अहिलेको युगमा प्रायः जस्तो नेपाली घरका छोरीछोरीलाई अंग्रेजी स्कूलमा पढाउने गरिन्छ । अंग्रेजी स्कूल पढाउनु अभिभावकका निम्ति रहर, बाध्यता, नयाँ चेतना, फेसन, आडम्बर, सरकारी स्कूलप्रति अविश्वास, अंग्रेजीप्रति परोक्ष र प्रत्यक्ष मोह, नोकरीसुरक्षा आदि जस्ता थुप्रै कारण हुन्छन् । अब विश्वग्रामको अवधारणा आएको छ । हाम्रो भारत र नेपाल जस्ता विकासशील देशहरूमा युरोपेली मोह र आकर्षण, रोजगारीको लोभ आदि धेरै कारणले आफ्नो सन्तानलाई अंग्रेजी पढाइन्छ । अब आफ्नो शिशुहरूलाई पहिले अंग्रेजी शब्द सिक्नेछन् अनि त्यसलाई पछि मात्र नेपालीमा यसो भनिन्छ भनेर सिकाइन्छ । अंग्रेजीले संसार ढाकेको छ । यसको कारण ठूलो माछाले सानो माछालाई खान्छ भन्ने सिद्धान्तअनुरूप अंग्रेजीले बढ्ता महत्त्व पाएको हुन सक्छ । यसका कारण आफ्नो भाषा- साहित्य संस्कृति बिस्तारै घट्दो महत्वको स्थिति देखा पर्दछ । यस्तो स्थिति नेपाल र भारतमा नै देखा पर्दैछ ।

अबका हाम्रा नयाँ पुस्ताका युवाहरू बिस्तारै आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, भेषभुषा, लोकपरम्परा, गीत, सङ्गीत, संस्कार, समाज आदिदेखि टाढिंदै गइरहेका छन् भन्ने कुरा सर्वत्र चर्चा छ । हाम्रो आफ्नो मौलिक परम्परिक कुरा, मूल्य मान्यता महत्त्व जान्न छाडे । न आफ्नो भाषा राम्रोसँग जान्दछन् न हाम्रा लोकगीत र सुगम सङ्गीत नै सुनेका छन् । न राम्रोसँग आफ्नो भेषभूषा लाउँदछन् न चिन्दछन् । यस्तो स्थिति आएको मोटामोटी रूपमा ईश्वीको नयाँ युग अर्थात् २००० देखि यतादेखि हो । नयाँ युगको आगमनसँग हाम्रा आफ्ना मौलिक पक्षहरू घट्दै गएको प्रतीत हुन्छ ।

अबका हाम्रा केटाकेटीलाई हाम्रा बुढा बाजे-बोजूहरूका अनुभव र ज्ञानका कुरा अपत्यारिलो लाग्न थाले । बाजेबोजूका लोककथा, लोककविता आदि सुनेका हुँदैनन् । बाजेबोजूका लोकोक्ति, उखान-तुक्का सुन्दैनन् । हाम्रा लोकसाहित्यको गहिराइ जानेकै छैनन् । न गाउँले परिवेशमा भित्र पसेका हुन्छन् न साहित्यिक परिवेश । नेपाली बालगीत जानेका छैनन् । ताराबाजी लैलै जस्ता बालकविता र बालगीत सुनेका जानेका हुँदैनन् ।

