मुला काटेजस्तो छपछप मान्छे काट्न पो भएन । अरू केही काटमार गरिन्न । भोजन पनि शाकाहारी मात्रै गर्ने सोचमा लगभग पुगिसकियो । रगत नआउनेगरी, चोला नउठ्नेगरी शान्तिपूर्ण ढंगले मान्छेको काट्न मिल्ने भनेकै त्यही एउटा कुरा त हो नि ।
0000
“के कसो छ त दिनको बात आजको ? आज फोनमै काम चलाऔं कि च्यास्या खान निक्लम चौतारीतिर ?”
“के हुनु र । चलेकै छ । भर्खर फलानाले फोन गरिरथ्यो । चुरोमा कहिले आउँदैन । खाली कुरो घुमाएर कान पाकेर खत्रक्क झर्लाझैं पार्दिन्छ । के गर्नु, यसो दिल्लखबन्दी गर्नलाई आफ्नो हितैषी भन्नु उही छ फेरि । तर के सारो गफ देको हो दिनपनि । साँझब्यानै पाटेबाघै मारेर ल्याए जत्तिकै गर्छ त !”
“कसले हो ? ए त्यो ? कुरा गरी साध्य छैन । कुरा नगरी त झन् विषय नै छैन । भो कुरा नकाटौं अर्काको । कि काटिसकेर मात्र नकाटौं हो ? मुख धुनुभो त ?”
“कहाँ मुख धुनु । ओछ्यानमै थिएँ नि । जिग्रीको घण्टी आइगो । एक्कासि कुरा नकाटौं भन्नुहुन्छ तपाईं ? एक बिहानै धत्तुरोका बियाँ निल्नुभो कि क्या ? के कुरा गर्नुभाको तपाईंले पनि । हामी आपसमै पनि तँ भन्दा म कम कुरा काट्ने, तँ धेर कुरा काट्ने भन्न खोज्नुपर्छ त ? हामी दुवै मौका पर्दा बेस्मारी कुरा काट्ने हौं भन्ने कुरा नि अब आपसमा लुकाएर लुक्नेवाला छ त ?”
“मुला काटेजस्तो छपछप मान्छे काट्न पो भएन । अरू केही काटमार गरिन्न । भोजन पनि शाकाहारी मात्रै गर्ने सोचमा लगभग पुगिसकियो । रगत नआउनेगरी, चोला नउठ्नेगरी शान्तिपूर्ण ढंगले मान्छेको काट्न मिल्ने भनेकै त्यही एउटा कुरा त हो नि । त्यसमाथि कसैका कुरा काट्दैमा बिग्रिजाने के नै छ र ! भेटमा बोलिएकै छ, हाइहेल्लो चलाइएकै छ, हात मिलाइएकै छ । चिया, कफी, दारुपानी थुरिएकै छ सँगै जमेर । कुरा काट्दैमा न कोही कसैको सत्यनास गराउन हिंड्छ, न कोही कसैको हानी, बिगो नै गर्न जान्छ । कुरा नकाट्ने कोही हुन्छ दुनियाँमा ? श्यामलाल, रामलाल, हरिलाल, श्यामकला, रामकला, हरिकला कसले भ्याउन्न ? आँखा झिम्मिक पार्न पाएको हुन्न तपाईंको त्वचा तरिसकेका हुन्छन् । एकदिन आफ्नै हितको साथी ठानेकोसँग यसैगरी फोनमा हल्लिंदै बसेको थिएँ । कुरा सकिएपछि ल ल भनेर वार्ता टुंग्याको मात्र के थियो । फोन काट्न नभ्याई उसकी बुढीसँग भन्दोरछ भीरखोइरे त, ‘डाकाले बिहान जम्मै खाइदियो बेकारको खुराफात गरेर, मान्छे त डाम्नै हो यो पनि ।’ मैले सुनिहालें । हेर्नुस् त, ‘आँखा झिमिक्क कुरा झिरिप्प’ भन्या यही होइन ? भर छ त कसैको ?”
