सानैदेखि मैले गाउँघरमा एउटा उखान खुब सुन्थेँ- ‘मामाको घोडा मेरो हिही ।’ के भनेको होला यो उखानले ? धेरै समयसम्म मैले यसको मर्म बुझ्न सकिनँ । हिजोआज भने लाग्छ, जुन पुर्खा वा समाजले यो उखान बनायो, तिनको चेतना र दूरदर्शिता गजबकै हुनुपर्छ ।
आमा र मामा- संसारमा सबैभन्दा आत्मीय र प्यारो नाता ! यति प्यारो सम्बन्ध भएपछि मामाको जायजेथामा भान्जाले अलिअलि हक र आत्मीयता खोज्नु स्वाभाविकै भयो । मामाको घोडा रहेछ भने भान्जालाई चढ्न र कुदाउन कसले रोक्ने ? रोक्ने कुरै भएन । अनि त भान्जाले मामाको घोडा डोर्याउँदै चउरमा पुर्याउँछ र आफ्नो रहर पूरा गर्न तम्सिन्छ । तर सवारीको कला र घोडाको मर्म उसलाई के थाहा ? अनि त घोडा पीडाले ‘हिही’ गर्दै हिनहिनाउन थाल्छ । शायद यही हो- मामाको घोडा मेरो हिही । मैले जीवन-यात्राका कयौँ मोडहरूमा यस्ता भोका घोडाहरू र तिनको कारुणिक हिनहिनाहट देखेको छु ।
यस पटकको मेरो काठमाडौँ-हेटौँडा यात्रामा भने यो उखानको जीवन्त प्रयोग बडो कुरूप ढङ्गको देख्न पाइयो । मलाई लाग्यो- मामाले दुःखले आर्ज्याको धन खर्चेर किनेको घोडाको मूल्य ती दलालहरूलाई के थाहा ? न घोडाको स्याहारसुसारको वास्ता, न त्यसलाई सही ढङ्गले डोर्याउने कला ! सित्तैमा पाएको अधिकार र कमिसनको घोडा चढ्नेहरूले गर्ने दुरुपयोगको विडम्बना अन्ततः निरीह यात्रु (घोडा) र सवारी धनी (मामा) दुवैले भोग्नुपर्दो रहेछ । जुन कुशलताका साथ प्रणाली चल्नुपर्ने हो, त्यो चल्दैन र सेवा नै निकम्मा बन्न पुग्छ । उखानले एक वाक्यमा धेरै कुरा बोल्छ- यसले समाज, संस्कृति र हाम्रो विकृत व्यवहारको ऐना देखाएर दिमाग झनन्न पारिदिन्छ ।
ग्वार्कोको चिसो र ‘ढ्यापढ्यापे’ संस्कृति
गत वर्ष फागुन महिनाको दोस्रो हप्ताको कुरा हो । एउटा आइतबार बिहान ८ बजे हामी हेटौँडा, वीरगञ्ज, रक्सौल र कोलकाता हुँदै श्रीलंकाको कोलम्बोसम्मको लामो यात्राका लागि घरबाट निस्केका थियौँ । काठमाडौँमा अलिअलि चिसो बाँकी नै थियो । सुवर्णजी र म करिब एक महिना लामो भारत-श्रीलंका यात्राको रोमाञ्चक योजनासहित निस्केका थियौँ । पिठ्यूँमा छरिता ब्यागहरू थिए । लामो यात्रामा गह्रौँ सुटकेसभन्दा पछाडि बोक्ने ब्याग नै सजिलो हुने ठानेर हामी ‘पक्का पर्यटक’ को भेषमा आफ्नै दुई गोडाले सडक नाप्न थाल्यौँ । हामी दुवैको रोजाइ ठ्याक्कै मिलेको थियो ।
