बाग्लुङमा जन्मिएकी कवि लक्ष्मी अर्गेजा मगर विद्यार्थी भिसामा जापान छिरेको करीब दुई वर्ष भयो । पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक उत्तीर्ण गरेकी मगर थप शिक्षा हासिल गर्न कलिलै उमेरमा घरदेशको साँध नाघ्ने हिम्मत गरिन् ।
ढोरपाटनका बुकी र प्याउलीहरूसँग प्रीति गाँसेकी लक्ष्मी जापानमा साकुराका फूलहरू हेरेर टोलाउँछिन् र सम्झनाहरू कविताका रूपमा लिपिबद्ध गर्छिन् । उनी कवितामा विशुद्ध गाउँ लेख्छिन् । गाउँघरका उकाली ओरालीहरूमा आमाहरूले पानीका घैँटा बोक्दा चुहिएका पसिनाका थोपाहरूका कविता लेख्छिन् । भिराला बाटाहरूमा परेका पैतालाका अफ्ठेरा डोबहरूका कविता लेख्छिन् । कवितामा पहाडी जीवनका तीतामीठा अनुभवहरू लेख्छिन् । पहाड हाँसेको देख्ने लक्ष्मीले पहाड रोएको पनि देख्छिन् । त्यही पहाडको आँसु पनि पङ्क्ति बनेर बस्छन् उनका कविताहरूमा । गरीबी र अभावमा बितेका बालापनका यादहरू अहिले उनका कविताका ऊर्जा बनेर निस्किएका छन् । उनी आफ्ना कविताहरूमा पर्यावरणीय चेतना पनि प्रष्टसँग मिसाउँछिन् ।
कविता लेख्नु फगत शब्दहरूको जोड घटाउ मात्रै होइन । कविता लेख्नु मनका भावनाहरूको स्वच्छन्द प्रकटीकरण मात्रै पनि होइन । कविता शिल्प हो । कविता कला हो । कविता उज्यालो पनि हो । कविता आवाज पनि हो । र लक्ष्मी अर्गेजा मगरका कविता पनि यस्तै केही हुन् । आजको मुगलानी चराको यस शृङ्खलामा उनै कविका तीन कविताहरू प्रस्तुत गर्दैछौँ ।
१. पाठेघर
हामी हुर्किई सकेपछि
फाटेको हो जाले डोको
मक्किएको हो हाम्रो कोक्रो
च्यात्तिएको हो
आमाको गुनियु र चोलो
चाउरिएको हो
आमाका रसिला गाला
अनि लाम्टिएको हो
हामीलाई बचाउने
जिम्मेवारी बोकेको
आमाको एक जोडा स्तन !
आमा रजस्वला भए लगत्तै
हरेक वर्ष गर्भवती बनेको रे
वर्षौदे बच्चाको भार
थेग्न नसक्दा
पाठेघरको जग
आफ्नो जमीन छोडेर
कति तल झर्यो होला ?
हाम्रा प्रत्येक लात्तीहरूले
कति भत्काए होलान्
पाठेघरको भित्ताहरू ?
कति बजारिए होलान
दर्जनौं मुड्कीहरू
हातका नङ्राहरूले
कति कोतरे होलान्
ती कलिला भित्री आवरण ?
आमा !
त्यसैको परिणाम हुन् शायद
आज तिम्रो
पेटीकोट भिज्ने गरी बग्छन्
सेता पानीका भलहरू
तल्लो पेट बेस्सरी दुखेर
गोडा सम्म पुग्छन्
पिप मिसिएका रक्तधाराहरू
तिम्रो उमेर बढ्दै जाँदा
खस्दै गएको आङ
अप्ठ्यारो गरी झुन्डिरहेको छ
उपचार पाउने आशाको त्यान्द्रोमा
अनि तिम्रो
पाठेघरको मुखको क्यान्सरले
कुरिरहेको छ
पाठेघरको मुख हेर्ने दिन !
साँच्चै आमा !
यदि स्याहार पाएन भने
मान्छे बस्न छोडेको घर जस्तै
पाठेघर पनि
भत्किन्छ, पुरानो हुन्छ र चुहिन्छ
फाट्छ, मकिन्छ र कुहिन्छ
यी सबै तिम्रा खसमले
चाल पाउँछन् कि पाउँदैनन् ?