“दुनियाँको त जिम्मा लिन सकिन्न हेर्नुस् तर तपाईं र म चाहिं कुरा नकाट्नेमा पर्दैनौं भन्ने किल्लेर छ ।”
“हुन्दिनुस् । नआत्तिनुस् । काट्ने कुरा दुनियाँमा पहिलो पटक हामीले गर्या पनि होइन । केही न केही सबैले काटिरहेकै हुन्छ । कसैले काम काटिरहेको हुन्छ । डाक्टरले नसो काटिरहेको हुन्छ । कसैले आफ्नै नाक काटिरहेको हुन्छ । पुलिसले पुर्जी काटिरहेको छ । व्यापारी रसिद काटिरहेको छ । यात्री टिकट काटिरहेको छ । आमा फर्सी काटिरहेकी छिन् । बा हलो काटिरहेका छन् । सूचिकार कपडा काटिरहेको छ । ज्योतिष ग्रह काटिरहेको हुन्छ । कुनै बेला केही थोक नकाटिएको घडी छ कतै ? दुनियाँले आफ्नो आफ्नो चालामा केही न केही नकाटी बसेको देख्दिन म । कसैको जिब्रो, नाक, हात काटिएको पनि होइन । जाबो कुरा त हो नि काटेको । कलाई तल्कुरे कु, रलाई आकार रा, त्यति होइन ? पुरै बाह्रखरी नै काटिभ्याएको हो र ? न काटेर छिनोस्, न सकियोस्, न टुक्राटुक्रा होस् काटिकन । जति काटिकन पनि सग्लै बस्ने यस्तो सजिलो कटाइ अर्थोक केही छ ? त्यसमाथि यो निक्कै मितव्ययी पनि छ । अरू जेसुकै काट्दा पनि यो सँगसँगै काट्न सकिन्छ, उही समयमा । ”
“भन्नाले ?”
“सुन्नुहोस् । हिंजो आमा र साहिँली फुपू सिन्की काट्दै बसे दिनभर तर माइली फुपूका कुरा पनि काटिसके । बासँग धान काट्न गएको एक गरो धान काटिसक्दा जन्तरे काकाका कुरा पनि हामीले काटिसक्यौं । ठुल्दिदी र भाउजू घाँस काट्न गएका थे भारी पुर्याउँदा वर्दा सान्दिदीका कुरा पनि सर्लक्कै छिनाइसके रे । हेर्नुस् त कति बेखर्चिलो छ कुरा कटाइ । न कसैलाई दुखोस्, न त रगत नै बगोस् । न त आफ्नो गरिरहेको काममा हल्टु नै पारोस् । हामी ओछ्यानमै छौं, गाथलाई आराम पनि लगाइरहेका छौं न्यानो सिरकभित्र, फोनमै भए पनि साथीभाइ बसिबियाँलो चलिरहेको छ । त्यसमा छुस्स अलिकति कुरा त हो नि काटिन आइपुगेको । बोल्ने, अल्मलिने कुरा बिना चल्छ जिन्दगी ? दर्शन जोतेर, हरिभजन लाएर, ॐ मानेपेमे जपेर, कला, साहित्य, काव्य, चिन्तन, अध्यात्म, मनन मात्रै काटेर बस्न त कहाँ सकिन्छ हुतिले भ्याओस् न ह्याउले देओस् । कि त प्रचन्ड र ओली, देउवा र लामिछानेकै डोज अलिक बढाउनु पर्यो कि त आफ्नै हितेरीमितेरीका काट्नु पर्यो शान्तिपूर्ण कुरा । कुरा नकाटेर जतिबेलै जहाँसुकै पुराण मात्रै लाएर चलाउन सकिन्छ जिन्दगी ? बरु सुरु गरौं अब ।”
“बात त सही गर्नुहुन्छ तपाईं । त्यही भएर त मलाई तपाईं ठीक लाग्छ ।”