हामी ग्वार्को चोक पुग्नासाथ ‘महानगर यातायात’ को एउटा बस हाम्रै अगाडि आयो । सहचालकले गुडिरहेकै बसको बडीमा हातले ‘ढ्याप्प’ हिर्काएर चालकलाई रोक्ने चेतावनी जारी गर्यो । म यसलाई ‘ढ्यापढ्यापे’ बस भन्न रुचाउँछु । गाडी गुडाउनु होस् वा रोक्नु, काठमाडौँका सहचालकहरूले प्रयोग गर्ने मुख्य भाषा नै बसको ढोकामा हत्केलाले हिर्काउनु हो, जुन ध्वनि बडो वाक्कलाग्दो र कर्कस हुन्छ । चालकले त्यो आक्रामक आदेश पालना गर्यो, बस ब्रेक लगाउँदै अडियो ।
ग्वार्कोमा हामीसँगै बस चढिन् एक जना मोटी र भद्र महिला, झट्ट हेर्दा कुनै ‘मेमसाब’ जस्तै देखिने । उनीसँग एउटी सानी बच्ची पनि थिइन् । बच्ची निकै रिसाएजस्ती देखिन्थिन्, उनको अनुहार निलोकालो भएको थियो । उनी घरीघरी ‘पठाओ… पठाओ…’ भन्दै गनगन गरिरहेकी थिइन् । शायद उनले पठाओको मोटरसाइकलमा जाऊँ भनेकी थिइन् र आमाले चाहिँ पैसा जोगाउन बसमा कोचिने जिद्दी गरेकी थिइन् । कुरा नमिलेरै छोरी रिसाएकी होली भन्ने मैले अनुमान गरेँ । आजभोलि काठमाडौँमा ‘पठाओ’ वा ‘इन्ड्राइभ’ को राज छ । युवा पुस्ताका लागि बस चढ्नुभन्दा पठाओमा सवार हुनु प्रतिष्ठा र गौरवको विषय बनेको छ । हामी यो प्रविधिबाट बेखबर त थिएनौँ तर समय खुकुलो राखेर निस्केकाले सार्वजनिक बस नै छान्यौँ । हामीलाई समयको कुनै कसिलो बन्धन थिएन ।
यदि तपाईंले कहिल्यै सार्वजनिक बसमा यात्रा गर्नुभएको छ भने थाहा पाउनुहुनेछ- त्यहाँ मानिशहरूको अनौठो विविधता हुन्छ । अनेक भाषा, अनेक अनुहार, फरक-फरक आर्थिक स्तर, फरक चाहना र बोली वचनको एउटा सानो संसार नै हो बस । त्यसैले, कहिलेकाहीँ म समाजलाई नजिकबाट नियाल्न सार्वजनिक बस रोज्छु । हाम्रो गन्तव्य थियो- बल्खु, अनि त्यहाँबाट टाटा सुमो चढेर हेटौँडा हुँदै वीरगञ्ज ।
सातदोबाटोको दुर्गन्ध र अशिष्टताको दुष्चक्र
हेर्दाहेर्दै बस सातदोबाटो पुग्यो । आकासे पुलमुनि पुगेपछि सहचालकले फेरि बसमा एक चड्कन लगायो- ढ्याप्प ! बस स्थिर भयो । उसको त्यो चड्कनसँगै मेरो ध्यान सडक किनारको दृश्यतिर गयो । आकासे पुलको भित्तालाई सहारा बनाएर त्यहाँ एउटा शानदार ‘खुला शौचालय’ चलिरहेको रहेछ । चिसो हावासँगै मलमूत्रको भयंकर दुर्गन्ध नाकका प्वालहरूबाट सिधै भित्र छिर्यो । त्यो गन्धको ठक्करले मलाई कताकता वाकवाकी नै आउलाजस्तो भयो । बसलाई अलिकति अगाडि बढाएर रोकेको भए यो सास्ती भोग्नुपर्ने थिएन भन्ने लागेर मैले सहचालक भाइलाई लक्षित गर्दै बडो शिष्ट भाषामा भनेँ- “भाइ, अलि सफा ठाउँमा रोक्न मिल्दैन ? यहाँ त साह्रै दुर्गन्ध रहेछ, वाक्कै आउलाजस्तो भयो !”
