साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : मैले चुनाव हारेँ

गीत : मैले चुनाव हारेँ

मैले चुनाव हारेँ, हेर मैले चुनाव हारेँ !

लथालिङ्ग पारेँ पार्टी, लथालिङ्ग पारेँ ।

अक्कडिएँ, निमोठिएँ, मैले के बिराएँ ?

हुकुमी चलन चलाएँ, मैले के बिराएँ ?

मत घटाएँ, मत घटाएँ, रनभुल्ल पारेँ

मैले चुनाव हारेँ, हेर मैले चुनाव हारेँ !

लथालिङ्ग पारेँ पार्टी, लथालिङ्ग पारेँ ।

‘मै हुँ’ भन्ने ट्रम्प हार्थे, मोदी पनि हार्लान्

आज नाक फुलाउनेका ग्राफ तल झर्लान्

यही कल्पी अहम् त झन् कराँतिलो पारेँ

मैले चुनाव हारेँ, हेर मैले चुनाव हारेँ !

लथालिङ्ग पारेँ पार्टी, लथालिङ्ग पारेँ ।

झिँगाले सराप्दा कतै डिँगा मर्ने हैन

विरोधीले खुच्चिङ भनून्, सेखी झर्ने छैन

झोले हुललाई गुलामीमा मख्खै चख्खै पारेँ

मैले चुनाव हारेँ, हेर मैले चुनाव हारेँ !

लथालिङ्ग पारेँ पार्टी, लथालिङ्ग पारेँ ।

विपक्षीलाई रौँझैँ ठानेँ, मैले के बिगारेँ ?

मत बझाउने पाखा पारेँ, पाहाझैँ पछारेँ

आफैँ पनि पछारिएँ, सुद्धि नसुधारेँ

मैले चुनाव हारेँ, हेर मैले चुनाव हारेँ !

लथालिङ्ग पारेँ पार्टी, लथालिङ्ग पारेँ ।

ट्याग: युगल बसेल
साझा गर्नुहोस्:
युगल बसेल

लेखकको बारेमा

युगल बसेल

थप रचनाहरू पढ्नुहोस् →

युगल बसेल (जन्म: वि.सं. २०२०, तुम्कोट, सन्धिखर्क–१, अर्घाखाँची) नेपाली साहित्यका कवि, निबन्धकार तथा हास्यव्यङ्ग्यकार हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा सङ्कायमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँ नेपाल सरकारको निजामती सेवामा उपसचिव पदसम्म कार्यरत रही वि.सं. २०७८ मा अवकाश प्राप्त गर्नुभएको हो । साहित्यिक यात्रा वि.सं. २०४५ मा युगधारा साप्ताहिकमा प्रकाशित ‘आह्वान’ शीर्षकको कविताबाट प्रारम्भ गर्नुभएका उहाँको प्रकाशित कृतिमा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह छक्का (२०७०) प्रमुख रहेको छ । हास्यव्यङ्ग्य साहित्यप्रति विशेष अनुराग राख्ने उहाँले कविता, कथा र बालसाहित्यका क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.