एआई !
आज संसारको हरेक क्षेत्रमा फैलिएको छ
स्कुल, कलेज, अस्पताल, बैङ्क, सञ्चार, व्यापार
मोबाइलदेखि व्यक्तिगत जीवनसम्म ।
विद्यार्थीले गृहकार्य गर्न एआई
शिक्षकले पढाउन एआई
पत्रकारले समाचार लेख्न एआई
डाक्टरले उपचार गर्न एआई
व्यवसायीले प्रचार गर्न एआई
किसानले उत्पादन बढाउन एआई ।
आजको विद्यार्थी
कापीभन्दा पहिले मोबाइल खोल्छ ।
कुनै कर्मचारीलाई रिपोर्ट बनाउन दिइयो भने
पहिले आफ्नै सोच होइन
सिधै एआईसँग उत्तर खोज्ने प्रवृत्ति बढेको छ ।
लेखक, कवि र सिर्जनाकर्मीहरू पनि
शीर्षकदेखि विचारसम्म
मेसिनसँग परामर्श गर्न थालेका छन् ।
अब शब्द लेख्नुअघि
मनले मात्र होइन
मेसिनले पनि सोच्न थालेको छ ।
कुनै समय
कविता, भावना, पीडा र अनुभूतिबाट जन्मिन्थ्यो ।
लेखक रातभर जागेर
एउटा वाक्य खोज्थे ।
विद्यार्थी पुस्तकालयमा बसेर
घण्टौँ सन्दर्भ खोज्थे ।
चित्रकार रङसँग संवाद गर्थे
सङ्गीतकारले महिनौँ साधना गर्थे ।
तर आज
केही सेकेन्डमै
कविता, लेख, चित्र र सङ्गीत तयार हुन्छ ।
जानकारी एक क्लिकमै पाइन्छ ।
काम सजिलो भएको छ
तर खोजको धैर्य
चिन्तनको गहिराइ
र आत्मीय अनुभूति हराउँदै गएको छ ।
अहिले त यस्तो अवस्था छ कि
सामाजिक सञ्जालमा देखिने भिडियो
साँचो हो कि एआईले बनाएको
छुट्याउनै गाह्रो भएको छ ।
झुट पनि सत्यजस्तै देखिन थालेको छ
र सत्यमाथि नै शङ्का बढ्न थालेको छ ।
त्यसैले प्रश्न उठ्छ
के हामी आफ्नै सोच र विवेक
मेसिनलाई सुम्पिँदै त छैनौँ ?
एआई उपयोगी छ, आवश्यक पनि ।
यसले ज्ञान सजिलो बनाउँछ
काम छिटो बनाउँछ
नयाँ सम्भावनाका ढोका खोल्छ ।
तर गलत प्रयोगले
विश्वास कमजोर बनाउन सक्छ ।
त्यसैले एआईलाई
विवेक, सत्य र नैतिकतासँग जोडेर प्रयोग गरौँ ।
मानवताको हितमा उपयोग गरौँ ।
जय एआई !

