समयको कुनै अज्ञात किनारमा उभिएर सुदूर अतीतको मौन ओत लागिरहेझैँ लाग्ने, धर्तीले आफ्नो छातीभित्र युगौँदेखि लुकाएर राखेको कञ्चन श्वासका दुई थुँगाजस्ता र एउटा आदिम मौनता बोकेर मेरो हातमा आइपुगेका दुई स्फटिक पत्थर वास्तवमा केवल ढुङ्गा होइनन्, बरु पृथ्वीले कोरेका दुई हरफ कञ्चन कविता हुन् जसले आज मेरो चेतनामा संवेगको एउटा नयाँ र अपरिभाषित कम्पन छरिरहेका छन् ।
मेरो अगाडि इतिहासको गहिरो शून्यता ओढेर निदाइरहेका यी दुई शिलामध्ये एउटा हिमवत्खण्डको निष्कलङ्क शून्यताजस्तो सेतो र पत्रैपत्र परेको खस्रो साकार रूप छ भने अर्को समयको निरन्तर थपेडा र आँधीबेहरीको आँच सहेर कतै हल्का पहेँलिएको, शाश्वतताको साक्षीजस्तो देखिने चिल्लो र कञ्चन विम्ब छ । यी जति शान्त र गतिहीन देखिन्छन्, यिनको भित्री गहिराइमा ब्रह्माण्डको सृष्टिकालदेखिको एउटा महासङ्गीत सुस्तरी गुन्जिरहेको छ, जसलाई सुन्न कानको कोलाहल होइन, मनको एउटा कुनामा निदाएर बसेको मौनतालाई ब्युँताउनुपर्ने हुन्छ । जब मैले यिनको सघनता नाप्न यी दुई आत्मीय शिलाहरूलाई एकापसमा घोटेर हेरेँ, तब त्यहाँबाट प्रस्फुटित भएको त्यो मसिनो, तीखो र आदिम ध्वनि कुनै साधारण भौतिक घर्षण मात्र थिएन, त्यो त यो धर्तीको गर्भबाट उद्वेलित भएको शैल-सङ्गीतको पहिलो राग थियो जसले मेरो औंलाका काप हुँदै सिधै मेरो हृदयलाई स्पर्श गरेको थियो । सिसाको कडा छातीमा यिनले कोरेको त्यो गहिरो, अमिट र निष्कम्प धर्सो यिनीहरूको भौतिक कठोरताको प्रमाण मात्र थिएन, बरु समयको पानामा आफ्नो अस्तित्व कहिल्यै नमेटिने गरी दर्ता गर्ने यिनको एउटा दृढ सङ्कल्प र अकाट्य आत्मघोषणा थियो । कागतीको तीव्र र अमिलो रसले यिनको सौम्य छालामा कुनै कम्पन वा रासायनिक संवेग पैदा गर्न सकेन किनकि यिनीहरू क्षणिक आवेगमा पग्लिने कमजोर माटोका डल्ला होइनन्, बरु करोडौँ वर्षको भौगर्भिक ताप, असाध्य चाप र प्रकृतिको निष्ठुर प्रसव वेदनालाई हाँसेर पचाएका कठोर सत्यका जीवन्त नमूना हुन् ।
दुवै स्फटिकको आदिम रूपलाई नियाल्दा म मानव कल्पनाको एउटा यस्तो असीम महासागरमा समाहित हुन पुग्छु जहाँ समय र भूगोलका सीमाहरू भत्किएर एउटै अनन्त शून्यतामा रूपान्तरित भइदिन्छन् । यो धर्तीमा मानव सभ्यताको पहिलो पाइला पर्नु र मानवीय चेतनाको पहिलो अङ्कुरण हुनुभन्दा कति हो कति करोडौँ वर्षपहिले, जब यो सम्पूर्ण पृथ्वी पग्लिएको लाभाको दहनमा जलिरहेको थियो र आकाश केवल आँधीबेहरीको भयानक कोलाहल ओढेर रोइरहेको थियो, त्यतिबेलै यी स्फटिकहरू भूगर्भको अन्धकारभित्र शान्त र सुस्तरी आफ्नो कञ्चन रूपलाई आकार दिइरहेका थिए । यिनीहरूले पृथ्वीको बाल्यकालीन रुवाबासी र हाँसोलाई नजिकबाट नियालेका छन्, महादेशहरू जोडिने र छुट्टिने