“मान्छेलाई ठीक, बेठीक भन्न नि सारै हतार गर्नुहुन्न हेर्नुस् । बेठीक नै बेठीक पनि हुँदैन मान्छे सधैं । ठीक नै ठीक त झन् हुने कुरै भएन । आन्द्रा जोडिहाल्ने, फैसला सुनाइहाल्ने गरेर पनि हुँदैन रहेछ हेर्नुस् जिन्दगीमा ।”
“हो हजुर हो । मुखै नधोई ओछ्यानमै सत्सङ्ग सुन्नुभन्दा बरु कुरै काटौं । ल सुरु गर्नुस् ।”
“फेरि के कुरा गर्नुभाको हो तपाईंले ! सुरु अघि भयो नि । थप्ने कुरा गर्नुहोस् न । म त जहाँबाट सुरु गरेपनि फालाफाल देख्छु त कुरा, चलाउन थालौं न छुरा । छुरा भन्नाले मुखको छुरा, जिब्रोको छुरा । अघि नै भनिसकें कुरा काट्ने कुरा शान्तिपूर्ण, अहिंसावादी, गान्धीवादी मार्ग हो । कतै सुन्नुभएको छ कुरा काटेको कारण लाठ्ठी चार्ज भएको, दंगाफसाद चलेको, रबरका गोली र अश्रुका बारुद पड्केको ? कतै धरपकड देख्नुभएको छ कुरा काट्नेका कारण ? वास्तवमा यो तरिका सरकारलाई सहयोग पनि हो । यता लाउने प्रहरी अन्य शान्तिसुरक्षामा खट्न पाएका छन् ।”
“यस्तो बहुउपयोगी त छ त यो । थालौं न त काट्न । अहिले फेरि के को ल्याङ निक्लिन्छ र हिंड्न बित्छ ।”
“केही खोराक छैन तपाईंको दिमागमा चैं ?”
“छन् नि दिमागमा उकुसमुकुस कुरा, किन नहुनु । देख्नुभो ? हिंजो छोरालाई अष्ट्रेलिया पठाएछ भद्रकान्तले । एक हूल जन्ती नै पुगेछन् एयरपोर्ट । चन्द्रसूर्य झण्डा ओढाउनेको ताँती देखेर म जिल खाएँ । अष्ट्रेलिया जानेका तीन काका, तीनै काकी, तिनका बालबच्चा, दुई फुपू र तिनका छोरीहरू, मामामाइजू र मावली भाइबहिनीहरू, भद्रकान्तका मीत बुढा र मितिनी त्यतिसम्म त चिने । दोस्रो हारमा उभिएका दर्जन बढी त कोही पनि चिनिन । राष्ट्रझण्डा ओढाएर एयरपोर्टमै शहीद बनाएर पठाए । अनि के प्रगति गर्ला र बरा त्यसले उता गएर पनि । त्यसमाथि भद्रेको छाउरो त्यति छनकमनक जान्ने हाम्रो जस्तो चम्बू पनि छैन ।”
“ए भद्रेको चिचिलो पनि त्यत्रो अष्ट्रेलिया पुग्ने भएछ ? अब चिया पसलतिर भद्रेलाई भेट्नु भनेको सन्निपात दोख सल्काउनु बराबर हुनेभो । बातैपिच्छे अष्ट्रेलियाको दच्को हान्नेभो अब । पोहोरका साल उसकी साली अमेरिकाबाट आउँदा एउटा घडी ल्याइदिछ भिनाजुलाई, टिलिक्क टल्काउँदै च्याडाँडा उक्लेर भद्रकान्तले सबैका पारो तताउँदै कन्पारामा हान्दै गर्यो बिहानभरि ।”
“ए हो र ? म कसरी छुटेछु त ? त्यो बोगटी साइँलो भुइँसी किन्ने भनेर हिनेको तीन महिना भइसक्यो खोइ गोठको दाम्लो रित्तै देख्छु सधैं । किन्यो कि भुइँसी, केही पत्तो पाउनुभो ?”
