कास्कीको पोखरा महानगरपालिकामा जन्मिएका गजलकार मीनराज बास्तोला बिगत एक दशकदेखि जापानमा सङ्घर्षरत् छन् । फेवाताल र बेगनास तालका किनारहरूमा गजलका शेरहरू मिसाउँदै हिंड्ने बास्तोला उच्च शिक्षासँगै कर्म गर्न जापान प्रवेश गरेका हुन् । जापानको व्यस्ततामा पनि उनको गजलप्रतिको रुचि र लगावमा कमी आएको छैन । त्यही लगावले उनलाई टोकियोमा भइरहने नेपाली साहित्यका कार्यक्रमहरूमा डोराइरहन्छ ।

गजलकार मीनराज बास्तोला सामाजिक रूपमा सचेत छन् । समाजको यथार्थ धरातलमा टेकेर श्रमजीवी वर्गप्रति गहिरो सहानुभूति राख्दछन् । प्रेम, वर्गभेद, वर्तमान समयको राजनीति र मानवीय मूल्यहरू उनका गजलका केन्द्रीय सरोकारका विषयहरू हुन् । सरल र सरस शैलीमा समाजको गहिराइमा पुग्नु, विद्यमान विकृतिप्रति व्यंग्य गर्नु र वर्गीय तथा सामाजिक असमानतालाई प्रश्न गर्नु उनको काव्यगत विशेषता नै हो । आजको मुगलानी चराको शृङ्खला १० मा हामी गजलकार मीनराज बास्तोलाका तीनवटा निकै सुन्दर  गजलहरू प्रस्तुत गर्दैछौं-

 

गजल १

 

म बाँच्नकै लागि दाम चाहिन्छ  काम चाहिन्छ ।

मालिक सोच्दैन मजदूरलाई पनि आराम चाहिन्छ ।

म कसैको याद र सम्झनाले पलपल जलिरहेछु

तिमी भन्छौ मान्छे जल्न आगो चाहिन्छ घाम चाहिन्छ ।

आँसु पिउनलाई रहेछ जिन्दगीमा दुःख पीर चाहिने 

सराब पिउन त तिम्रै  यादहरूको गोदाम चाहिन्छ ।

ए मान्छे, मलाई प्रहार गर्नु अघि यो कहिल्यै नबिर्सनू 

म फलाम हुँ फलाम काट्न पनि त फलाम चाहिन्छ ।

धनी रोजेर गयौ शायद खुशी छ्यौ होला महलमा

मलाई त अझै पनि खुशी हुन तिम्रै नाम चाहिन्छ ।

= = =

गजल २.

खुशी फुल्छ जीवनको,डर र भयभन्दा माथि

केही छैन कोही रहेनछ, यो समयभन्दा माथि !

 टाउको हल्लाएकै भरमा, करोड कमाउँछ मान्छे

आफू शिर पाउ जोड्दा पनि, हुन्न सयभन्दा माथि !

पढाइ लेखाइ र बौद्धिकताको कुनै सम्बन्ध छैन 

बालाई देख्दा लाग्छ, एउटा विद्यालयभन्दा माथि !

पर्ख.. धनी बिस्तारै बनौंला, विद्वान बिस्तारै बनौला

पहिला मान्छे बन यार, अरू परिचयभन्दा माथि !

कसैलाई खुशी देख्न कोही जीवनभर दुखिरहन्छ

प्रिय तिमी छ्यौ मेरो जीवनको, विजयभन्दा माथि !

‍‍‍= = =

गजल ३.

यस्तै रहेछ समय कहिले आगो बन्नुपर्ने कहिले पानी बन्नुपर्ने

कसैको इमानदार बन्नकै लागि पनि कसैको बेइमानी बन्नुपर्ने

ए प्रिय तिमीले किन बुझ्दिनौ म तिम्रो मुटु हुनुभन्दा पहिले 

छ मलाई बाको लौरी बनी आमाको आँखाको नानी बन्नुपर्ने 

म आँखा  देख्दिनँ, बोल्न  सक्दिनँ र कान  पनि  सुन्दिनँ

ए भगवान के जरूरी देख्यौ यो शरीरमा जवानी बन्नुपर्ने

महाशय ! म भोको पेटमा इतिहास सम्झेर गर्व गर्न सक्दिनँ 

वर्तमान जो छ हाम्रो बाच्नकै लागि पनि राहदानी बन्नुपर्ने

धारामा पानी आओस् बस्तीमा बाटो आओस् खुशी हुनेछौँ 

हाम्रो माग यो हैन  सरकार  आगनमा राजधानी बन्नुपर्ने