका थिए ?”

कान्छाले छोटो उत्तर दिन्छ- “युनियनका मानिसहरू ।”

त्यसपछि उसले तीनवटा पुराना थालहरू निकाल्छ र डाडुले देक्चीबाट खोले उगाएर पहिले दुइटा थालमा हाल्छ र नानीहरूको अगिल्तिर राखिदिन्छ, नानीहरूको आँखामा एक अनौठो किसिमको चमक देखिन्छ, उनीहरूका ओठ रसाइरहेका हुन्छन् । नानीहरूको प्रतिक्रिया कान्छाले एक टक लाएर हेरिरहेको हुन्छ- उसको मनमा कुन्नि के भाव उठ्छ, उसले एक दुई पल्ट मन्टो हल्लाउँछ र एउटा लामो सुस्केरा छोडि-पठाउँछ । त्यसपछि उसले अर्को थालमा त्यै खोले हाल्छ र उसकी विरामी स्वास्नीको अगिल्तिर राखिदिदै भन्छ- “तात्तातै खाइहाल ।”

उसकी स्वास्नीले झिनो स्वरमा प्रश्न गर्छ – “आफूलाई चाहिँ केही छ के ?”

देक्चीमा उब्रेको र चारैतिर टाँसिएको खोले हेर्दै उसले उत्तर दिन्छ- “मनग्गे छ- आज अलि ज्यादै पकाएको थिएँ ।”  त्यतिन्जेल उसका दुई नानीहरू रित्ता थाल लिएर उसलाई टुलुटुलु हेरिरहेका हुन्छन् । कान्छाले उनीहरूको हेराइको अर्थ बुझिहाल्छ र देक्चीमा टाँसिएको एक डाडु खोले थपिदिन्छ र देक्चीमा टाँसिएको खोले चाटेरै उसले त्यस रात आफ्नो पेटको ज्वाला मार्छ ।

भान्सा सिद्धिएपछि उसका नानीहरू बोराको ओछ्यानमा पुरानो राडी ओढेर सुतिरहेका हुन्छन् । कान्छा चाहिं चुलोमा रहेको भुंग्रो ताप्दै कुन्नि के के सोचिरहेको हुन्छ । त्यस्तैमा उसकी स्वास्नी जोरसित खोक्न थाल्छे । खोक्ता खोक्तै उसको मुखबाट रगतको आलो फाल्सा निस्कन्छ । कान्छा लेशमात्र पनि आतिँदैन । बरु स्वास्नीको मुखको रगत पुछिदिँदै उसले भन्छ- “भोलि त साहेबलाई गएर बिन्ती बिसाउँछु । उसले दया गरेर तिमीलाई शहरको अस्पतालमा भर्ना गरिदिने चाँजो मिलाई दिउन् । थाइसिस त आजकल डाक्टरहरूले सजिलै निको पार्न सक्छन् रे ।”

उसकी स्वास्नी केही बोल्दिन, केवल भावशून्य दृष्टिले लोग्नेको चेहरामा एकोहोरो हेरिरहेकी देखी कान्छालाई मनभित्र कता कता एक तमासको डर लागेर आउँछ र उसले कुन्नि कस्तो अनौठो स्वरमा भन्छ- “तिमी किन हरेस खान्छयों हैं ? म तिमीलाई निको पारिछोड्छु – तिमी निको भएपछि त फेरि म पल्टन भर्ती भएर जान्छु कारण अब यो कमानको कामले हाम्रो गुजारा चल्दैन । चीजबीजको दाम दिनदिनै बढ्दै जाँदै छ कामको ज्याला भने बढ्दैन । तिमीहरूलाई सुखमा राखूँ भन्छु तर खाई पुगिसरी कहिल्यै आउँदैन – के गर्नु अभागी खप्परमा सुख त लेखेकै पो छैन कि क्या हो ?”

उसकी स्वास्नीले उसको मनको पीडा बुझिदिन्छे र भन्छे- “खोई मलाई यस्तो नराम्रो रोगले नसमातेको भए त दुई जनाको कमाइले बालछेल हुने थियो-के गर्नु म अभागिनी रहेछु नत्र त यो घरको यस्तो दशा हुने थिएन ।”

