हुलाकी दाइले आफ्नो झोलाभित्र कसेर राखेको चिठीको चाङबाट निकालेर एउटा चिठी सरलाई दिएका रहेछन् । सर फेरि हुलाकीको पनि हुलाकी बनेर उक्त चिठी मेरो हातमा थमाइदिन आइपुग्नुभयो । शायद हप्तौं दिनको हण्डर र ठक्कर झेल्दै त्यो चिठी मेरो हातसम्म आइपुगेको रहेछ । गाउँघरमा कतैबाट चिठी–पत्र आउँदा पनि मान्छे नै भेट्न आएको जस्तो खुशी त लाग्थ्यो, तर त्यसको वास्तविक भाव, गहिराइ र मार्मिकता बुझ्ने न त मेरो उमेर नै पुगेको थियो, न त मेरो अध्ययन ।

घडीमा जब बेलुकाको चार बज्यो, स्कूल छुट्यो । किताब–कपीसँगै चिठीको पनि भारी बोकें । स्कूलको बर्से बिदा हुनुपूर्व भारी वर्षा नभए पनि आकाशमा बादलले छोपेको हुँदा दिन मधुरो थियो । स्कूलको कडा अनुशासन र नियमबाट मुक्त भएर घरमा पुग्दाको मजा नै बेग्लै हुन्थ्यो । गर्मी दिनको आगमनसँगै रूखमा पलाएका पालुवाहरू हलक्क बढेर झुमेका जस्तै देखिन्थे । चराहरू पनि वर्षा नलाग्दै आफू बस्ने गुँडको जोरजाम गरिरहेका हुन्थे । चराहरूका गुँड भएझैँ मानिसका पनि गुँड नै हुन्थे । सबैभन्दा प्यारो लाग्थ्यो त्यही आफू बस्ने गुँड—अर्थात् आफू बसिरहेको घर ।

दौडँदा दौडँदै बेलुकाको समय जब म घर पुगें, अक्षर चिनेकै नाताले चिठी पढेर सुनाउने काम मेरो नै थियो । कक्षा ४ मा पढ्दै गरेको विद्यार्थी न थिएँ म । सेतो कागजमा नीलो मसीले लेखिएको उक्त चिठी राम्रा अक्षरमा व्यहोरा मिलाएरै लेखिएको थियो— “हामी यहाँ सन्चै छौँ । आशा छ त्यहाँ पनि सबै सन्चै–राम्रै होला । टाढाको सम्झना भनेकै केवल यही चिठी–पत्र नै रहेछ ।

समय बित्दै जाँदा चिठी त हराएर गयो होला तर सम्झना भने स्मृतिबाट हराउने कुरा थिएन ।

मधेशदेखि पहाडसम्मको उकालो यात्रा गर्दै मकहाँ आइपुगेको त्यो चिठी पढेको पनि करीब एक–डेढ वर्ष बितिसकेको थियो । चैत महिनाको चर्को घाम र खडेरी पर्दा जमीन तातेको हुनाले अलि उराठ लाग्दो र सुख्खा मौसम थियो । उसो त मौसम मात्र होइन, राजनीतिका माहोल नै निकै तातेको थियो । विसं २०४६ सालको चैत्र महिनामा व्यवस्थापन परिवर्तनको कुरा सुन्दा हामीजस्ता साना स्कूले विद्यार्थी पनि नाराजुलूस लिएर सभाहरूमा जान्थ्यौँ ।

एक दिन स्कूलबाट हिँड्दै घर पुगें, विना कुनै खबर एक जना व्यक्ति पाहुना जस्तै घरमा आएको देखेर म अलि अचम्म परें ! आमाले भन्नुभयो, “घरमा को आएको छ, बाबु ? तिमीले चिन्यौ त ?”

शरीर हेर्दा हट्टाकट्टा नै देखिने, उचाइ पनि राम्रो भएको, उमेर करीब सत्र–अठार वर्षको जवान । एउटा नयाँ झोलामा दुई–चार जोर कपडा बोकेको । भर्खर एसएलसी परीक्षा सकाएर पहाड यात्रामा दुई–चार दिन बिताउन हिँडेको । भेटघाट तथा भ्रमणका लागि जानु भएको रहेछ—मधेसबाट माइलो दाइ । पहिले चिठी नै पठाउने माइलो दाइ आफैँ घरमा भेट्न पुग्दा मनमा रमाइलो नलाग्ने त कुरै थिएन । अझ भनौँ, त्यो उमेरको म जस्तो बच्चाका लागि उहाँले कोसेलीस्वरूप बोकेर ल्याउनुभएको चकलेटको पोका देख्दा खुशीको सीमा नै रहेन ।

