साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : बितेका दिनहरू

कविता : बितेका दिनहरू

बितेका दिनहरू

आज पनि मनको कुनामा

पुराना तस्बिरझैँ टाँसिएर बसेका छन्

धुलो लागेका सम्झनाहरू एक्कासि

हावाले उडाउँदा आँखा भिजाइदिन्छन्।

ती दिनहरू

जहाँ समयलाई कुनै हतार थिएन

घडीको सुईभन्दा अघि हाम्रो हाँसो दौडिन्थ्यो ।

सानो कुरा पनि ठुलो खुसी बन्थ्यो

ठुलो पीडा पनि सजिलै बिर्सिइन्थ्यो ।

बितेका दिनहरू…

आमाको काखजस्तै सुरक्षित थिए

बाबुको आँखाजस्तै भरोसायुक्त

जहाँ न हारको डर थियो

न जितको लोभ नै

केवल ‘आज’ थियो

‘भोलि’ थियो त केवल मिठो सपना।

त्यस बेला सपना निदाउँदैनथे

न जिम्मेवारीको काँध थियो

न कर्तव्यको भारी

मन स्वतन्त्र थियो

समय आफ्नै साथी ।

आकाशभन्दा फराकिलो मन थियो

साथी थिए आशा र विश्वास।

आज ती दिनहरूलाई सम्झँदा

मन चुपचाप मौन हुन्छ

हाँसोभन्दा अघि कर्तव्य आउँछ

भावनाभन्दा अघि बाध्यता उभिन्छ ।

बितेका ती दिनहरू

गल्ती पनि मासूम थियो

आँसु पनि छिट्टै सुक्थ्यो ।

आजकल त आँसु बग्नुअघि नै कारण खोज्नुपर्छ।

समय बग्यो,

मानिस फेरिए

हामी आफैँमा हामी रहेनौँ ।

तर ती बितेका दिनहरू हामीभित्र

कतै अझै बाँचेका छन्।

कहिलेकाहीँ ती गीतका धुनमा

ती नालीका गन्धमा

ती पुराना गल्लीमा

ती फिर्के खोलामा, फेवाताल

अनि बैदामका डहरमा

अचानक भेटिन्छन् ती दिनहरू र सोध्छन्

“खिमकाजी, तिमी ठीक छौ?”

उत्तर दिन सक्दिनँ

केवल मुस्कुराउँछु

किनकि बितेका दिनहरूलाई

झुट बोल्न मन लाग्दैन ।

ती दिनहरू फर्केर आउँदैनन्

तर जीवनलाई अर्थ दिन्छन्

त्यहाँदेखि यहाँसम्मको जग

उनीहरूले नै हालेका हुन् ।

बितेका दिनहरू

सम्झना र यादका पोया हुन्

जीवनको आत्मकथा हुन् ।

जबसम्म मन धड्किरहन्छ

तबसम्म ती दिनहरू हामीभित्रै अमर रहनेछन् !

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.