साहित्य लेख्नका लागि धेरै कुरा जानेको, बुझेको, पचाएको हुनुपर्छ । ज्ञान विज्ञानदेखि लिएर घरेलु कुरा, मानवीय संवेदनाका कुरा, सभ्यता, संस्कार संस्कृति, पारम्परिक कुराहरू पनि जान्न पर्दछ । यद्यपि अबका पुस्ताले घरको सामान्य काम पनि जान्न छाडे । एक चपरी काँटा कोदालो चलाउन जान्दैनन्, एक मुट्ठी घाँस काट्न जान्दैनन् । न खरुकी घाँस चिन्छन्, न नेभारा न खन्यूँ नै चिन्छन् । अबका युवाले दाउरा बोक्नुपर्दैन । डोको, थुन्से चिन्न छाडे, कँचिया र हँसिया एकै ठान्न थाले, डाले घाँस के हो थाह छैन । खेताला-पात, अधियाँ, पर्मा, कुत, चर्चाई जान्न-सुन्न छाडे । गाउँघरका छरछिमेकी र आफन्त चिन्न छाडे । आफन्त चिन्न छाडे । गाउँले साइनोहरू काकाकाकी, बडाबडी, फूपूफुपा, मामामाइजू भन्न छाडे । न काँचो अम्बक खान जान्दछन् न ठोट्ने चिन्दछन् । न पेवा अदुवा रोप्छन् न झिँगनी-घिरौँला सब्जी जान्दछन् । रूखपात चिन्दैनन्, धान कसरी फल्छ भन्ने कुरा जान्दैनन् । शहरीकरणका नाममा अबका पुस्ता अप्राकृतिक बन्दै गइरहेका छन् । दुई पाइला हिँडेर जान नसक्ने भए । न धान खेती जान्दछन् न कोदोबारी खन्छन् । जीवन शैलीमा शारीरिक सङ्घर्ष छैन । न दाइँ र रोपाइँको अनुभव । न सरकारी स्कूलको जस्ता छेपारीमा बेत खाएको अनुभव गरेका छन् । यस्तै अनुभव र ज्ञानभित्र नै साहित्य सिर्जनाको स्रोत हुन्छन् । यसरी हाम्रो आफ्ना परिवेशसित ज्ञान र संवेदनाको महान् सुक्नेहुँदा साहित्यको उत्सभूमि पनि रुखो बन्न पुग्छ । यहाँ बसेर  युरोप र अमेरिकाको संवेदना खोजेर साहित्य लेख्न सकिन्न । यही ठाउँमा बसेर, रुझेर, भिजेर समाहित भएर मात्र वास्तविक रूपमा साहित्य लेख्न सकिन्छ ।

अहिलेको शिक्षा व्यवस्थामा नै खोट छ । नेपाली विषयमा धेरै अङ्क ल्याए पनि विषय ज्ञान थोरै पाउँछन् । विषयगत ज्ञान, व्याख्या विश्लेषण, तर्क, समीक्षा गर्ने शिक्षा प्रणाली नै पाएका हुँदैनन् । विषयगत ज्ञानभन्द वस्तुनिष्ठ संक्षिप्त उत्तरका माध्यमबाट धेरै अङ्क पाएको त मुरैको डल्ला जस्तो फोस्के हुन्छन् । विषयगत सतही तथ्य जान्दछन् तर गहन ज्ञान जान्दैनन् । विषयको वस्तुनिष्ठ संक्षिप्त उत्तर दिन जान्दछन् तर विषयगत विश्लेषण र तर्कसम्म उत्तर दिन जान्दैनन् । न राम्रोसँग हिज्जे जान्दछन् न उच्चारण गर्न जान्दछन् । पहिलेका तुलनामा अहिलेका दशौं श्रेणीमा पढ्ने एउटा विद्यार्थीले कति जान्दछन्, त्यो थोरै नै भन्नुपर्दछ । गुणात्मक शिक्षा नभएर मात्रात्मक शिक्षा पाउँछन् । सजिलो बाटो हिँड्न खोज्छन् । अहिलेका युवा पुस्ताले न नारायण गोपाल चिन्छन् न किशोर कुमार । न भक्तराज आचार्यका मीठा भजन जान्दछन्, न कुमार बस्नेतका लोकगीत सुन्छन् । न नेपाली गीतका शब्दको महत्त्व बुझ्छन् न संगीतको रागात्मकता सुन्छन् । मोहम्मद रफी साहेबका गीतको कोमलता सुनेकै छैनन्, न प्रेमध्वज प्रधानका गीतको मनमोहकता बुझ्छन् । न तारादेवी न कोइलीदेवीका नाम सुनेका छन् । न रेडियो र टेपको सुन्न पाएका हुन्छन् । नेपाली र हिन्दीको सङ्गीतको स्वर्णिम कालका गीतहरूको महत्त्व बुझेका पनि छैनन् र सुन्ने इच्छा राख्दैनन् नै । गीत र त्यसभित्रको वास्तविक मर्मलाई छाम्न सकेका र अनुभव गर्न पाएका छैनन् । चरेर खान होइन बोइलर कुखुरालाई चारो दिएर चारो मात्र खान जानेका जस्ता भएका छन् ।

