नदेखेको नेपाल, नसुनिएको पीडा
नेपाली सिनेमामा कहिलेकाहीँ यस्ता चलचित्रहरू आउँछन्, जुन केवल मनोरञ्जनका लागि होइन, समाजलाई ऐना देखाउनका लागि बन्छन् । यम थापाद्वारा निर्देशित ‘लालीबजार’ यस्तै एउटा चलचित्र हो । बर्दियाको पृष्ठभूमिमा बादी समुदायकी एउटी आमा र छोरीको मार्मिक कथामा आधारित यस चलचित्रले दर्शकको छाती अँठ्याउँछ, आँखा रसाउँछ र हलबाट निस्किँदा मनमा एउटा गम्भीर प्रश्न छोडेर समापन हुन्छ ।
पश्चिम नेपालको बादी समुदाय र उनीहरूले भोगेको ‘नत्थी’ परम्पराको वरिपरि बुनिएको यो चलचित्रले वेश्यावृत्तिको दलदल, पितृसत्तात्मक समाजको दोहोरो मापदण्ड र सन्तानको शिक्षाका लागि बाबुको नाम चाहिने कानुनी व्यवस्थाले दिएको एवं सामाजिक संघर्षलाई उजागर गर्छ ।
कथानकः बादी जातिको पीडाको पुस्तान्तरण
चलचित्रको सुरुवात बर्दियाबाट हुन्छ, जहाँ ब्राह्मण समुदायका हुलाकी नारायण (बिशाल देवकोटा) बादी समुदायकी मधुबाला (स्वस्तिमा खड्का) सँग प्रेम गर्छन् । सुखद जीवनको सपना बुन्दै लालिबजारबाट मधुबालालाई भगाएर पलायन हुन्छन् र आफन्तकहाँ पुग्छन् । तर, परिस्थिति उनीहरूले सोचे जस्तो हुँदैन । बादी समुदायकी युवतीलाई भगाएर ल्याएको थाहा पाउनासाथ सामाजिक दबाब, गरिबी र चरम घृणाले उनीहरूलाई खेद्न थाल्छ । एउटा पीडाबाट उम्कन पलायन भएकी युवती अर्को त्योभन्दा डरलाग्दो पीडामा पर्छे । त्यसले मधुबालाको जिन्दगीलाई एउटा यस्तो चक्रव्यूहमा धकेल्छ, जहाँबाट उनी आफ्नो अस्तित्व रक्षाको लागि आफ्नै ठाउँमा बसेर संघर्ष गर्ने निर्णयमा पुग्छे ।
उनी नारायणसँगको सम्बन्धबाट गर्भवती भएको थाहा पाउनासाथ गर्भ पतनको प्रयास गर्छिन् र आफ्नै संसारमा फर्कन खोज्छे । तर, समय धेरै भइसकेकाले गर्भ पतन सफल हुँदैन । अब ऊ छोरीलाई जन्माउने र पुरानै बाटोबाट जिन्दगी अगाडि बढाउने निर्णयमा पुग्छे । छोरीलाई बचाउन अरू उपाय नदेखेपछि र लालिबजार बाहिर निस्कँदा आफूलाई समाजले हेर्ने भेदभावपूर्ण जीवनको डरलाग्दो रूप अनुभव गरेपछि छोरीलाई ‘नथिया’ परम्पराअनुसार स्थानीय राजासाहेबलाई सुम्पेर सुरक्षित हुन खोज्छे ।
कथा अगि बढ्दै जाँदा उसको मौनता र स्वीकारोक्ति दृढ संकल्प र प्रतिरोधमा बदलिन्छ । ऊ अब छोरीलाई पढाउने र आफूले भोगेको कुप्रथा अर्को पुस्तामा हस्तान्तरण हुन नदिने संकल्प गर्छे ।
चलचित्रको केन्द्रमा ‘नत्थी’ प्रथा छ— एउटा पुस्तौँदेखि चलिआएको कुप्रथा, जसका कारण छोरीहरू जन्मँदै जमीन्दारहरूको नियन्त्रण र शोषणको शिकार हुन पुग्छन् । चलचित्रमा मधुबालाको एउटा संवाद छ— “मेरी आमाले यही गरिन्, मैले यही गरेँ, मेरी छोरीले पनि यही गर्नेछे ।” यो संवादले शोषण कसरी परम्पराका नाममा सामान्य र स्वाभाविक बनाइन्छ भन्ने तीतो यथार्थ दर्साउँछ ।
