चितामाथि लाश सजाइएको छ । धूपहरू सुगन्ध छरी जल्दैछन् । वरिपरि रङ्गविरङ्गी फूलहरू छन् तर यिनीहरू ओइलाइसकेका छन्, यो लाश जस्तै प्राणहीन र शक्तिहीन । हामी थुप्रै थुप्रै मानिसहरू यसका वरिपरि घेरा लगाई बसेका छौं ।

यो लाश एउटी आइमाईको हो । ऊ तरुणी होइन तर कुनै जायजन्म नहुनाले उमेर गएको देखिंदैन । हिजो बिहानसम्म जाती नै थिई । कसैले भन्छ मुटुको व्यथाले अचानक मरी । कोही भन्छ शायद खाने कुरामा विष पर्‍यो । कोही के भन्छ, कोही के भन्छ, तर यो साँचो हो, ऊ मरेकी छ । उसको यो लाशमा अब प्राण छैन, शक्ति छैन, केही पनि छैन । ऊ लाश भएर तेर्सिएकी छ । “मान्छेको जीवन कस्तो ! म सम्झन्छु, केही पनि छैन, हिजो थियो, आज छैन ।” मलाई नरमाइलो लाग्छ । मलाई नरमाइलो लागेको विशेष कारण पनि छ तर यो कसैले जान्दैन ।

त्यो मान्छे डाको छोडेर रुन लाग्छ । उसलाई म चिन्दछु । उ मरेकी आइ- माईको लोग्ने हो । मलाई उसले यसरी रोएको मन पर्दैन । म मनमनै भन्छु, “व्यर्थको देखावटी । गहिरो पीर परेको मान्छे त्यसरी देखाएर रुँदैन । नामर्द ! विष पर्‍यो भन्छ ! यस्तोको के ठेगान !”

मलाई लाग्छ उसले उसकी स्वास्नीलाई कदापि प्रेम दिन सकेन, हृदयले आफ्नी भन्न सकेन । उसलाई केही मोह थियो भने उसको मासुसित मात्र थियो । सुन्दरी थिई । उसको मिलेको शरीरको शरीरको छाँटकाँटले कुनै पनि पुरुष आकर्षित हुन सक्थ्यो । यो मलाई राम्ररी थाहा भएको कुरा हो ।

त्यो लाशको अनुहार म देखिरहेको छु । ऊ मरेको अवस्थामा पनि राम्री देखिन्छे । अहिले त्यो जिउँदो ज्योति छैन, चमक छैन । सबै इच्छाहरू मारेर ऊ सुतिरहेकी जस्ती देखिन्छे ।

घुरमाइलो उदासी साँझ, चारैतिर एकतमासको शून्यता छाएको छ । धुम्म छ, पानी पर्ला जस्तो । त्यसै वेला दाग बत्ती जल्छ । पोल्नेहरू बाँसका भाटाहरू बटुल्दै छन् । उसको अनुहारभरि ज्योति छरिन्छ । एक क्षणलाई त्यो कान्तिहीन अनुहार धपक्क बल्छ म नियालेर हेर्छु त्यो चिरपरिचित अनुहार सधैंको लागि, अन्तिम समयको लागि ।

त्यो अनुहार त्यस्तै लाग्छ । उसको च्यापु मन्तिरको खुल्ने कोठी, त्यो बान्की परेको नाक सबै जस्ताको त्यस्तै, यतिका वर्षहरू पछि पनि । मलाई त्यस्तै लाग्छ, हिजो जस्तो, आज जस्तो, सधैं जस्तो । उसलाई यसरी हेर्न मलाई कसैको सङ्कोच लाग्दैन ।

त्यो मान्छे फेरि डाँको छोडेर रुन लाग्छ । “यसरी रुँदैमा उसले त्यो मरिसकेकोलाई प्रेम गर्थ्यो भनी कसरी भन्नु !”

