‘धेरै भएछ किताब नपढेको’ कल्याणी धर्ती समाएपछि यस्तै सोचें । नेपालको चुनावी माहौल, यही चुनावको कारणले सरेको परीक्षाको समयलाई सदुपयोग गर्न मैले कल्याणी धर्ती समाएँ । पठनकै लागि सन् २०२६ को यो पहिलो अन्तर्राष्ट्रिय किताब हो ।
सन् १९३८ मा नोबेल पुरस्कार प्राप्त भएपछि लेखिका पर्ल एस. बक / ‘द गुड अर्थ’ दुबै विश्वप्रसिद्ध भए । यो पुस्तक विश्वभरि अनुवाद हुन थालेछ । मलाई यो पुस्तक बर्मेली भाषामै पढ्ने इच्छा थियो तर जुर्यो नेपालीमा । जसलाई टिकाराम शर्माले नेपालीमा रूपान्तरण गरेका रहेछन् ।
कृति हात परेपछि यसलाई मैले तीन रातमा पढेर सकें । यस उपन्यासले २० औं शताब्दीको शुरूवात तिरको चीनको ग्रामीण समाज, किसान जीवन, भूमि–सम्बन्ध र सामाजिक परिवर्तनलाई जीवन्त र संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ ।
कथा ‘वाङलुङ’ नामक ‘केटा’ गरीब किसानको विवाहबाट शुरू हुन्छ । बिरामी बाबुलाई स्याहार्दै बसेको वाङलुङ परम्परागत ग्रामीण समाजमा जन्मिएको, श्रममा विश्वास गर्ने र धर्तीप्रति श्रद्धा राख्ने पात्र हो । ऊ धनी जमिन्दार ह्वाङ परिवारकी दासी ओलानसँग विवाह गर्छ । ओलान शारीरिक रूपमा आकर्षक नदेखिए पनि कठोर श्रम, सहनशीलता र मौनतालाई बढी अँगाल्ने, त्यागकी प्रतीक पात्र हुन् । उनीहरूको वैवाहिक जीवन प्रेमभन्दा बढी श्रम र उत्तरदायित्वमा आधारित छ । यसले नै किताबको अन्तिम पानासम्म मलाई तानिरह्यो ।
शुरूआती दिनहरूमा वाङलुङ र ओलान माटो जोतेर, पसिना बगाएर आफ्नो जीवन विस्तार गर्छन् । खेतबारी बढ्छ, अन्न फल्छ, वर्षैपिच्छे सन्तान पनि जन्मँदै जान्छन् । तर प्राकृतिक विपत्ति र भोकमरीले उनीहरूको जीवन उथलपुथल हुन्छ । पेट पाल्नकै लागि उनीहरू गाउँ छोडेर दक्षिणतर्फको शहरतिर लाग्छन् । त्यहाँ उनीहरूले अत्यन्तै कष्टकर जीवन बिताउँछन्—भिक्षा, सानोतिनो काम र अपमान सहँदै । जति समय बित्दै जान्छ, उति नै उसलाई गाउँको जग्गाजमीन र धर्तीको सम्झना गहिरिँदै जान्छ । ऊ आफैंलाई सान्त्वना दिन्छ—‘मसँग त जग्गा छ नि !’ त्यही बोधले उसलाई फेरि उभ्याइरहन्छ । त्यतिञ्जेलसम्म उसले ह्वाङको एउटा जग्गा किन्न सफल भइसकेको हुन्छ । मलाई रमाइलो के लाग्यो भने जसको घरकी दासी (ओलान)लाई उसले बिहे गरेको थियो त्यही मालिकको जग्गा किन्न सफल हुन्छ ।
उपन्यास पढ्दै गर्दा मलाई आजको विकसित र चमकधमक चीनको चित्र आइरहेको थियो । कुनै बेला चीन यति गरीब र भोकमारीले ग्रस्त थियो भन्ने कुरा मेरो कल्पना बाहिरको कुरा थियो । कुरा के रहेछ भन्न बुझ्न मलाई चीनको इतिहास पल्टाउन बाध्य बनायो ।
त्यस बेला चीनको करिब ८० प्रतिशत जनसंख्या किसान रहेछन् । भूमि केही सीमित जमिनदारहरूको हातमा केन्द्रित रहेछ, जबकि बहुसंख्यक किसान ऋण, कर र प्राकृतिक विपत्तिले थिचिएका रहेछन् । उपन्यासमा चित्रित भोकमरी, सुख्खा र बाढी कल्पना होइन, सन् १८७० देखि १९०० को बीचमा चीनमा घटेका सयौँ वास्तविक वास्तविक घटना रहेछन् ।