“त्यसले भुइँसी किनेर खाँदैन । तीन मिनेटमा तीन करोड कनकन कनकन कनकन गर्छ । त्यति सानो माखापित्तले किनिन्छ त्यत्रो ठूलो भुइँसी ? भोक पनि लागिसक्यो हो हाँस्दाहाँस्दै, बोल्दाबोल्दै । बेलुकाको आहार त्यति गत्तिलो परेन । हिंजो तल्लाघरेले खान बोलाको थियो हेर्नुहोस् है । होला ता नि भनेर खाजासाजा खाने बेला पनि भोकै टारेर सबैजना गइयो । मेरी बास्सै ! न पकाउने ढंग, न पस्किने ढंग । चिकेन पकाको रे सबै खुँडेर खोले पारेछ । साससम्म त अड्याउनु पर्छ भनेर गिलीभात र अलिनो दाल निलेर बाटो लागियो ।”
“ए हो र ? मेरामा जति मीठो त जगतमा पाक्दैन भनेझैं गर्छ त तल्लाघरे त । तपाईंलाई के को कुँडो ख्वाएर गुर्केछ त ! थाहा पाउनुभो ? मैतेले नभका कुरा लाएछ ऐतेलाई । ऐते उसै पाखुरा सुर्किउँलाझैं गर्दैथियो । तपाईं मैतेलाई विश्वास गरेहुन्छ भन्नुहुन्छ नि । मापाको एक नम्बर ओली छ त्यो । आफ्नो कुरा विरालाले बिष्टा लुकाएझैं लुकाउँछ मैते, अर्काको भनें खुन्खोत्रो काढेर छोड्न पाए मात्र लिभरले काम गर्छ त्यसको । अरूलाई चैं ‘गुरु’ ‘गुरु’ लाउँछ बातैपिच्छे, आफू भने गोरु भन्दा मास्तिरको छैन मैते ।”
“हो नि । साँच्ची त्यो रने काँजाले नयाँ घर किनें भन्थ्यो । पुग्नुभो तपाईं ? बोलायो ?”
“हा हा । काँजो त हँसियाको बिंड अड्याउने पो हो त ! हुन त ठीकै पनि हो । रने खुर्पाको बिंड भन्दा पर्तिरको श्रीखण्ड मान्छे कहिले बनेन । बोलाउनु पनि पर्या छैन, जानु पनि छैन कसैका नयाँ घर । आफ्नै घरमा बसिन्छ, आफ्नै थालमा खाइन्छ ।”
“मलाई बोलाको थियो । गएँ । भन्नुहुन्छ, फुर्केर भुइँमा थेनन् खुट्टा जोइपोइकै । भित्र पस्न पाएको छैन, लु घर हेर्न जाऔं भनेर लघारिहाल्यो माथ्ला तलामा । घर सबैका एकै त हुन् नि के हेर्नु । रनले घर किनेर चारधाम नै भित्र्याएको भए पो दर्शन गर्न जाऊँ कोठाचोटा भन्नू । होइन ?”
“ए बोलायो तपाईंलाई ? को को आएका थे ? तपाईंलाई मात्रै त पक्कै बोलाएन होला ।”
“किन जान्नु पर्यो त हो तपाईंलाई चाहिं रिठ्ठोरिठ्ठो जम्मै ?”
“तै पनि त कुन कुन दु:खी आत्माहरूको गठबन्धन कसिँदो रहेछ, जान्ने औडाहा हुन्छ नि ।”
थिए हो दुईचार अनुहार नपरेकाहरू । भोलिलाई राखौं न त बाँकी कुरा । बरु यही अद्देबाट सुरु गरौंला भोलि । दाँत माझेको, मुख धोएको केही छैन । बुढीयाले तलबाट चिया खान गुहार्ने बेला भैसक्यो ।”
“लौ न त, तपाईंका त बुढियाले चिया पकाएर बोलाउने रहेछन् । गर्दागर्दै कुरामा तरबार घरभित्रै के लाउनु, राखौं फोन । म पनि चिया पकाउँछु ओर्लेर । आजलाई हाम्रो गान्धित्व यति नै जगाऔं ।”
“हा हा हा । तरबार नचलाई कुरा छर्लंग पार्नुहुन्छ क्या तपाईं पनि । पाइलटले बादलभित्र पनि सजिलै बाटो देखेजस्तो जस्तै भिजिबिलिटीमा पनि तपाईंको यो खुबिलिटी चैं मान्नुपर्छ ।”
टुँट टुँट टुँट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










