दाङको घोराही स्थायी ठेगाना भएका गजलकार खिम केसी विगत ७ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका छन् । अंग्रेजी साहित्य र मानवशास्त्रमा स्नातकोत्तर गरेका केसीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्वयंसेवकका रूपमा कर्णालीका विभिन्न स्थानमा खटिएर काम गरेका छन् । साथै विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रमका लागि कर्णाली प्रदेश र सुदूर पश्चिममा लामो समय बिताएका केसी आफ्ना गजलहरूमा कर्णाली र सुदूरपश्चिमको स्वाद राखिरहन्छन् । सपनाको चङ्गा पछ्याउँदै पछ्याउँदै अमेरिका पुगे पनि उनलाई बाँधेको धागो यतै कतै नेपालका गाउँ बस्तीमै अडिएको छ । ती गाउँबस्तीका यादका पोका-पुन्तुराहरूका सुगन्ध अचेल उनले आफ्ना संस्मरण र नियात्राहरूमा पनि मिसाइरहन्छन् ।
पत्नी सबिना मल्ल र छोराका साथमा अमेरिकामा सङ्घर्ष गरिरहेका केसीको गजलको मुख्य स्रोत नै मातृप्रेम हो भन्दा फरक नपर्ला । उनी माता पिताको सम्झनामा हरेक जसो गजलको शेरमा पोखिन्छन् । उसो त देशप्रेम, समाजका कुरीति विरुद्धको आवाज र चलिरहेको आडम्बरी राजनीतिप्रति पनि चर्को बोलिरहन्छन् । प्रेम, परिवार, समाज र सम्बन्धका विविध आयामहरूमाथि सटिक रूपमा प्रस्तुत हुनु उनको विशेषता हो । गजलका अलावा मुक्तक, कविता, संस्मरण र नियात्रामा कलम चलाउने केसीका केही सांगीतिक कोसेली समेत बजारमा आइसकेका छन् भने उनको गजल सङ्ग्रह ‘लोरी’ पनि प्रकाशित छ । आजको ‘मुगलानी चरा’को चौथो शृङ्खलामा हामीले उनै गजलकार खिम केसीका तीन वटा गजल यहाँ प्रस्तुत गरेका छौँ ।

खिम केसी
१.
आमा तिमी मात्र आउँछौ खाए नखाएको सोध्न
बाँकी अरू सबै आउँछन् धन कमाएको सोध्न ।।
हेर्नुस् ! मेरो खुशीमा मात्र खुशी मिलाउन जो आए
उनीहरू दु:खमा आएनन् आँखा रसाएको सोध्न ।।
फुर्सदै फुर्सद छ कुरा सिक्न यो फुर्सदै नहुने देशमा
सुन लाएको भ्याउँछ भ्याउँदैन गुन लगाएको सोध्न।।
त्यो त बाले थोपा थोपा गर्दै जोडेको सम्पत्ति थियो
छोराले उडायो बिर्स्यो सपना बाले सजाएको सोध्न।।
२.
देखिन्छ बाहिर ऊ सज्जन जसरी
भित्र गर्छ व्यवहार दुश्मन जसरी।।
मायाले मात्र घर गुजारा नचलेपछि
परदेश हिडेको हुँ म मदन जसरी।।
भोकको फिक्री न कुनै सुर्ता थियो
जीवन चलेन सधैं बचपन जसरी।।
एक कीर्ति हो दुनियाँमा अमर रहने
बाँकी सबै सकिन्छ यौवन जसरी।।
३.
आउला सुवा जाउला बिन्ती बिसाइ तमिकन
जिन्नकी काट्न्या रहर हो नरिसाइ तमिकन ।।
ज्या पो होस् केइ गुनासो नाइँ अब मकन
फेर्न्या हो स्वास दुई मुटुसँगै मिसाइ तमिकन ।।
हिउँ पड्डो जात्ती जाडो, मन यसो भन्दो मनपूरा
खाइजाउ छ्याङकोल नापा चिसाइ तमिकन ।।
मान्ठ जै ठौर भयापन झल्को आउदो गाउँको
मैथई भया नखाया कोदो घट्ट पिसाइ तमिकन।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