केही दिनको छोटो बसाइँ सकाउँदै उहाँ तराई घरतर्फ फर्किनुभयो । शायद त्यही पहिलो भेटमै मैले ‘आफ्नै दाइ’ भनेर उहाँलाई नजिकबाट चिन्ने र जान्ने मौका पाएको थिएँ ।

दुई नालको हाम्रो परिवार मधेस र पहाड गरी दुवै तर्फ बाँडिएर बसिन्थ्यो । यद्यपि अल्पायुमै बुबाको देहान्त पहिले नै तराईमा भइसकेको थियो । कान्छी आमातर्फका चार दाजु, एक भाइ र एक बहिनी तराईमा बसे पनि म र मेरी दिदी–पालुवा आमासँग पहाडमै अडिएका थियौं । चिठी–पत्र वा भेटघाट खासै नभए पनि आउने–जाने मानिसहरूले हालखबर आदान–प्रदान गरिरहेकै हुन्थे । हामी जस्ता बालबच्चाका लागि त झनै गाउँदेखि बाहिरको संसार कस्तो हुन्छ, चाहिँ कसरी थाहा हुन्थ्यो र ? जे जति कुरा अरूको मुखबाट सुन्थ्यौँ, त्यसै सुनेर मलाई धेरै रमाइलो लाग्थ्यो ।

नदीका दुई किनाराजस्तै लाग्ने र कहिल्यै नजोडिने जस्ता देखिने दुई वटा गुँड समयको चक्रसँगै पुन: एकै ठाउँमा गाभिन पुग्छन् । नदीले बगाएको दाउरा जस्तै बग्दैबग्दै जब म तराई घरमा आइपुगेँ, त्यो पनि मेरो जीवनको अर्को चुनौतीपूर्ण अध्यायको शुरूवात थियो । यसरी नसोचेको समयमा हाम्रो बीच पारिवारिक मिलन हुनुमा अल्पायुमै कान्छी आमाको मधेशमा भएको दुखद निधन नै मुख्य कारण बनेको रहेछ । शायद जीवनमा जे हुन्छ, त्यो नसोचेकै हुन्छ ।

म पहिलो पटक तराई–मधेशको गाउँघर कपिलबस्तुको हथौसामा आइपुगेँ, त्यो वि.सं. २०५१ सालको फाल्गुन महिनाको अन्तिम समयको कुरा थियो । करीब पाँच वर्षपछि उहाँसँग पुन: भेट भएको थियो । तर त्यो भेट दुई–चार दिनको मात्र नभई स्थायी, निरन्तर भेट बन्न पुग्यो । हाँसिलो मुहार, सेता दाँत, निधार छोपेको कालो कपाल, खैरो हाफ प्यान्ट र हरियो टी–सर्टमा सजिएका—माइलो दाइको त्यो दृश्य आज पनि मेरो आँखामा झलझली घुमिरहेछ ।

.माइलो दाइले AHEW (Community Medical Assistant) सम्बन्धित तालिम प्राप्त गरी घरमै बसिरहनुभएको थियो । त्यो तालिम तत्कालीन समयमा नेपालमा धेरै प्रचलित र रोजगारीको सजिलो उपाय मानिन्थ्यो । २०५२ सालको बैशाख महिनामा क्षेत्रीय कार्यालय पोखराबाट अस्थायी नियुक्ति लिएर दाइले जागीर शुरू गर्नुभएको थियो । वैशाख महिनाको तराईको चर्को गर्मीमा बिहानै उठेर हामी स्कूल जान्थ्यौँ भने माइलो दाइ अफिस । घरदेखि करीब एक घण्टा साइकल चलाएर मधेशकै भित्री गाउँ—अनराठ पुगेर एक उप–स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो, अनि दिउँसोको घाममा घर फर्किनुहुन्थ्यो । यो कर्म उहाँले एक वर्षभन्दा बढी निरन्तर गर्नुभयो ।

माइलो दाइले सेवा शुरू गरेपछि घरमा कसैको टाउको दुखे, पेट दुखे वा ज्वरो आए—उहाँकै उपचारले सबैलाई राहत मिल्थ्यो । अझ भनौँ, नून–तेलदेखि घरखर्चसम्मका कुरा पनि सजिलो हुन थाले । गाउँ–टोलका मानिसले “खै डाक्टर कहाँ छन् ?” भनेर घरमै आएर सोधपुछ गर्थे, र दाइ सजिलै उपलब्ध हुनुभयो । बारम्बार गाउँ–घरका मानिसहरू उहाँबाट लाभान्वित भइरहे ।