क्रममा धर्तीले भोगेको त्यो भीषण प्रसव वेदनालाई आफ्ना छातीमा समेटेका छन् र डाइनोसरजस्ता विशाल जीवहरूको उदय र अस्तको महागाथालाई मौन बसेर हेरेका छन् । यिनको प्रत्येक अमानवीय कुना, कडापन र भित्री क्रिस्टलको चमकमा ब्रह्माण्डको आदिम र रहस्यमयी इतिहासको एउटा सिङ्गो पाना सुरक्षित छ जसको अगाडि मानव जातिको यो सम्पूर्ण लिखित इतिहास त भर्खरै जन्मिएको एउटा सानो बालकको क्षणिक मुस्कानजस्तो मात्र प्रतीत हुन्छ ।
तर, जब यो कठोर धर्तीको छातीमा मानवीय संवेदनाको पहिलो सुकुमार अङ्कुरण भयो, तब ढुङ्गा र मान्छेबीच एउटा अदृश्य, रेशमी र सनातन नाता अनौठो गरी गाँसिन पुग्यो । मानिसले आफ्नो जीवनको पहिलो आँशु यही ढुङ्गाको ओत लागेर गुपचुप खसाल्यो, आफ्नो अस्तित्वको पहिलो भय र सुरक्षा यिनकै आडमा खोज्यो र प्रकृतिको साैन्दर्यलाई पहिलोपल्ट यिनकै चमकभित्र समाहित गरेर हेर्न थाल्यो । ढुङ्गे युगको त्यो धूमिल बिहानीमा जब मानिसले पहिलोपल्ट ढुङ्गालाई आफ्नो औजार र हतियार बनायो, मानिस र शैलबिचको यो अनन्त सहयात्रा त्यतिबेलैदेखि औपचारिक रूपमा शुरु भएको थियो । स्फटिक केवल एउटा ढुङ्गाको चिसो टुक्रा मात्र होइन; यसले आदिम मानवलाई आगो बाल्ने कला सघायो, जीवन धान्न शिकार गर्न सिकायो र शनैशनैः जङ्गली अवस्थाबाट सभ्यताको उज्यालो सिँढी चढ्न निरन्तर मद्दत गरिरह्यो । आजको यो अत्याधुनिक भनिने २१ औँ शताब्दीको डिजिटल संसारमा पनि, हाम्रा नाडीमा बाँधिने घडीका सुइदेखि कम्प्युटर र भूउपग्रहका जटिल सिलिकन चिप्ससम्म यही स्फटिककै अन्तर्निहित कम्पन र शक्ति प्रयोग भइरहेको छ । हामीले आफूलाई प्राविधिक रूपमा जति नै उन्नत, सभ्य र आधुनिक दाबी गरे पनि अन्ततः हाम्रो सिङ्गो आधुनिक सभ्यताको मेरुदण्ड र जग यिनै आदिम शिलाहरूको कञ्चन छातीमा नै अडिएको छ भन्ने सत्यलाई नकार्न सकिँदैन । मानिस र ढुङ्गाको यो सम्बन्ध केवल भौतिक र व्यावहारिक उपयोगितामा मात्र सीमित छैन बरु यो त एउटा गहिरो, संवेदनात्मक र आत्मिक अन्तरसम्बन्धको महाकाव्य हो जो युगौँदेखि निरन्तर लेखिइरहेको छ ।
मान्छेको आदिम चेतनाले ढुङ्गाभित्र केवल जडता र कठोरता मात्र देखेन, उसले त त्यसको मौनताभित्र एउटा अद्भूत, असीम र कल्याणकारी दैवी शक्ति लुकेको पायो । यही गहिरो अन्तर्दृष्टिका कारण ढुङ्गालाई केवल वस्तु नमानेर देवताका रूपमा पुज्ने र आदर गर्ने आदिम मानवीय विश्वसंस्कृतिको उदय भयो । एउटा सामान्य देखिने शिलामा मानिसले आफ्नो पवित्र आस्था, अटल विश्वास र प्रकृतिको भयबाट उब्जिएको श्रद्धाको जल अर्पण गरेर त्यसलाई ‘ईश्वर’ का रूपमा जीवन्त रूपान्तरित गरिदियो। नदीका कञ्चन किनारमा भेटिने शालिग्रामको चक्रदेखि गाउँका अग्ला भन्ज्याङ, चौतारी, देउराली र हिमालका