तिम्रो छोराछोरीहरूले
आमा !
भत्किएको आगन पहिला बनाउने कि
खसेको तिम्रो आङ पहिला बनाउने ?
साँघुरो घरको दु:ख बढी छ कि
तिम्रो पाठेघरको दुखाइ बढी छ ?
यस्तै प्रश्नहरू सोध्न
आउँछन् कि आउँदैनन् ?
आमा !
यदि पस्न मिल्थ्यो भने नि !
हेर्ने थिए तिम्रो पाठेघरभित्र,
मेरा पैतालाका दोबहरू
टालिदिन्थे मैले भत्काएका
पाठेघरका भित्ताहरू
लिपिदिन्थे सेतो पानी रसाउने
चारै कोछाहरू
तिम्रो पाठेघरलाई
रङ्गाइदिन्थे फुलबुट्टे बुट्टाहरूले
दशैंमा घर रङ्गाए जसरी
सधैं रोपिदिन्थे फूलहरू
अनि रङ्गी चङ्गी बनाइदिन्थे
तिहार आए जसरी…..।
* * * *
२. प्रिय ढोरपाटन
प्रिय ढोरपाटन
तिमीलाई सोध्न मन छ ?
रङ्गीचङ्गी फूलहरूको सारी अनि
शिरमा धपक्क बुकी फूल
सिउरिएर बसेकी तिमी
मनका तन्नेरी नै नभेटी
कति पटक ओइलाएकी छौ ?
घोडा चढेर राजकुमार
लिन आउने आशामा
हिउँको सेतो घुम्टो ओढेर
लजाउँदै बसेकी तिमी
कसैको आँखामा कैद नै नभई
कति पटक यसै पग्ली गएका छौ ?
आज हेर त
तिम्रो बैंशको रापले
क्या मज्जाले तताइरहेछ
सामाजिक सञ्जालका भित्ताहरू
तिमी सजिइरहेकी छ्यौ
रङ्गीचङ्गी फूलहरूमा
हूलका हूल भमराहरू
घुमिरहेछन्, हातमा क्यामेरा लिएर
तर तिमी मक्ख नपर ल !
जब मौसमसँगै तिम्रा फूल
ओइलिएर झर्छ नि
घुम्दैनन् भमराहरू,
देउरालीमा ध्वजा बाँधेर
सुसेली हाल्दैनन् तन्नेरीहरू
तिम्रा हिउँका पछ्यौरी तान्दै
झ्याउरे गाउन आउँदैनन्
लोकलमा लट्ठिएका गिताङ्गेहरू
काठको साङ्गोमा बसेर
तिम्रा जवानीको बयान गर्दैन कसैले
अनि सुन त
तुवाँलो लागेको बुकीका फाँटहरूमा
तिम्रा हात समाएर सँगै हिँड्दैनन् कोही
तिमी एक्लै रुझ्छौ बर्खे झरीहरूमा
तिमी एक्लै हुन्छौ हिउँदे तुसारोहरूमा
प्रिय ढोरपाटन
तिमी सिकार मात्र भयौ
आरक्ष कहिलै भएनौ
तिमी मागी खाने भाँडो मात्र भयौ
विकास कहिलै भएनौ
तिम्रा गर्भमा हुर्किएका
नाउर र झारलहरू
विदेशीका सिकार भए
विदेशीले तिरेको राजस्व
सरकारको सिकार भयो
यहाँका जनता सधैँ
गरीबीका सिकार भयौँ
अनि तिमी,
दुर्गमता र
अविकासको सिकार भयौ
नत्र हेर त
संसारले देख्न पर्ने तिमीलाई
सरकारले किन कहिले नदेखेको होला ?
तिम्रो नाम बेचेर
सत्तामा पुगेकाहरूले
राजनीतिक दलको चस्मा
उत्तरगंगा नदीमा पखालेर
लगाएको मात्र भए पनि
तिमीमा देख्ने थिए
पर्यटनको सम्भावनाहरू
बजेटको चाबी लिएर
खोल्ने थिए विकासका ढोकाहरू
अनि तिमी
गनिने थियौ स्वर्गको टुक्राहरूमा
चुलिने थियो तिम्रो चर्चा,
भित्रिने थिए लाखौं पर्यटक
विदेशी सिकारीले
अखेटोपहारको अनुमति लिँदा
नाउरको सिङमा सिउरिएर
यहाँको सुन्दरता पटाइदिऊँ न हुँदैन ?