त्यसै वर्षको मंसिरमा माइलो दाइको विवाहको कुरा चल्यो । भाउजू पनि उस्तै पेशामा, स्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएको हुँदा उनीहरूको जोडी नमूनायोग्य हुने अनुमान थियो । दाइको ‘जन्मदिनकै साइत’मा बिहे गर्ने रहर पूरा भयो, र उहाँ निकै खुशी देखिनुहुन्थ्यो । दुवैबीच चलेको प्रेमकथा अन्ततः सफलतापूर्वक मागीबिहेमा रूपान्तरण भयो । कपिलबस्तुको पश्चिम–उत्तरतर्फ रहेको दुविया गाउँ-जंगलबीच, पहाडको फेदीमा रहेको स्थान—त्यहाँ विवाह भयो । रातको समयमा बसमा जन्ती लिएर बाजागाजासहित नाच्दै, रमाउँदै हामी त्यहाँ पुगेका थियौँ । भोलिपल्ट दिउँसो दुलही लिएर रमाइलोसँग घर फर्केका थियौँ ।

यसरी समयको गाडी अगाडि गुडिरहेकै थियो । २०५३ सालको श्रावण–भदौ महिनातिरको कुरा हो । घर नजिकको अस्थायी जागीर छोडेर दुवै जनाले स्थायी नियुक्ति लिँदै दाइ–भाउजू नै सुदूर पश्चिमतिर लाग्नुभयो, विकट पहाडी जिल्ला बैतडीमा कार्यरत हुने हेतुले । दुर्गम जिल्लामा काम गर्दा थप आम्दानीसँगै नौलो अनुभव पनि हुन सक्ने कुरा उहाँहरूले व्यक्त गर्नुहुन्थ्यो । करीब तीन वर्ष बढी बैतडी जिल्लाको बसाइमा दशैं–तिहारमा दुवै जना घरमा आउँदा निकै रमाइलो महसूस हुन्थ्यो । तर समय बित्दै जाँदा मानिसको मन पनि बदलिने कुरा सत्य नै रहेछ । पुन: माइलो दाइ र भाउजू दुवै जना सरुवा हुँदै ०५६ सालको अन्त्यतिर कपिलवस्तु जिल्लामै आउनुभयो । कपिलवस्तु सुगम जिल्ला त हो तर मानिसहरूले यसलाई तराईको दुर्गम जिल्ला पनि भनेको सुन्निन्थ्यो ।

भन्नेहरूले जे भने पनि कपिलवस्तुको दक्षिणी भेगमा पर्ने एउटा गाउँमा उहाँहरूको अफिस थियो । भारतीय सीमा नजिकै पर्ने हर्दौना गाउँ, जहाँ तौलिहवाबाट करीब एक घण्टाको सवारी यात्रामा पुगिन्थ्यो । दक्षिणमा बगेको बडगंगा नदीमा पुल नहुँदा सवारी साधनहरू डुंगामा राखेर पार गर्नुपर्थ्यो । हुन पनि, गाउँ अलि विकट जस्तै देखिए पनि दाइ–भाउजूको रोजाइमै परेको थियो । यसरी हेर्दा दुर्गम क्षेत्रको बैतडी जिल्ला छोडे पनि अर्को दुर्गम क्षेत्रले उहाँहरूलाई नछोडेजस्तो महसुस हुन्थ्यो । तर दुवैजनाको अनुहारमा सोचेजस्तो भन्दा बढी नै खुशी देखिन्थ्यो ।

माइलो दाइ काम गर्दैगर्दा उहाँकै साथमा बाइकमा हुइँकिँदै केही पटक म पनि हर्दौनासम्म पुगेको थिएँ ! अझ मीठो कुरा त के थियो भने, शुरूको वर्ष फागुन–चैत्र महिनामा चाडपर्वको अवसर पार्दै परिवारका धेरैजसो सदस्यहरूको जमघट समेत त्यहीँ पुगेर गरेका थियौँ । जुन भरपूर रमाइलो रहेको थियो । त्यसको केही समय बितेसँगै दाइको सपरिवार नै तौलिहवामै बसोबास गर्दै आउनेजाने भइरहनुहुन्थ्यो, जुन कुरा उहाँका दुई छोरीको शिक्षाका लागि समेत जरूरी थियो ।

दाइले जागीरसँगै उच्च शिक्षालाई समेत निरन्तरता दिनुभयो । त्यसै कारण एक समय कपिलवस्तु बहुमुखी क्याम्पसमा समेत अध्यापन गर्नुभयो । यसरी हेर्दा उहाँ एक लगनशील तथा मेहनती कर्मचारी तथा शिक्षक देखिनुहुन्थ्यो ।