मैले निकै डराई-डराई यो हिम्मत जुटाएको थिएँ । डराएको किनभने हामीकहाँ सार्वजनिक यातायातमा शिष्टता, आदर र मानवीय सम्मानको ठूलो खडेरी छ । यहाँका चालक र सहचालकहरू यात्रुलाई मुखमा जे आयो त्यही प्याच्च दुर्वाच्य बोलिहाल्छन् । यिनलाई न मानिसको मर्यादाको ख्याल छ, न मानवीय भावनाको संस्कार । यिनको एकमात्र ध्याउन्न भनेको यात्रुबाट कसरी बढीभन्दा बढी पैसा असुल गर्ने भन्ने मात्र हो- चाहे मानिसलाई गुन्द्रुक खाँदेझैँ खाँदेर होस्, या लैङ्गिक संवेदनशीलताको धज्जी उडाउँदै महिलाहरूलाई पुरुषको भीडमा घचेटेर होस् । यिनलाई व्यावसायिक शिष्टाचारको तालिम न कुनै बस कम्पनीले दिन्छ, न सवारी व्यवस्थापन गर्ने सरकारी निकायले नै आवश्यक ठान्छ । वर्षौँदेखि यो क्षेत्र यही कुसंस्कारको दुष्चक्रमा घुमिरहेको छ ।
मेरो कुरा सुनेर सहचालकले तीखो वचनको वाण त प्रहार गरेन, तर मतिर रिस र घृणामिश्रित ‘कुच्चिएको देक्ची’ जस्तो अनुहार बनाउँदै आँखा भने तर्यो । अनि आफ्नो दोष अरूमाथि थुपार्ने नेपाली शैलीमा भन्यो- “के गर्नु अङ्कल, नगरपालिकाले यहाँ एउटा ट्वाइलेट बनाइदिएको भए यस्तो हुँदैनथ्यो, गर्दैनन् के गर्नु ?” उसको जवाफले स्पष्ट पार्यो- दोष थुपार्ने ठाउँ जहिले पनि तयार हुन्छ, तर आफ्नो जिम्मेवारीबोध कत्ति पनि हुँदैन ।
हुन त हामीकहाँ सार्वजनिक शौचालयहरूको हालत पनि त्यो खुला सडकभन्दा कहाँ फरक छ र ? मलमूत्र विसर्जनका लागि बनाइएका सरकारी कार्यालय वा सडक किनारका शौचालयभित्र पस्नु र भयानक दुर्गन्ध झेल्नुभन्दा मानिशहरू बाहिरै हल्का हुन रुचाउँछन् । कुनै भवनभित्र पस्नासाथ ह्वास्स दुर्गन्ध आयो भने बुझ्नुहोला- त्यो कुनै सरकारी कार्यालय हो ! त्यहाँ सफाइ गर्ने कर्मचारी होलान्, वा कुनै ठेक्का होला, तर तिनको चासो सफाइमा कम, महिना मर्नुमा बढी हुन्छ । कामै नगरी तलब खानुमा गौरव गर्ने हाम्रो राष्ट्रिय चरित्र नै बनिसकेको छ । जब मनमै फोहरको डङ्गुर छ भने सडकमा फोहर देखिनु कुन नौलो कुरा भयो र ! अरूका कमजोरी केलाउन हामी जति सिपालु छौँ, आफूलाई सुधार्न त्यत्ति नै उदासीन छौँ ।
कानून तोड्नुको ‘विकृत गौरव’
सहचालक मलाई जवाफ दिएर फेरि आफ्नो मुख्य ध्याउन्नमा लाग्यो- “आउनुस्, आउनुस् बल्खु, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क…!” चालकले पनि हाम्रो संवाद सुनेको हुनुपर्छ, अगाडि अर्को गाडी भएकाले रिसको झोँकमा पछाडिबाट धक्का नै दिउँलाझैँ गरी गाडी अगाडि हुत्यायो र कानै फुट्ने गरी हर्न बजायो । उपत्यकाभित्र हर्न निषेध गरिएको वर्षौँ भइसक्यो, तर नियमको धज्जी उडाउनेहरू जताततै छन् । ट्राफिक प्रहरी आँखाबाट ओझेल पर्नासाथ हर्न थिचिहाल्छन् ।
हामीकहाँ कानून बन्छन्, नीति बन्छन्, तर लागू गर्ने र अनुगमन गर्ने संयन्त्र सधैँ ‘रामभरोसे’ हुन्छ । चर्को हर्नले टाउको नै फुट्लाजस्तो भएपछि मैले फेरि चालकलाई भनेँ- “भाइ, हर्न बजाउन त नपाइने भनेको छ, हैन र ?”