म सम्झन लाग्छु, पोहोर साल ता हो उसले अर्को स्वास्नी ल्याएको ? “बेइमान ! धोकाबाज ! आडम्बरी !” म भित्रभित्रै कुँढिन्छु । उत्तर, दक्षिण, पूर्व, पश्चिम चारै सूर आगो जल्छ । अब यो आगाका ताता तीखा लप्काहरू लाशतर्फ बढ्दैछन्, बढ्दैछन्, छिटोछिटो खान लागे अब त्यो मासु भकाभक । त्यो मान्छे उसको लोग्ने आगोमै हामफालुँला झैं गरेर अगाडि बढ्छ । अब लिने के छ र ? दिने के छ र ? म उसलाई क्याप्प गाँज्छु । उसलाई पनि त्यहीं झोसिदिने जङ्ग चल्छ तर फेरि ऊ लल्याकलुलुक्क हुन्छ र पछिल्लोतिर लगेर बसाउँछु अनि ऊ मलाई पुलुक्क हेर्छ ।

आगाका लप्काहरू अझ रापिला हुन्छन् । धूप, चन्दन, तोरी, घिउ आदि छरिंदैछन् । म लाशतर्फ अगाडि बढ्छु । उसको अनुहार एकपल्ट हेर्ने इच्छा जाग्छ तर त्यहाँ केही छैन, त्यो सुन्दर अनुहार छैन, त्यो लोभ्याउँदो मासु छैन । अब त्यो डढेर निक्खुर कालो डरलाग्दो भइसकेको छ । त्यो सुन्दर केशराशि जलेर खरानी भइरहेको छ । हावा चल्छ बेसरी अनि ह्वास्स ! दुर्गन्ध चल्छ । मलामीहरू नाक छोप्छन् । मलाई नाक छोप्न सङ्कोच लाग्छ तर म पनि लाशदेखि अलिक पछि सर्छु । धेरै वर्षअगाडि म लोभिएको त्यो सुन्दर शरीर दुर्गन्ध छर्दै जल्दैछ बेसरी । जीउका ती सुन्दर अङ्गहरू काला काला भई, चोक्टा हुँदै च्वाइँच्वाइँ डढ्दैछन् ।

त्यो मान्छे अब रुन छोड्यो अनि अलिक पर बसेर केही सोचिरहेछ । शायद उसले मरेकी स्वास्नीमाथि अन्याय गरेको संझदैछ । हुन सक्छ उ मनमनै खुशी भइरहेको छ । यो पनि हुन सक्छ उसले आफ्नो पापको प्रायश्चित गर्दैछ । यो पनि हुन सक्छ उसले आफ्नो जिउँदो स्वास्नीको लोभ्याउँदो तरुण यौवन सम्झिरहेको छ । मलाई फेरि झोंक चलेर आउँछ ।

त्यो मरेकी स्वास्नी, एक समय मेरी प्रेमिका थिई; प्रेमिका मात्र होइन स्वास्नी भइसकेकी थिई, यति मात्र होइन मसित बिहे गर्न आँटेकी थिई । यी सब उसलाई भनिदिऊँ जस्तो लाग्छ ।

जाडो औधी चर्को छ । आगाका ज्वालाहरू अझ रापिला भई उठ्दैछन् अब गन्ध चल्न छोडेको छ । पानीका बाछिटा आकाशबाट खस्दैछन् । शायद हिउँ पर्छ । अँ ! हो ! हिउँ पर्ने आँटेको थियो त्यस वेला पनि । मौसम यस्तै थियो, वेला यस्तै थियो, घरमाइलो साँझ, उदास उदास भएको साँझ तर हामी यौवनको उन्मादमा न्यानो थियौं । हामी एकअर्काको जीउसित जीउ टाँसी मस्त थियौं, मक्ख थियो । हिउँका भुवाहरू झर्दै थिए अनि बिलाउँदै थिए तल धरतीमा ।

“मानिसको इच्छा पनि यस्तै हो, होइन ? हिउँ जस्तै”, म भन्छु ।

ऊ भन्छे, “ज्यू !”