हरेक मानिसझैं माइलो दाइमा पनि थप प्रगतिको आकांक्षा थियो ! त्यसैले होला, दश वर्ष बढी कपिलवस्तुमा अडिएर कर्म गरे पनि उहाँको यात्रा काठमाडौँतर्फ सोझिएको थियो । बीचको केही समय बुटवलको अस्थायी बसाइँ पूरा गर्दै दुवै जना काठमाडौँ सरुवा हुनुभयो । देशकै राजधानीमा बसेर आफू र आफ्ना सन्तानको भविष्य उज्वल बनाउने सपना धेरैमा भएझैं माइलो दाइमा पनि थियो । काठमाडौँ जिल्लाकै दक्षिणी भेगमा बसेर दशक बढी सेवा गरेसँगै अब उहाँ अवकाशको चरणमा हुनुहुन्थ्यो । आफ्नै पौरखले जोडेको माटोमा एउटा सुन्दर घरको सपना वर्षौँ पहिले साकार बनेको थियो । उहाँहरूको खुशी तथा छोरीहरू समेत पढाइसँगै रोजगारी गर्दै आत्मनिर्भर बनेको देख्दा एक सफल र सुखी परिवारको झल्को देखिन्थ्यो ।

तीन दशक बढी एक वफादार राष्ट्रसेवक भएर देश र समाजको सेवा गर्दै मानिसको स्वास्थ्य नजिकबाट बुझेका माइलो दाइले आफ्नै स्वास्थ्य बुझ्न किन सक्नुभएन ? गत वर्षको होली पर्व परिवारको जमघटमा रमाइरहेको तस्वीर फेसबुकमा देखिएको हो । तर त्यो खुशी हावाले उडाउन खोजेको पातझैं अस्थिर र क्षणिक बन्न पुग्यो । गत मार्च महिनाको मध्यतिर दिउँसो घरमा आउँदा एउटा अकल्पनीय खबर मेरो कानले सुन्नु पर्यो—माइलो दाइलाई जन्डिसको उपचार गर्न दिल्ली लगिएको खबरले म स्तब्ध भएँ ।

शुरूका दिनमा आशालाग्दो उपचार हुँदैछ भन्ने सुने पनि त्यो सबै निराशाको बादलले ढाकिदियो । लिभर कमजोर हुँदै ट्युमर बढेको, शल्यक्रिया समेत नहुने जस्तो अवस्थाले थप चिन्ता बढायो । असह्य पीडा सहँदै गर्दा उहाँको अवस्था थप जटिल बन्दै गयो । परिवार तथा आफन्तको साथ–सहयोग धेरै भए पनि उहाँको शरीरले नै साथ दिएन । अन्ततः करीब दुई महिनाको दिल्ली बसाइले कुनै सकारात्मक समाचार दिएन । बरु क्यान्सरजस्तो प्राणघातक रोगको संक्रमणले हामी सबैको आशाको दियो अचानक निभाइदियो ।

दिल्लीको लामो बसाइ सकाउँदै काठमाडौँ फर्किए पनि उहाँको अवस्था सुधार हुन सकेन । त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी पटक–पटक किमोथेरापीमार्फत सघन उपचार कक्षमा राख्दा पनि शरीर थप कमजोर बन्दै गयो । हाम्रो झिनो आशा समेत जीवित रहेन । करीब छ महिनाको उहाँको कठोर संघर्ष तथा परिवारको तपस्या सबै निरर्थक साबित भयो । अन्ततः मृत्युको सामुन्ने हामी हार स्वीकार गर्न बाध्य भयौँ—अर्थात् हामी सबै निरिह भइदियौँ । माइलो दाइको भौतिक शरीर नरहेसँगै हाम्रो परिवारकै ठूलो र दारिलो खम्बा सधैँका लागि ढल्यो ।

यही सेप्टेम्बर महिनाको २५ गते बिहानको दश बजेको समय थियो । अघिल्लो रातदेखि नै एउटा नमीठो सपनाले मेरो मन झस्काइरहेको थियो । माइलो दाइको निधनको खबरले चम्किलो सूर्यलाई एकाएक ग्रहणले छोपेझैँ मेरो मनमा कालो बादल मडारिँदै गयो । म शब्द हराएझैँ निशब्द भएँ । तर मन सम्हाल्दै एकोहोरो पाराले फोनको घण्टी घुमाइरहेँ । यस दुःखको क्षणमा धेरै कुरा हुन सकेन । तर पनि धैर्य धारण गर्दै मेसेन्जरको सहाराले केही शब्द लेख्दै घर–परिवारजनलाई पठाई चित्त बुझाएँ ।