“अहिले ट्राफिक छैन नि दाइ ! ट्राफिक आएपछि बजाउन पाइँदैन, अहिलेलाई फ्री !” ऊ मतिर हेरेर फिस्स हाँस्यो । उसको अनुहारमा एउटा यस्तो चमक थियो, मानौँ उसले कानून तोडेर संसारकै सबैभन्दा ठूलो र गौरवलायक वीरताको काम गरेको छ ।
हामीकहाँ कानून मानेर होइन, कानून तोडेर मक्ख पर्ने अनौठो रोग छ । अनुशासन पालना गरेर सुसभ्य बन्नुमा होइन, नियमको अवज्ञा गर्नुमा बहादुरी देख्छ हाम्रो मनोविज्ञान । ड्राइभर सवारी नियम उल्लङ्घन गरेर मख्ख पर्छ, कर्मचारी सेवाग्राहीलाई दुःख दिएर र काम पन्छाएर गर्व गर्छ, शिक्षक नपढाई तलब पकाएर खुशी हुन्छ, उद्योगी कमसल सामान बेचेर र उपभोक्ता ठगेर आफूलाई सफल व्यापारी ठान्छ, ठेकेदार काम ओगटेर अलपत्र पार्नमा आनन्द लिन्छ । हाम्रा गौरवका विषयहरू नै विकृत छन् ।
अझ सवारी नियम पालना गराउने जिम्मा पाएका ट्राफिक प्रहरी पनि कहाँ कम छन् र ! निहुँ खोजेर खल्ती भर्ने मेलो पाइहाल्छन् । हातमा चिटको प्याड लिन्छन्, अनि खल्ती चाहिँ सहचालकतिर ह्वाङ्ग पारेर देखाउँछन् । खल्तीमा ‘गुन्टा’ भरिएको अनुभव हुनासाथ ‘जा भाग् !’ भन्दै ठूलो स्वरमा फट्कारेर पैसा पचाउँछन् र गाडी छोडिदिन्छन् ।
बल्खुको चक्रव्यूह र दलालहरूको रमिता
यस्तै बेथितिका चाङ खोतल्दै र गतिविधि नियाल्दै हामी बल्खु चोक पुग्यौँ । हेटौँडा जाने सुमो अड्डानजिकै बस रोकियो । अब यहाँबाट अर्को रमिता शुरु भयो ।
हामी बसबाट ओर्लन मात्र के लागेका थियौँ, एउटा हुल केटाहरूले हामीलाई चारैतिरबाट घेराबन्दी गरे । कोही नयाँ मानिस वा गाउँबाट भर्खर आएको सोझो यात्री हुन्थ्यो भने त अपहरणमा परेँ कि भनेर आतङ्कित नै हुन्थ्यो होला ! तर हामी भुक्तभोगी थियौँ । मैले हाँस्दै भनेँ- ‘के हो भाइहरू, हामीलाई गिरफ्तार गर्न लाग्या हो कि क्या हो ? भुइँमा खुट्टा त टेक्न देऊ, अनि हामी तिम्रै त हौँ नि !’ तर मेरो ठट्टाको उनीहरूलाई के मतलब ? उनीहरूको घेराबन्दी र शब्द-आक्रमण जारी रह्यो ।
‘अङ्कलहरू हेटौँडा हो कि सिमरा ? गाडी खाली छ, चार जना भएपछि हिँडिहाल्ने हो । आउनुस् अङ्कल हिँड्नै लाग्या हो, नपत्याए आउनुस् !’ एक से एक आकर्षक अफरहरू तँछाडमछाड गर्दै ओइरिन थाले । कसको कुरा सुन्ने, कसको नसुन्ने ? उनीहरू हाम्रा अङ्गरक्षक हुन् कि अपहरणकर्ता- छुट्याउन मुश्किल थियो । उनीहरूले एउटा चक्रव्यूह निर्माण गरेर हामीलाई त्यसमा कैद गरिसकेका थिए ।