जब स्वस्तिमा आफ्नी छोरीलाई विद्यालय भर्नाको लागि स्कुल पुग्छिन् विद्यालयले छोरीको भर्नाका लागि बाबुको नाम माग्छ, मधुबाला निरीह बन्छिन् । उनी लालीबजारमा शरीर भोगका लागि आउने नियमित ग्राहक र गाउँका प्रभावशाली पुरुषहरूसँग ‘बाबुको नाम’ उधारो माग्न पुग्छिन्, तर कसैले स्वीकार गर्दैनन् । शरीर भोगका लागि मधुबालासँग कोठामा धाउने एकएक पुरुष पात्रसँग ऊ सहयोगका लागि याचना गर्छिन्, ढोकाढोकामा पुगेर । तर सहयोग त के सहानुभूतिसम्म पनि पाउँदिनन् बरु अपमान र तिरस्कार अनि घृणा मात्र पाउँछिन् । यो दृश्यले दर्शकका आँखा मात्र रसाउने बनाउँदैन हाम्रो कानुन र समाजको त्यो कठोरतामाथि कडा प्रहार गर्छ, जसले आमाको पहिचानलाई बाबुको नामबिना अपूर्ण ठान्छ । सन्तान पाउने आमा प्रमाणित गर्न बाबु चाहिने हाम्रो कानुनी र सामाजिक मान्यतामा यसले कठोर व्यंग्य गर्छ । दर्शकलाई यसले हुनसम्म भावुक बनाउँछ । हाम्रा कानूनी र सामाजिक प्रचलनका अमिल्दा पक्षलाई यो दृश्यले हुनसम्म नाङ्गो बनाइदिन्छ ।
सामाजिक परिप्रेक्ष्य र विवाद
राज्यले पहाडी दलितको रूपमा वर्गीकरण गरेको बादी समुदाय ऐतिहासिक रूपमा नै पश्चिम तराईको सीमान्तकृत समुदाय हो । चलचित्रले यो समुदायभित्रको आन्तरिक दृष्टिकोण र सहर एवं ग्रामीण क्षेत्रमा बस्ने बादीहरू बीचको बुझाइको भिन्नतालाई पनि केलाउने प्रयास गरेको छ ।
‘लालीबजार’ प्रदर्शन अगाडि नै कानूनी र सामाजिक विवादमा तानियो । बादी समुदायको नकारात्मक चित्रण गरिएको भन्दै अदालतमा मुद्दा दायर भएपछि पाटन उच्च अदालतले यसको वितरणमा अस्थायी रोक समेत लगाएको थियो । यद्यपि, सेन्सर बोर्डको अनुमति र पछि अदालतबाटै रोक फुकुवा भएपछि चलचित्र प्रदर्शनमा आयो ।
यो विवादले एउटा महत्त्वपूर्ण वैचारिक बहस जन्माएको छ— कुनै सीमान्तकृत समुदायको कथा बयान गर्ने अधिकार कोसँग हुन्छ ? के समुदाय बाहिरका सर्जकले उनीहरूको पीडालाई पूर्ण इमानदारीका साथ प्रस्तुत गर्न सक्छन्? यो यस्तो प्रश्न हो, जसको उत्तर सहज छैन । तर, चलचित्र हेरेका समुदायका धेरै महिलाहरूले यसमा आफ्नै जीवनको आर्थिक कठिनाइ र भोग्नुपरेको भेदभावको ऐना पाएको प्रतिक्रिया दिएका छन् । यो समाजको एक यथार्थ चित्र हो ।
जुन समाजमा प्रचलनको रूपमा यो प्रथा थियो भने चलचित्रले, कलाकारले त्यसलाई चित्रपटमा उतारेको मात्र हो अन्यथ गरेको होइन । समाजको कुनै काल खण्डमा वा प्रच्छन्न रूपमा जे कुरा भएको थियो त्यो इतिहास अस्वीकार गर्दैमा मेटिने होइन । त्यो समाजबाट तत्कालै हराएर जाने पनि होइन । त्यही समुदायको सचेत प्रयास, सङ्घर्ष, राज्यका निकायको सचेत कानुनी प्रयासले त्यसलाई समाजबाट विस्तारै परिवर्तन गर्न सकिन्छ । त्यो भइरहेको पनि छ । त्यही समुदायकी एक जना महिला अहिले सांसद र मन्त्री हुनुभएको छ । त्यसैले इतिहास मेटाएर, छोपेर होइन त्यसबाट सिकेर र स्वीकारेर समाज अगि बढ्नुपर्छ । चलचित्रले यही प्रयास गरेको छ र यसमा चलचित्र सफल पनि छ ।
अभिनय र प्राविधिक पक्ष
यो चलचित्र प्राविधिक र अभिनयका हिसाबले नेपाली सिनेमामा एउटा बलियो मापदण्ड स्थापित गर्न सफल भएको छ ।
स्वस्तिमा खड्काको अभिनयः पहिलो भागमा समुदायको परम्परामा बाँधिएकी युवतीदेखि दोस्रो भागमा तीव्र प्रतिरोधमा उत्रिएकी आमाको रूपमा स्वस्तिमाले आफ्नो भावनात्मक रूपान्तरणलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । यो उनको करियरकै सबैभन्दा परिपक्व र शक्तिशाली अभिनय हो भन्ने लाग्छ ।