त्यो बेला चीनमा पारिवारिक संरचना कठोर पितृसत्तात्मक थियो । पुरुष वर्चस्व, बहुपत्नीत्व र दास प्रथा सामान्य मानिन्थे । उपन्यासकी पात्र ओलान त्यस बेलाको चीनको प्रतिनिधि पात्र थिइन् । उनी कठोर श्रम र मौन पीडामा जीवन बिताउँछिन् । उनले परिवार उकास्छिन्, तर सम्मान र प्रेमबाट वञ्चित रहन्छिन् । उनको चरित्रमार्फत उपन्यासले स्त्रीको अदृश्य श्रम र समाजद्वारा गरिने उपेक्षालाई गहिरो रूपमा उजागर गरेको छ ।
किताब पढ्दै गर्दा मलाई यसले यति गहिरो प्रभाव पार्छ ls कथाको बीच–बीचमा किताब बन्द गरेर आँसु पुछ्नुपर्ने हुन्छ । दक्षिणी शहरको एउटा धनी घरबाट ओलानले मोती र रत्न लुकाएर ल्याएकी हुन्छिन्, वाङलुङले पनि केही सुन हात पार्छ । त्यही सम्पत्तिबाट उनीहरूले नयाँ जीवन शुरू गर्छन्—र त्यो नयाँ जीवन सोचेभन्दा धेरै सफल पनि हुन्छ ।
तर ओलानको कुरा अर्कै छ । मोतीको टप लगाउने उनको सानो, मौन इच्छा थियो—त्यो इच्छा उनले वर्षौँसम्म छातीमै टाँसेर राखेकी थिइन् । कानमा लाउँछु भन्ने चाहना व्यक्त गर्ने साहससमेत उनलाई थिएन । तर एक दिन वाङलुङले ती मोती माग्छ । पत्नीका सपनाहरू सुन्ने ठाउँमा, उसले ती मोती अर्की केटी—पेशेवर (वेश्या) कमलालाई दिन्छ । यहाँ आएर पछि मेरा दुई थोपा आँसु तरक्क चुहिन्छन् ।
पुरुष यति कठोर पनि हुन सक्छ भन्ने कुराले म अचम्मित हुन्छु । अनि आफ्नै समाजतर्फ फर्केर सोच्न थाल्छु—हाम्रा आमाहरूले यस्ता कति इच्छाहरू लोग्ने र समाजबाट लुकाए होलान्, आँसु पिएर । कति सपना त्यागेर पुरुषलाई जिताइरहे होलान् । फेरि आफैँलाई सम्झाउँछु—ओलान त दासी थिइन् । तर त्योभन्दा फरक के छ र ? नाममा दासी नभए पनि हाम्रा धेरै आमाहरू व्यवहारमा दासी हुन बाध्य भएको हामीले देखेकै हौँ ।
कथा करिब पचास वर्षको अवधिमा फैलिएको छ, जसले व्यक्तिगत जीवनकथालाई व्यापक सामाजिक परिवर्तनसँग जोड्छ । उपन्यासले बारम्बार सम्झाइरहन्छ—धर्ती केवल धर्ती मात्र होइन, यो मानवजातिको आधार, आश्रय र अस्तित्व नै हो । विशेषतः हामी एशियाली समाजका लागि यो सत्य अझ गहिरो रूपमा लागू हुन्छ ।
धनी र गरीबबीचको खाडल यस उपन्यासमा विशाल पाइन्छ । यही असमानता नै उपन्यासको मूल द्वन्द्व हो । वाङलुङले धन लुटेर धनी बन्नु केवल व्यक्तिगत सफलताको कथा होइन; यो वर्गीय असमानताबाट जन्मिएको असन्तोषको सङ्केत हो । यही असन्तोष, पछि गएर चीनमा कम्युनिस्ट आन्दोलनको सामाजिक आधार बन्न पुग्यो ।
अर्को कुरा यसमा दुई पुस्ता बीचको अलग सोचाइलाई पनि राम्रोसँग राखिएको छ । वाङलुङ र ओलानले जति दुःख गरेर जग्गाजमीन जोडेका थिए, जुन मोह उनीहरूलाई जमीनप्रति थियो त्यसको एक प्रतिशत पनि उनका सन्तानहरूमा जमीनप्रतिको लगाव देखिँदैन । यस खालको विडम्बनाले पनि उपन्यासले अनौठो छाप छाडिरहन्छ ।
यस उपन्यासलाई हाम्रा पुर्खासँग जोडेर हेर्दा मलाई माटो खोज्दै बर्मा र त्यहाँको ऐरावती नदीको उर्वर भूमिको याद आयो । हाम्रा पुर्खा पनि नेपालबाट गाईवस्तु डोर्याउँदै बर्मा पुगेका थिए । उनीहरूले त्यहाँ नयाँ जीवन सुरु गर्न र धर्तीमा मेहनत गरेर जीवन यापन गर्नुपर्ने चुनौती सामना गरेका थिए । माटोको खोजीमा हाम्रा पुर्खाले गरेको दुःखको विषयमा यस किसिमको उपन्यास लेखिएला कि नलेखिएला ! म सोचमग्न छु ।

