कवि शरद पोख्रेल साप्ताहिक स्तम्भका साथमा साहित्यपोस्टमा आबद्ध हुनुभएको छ । जापान निवासी लोकप्रिय युवाकवि पोख्रेलको प्रत्येक आइतबार ‘मुगलानी चरा’ नामकको स्तम्भ प्रकाशनमा आउने भएको हो ।

विभिन्न कारण नेपालभन्दा बाहिर रहेर पनि निरन्तर साहित्य कर्म गरिरहनुभएका स्रष्टाहरूको सम्मान गर्नु यस स्तम्भको उद्देश्य रहेको छ । स्तम्भकार पोख्रेल भन्नुहुन्छ, “अझै स्तरीय साहित्यका लागि प्रेरणा प्रदान गर्दै उहाँहरूलाई धेरैभन्दा धेरै पाठकसामु पुर्याउने ध्येय हो । पोख्रेलका अनुसार यो प्रवासी लेखक, अझै पछिल्लो पुस्ताका लेखकहरूलाई उजागर गर्ने स्तम्भ हो ।”

‘मुगलानी चरी’ संरचनागत रूपमा दुई खण्डमा विभाजन गरेर लेखिनेछ । पहिलो खण्डमा स्रष्टाको परिचय र काव्यगत विशेषताको छोटो चर्चा हुनेछ । दोस्रो खण्डमा प्रस्तुत स्रष्टाका केही प्रतिनिधि सिर्जनाहरू राखिनेछ – दुईदेखि चारवटासम्म । ती सिर्जनाहरूमा गीत, गजल, मुक्तक, हाइकु, कविता, लघुकथा लगायत हुनेछन् ।

कवि पोख्रेललाई यस किसिमको एक स्तम्भ लेख्ने सोच पहिल्यैबाट थियो । उहाँलाई चुपचाप लेखिरहेका कवि लेखकहरूलाई बाहिर ल्याउनु पर्छ, उनीहरूका सिर्जना उजागर गराउनुपर्छ भन्ने लागिरहन्थ्यो । पछिल्लो समय साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको जापान भ्रमणका क्रममा यो कुराले मूर्त रूप लियो । पोख्रेल भन्नुहुन्छ, “यस स्तम्भले नयाँ नयाँ लेखकहरूलाई अवसर र प्रचार तथा साहित्यपोस्टलाई नवलेखक र पाठक मिल्ने विश्वास छ । प्रवासमा रहेका नेपाली साहित्यप्रेमीले नयाँ लेखकहरूका रचना रसास्वादन गर्न पाउनुहुनेछ ।”

शरद पोख्रेल साहित्यमा केही गरौं भन्ने योजनाका साथ साहित्यपोस्टसँग जोडिनुभएको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यपोस्टमा नेपालबाहिर बस्नुभएका नेपाली भाषीहरूको ठूलो योगदान छ । शरदजीको मनमा साहित्यमा केही गरौं भन्ने हुटहुटी छ । उहाँलाई साहित्यपोस्टमा नियमित स्तम्भकारका रूपमा स्वागत गर्न पाउँदा खुशी लागेको छ ।”

लामो समयबाट कविता लेखनमा सक्रिय शरद पोख्रेलको कवितासङ्ग्रह ‘मरूभूमिमा डुङ्गा’ प्रकाशित छ ।