यस्तो हुनुका मूलकारण अंग्रेजी स्कूल पढाएर हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । अंग्रेजी स्कूल पढाएपछि सबै विषयको माध्यम अंग्रेजी भएपछि अंग्रेजी काइदा कानूनले चल्न फिर्न लागे । ज्ञान विज्ञानको विस्तारसित आफ्नो मौलिकता भन्ने बिर्सिंदै गए । अंग्रेजी भारत छोडेर गए पनि अंग्रेजी रोपेर गए । अंग्रेजी र पश्चिमी सभ्यता संस्कृति र परम्परालाई चाल नपाउँदो गरी अपनाउन लागेका छन् । बिस्तारै आफ्नो त्याग्दै अर्काको अपनाउँदै जान लागेका छन् । उनीहरूका निम्ति नेपाली संस्कृति भनेको ढाकाको साडी र चोली तथा दौरासुरुवालमा नाच्नुसम्म मात्र हो । न चाडपर्वको वास्तविक ज्ञान राख्छन् न हाम्रा देवी देवरालीको महत्त्व बुझ्छन् । न घाँसको भारी बोकेर देउराली डाँडामा घाँसको भारी बिसाएर सुसेलीमा सुस्ताएको अनुभव गरेका हुन्छन् । अंग्रेजी स्कूल पढेर न राम्रोसँग आफ्नो मातृभाषा सिक्न पाएका हुन्छन् न त्यसप्रति मोह र महत्त्व राख्न सकेका छन् । न हाम्रा मौलिक शब्द नै चिन्दछन् । नेपाली विषयबाहेक अन्य विषयका शब्दका निम्ति नेपाली शब्द जान्दैनन् । न जातीय चेतना र अस्तित्वको भाव राख्छन् । न शुद्धसँग अंग्रेजीमा नै पारङ्गत हुन्छन् । न अङ्ग्रेज हुन सक्छन् न पूर्ण नेपाली/गोर्खा । भीरको चिण्डो उँधो न उँभो सरह भएका छन् । केही तकनिकी कम्युटर र मोबाइल तथा सूचना प्रविधि आदि विषयमा सिपालु भएका छन् । गुगलीय भरोसामा तथ्य सङ्कलन गर्न सक्छन् । यद्यपि घरेलु दैनिकी, आफूले खाने अन्न फलफूल आदि फलाउन जान्दैनन् न आफूलाई नभई नहुने दुध दिने गौपालनबारे जानकारी र व्यवहारिकता जान्दछन् ।

सानैदेखि अंग्रेजी स्कूल पढाउँदा दूरगामी दुष्प्रभाव परेको हुन्छ । यसले पाश्चात्य सिद्धान्त, सभ्यता, संस्कृति, इतिहास आदिबारे मात्र बढी पढेका सुनेका बुझेका हुन्छन् । पाश्चात्य विद्वानहरूको विचार र मतलाई नै बढी मान्यता दिन्छन् । यद्यपि हाम्रा पूर्वीय विद्वानहरूबारे चासो राख्दैनन् । उनीहरूले निम्ति भारतीय सभ्यता संस्कृति, शिक्षा आदिप्रति उदासीन भाव लिएका हुन्छन् । भारतीय ज्ञान परम्परालाई पनि मान्यता दिँदैनन् । न आफ्नो धार्मिक परम्पराप्रति उति चासो नै लिन्छन् । यो लेख अंग्रेजी स्कूल पढेका जम्मैलाई नलिएर सामान्य रूपमा पर्यवेक्षण गरेर लेखिएको हो ।

अंग्रेजी स्कूल पढेर भविष्यको हाम्रो जातिलाई ठूलो खती हुँदै छ । न आफ्नो क्षेत्र, समाज र माटोप्रति उति चासो राख्छन्, न सामूहिकता बुझ्दछन् । आफ्ना मौलिक परम्परा, सभ्यता संस्कृति, मान्यता आदिप्रति हीनताबोध गर्ने मानसिकता तयारी हुँदैछ । दिनानुदिन हाम्रा आफ्ना मूल्य, मान्यता, आस्था, सामाजिकता खिइँदै जाँदैछन् । हाम्रो आफ्नो पोखरी हुँदाहुँदै अंग्रेजीरूपी ठूलो समुद्रमा बिलाएर जाने सम्भावना हुन्छ । भँडार खनेर आँगन पुर्ने मानसिक जन्मिरहेको छ । आफ्नो जातिगत संस्कार र संस्कृतिदेखि टाढिँदै र छाडिँदै गएको लाग्छ ।