मैले त्यो चक्रव्यूह तोड्ने एउटा झुटो अस्त्र प्रहार गरेँ- ‘हैन भाइहरू, हामी त कीर्तिपुर जाने हो, हेटौँडा-सेटौँडा होइन ।’ तर मेरो अनुहारको भावले मेरो झुट पक्रियो होला, उनीहरूले पत्याएनन् । बरु अझ बढी जोरजबर्जस्ती गर्दै थपे- ‘अङ्कल आउनू न, सिट खाली छ, सेकेन्ड सिटमा बस्नुस् । पाँच जना भएपछि हिँडिहाल्छ ।’
उनीहरूको धाराप्रवाह मौखिक अफरको भारीले हामी थिचिँदै सडकको किनारामा उभिरह्यौँ । उनीहरूको प्रेमिल र आत्मीय शब्द सुन्दा लाग्थ्यो- उनीहरू हाम्रो सेवाका लागि भगवानले पठाएका दूत हुन् र हामी त्यही सेवा लिनका लागि खडा भएका सुपात्र हौँ । केही बेरमा घेराबन्दी अलि खुकुलो भयो, अर्को अफरवाला फुत्त अगाडि आयो । मैले फेरि त्यही नाटक दोहोर्याएँ- ‘हामी त कीर्तिपुर जाने हो भाइ !’
‘अनि कीर्तिपुर त यता हैन नि !’ एउटा ख्याउटे केटाले आश्चर्य मान्दै भन्यो । म फिस्स हाँसेँ । म उभिएको देखेर टिकटको प्याड हातमा लिएको एउटा नाइकेजस्तो देखिने व्यक्ति अगाडि सर्यो र बडो अनुनय गर्दै भन्यो- ‘अङ्कलहरू, दोस्रो लहरको सिटमा बस्नुस् न, अरू मान्छे आउँछन् क्या अङ्कल, कुरा बुझिदिनु न ! यसरी बाहिरै बसिरहनुभयो भने तपाईंलाई पनि ढिलो, हाम्रो पनि गाडी खाली । पैसा अहिले दिनु परेन, तर बस्न त बसिदिनुस् ।’
दलालीको त्यो बादल फाटेपछि हामीलाई पनि सडकमा उभिरहनुभन्दा गाडीभित्र बस्नु नै उचित लाग्यो । अन्ततः हामी उनीहरूको सवारी कैदी बन्दै सुमोभित्र स्वैच्छिक रूपमा प्रवेश गर्यौं । हामी सिटमा बस्नासाथ त्यो नाइके भाइ चिन्तित मुद्रामा फतफताउँदै अर्को ग्राहकको खोजीमा दौडियो- ‘लाऽऽ… त्यो बहिनी कता जानुभो फेरि ! एउटा त भेटेको थिएँ, फेरि हराउनुभो ।’ उसको आँखाको टर्च बालेर ग्राहक खोज्ने युद्ध निकै बेर चलिरह्यो । हामी भने सुमोको सिटमा विराजमान भएर ‘सुमो सेवा चलचित्र’ को पहिलो भागको मजा लिन थाल्यौँ ।
टिकटको कालोबजारी र ड्राइभरको बिलौना
एकछिनपछि यात्रु सङ्ख्या २ बाट बढेर ६ पुग्यो । त्यही नाइके फेरि झुल्किएपछि मैले मौका छोपेँ- ‘भाइ, पाँच जना भएपछि हिँडिहाल्ने हो भन्या हैन ? छ-सात जना त हुन लाग्यौँ त !’