दुई लोग्ने स्वास्नीमा धेरै बेरसम्म दुःख सुखको कुरा चलिरहन्छ – अन्तमा कुरा गर्दागर्दै स्वास्नीचाहिं निद्रामा पर्छ तर लोग्नेको आँखामा भने निद्रा ठ्याम्मै पर्दैन- ऊ ओल्टे कोल्टे गर्दै नाना किसिमका कुराहरू सोचिरहन्छ । त्यस्तैमा तल्लो बारीमा स्याल रुन थाल्छ बिसाई बिसाईकन । कान्छाको मनमा चिसो पस्छ र अघि स्वास्नीको मुखबाट निस्केको रगतको फाल्साको कुरा सम्झन्छ फेरि अधि युनियनका मानिसहरूले तिमीमाथि केही परिआयो भने भन्ने वाक्यको उसले थुप्रै-थुप्रै अर्थहरू लाउन थाल्छ । यदि स्वास्नीको जीउ केही भइदियो भने ? एउटा ठूलो शंका र त्रास उसको मनभित्र घुस्रिन्छ । स्वास्नी, युनियन र साहेबको कुराले उसको गिदी घोच्न थाल्छ त्यसरीनै पहिलो, दोस्रो र त्यसपछि तेस्रो डाक भाले वास्छ अनि त फेरि एक किसिमको चरो बारी हुँदो कराउन थालिहाल्छ ।

बिहान कान्छाको मन र शरीर दुवै एकदमै गरुँगो भहरहेको हुन्छ । नानीहरू र बिरामी स्वास्नीको निमित्त मकै भुटिदिई राखेर ऊ सोझै साहेबको कोठीतिर हानिन्छ । साहेब कमान हेर्न जाने उद्देश्यले खाकीको ब्रिचेस लाएर हातमा एउटा सानो छडी लिई कोठाको साम्ने रहेको फूलबारीमा यताउता टलिरहेको हुन्छ, खूबै रवाफसित । कान्छा मगरलाई एका बिहानै आफ्नो कोठीको अगिल्तिर उभिरहेको देख्दा उसले हुकार्दै प्रश्न गर्छ – “क्या हो तिमी मेलोतिर नगएर यहाँ के गर्दैछौ ?”

कान्छा मगरले रुन्चे स्वरमा आफ्नो बिरामी स्वास्नी विषय साहेबसित बिन्ती बिसाउँछ । कान्छाका कुरा सुने पछि मैनेजर साहेब एकपल्ट क्रूरतापूर्वक हाँस्छ र भन्छ- “मैनेजरलाई निकाल्न पर्छ भन्ने उद्देश्यले यो आइतबार तिमीहरू जुलूस लिएर शहर जाँदैछौं होइन ? त्यसो भए तिम्री स्वास्नीलाई अस्पताल भर्ना गर्ने जिम्मेवारी यूनियनको हो, मेरो होइन ।”

त्यति भनिराखेर मैनेजर घोडामा चढेर हिँडिहाल्छ, कान्छा मगर हेरेकोहेरकै हुन्छ उसलाई रुन मन लाग्छ – चिच्याउन मन लाग्छ, आफैलाई टुक्राटुक्रा पारेर चियावारी भरी छरिदिउँ जस्तो लाग्छ तर उसले केही पनि गर्न सक्तैन- ऊ सुरुसुरु घरतिर लाग्छ । घरपुगेपछि उसले पुरानो बाकसबाट स्वास्नी चाहिंको बुलाकी निकाल्छ र फेरि सोझै युनियनको मन्त्रीको घरतिर लाग्छ । त्यस बखत युनियनका मन्त्री लगायत दुई जना युवकहरू प्लेकार्ड र पोस्टरहरू लेख्नमा । व्यस्त रहिरहेका हुन्छन् ।

कान्छालाई देख्नासाथ मन्त्री सोध्छ – “कसो कान्छा, चन्दा बुझाउन आयो कि क्या हो ?”

कान्छाले स्वास्नी चाहिंको बुलाकी मन्त्रीको हातमा राखिदिँदै भन्छ- “वैवाट चन्दाको पैसा पनि काट्‌नोस् औ मेरो जहानलाई पनि अस्पताल भर्ना गरिदिने चाँजो मिलाई दिनोस्- धर्म हुनेछ !”

मन्त्रीले बुलाकी फर्काई फर्काई हेर्छ र भन्छ- “असली सुन हो के त ? कालो कालो पो देखिन्छ त ? अच्छा चन्दाको पैसा यताबाट मिलिहाल्छ अब कुरा रह्यो तिम्रो जहानलाई अस्पताल भर्ना गर्ने होइन त ? टी. बी. केस हो- अस्पतालमा ठाउँ पाउन त्यति सहज छैन । अँ डाक्टरलाई यही उब्रेको पैसाबाट एक–दुईवटा कोशेली चढाएर सबभन्दा पहिलो मौका चाहिँ हामीलाई दिनुपर्छ भन्ने बिन्तीसम्म भने म गरिदिनु सक्छु- ढिलो छिटो त त्यस्तै हो ।”

कान्छाले सोचेको हुन्छ झट्टै सिट पाइहाल्ला भन्ने तर मन्त्रीको ढिलो छिटो त्यस्तै हो भन्नु वाक्यले उसलाई खक्रक्क पारिदिन्छ । ऊ चुपचाप हिंड्न के लागेको हुन्छ मन्त्री बोलेको सुनेर अडिन्छ- “पर्सिको दिन जुलूसमा त जानै पर्छ है, नगई हुँदैन !”