झारलको छालामा बेरेर
एक अँगालो माया पठाइदिऊँ न हुँदैन ?
नेपाल सरकारलाई चाहिँ
एउटा दूरबिन पठाइदिऊँ
जस्ले भिउ-टावरबाट
ढोरपाटनको खाल्डो परेको
हिलाम्य बाटोहरू देखोस्
दुर्गमता सँगै रोकिएका
सम्भावनाका पाटोहरू देखोस्
अनि
हामी पर्यटकसँगै
फागुनेको फाँटमा फूल हेरेर
आफै लाई बिर्सिउँला
जलजलाको
जमिनलाई नरम
सिरानी बनाएर
बादलको सिरक मुनि
स्वर्गको सपना देखौँला …।
* * * *
३. बालापन
म सानो छँदा
खाना खाइसकेपछि
थाल चाटेर, थाल मै हेरेँ भने
आफैलाई देख्थेँ
धुलाम्य अनुहार
गालामा लतपतिएको सिँगान
लट्टा परेको खैरो कपाल
अनि त्यो खुशी
त्यो चञ्चलता प्रष्ट देखिन्थे
तर अहिले ऐना पुछेर हेर्छु
हड्डी र मासु देख्छु
म आफूलाई कहिलै देख्दिन ।
बच्चामा
डन्डीबियो खूब खेलिन्थ्यो
अहिले म बियो भएको छु
परिस्थितिको डन्डीले
खूब हिर्काउँछ
उफ्रिन्छु, टिक लाग्छु,
खाल्डोमा पस्छु
मानौँ मेरो नियति नै खस्नु हो
म चुपचाप खस्छु ।
घरको कालो कसौंडीमा
खुशी पाकिरहेको हुन्थ्यो
अनि पर ओडारमुनि
कुटिनी बुढीले खाना पकाउँथिन्
हामी खाएर अघाउँथ्यौँ
घरको मक्किएको बलोमा
आमाको पटुकी बाढेर
चचहुई-चचहुई गर्दै
फन्को लगाउँथ्यौँ
जूनकीरी बालेर
भविष्य खोजिन्थ्यो
कागजको डुङ्गामा चढेर
समुद्र पुगिन्थ्यो ।
दशैंमा
अरूले नयाँ कपडा लगाउँदा
मैले आफ्नो आङ
धेरै पटक हेरेको छु
दिदीहरूलाई सानो भएको
लुगा पाउँदा पनि
मैले खुसी हुँदै फेरेको छु
जुम्रा र लिखाहरूले
टोकेर खुब सताउँथे
घाममा नुहाएर मारेको दिन
आनन्दको निद्रा लाग्थ्यो
अहिले रहर र सपनाहरूले
खुब सताउँछन्
ती दुबैलाई मारेको प्रत्येक दिन
म आफू पनि मरिरहेको हुन्छु ।
म
खुसीहरूसँग लुकामारी
अहिले पनि खेल्छु
मलाई छक्क्याएर
लुकेको छ खुशी
खोजेको हुँ
पुरानो फुर्लुङ र थुन्सेभित्र
घरको आलमाली र खेतको
आलीहरूमा
‘बा’का पसिना र
मेरा प्रमाणपत्रहरूमा
कतै नभेटेपछि मिसिएको हुँ
देश सराप्नेहरूको भिडमा
अनि पसेको हुँ मुग्लान ।
अहिले मलाई
समयमै सफलताको
हतासो समाउन नसक्दा
अभावको मारतालले ख”ब हिर्काउँछ
भित्रसम्म दुख्नेगरी
मैले मट्टीतेल थप्न
संघर्ष गरिरहेको छु
त्यतिन्जेलसम्म
हुरी नचलोस् है भगवान्
मेरो घरको दियो निभ्ने गरी …!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