मैले यति भन्न पाएको थिएन, गाडीको साँचो हल्लाउँदै चालक फुत्त झुल्कियो । उसले बडो निन्याउरो र लाचार अनुहार बनाउँदै भन्यो- ‘कहाँ दाइ, सात जना लिएर गयो भने त तेलको खर्च पनि उठ्दैन, हजुरलाई थाहै छ नि !’ उसले हामीसँग यस्तो पाराले कुरा गर्यो, मानौँ ऊ हाम्रो लामो समयदेखिको मित्र हो र हामी गाडी व्यवसायका महाविद्वान हौँ । उसको अफर अब दोस्रो चरणमा प्रवेश गर्यो- ‘आठ जना भए त हिँडिहाल्ने हो ।’
यत्तिकैमा आधा घण्टा बित्यो । बल्ल उसले गाडी स्टार्ट गर्यो र अलि माथि उकालेर ओत लगायो, तर इन्जिन फेरि बन्द गर्यो । अब शुरु भयो ‘बम्पर अफरमा बहु-टिकट बिक्री’ को अर्को प्रहसन । सुमोको अगाडिको (ड्राइभरसँगैको) सिट खाली थियो । त्यो एउटै सिट ती बुकिङवालाहरूले ५-६ जना यात्रुलाई बेचिसकेका रहेछन्, जुन कुरा हाम्रै कानले सुनिसकेको थियो । गाडीमा मानिस नबस्नुको फाइदा उठाउँदै उनीहरूले त्यो ‘स्वर्णिम सिट’ को विज्ञापन सबैलाई गरेका थिए ।
अन्ततः आठ जना यात्रु पुगेपछि चालकले आदेश जारी गर्यो- ‘गाडी मातातीर्थ हुँदै जाने हो, हिँडौँ अब सबै जना बस्नुस् ।’ हामी मौन आदेशपालक भयौँ ।
‘एकजना मातातीर्थमा छ, त्यतैबाट लिँदै जाने अब,’ चालकको नयाँ फरमान आयो । तर जब मातातीर्थ पुग्यौँ, त्यहाँ अगाडिको सिट बुक गरेका यात्रुहरूबीच लफडा शुरु भयो । दुईजनाले अड्डी कसे- ‘मलाई जुन सिट भनेको छ, त्यही चाहिन्छ, नत्र पैसा फिर्ता देऊ !’
अब चालकको अनुहार हेर्न लायक भयो । उसले रिस र झर्को मान्दै भन्यो- ‘यी बुकिङवालाहरू पनि अति नै गर्छन् । मलाई चलान बुझाएर, कमिसन लिएर चम्पट भइसके । अब तिनलाई कहाँ खोज्नु ? कमिसन पनि बुझाउनु, यात्रीको लफडा पनि बेहोर्नु ! यत्रो पैसा तिरेर गाडी किन्यो, मोज चाहिँ यिनलाई ! एउटा सिट तीन जनालाई बेच्दिया छन्, कसलाई छोड्नु कसलाई बसाउनु ?’
ड्राइभरले हुनसम्म आफ्नो बिलौना सुनायो । हुन पनि हो- न लगानीको जोखिम, न कर-राजस्वको झमेला, न कुनै बुद्धिको आवश्यकता ! यात्रु जम्मा पार्यो, दलाली गर्यो, धम्क्यायो, कमिसन लियो र चम्पट कति मजाको व्यवसाय ! मामाको घोडा मेरो हिही ! यात्री र व्यवसायी दुवै ठगिने यो ‘चलचित्र’ कहिले रोकिने होला ? हामी चालकको विवशतामा सहानुभूति प्रकट गर्छौँ । चालक यात्री व्यवस्थापनको तनावले असिनपसिन भएको थियो । धन्न, अगाडिको सिट दाबी गर्नेमध्ये एकजना भलाद्मी युवा परेछन् । चालकले अनुनय गर्यो- ‘तपाईं जवान मान्छे, पछाडि बसिदिनुस् न ल ! बेइमानी त बुकिङवालाले गरिहाले, के गर्नु !’ प्रतिवाद गर्न नसक्ने भलाद्मीलाई नै पछाडि कोच्ने चालकको चलाखी पनि सधैँको अभ्यासबाटै आएको देखिन्थ्यो । त्यो युवा मुख अमिलो पार्दै बर्बरायो- ‘तिमीहरू सब यसै गर्छौ, म सबैभन्दा पहिले आएर टिकट काट्ने, मलाई नै अन्तिममा पुर्यायौ, बेइमानहरू !’