टाकुरासम्म ढुङ्गा नै मानिसको जीवनका हरेक सुख-दुःख, आँशु-हाँसो, र जन्म-मृत्युको पहिलो र अन्तिम साक्षी बनिरहेको छ । मानिसमा दृढ विश्वास थियो, बाहिरको संसार जतिसुकै कोलाहलपूर्ण र परिवर्तनशील किन नहोस्; समयले जतिसुकै क्रूर कोल्टे फेरोस्; यो ढुङ्गारूपी देवता कहिल्यै बदलिने छैन र यसले सङ्कटको घडीमा हामीलाई सधैं संरक्षण र ओत दिइरहनेछ । स्फटिकको यो अलौकिक र पारदर्शी चमकमा मानिसले आफ्नो भित्री आध्यात्मिक चेतना र शुद्धताको प्रतिबिम्ब देख्छ होला, त्यसैले त यो ढुङ्गा भव्य मन्दिरका गजुर, साक्षात् ईश्वरका प्रतिबिम्छ मूर्तिदेखि हिमालयका कन्दरामा ध्यानमग्न जोगीका जपमालाका दानाहरूसम्म आदरपूर्वक पुगिरहेको छ ।
दार्शनिक र आध्यात्मिक आँखाले हेर्दा यी दुई साना स्फटिक भौतिक शक्ति र परम् आध्यात्मिक चेतनाका अनुपम र जाज्वल्यमान सङ्गम लाग्छन् । भौतिक विज्ञानका दृष्टिमा यी आणविक संरचनाको चरम सन्तुलन र ज्यामितीय पूर्णता हुन् जसले आफूभित्र समाहित साधारण सेतो प्रकाशलाई पनि आफ्नो पारदर्शी छातीभित्र मन्थन गरेर सप्तरङ्गी इन्द्रेणीमा बदल्ने अद्भूत सामर्थ्य राख्छन् । यिनको आध्यात्मिक पाटो त्योभन्दा धेरै गुणा सुकुमार र अर्थपूर्ण छ किनभने कोलाहलपूर्ण र अशान्त संसारमा यी ढुङ्गाहरू जति स्थिर र निर्विकार देखिन्छन्, तिनले मानव चेतनालाई पनि त्यस्तै अडिग, कञ्चन र पवित्र हुन निरन्तर प्रेरित गरिरहेका हुन्छन् । बाहिर जेजस्तो संवेगको आँधी आए पनि आफ्नो भित्री अस्तित्वको ज्योतिलाई कसरी अटल र अक्षुण्ण राख्ने भन्ने परम् ज्ञान यी मौन पत्थरले हामीलाई आफ्नो निःशब्द भाषामा दिइरहेका हुन्छन् । ढुङ्गा जति स्थिर छ, मान्छेको आस्था र मानवीय संवेदना पनि जीवनका उतारचढावहरूमा त्यति नै दृढ र कञ्चन हुनुपर्छ भन्ने यसको शाश्वत र मौन सन्देश दिइरहे झैँ लाग्छ मलाई ।
स्फटिकका यी दुई स्वरूप आज मेरा हातमा पर्दा मलाई अचानक आभास भएको छ, ब्रह्माण्डको सम्पूर्ण आदिम सङ्गीत यिनकै मौनताको गहिराइभित्र गुन्जिरहेको छ । यो शैल-सङ्गीत भौतिक कानले सुन्ने ध्वनि होइन बरु मनको आँखाले अनुभूत गरिने एउटा अलौकिक राग हो । जसरी यी ढुङ्गाहरूले समयको कठोर धपेडा सहेर, मानिसको अगाध आस्थाको भार बोकेर र प्रकृतिसँग सिँगौरी खेलेर पनि आफ्नो कञ्चनता र भित्री स्वरूपलाई कहिल्यै गुमाएनन्, त्यसरी नै मानव आत्माले पनि जीवनका तमाम दुःख, पीडा र सङ्घर्ष पार गर्दै आफ्नो भित्री प्रकाश, करुणा र संवेदनालाई बचाइराख्नुपर्छ । मेरो हत्केलामा मुस्कुराइरहेका यी दुई साना पत्थर वास्तवमा पृथ्वीले हामीलाई उपहार दिएका दुईवटा ज्युँदा दर्शनशास्त्र हुन् जसले मानिसलाई ढुङ्गा हुन होइन, ढुङ्गाजस्तै अटल र कञ्चन बनेर बाँच्न सिकाइरहेका छन् ।