केवल मन्टो हल्लाई राखेर ऊ त्यहाँबाट हिँड्छ । बाटामा जति जति तेज कदम ऊ हाल्छ उति उति यही कुरा उसका मनमा आइरहेको हुन्छ- गरीबको सहारा को ? ऊ केही बुझ्नै सक्तैन । जहान निको होस् भन्ने सन्तापले पूजा आजा पनि नगरेको होइन तर त्यसबाट केही फाइदा भएको उसले छनकसम्म पनि पाउन सकेन । साहेबले आँखी फुकालेर हेरेको औ यूनियनले केवल कुरै मात्रै गरेको देखी उसको लाटो मन झोंकिन थाल्छ, विद्रोह गर्न थाल्छ । अब उसले सहारा कहाँ खोज्ने ? ऊ केही बुझ्न सक्तैन, केवल उसको मथिङ्गल चक्राइरहेको छ मातेको मान्छेको टाउको घुमे जस्तो गरी ।

बाटामा कान्छी राइनीको भट्टी पसल आइपुगेको उसलाई पत्तै हुँदैन- अनायासै उसका पाइलाहरू कान्छी राइनीको भट्टी पसलभित्र गएर अडिन्छन् । कान्छी राइनीकहाँ एक बोतल रक्सी एकै छुटकामा पिइपठाउँछ ज्यादै तिर्खाएको मानिसले पानी पिए जस्तो गरी । त्यसपछि एक बोतल काखीमा च्यापेर ऊ घरतिर लम्किन्छ घरमरिँदै, नानाथरीका कुराहरू बक्दै ।

तीन दिन पछि-कमानका मजदूरहरू जुलूस लिएर कराउँदै शहरतिर लागरहेका हुन्छन् तर कान्छा मगरको घरबाट भने लाश निकालिरहेका हुन्छन् दश वाह्र जना मलामीहरूले । लाशको पछि पछि कान्छा मगर लुरुलुरु हिंडिरहेको हुन्छः घरी ऊ लाशतिर हेर्छ औ घरी त्यो लामो जुलूसतिर जुनचाहिं जलूस माथिल्लो डाँडामा पुगिसकेको हुन्छ जोडतोडसित नारा लाउँदै । कान्छा मगरकी स्वास्नीको लाश कोठी मनिको घुम्तीमा पुर्याउँदा माथिबाट मैनेजर साहेब चुरोटको धुवाँ उडाउँदै घरी माथि डाँडाको जुलूसतिर त घरि तलको लाशतिर हेरिरहेको हुन्छ । तर कान्छा मगर भने भावशून्य चेहरा लिएर लाशको पछि पछि लुरुलुरु हिँडिरहेको हुन्छ । हातमा खुकुरी र धूप लिएर हिंड्ने मानिसले लामो अझ लामो पाइला हानिरहेको हुन्छ जो माझ माझमा शंख फुकेको आवाज धेरै टाढासम्म पुगेर विलीन भइरहेको हुन्छ ।

स्वास्नी चाहिंको लाश वनमा पुर्याएको भोलिपल्ट कान्छा मगर र उसका दुई नानीहरू गाउँबाट हराउँछन् तिनीहरू कहाँ गए, किन गए भन्ने कुराको वास्तविक ज्ञान कसैलाई हुँदैन । कान्छा मगर विषय लिएर सारा कमानभरी एक अनौठो कथा छरिन्छ- कान्छा मगरले छोडेको घरमा कुनै पनि मजदूर बस्न मान्दैन- अन्तमा त्यो घर तोडिन्छ र त्यहाँ चियाका नयाँ वोटहरू लाइन्छन् – हेर्नेलाई एक समय त्यहाँ एउटा घर थियो भन्ने कुरामा विश्वास लाग्दैन । दिन प्रति दिन कमानका मजदूरहरूले कान्छा मगरको कुरा भुल्दै भुल्दै जान्छन् भुल्दै जान्छन् ।

(‘भारतीय नेपाली कथा’ संग्रहबाट)