रविन्द्र सिंह बानियाँको खलनायकीः सामन्ती शोषणको प्रतीक ‘राजा साहेब’को भूमिकामा रविन्द्रले कम संवादका बावजुद आफ्नो भयानक उपस्थितिको महसूस गराएका छन् । उनी बन्दुक बोकेको यस्तो खलनायक हुन्, जसले ‘नत्थी’ प्रथालाई आफ्नो जन्मसिद्ध अधिकार ठान्छ । त्यही खलनायकी चरित्र नै रवीन्द्रको अभिनयको सशक्त पक्ष रहेको देखिन्छ ।
निर्देशन र सिनेमाटोग्राफीः निर्देशक यम थापाले बर्दियाको वास्तविक भूगोल— त्यहाँका खेत, धूलाम्मे सडक, जङ्गलका किनारा र तराईको अत्यधिक गर्मीलाई सिनेमाटोग्राफीमार्फत उत्कृष्ट ढङ्गले कैद गरेका छन् । सेटको कृत्रिमता नहुनुले चलचित्रलाई एउटा जीवन्त दस्तावेज जस्तो बनाएको छ ।
सबल पक्ष
विषयवस्तुको साहसः व्यापारिक रोमान्सको सुरक्षित घेरा तोडेर समाजको तीतो यथार्थ र कठोर सत्यलाई पर्दामा ल्याउनु यो चलचित्रको सबैभन्दा बलियो पक्ष हो ।
परम्परागत चरित्र चित्रणः मुख्य चरित्र शक्तिशाली हुँदाहुँदै पनि कतिपय ठाउँमा पात्रहरु नेपाली सिनेमाका स्थापित र परम्परागत पात्रकै साँचोमा सीमित देखिन्छन् ।
पात्रहरूको जीवन्तताः स्वस्तिमा र रविन्द्रको उत्कृष्ट अभिनय एवं बाल कलाकारहरूको स्वाभाविक प्रस्तुतिले चलचित्रलाई जीवन्त बनाएको छ ।
भौगोलिक यथार्थताः बर्दियाको वास्तविक वातावरणको चित्रण, जसले दर्शकलाई कथाको नजिक पुर्याउँछ ।
कमजोरी र सीमाहरू
इतिहासको सतही विश्लेषणः बादी समुदायको इतिहास र यो कुप्रथा कसरी स्थापित भयो भन्ने ऐतिहासिक कारणहरूको गहिराइमा चलचित्र पस्न सकेको छैन । यो चलचित्रको सीमा हो । यो साँस्कृतिक परम्परा समाजमा कसरी आयो त्यसको संकेतसम्म नगरिनु र पछिल्लो चरणको विकृत पक्ष मात्र देखाउनाले नै चलचित्रलाई विवादास्पद बनाएको कुरा यसको विरोध गर्ने अभियन्ताहरूले व्यक्त गरेको विचारबाट थाहा पाइन्छ । यसलाई समेट्न सकेको भए चलचित्र अझ बलियो र पूर्ण हुन सक्थ्यो । त्यो पक्ष चलचित्रको कमजोर पक्ष हो ।
बजारमुखी रणनीतिः प्रदर्शन अगाडिको विवादलाई कतिपयले प्रचारको कडीका रूपमा लिए, जसले गर्दा समुदायको वास्तविक संवेदनशीलता केही ओझेलमा पर्यो ।
निष्कर्षः छाल उठेको पानीको सतह
‘लालीबजार’ नेपाली सिनेमाको एउटा साहसी र महत्त्वपूर्ण पाइला हो । प्रदर्शनको छोटो समयमै बक्स अफिसमा व्यावसायिक रूपमा सफल हुनुले नेपाली दर्शक सामाजिक कटु यथार्थ र गम्भीर विषयवस्तु हेर्न तयार छन् भन्ने पुष्टि गर्छ । यो चलचित्रले देखाउँछ कि शोषण कुनै एउटा व्यक्तिको मात्र समस्या होइन, यो त पूरै व्यवस्था (सिस्टम) को खराबी हो । राजा साहेब एक्लो खलनायक होइन, ऊ त्यो सामन्ती प्रणालीको प्रतीक हो जसले पुस्तौँदेखि महिलालाई वस्तु मात्र ठान्यो । मधुबाला जब आफ्नी छोरीका लागि लड्छिन्, त्यो लडाइँ केवल एउटी आमाको मात्र रहँदैन— त्यो हाम्रो पूरै समाजले लड्नुपर्ने लडाइँ बन्न पुग्छ । म भन्छु– “लालीबजार हेर्नुहोस्, तर मानसिक रूपमा तयार भएर जानुहोस् । यसले तपाईँलाई हलभित्र मात्र होइन, हलबाट निस्किएपछि पनि लामो समयसम्म असहज बनाइरहनेछ । र, समाजलाई बदल्नका लागि मनमा त्यही असहजता पैदा हुनु नै यस चलचित्रको सबैभन्दा ठूलो सफलता हो ।”
चलचित्र विवरणःनिर्देशक÷लेखकः यम थापा
मुख्य अभिनयः स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, बिशाल देवकोटा, मुकुन्द श्रेष्ठ
निर्माणः सतकोण आर्ट्स
अवधिः २ घण्टा १७ मिनेट