“तिम्रा इच्छाहरू के के छन् माया ।” म फेरि सोध्छु ।

“केही पनि छैन ! साँच्ची ! केही पनि छैन,” ऊ भन्छे ।

“मान्छेमा हुन्छन्, धेरै इच्छाहरू”, म फेरि भन्छु ।

“कस्तो ? भन्नुहोस् ता यी ठूला कुराहरू म बुझ्दिनँ,” ऊ जवाफ दिन्छे ।

“जस्तो भनूँ सधैं यसरी बसिरहने इच्छा, सधैं बाँचिरहने इच्छा, बिहे गर्ने इच्छा यस्तै अरू धेरै धेरै,” म भन्छु ।

ऊ खितिति हाँस्छे, फेरि मरीमरी हाँस्छे अनि मबाट छुट्टिएर परतिर गइबस्छे । हामी घरतिर बढ्छौं, दोबाटोमा आई फेरि छुट्टिन्छौं । उसले कालो साडीमाथि हरियो कोट लगाएकी छ । ऊ जाँदैछ अनि उसको आकार धमिलो धमिलो हुँदैछ । हिउँ फूसफूस भर्दैछ, साँझ बढ्दैछ, यस्तै आज जस्तै । तर यो धेरै वर्षअगाडिको कुरा हो तर हिजो जस्तो छ ।

मलामी पातलिंदै छन् । लाश पोल्नेहरू हतारिंदै छन्, “दाउरा अझै जोड ! अब घेर छैन । घिउ तोरी छ भने अझ लगाऊ ! जाडो कस्तो ! दिन ढल्न लाग्यो, छिटो छिटो गर !” बाँसका लामा-लामा तीखा भाटाहरूले त्यो बाँकी रहेको मासुको कालो डल्लालाई पोल्नेहरू घोच्दैछन्, पल्टाउँदैछन्, बेसरी ठटाउँदैछन् ।

“लोग्नेमान्छेको छाती जल्न गाह्रो पर्छ, त्यस्तै आइमाईको चाक साह्रै ढीलो जल्छ, अझै ठटाऊ बेसरी !” कोही अनुभवी भन्दैछ । त्यो सुन्दर चाक अहिले कुरूप भएर-जल्दैछ । त्यो लोग्ने मान्छे त्यसलाई त्यसरी जलेको ट्वाल्ट्वाल्ती हेरिरहेको छ ।

उसले के सोच्दैछ म जान्दिनँ । म भने मेरा इच्छाहरूलाई केलाउँदैछु, हिजोको, आजको अनि भोलिको यो मुर्दाहट्टी, यो श्मसान अहिले शून्य र चामचुम छ । चारैतिर एकतमासको न्यास्रोपन छाएको छ । यहाँ धेरै धेरै चिहानहरू छन् । केही धेरै पुराना अनि केही आलै छन् । धेरै इच्छाहरूको समाप्तिको इतिहास यहाँ लेखिएको छ ।

“अब बल्ल सिद्धियो हैन ! अलिकता मात्र छ !” कोही भन्दछ । साँच्चै सिद्धिएछ, अलिकता पनि अब सकिएछ, तातो खरानीको राश मात्र अवशेष रहेछ ।

म अहिले फर्कंदैछु त्यो सूनसान मसानलाई छोडेर । हिँड्दै, केलाउँदैछु मेरा थुप्रै थुप्रै इच्छाहरू, हिजोका, आजका अनि भोलिका । शून्य साँझले रातलाई डाक्दैछ । घुम्तीनेर आइपुग्छु अनि एकपल्ट त्यतै हेरि पठाउँछु । त्यहाँ तर केही छैन, खालि जलेको लाशको धूवाँ मात्र आकाशभरि फिंजिएर उड्दैछ, उड्दैछ ।

(‘यो लाश…अनि यहाँ मेरा इच्छाहरू’ – सन् १९७२ मा ‘दियालो’ मा प्रकाशित एम. एम. गुरुङको उत्कृष्ट कथा हो । यस कथाले प्रथम दियालो स्वर्णपदक प्राप्त गरेको हो ।)

‘भारतीय नेपाली कथा’बाट