“हाम्रा पूज्यनीय माइलो दाजु श्री ‘युवराज अर्याल’ आज हामीलाई छोडेर सधैँका लागि महाप्रस्थान गर्नुभएको दुखद घटनाले म निशब्द तथा मर्माहत छु । दाजुसँग दश वर्ष अघि भेट भए पनि केही महिना अघि मात्र दिव्य बोली सुन्ने अवसर पाएको थिएँ । आज उहाँसँग बिताएका ती दिनहरू केवल सम्झना बनेर रहेका छन् । हे ईश्वर ! तैले किन यसरी बेसमयमै हामीमाथि वज्रपात गरिस् ? दाजुको आत्माको बैकुण्ठमा बास होस् । सबै परिवारजनमा धैर्य–सहन शक्ति मिलोस्—यही नै भगवानसँग प्रार्थना छ ।”

नियतिले आफ्नै घरको एउटा विरुवा निमोठेर लगे पनि सहनुको कुनै विकल्प मान्छेमा हुँदैन रहेछ । भोलिपल्ट मध्याह्नतिर माइलो दाइको पार्थिव शरीरको आर्यघाटमा अन्त्येष्टि गरियो, जहाँ घर–परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो । तर विदेश–लाहुरे बनेर बस्न विवश म जस्तोका लागि त्यस्तो क्षणमा उपस्थित हुने कुरा कल्पनासम्म पनि गर्न नसकिने रहेछ । सम्झँदै–सम्झँदै चित्त बुझाएँ । जे नहुनुपर्ने हो त्यो भई नै सक्यो । वैदिक विधिअनुसार तेह्रौँ दिनको पुण्यतिथि समेत सम्पन्न गरियो । हेर्दाहेर्दै माइलो दाइ यो लोकबाट सधैँका लागि बिदा हुनुपर्‍यो—जुन हाम्रो पारिवारिक जीवनको अत्यन्तै अकल्पनीय तथा दुखद घटना थियो ।

यही मंसिर महिनामा पर्ने आफ्नो चौवन्नौँ जन्मदिन मनाउन नपाउँदै उहाँ भगवानको रोजाइमा पर्नुभयो । “कालले जेठो–कान्छो भन्दैन” भन्ने कुरा सुनेको त थिएँ, तर आज यति नमीठो झड्का बेहोरिरहनु पर्ने रहेछ ! आज माइलो दाइ बितेको करीब दुई महिना हुन लाग्यो । विगत चार दशकदेखिका सुख–दुखका क्षणहरू सम्झँदा हृदयमा लागेको घाउमा नून–खुर्सानी छर्केजस्तै पीडादायी अनुभव भइरहेको छ । त्योभन्दा बढी पीडा आफ्नो जीवनसाथी अल्पायुमा गुमाउन पुगेकी भाउजू र बाबाविहीन बन्न पुगेका दुई छोरी सम्झँदा झनै मन भत्किन्छ ।

तर यस शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नु बाहेक विकल्प छैन । दाजु हक्कीपन, सेवाभाव र निडर व्यक्तित्व थिए । जीवनका विभिन्न चरणमा राष्ट्रसेवकको रूपमा मात्रै होइन, घर–परिवार र समाजमा उहाँले खेल्नुभएको नेतृत्वदायी भूमिका सदैव हाम्रो लागि प्रेरणाको स्रोत हुनेछ । अब माइलो दाइ केवल हाम्रो सम्झनामा मात्र जीवित रहिरहनुहुनेछ ।

यति कुरा भन्दै कठोर बनेर चित्त बुझाउन खोज्दा पनि किन हो किन, कहिले स्वर्गीय तारादेवीले गाउनुभएको कर्णप्रिय गीत “फूलको थुँगा बगेर गयो गंगाको पानीमा…” सम्झना आइरहन्छ; कहिले आफैँले लेखेको कविता “सेता भिर, यता पीर” को झल्को आउँछ । अनि केही बेर आत्म–विचारमा डुबेर आफूलाई नै सोध्न पुग्छु—
“के मानिसको जीवन भनेको पीरै–पीरको अर्को नाम होइन र ?”

अलविदा, मेरो प्यारो माइलो दाइ ।  तपाईंको भौतिक शरीर आज धर्तीमा नरहे पनि… आत्मा त सधैँ हाम्रो वरिपरि घुमिरहनेछ ।