पहिलेको नवौं श्रेणीको पाठ्यक्रममा रहेको वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविता अबका नवौं श्रेणीका विद्यार्थीले बुझ्न सक्दैनन् । महानन्द पौड्यालको ‘पाँडेकाजीको ऐतिहासिक मूल्य’ बुझ्दैनन्, ‘के त्यसको कविता लेखूँ’ भन्ने बालकृष्ण समको कविताको अन्तर्मर्म बुझ्न सक्दैनन् । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, माधव घिमिरे, भूपी शेरचन, अगमसिहं गिरी, वीरेन्द्र सुब्बा आदिका कविता अहिलेका बाह्रौं श्रेणीसम्मका विद्यार्थीले थाम्न सक्दैनन् । न निबन्ध पढेर आनन्द लाभ गर्न सक्छन् । न साहित्येतिहासमा रुचि नै लिन्छन् न केही साहित्यिक तथ्य घटना जान्दछन् । अहिलेका विद्यार्थीहरूले न राम्रोसँग हिज्जे सचेत हुन्छन् न व्याकरण राम्रोसँग पढेका हुन्छन् । न पहिलेको समयका जस्तो उपन्यास लुकीलुकी पढ्छन् । अहिलेका विद्यार्थीहरूले प्रकाश कोविदका स्वादिला उपन्यास पढेकै हुँदैनन्, न नाटक नै हेरेका न खेलेका हुन्छन् । अहिलेका कलेज पढ्ने अधिकांश विद्यार्थीहरू नेपालीका कुनै उपन्यास, वा नाटक काव्य पढेर आएका हुँदैनन् ।

अधिकांश अंग्रेजी स्कूलहरूले नेपाली विषयलाई परित्यक्त स्थिति बनाएका हुन्छन् । नेपाली विषयलाई दोस्रो भाषाका रूपमा पढाउने हुँदा धेरै भाषिक, सामाजिक, सांस्कृतिक स्रोतहरूबाट अबका केटाकेटी वञ्चित छन् । आमाको बोलीमा बालखेल नेपालीमा नसिकाएर सातसमुद्र पारिको अंग्रेजीको नर्सरी राइन्म भनेर टुइङ्कल टुइङकल लिट्टल स्टार भनेर बोली नै राम्रोसँग नफटी सिकाइन्छ । नेपाली त्यसमा पनि धेरैजसो निजी अंग्रेजी विद्यालयमा नेपाली भाषा र साहित्यको राम्रो अध्ययन नगरेको व्यक्तिलाई नेपाली विषय शिक्षक बनाउने गर्छन् । त्यस्ता अंग्रेजी स्कूलमा व्याकरण राम्रो पढाइदिएका हुँदैनन्, कविता रटाइएको हुँदैन, राम्रोसँग उच्चारण विधि सिकाइको हुँदैन । न लेख्ने न सुन्ने र वाचन गर्ने अभ्यास नै राम्रोसँग गराइन्छ । नयाँ पुस्ताका विद्यार्थीलाई यसरी साहित्य सिर्जनामूलक परिवेश र मानसिकता बनाइदिएको हुँदैन ।

समयअनुसार चल्नुपर्दछ भन्ने कुरा पनि सत्य हो तर समयमा आफ्नो कुरा पनि जोगाउनु पर्दछ । हाम्रा मूल्य मान्यता, भाषा, साहित्य, संस्कार, संस्कृति परम्परा आदि पनि कुनै कुरामा कमी र हीनत्वका छैनन् । पाश्चात्य समाजभन्दा हामी कुनै कुरामा कमी छैनौं । अंग्रेजी स्कूल पढाएर अंग्रेजी जान्दैन कोही विद्वान, सजक, सचेत, आधुनिक हुँदैन । हाम्रोमा पनि सबै कुरा छन्, बस हामी आफ्नोप्रति गर्व गर्न सक्नुपर्दछ, आफ्नो कुरालाई गाउँदेखि विश्वव्यापी बनाउन सक्ने मानसिकता राख्नुपर्दछ । हाम्रो साहित्य पनि सम्पन्न छ, अंग्रेजी साहित्यभन्दा हाम्रो साहित्य पनि कुनै कुरामा कमी छैन । यसर्थ, अबको नयाँ पिँढीमा पनि नेपाली साहित्यको समुचित विकास गर्न सर्जकहरू तयार पार्ने परिवेश सिर्जना गरिन आवश्यकता छ ।