साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : बनूँ कर्मचारी

कविता : बनूँ कर्मचारी

बनूँ कर्मचारी अति व्यवहारी ।

निर्मल मुटुको र तनको सुघारी ।।

नरोजूँ म बङला नखोजूँ सवारी ।

बनूँ सर्वदा इष्ट सज्जन बिचारी ।।१।।

होओस् घाम चर्को हुरी हुत्तहुत्त ।

रमूँ कर्ममा दिनदिनै प्रवृत्त ।।

नबोलूँ कहिल्यै ´तिमी आऊ भोलि`।

के सक्किन्छ मेरो दिई मिष्ट बोली ।।३।।

न हुँ विचलित कुनै कोपबाट।

मुस्कान अबिरल दुई ओठबाट ।।

जति मिल्छ दाम उति खाऊँ माम ।

लालचहरूमा लगाऊँ लगाम ।।४।।

म दिऊँ सकेसम्म उत्कृष्ट सेवा ।

तुष्टि अरूको मेरो प्रीय मेवा ।।

सरोकारीलाई नमिलोस ठेस ।

झमेला नखेपून् , नखाऊन् हरेस।।५।।

कलम चोप्न पाऊँ म निष्ठा मसीमा ।

कलङ्कित हुनु छैन बुझ्छु म सीमा।।

छ बच्नु सधैं घुसका लोभबाट ।

नजन्मोस दुष्कर्म यी हातबाट ।।६।।

म उस्तै रहूँ ज्येष्ठ हुन् वा कनिष्ठ ।

म निष्पक्ष साना ठूलाका समीप ।।

बनूँ घामजस्तै अनि वायुजस्तै ।

सबै निम्ति उत्ति र उत्ति दुरुस्त ।।७।।

ट्याग: युगल बसेल
साझा गर्नुहोस्:
युगल बसेल

लेखकको बारेमा

युगल बसेल

थप रचनाहरू पढ्नुहोस् →

युगल बसेल (जन्म: वि.सं. २०२०, तुम्कोट, सन्धिखर्क–१, अर्घाखाँची) नेपाली साहित्यका कवि, निबन्धकार तथा हास्यव्यङ्ग्यकार हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा सङ्कायमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँ नेपाल सरकारको निजामती सेवामा उपसचिव पदसम्म कार्यरत रही वि.सं. २०७८ मा अवकाश प्राप्त गर्नुभएको हो । साहित्यिक यात्रा वि.सं. २०४५ मा युगधारा साप्ताहिकमा प्रकाशित ‘आह्वान’ शीर्षकको कविताबाट प्रारम्भ गर्नुभएका उहाँको प्रकाशित कृतिमा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह छक्का (२०७०) प्रमुख रहेको छ । हास्यव्यङ्ग्य साहित्यप्रति विशेष अनुराग राख्ने उहाँले कविता, कथा र बालसाहित्यका क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.