घ्याल्चोक गोरखामा जन्मिएकी कवि सविना रेग्मी धादिङ सिद्धलेककी स्थायी बासिन्दा हुन् । स्नातक तहसम्म नेपालमा अध्ययन गरेकी रेग्मी थप अध्ययनका लागि करीब ११ वर्ष पहिले जापान प्रवेश गरिन् । ज्ञान र सिपको दायरा अझै फराकिलो बनाउन जापान पुगेकी सविना आफ्नो अध्ययन र जागीरबाट बचेको समय परिवार र साहित्यमा बिताउँछिन् ।

सविना रेग्मी

करीब २ दशकभन्दा बढी समय नेपाली कविता लेखनमा सक्रिय रहेकी सविना विशेष गरी नेपाली पद्य कवितामा विशेष दखल राख्छिन् । निकै नै सुमधुर स्वरमा कविता वाचन पनि गर्ने कवि रेग्मी २०७४ मा विश्वव्यापी कविता लेखन र वाचन प्रतियोगितामा दोस्रो बनेर आफूलाई अब्बल साबित गरिसकेकी छिन् भने अनेसास जापानको सिटी एक्सप्रेस साहित्य पुरस्कार(२०१९) पनि प्राप्त गरेकी छिन् । पछिल्लो समय कविताको शास्त्रीय विधानमा आधारित रहेर कविता लेख्ने कविहरूको सङ्ख्या घट्दो छ । तर सविना रेग्मी आफ्ना भावनाका सबै आरोह अवरोहहरू छन्दका एक एक नियममा आधारित रहेर निपुण तरिकाले अभिव्यक्त हुन्छिन् ।

उनका कविताहरू राष्ट्रवादले ओतप्रोत हुन्छन् । हरेक श्लोकहरू राष्ट्रप्रेमले भरिएका वाणी जस्तै छन् । बिम्ब र प्रतीकको कुशल प्रयोगले कविता पढिरहँदा वा स्वयम् कविको वाचन सुनिरहँदा कुनै ध्यानमा बसेझैँ प्रतीत हुन्छ । विभिन्न अलङ्कारहरूले सुसज्जित कविताका हरफहरू पढ्दा उनका कवितामा कला र शिल्प मात्रै होइन वैचारिकी पनि उत्तिकै स्पष्ट रूपमा देख्न सकिन्छ । विशेष गरी उनी आफ्ना कविताहरूमा प्रवासी कथाहरू जोडतोडले उठाउँछिन् ।

आजको मुगलानी चराको पाँचौँ शृंखलमा हामीले उनै मुगलानी कवि सविना रेग्मीका तीन वटा छन्द कविताहरू प्रस्तुत गरेका छौँ ।

 

 १. फर्किन्छु आफ्नै घर

 

आफ्नै लाग्छ अमूल्य चीज जसको प्यारो छ छायाँ पनि

टाढा बस्छु तथापि याद घरको बल्झिन्छ माया बनी

छैनन् शब्द बयान गर्छु र  म के भूस्वर्ग मेरो घर

आफ्नै देश बनाउने रहर भो  फर्कन्छु आफ्नै घर।

 

छङ् छङ् त्यो झरना, नदी र वनको आत्मीयता साथमा

जन्मेको घर ,बाल्यकाल ,जननी सक्ला र को बिर्सन?

पैसा नै सब थोक हुन्न यसले के शान्ति पाइन्छ र ?

यस्तै भाव उमार्छ आज मनले फर्किन्छु आफ्नै घर।

 

खट्दैछौँ अविच्छिन्न मेसिन बनी टिक्ला र यस्तो कति

अर्काको घर बन्छ उच्च श्रम यो बेचेर बस्ने कति

छाला रङ्ग विभेद कर्म पथमा हेरिन्छ उस्को कद

अर्काको अपमान खप्नु कसरी फर्कन्छु आफ्नै घर।

 

जे सक्ने श्रम गर्नु पर्छ अबता माटो स्वदेशी बनोस्

मेरो प्रेम सदैव बग्दछ त्यतै सन्देश उँड्दै पुगोस्

यस्तै कर्म गरे त फल्छ सुन त्यो नेपाल मेरो घर

आफ्नै देश सिँगार भन्छ मनले फर्कन्छु आफ्नै घर।।

 

हे आमा अब फर्किएर घरमा सेवा म तिम्रो गरूँ

इच्छा यो छ म माग्छु अन्तिम घडी नेपाल भन्दै मरूँ

गर्नै पर्छ सुकर्म जन्मथलको यो जन्मको खातिर

माटोमा पसिना बगाउन छिटै फर्कन्छु आफ्नै घर ।।

* * *

 

२. नेपालको होस् जित 

 

आगो छोप्न हुँदै  हुँदैन सपना ,छोपेर छोपिन्न यो

जस्को क्रान्ति हुनेछ देश हितमा रोकेर रोकिन्न त्यो

वर्षौँको अतिचार भ्रष्टहरुको सत्ता थियो ढालियो

अत्याचार हुने समाप्त हुन हो जे देखियो लेखियो

 

मौका छोप्न सिकी अराजकहरू पस्छन् तिमी जोगिनू

तिम्रै हो जित यो युवाहरु मिली यो देश जोगाउनू

हाम्रो यो बलिदानमा विजयका झन्डा फराए पनि

सॅाचो न्याय हुदैन ती सहिदका आशा जलायौं भने ॥

 

होला क्यै क्षति भो थियो नहुनु जो यै भन्छ यो क्रान्तिले

आमाको खुन ,देश चुस्दछ भने बाच्दैन त्यो शान्तिले

पुर्नै पर्छ धनी गरीब बिचको यी गर्त यो क्रान्तिले

नेपाली जन भावना कदरका यी सर्त यो क्रान्तिले

 

हो आवाज बिदेश बाट सबको यै राष्ट्रको होस् हित

मेरो होइन व्यक्तिको पनि नहोस् नेपाल को होस् जित

न्यानो काख सदा  सुरक्षित सदा सन्तान आमा हुँदा

पर्दा संकट, देश रक्षक बनौं नेपाल आमा रुदा ॥

 

यो आन्दोलन देशको हित बनोस् होस् राष्ट्र सम्मुन्नत

यो आन्दोलन देशको जित बनोस् यो राष्ट्र समृद्ध होस्

राम्रो मात्र सुनौ सुनौ मुलुकमा राम्रो भएको सब

सक्छौं उठ्न  उठाउने प्रण गरौँ जापान जस्तै अब ॥

* * *

 

 ३. बाँच्न सकियोस् 

 

भुली साथीसंगी प्रकृतिसँगको शीतल पन

हराएको बाछो सरह छु म एक्लो सहरमा

न होस् चिन्ता केही न त दुख कुनै त्रास मनमा

सकूँ पंक्षी जस्तै निडर सहजै उड्न वनमा

 

छुटे सारा हाम्रो बचपन सँगै निश्छल मन

छुटे सारा राम्रो कुमुद वयको चञ्चलपन

रहोस् टाढाटाढा छल कपट स्वार्थीपन जति

नहोस् गाढागाढा तन नयन लोभी मन कति

 

दबेका यी सारा कलुष मनको फाल्न सकियोस्

अध्यारा चोलामा झलमल टुकी बाल्न सकियोस्

सजाएरै बाचौ हृदय बिचमा देस  ममता

बचाएरै आफ्नो पहिरन सदा भेष समता

 

फलेको हागो झै मृदुल लचिलो बन्न सकियोस्

बलेको बत्ती झै मन चहकिलो पार्न सकियोस्

भरी गाग्रो जस्तै ढलपल नभै अड्न सकियोस्

उकालो ओरालो विचलित नभै चढ्न सकियोस्

 

भलै कोही दुख्दा मलम छिनमै गर्न सकियोस्

नसक्दामा केही शुभ वचनले मर्न सकियोस्

दुखोस् अर्को ,आफ्नै मनमुटु दुखेको सरि भहोस्

विलासी मस्तीको सुख सयलको जीवन नहोस् ॥

 

बचाएरै सारा जलथल सदा बाँच्न सकियोस्

हसाएरै सारा जनमन सदा हाँस्न सकियोस्

नहोस् इच्छा ठूलो सरल सपना देख्न सकियोस्

हुँदै आशावादी सरस कविता लेख्न सकियोस् ॥