डिजिटल युग र हाम्रो कछुवा गति
यो दृश्य हेर्दा जति रसिलो लाग्थ्यो, भोग्दा त्यत्तिकै दिक्दारलाग्दो थियो । मानिस बाहिर एउटा र भित्र अर्को भएर बाँचेको छ यो क्षेत्रमा । जे हो, त्यही कुरा प्रष्टसँग भनेको भए यात्रा गर्नेहरू त मन बुझाएरै बस्थे, न ड्राइभरलाई यति सकस हुन्थ्यो, न यात्रु खिन्न हुन्थे ।
आज विश्वका धेरै देशहरूमा सार्वजनिक यातायात प्रणाली पूरै स्वचालित र सूचना प्रविधिमा आधारित भइसकेको छ । कुन गाडीको, कति नम्बरको सिट खाली छ भन्ने कुरा यात्रुले मोबाइल एपबाटै हेरेर बुकिङ गर्छन्, जहाँ दलालको अनुहार नै देख्नुपर्दैन । हाम्रो छिमेकी देश भारतले समेत यो क्षेत्रलाई निकै व्यवस्थित बनाइसकेको छ । तर हामी भने अझै पनि सडकभरि अवैध काउन्टर राखेर दलालको झुण्ड पाल्नमै व्यस्त छौँ ।
हाम्रै शहरमा पठाओ, इनड्राइभ जस्ता डिजिटल एप्सले साना सवारीलाई व्यवस्थित गरिसके । ‘उबर’सँग भौतिक रूपमा एउटै पनि ट्याक्सी छैन, तर प्रविधिको प्रयोग गरेर ऊ संसारकै सबैभन्दा ठूलो ट्याक्सी कम्पनी बनेको छ । यो ज्ञान हाम्रा सुमो सञ्चालक र शासन हाँक्नेहरूलाई कहिले आउने होला ? यत्रो हैरानी खपेर दलाललाई मोटाउन दिनुभन्दा प्रविधिको प्रयोग गर्नु कति हितकर हुन्थ्यो होला !
यमलोकको यात्रा र डोजर इन्जिनियरिङ
गाडी कलङ्की हुँदै मातातीर्थको उकालोतिर बढ्यो । बाटोमा एक जना यात्रुले डराउँदै सोधे- ‘अस्ति गाडी दुर्घटना भएको ठाउँ यही बाटोमा होइन ? किन फेरि यही बाटो ल्याएको ?’ समाचारको त्रास उनको अनुहारमा प्रष्टै देखिन्थ्यो । कोही यात्रु त्रसित मुद्रामा मौन थिए भने कोही सारमा सार मिलाउँदै थिए । मानिसमा मृत्युको कति ठूलो भय छ ! दुर्घटना त जहाँ पनि हुन सक्छ, तर त्यो बाटोको कुरुपताले डरलाई अझ बढाएको थियो ।
चालकले ठूलो आश्वासन दिँदै भन्यो- ‘ज्यानको माया त हामीलाई पनि छ नि हजुर, नआत्तिनुस्, गाडी सुरक्षित जान्छ । गाडी नै नचल्ने भए हामी पनि ज्यानको माया मारेर चलाउँदैनथ्यौँ नि !’
त्यतिबेला काठमाडौँबाट हेटौँडा जोड्ने अन्य लामा सडकहरू बन्द भएकाले यो छोटो बाटो जेनतेन चलिरहेको थियो । गाडी चंखु, मातातीर्थ र चन्द्रागिरिको ठाडो उकालो हुँदै भञ्ज्याङ पुग्यो । केही दिनअघि मात्रै यही उकालोमा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका एकजना होनहार डाक्टर र उनको पूरै परिवारलाई सम्झेर मेरो हृदय भारी भयो । सडक नियाल्दा त्यति धेरै डराउनैपर्ने त थिएन, तर चालक निकै होशियार हुनुपर्ने आवश्यकता देखिन्थ्यो ।
विडम्बना ! केही वर्षदेखि हाम्रा सडकका मुख्य इन्जिनियरहरू डोजरका मालिक र चालक बनेका छन् । सडकको चढाइ, मोड, भौगोलिक जग र भूसंरचनाको वास्ता नगरी जथाभावी पाखा खनेर सडक बनाउने ‘डोजर संस्कृति’ हाबी भएको छ । त्यसैले, हाम्रा स्थानीय सडकहरू बाढी, पहिरो र भूस्खलनका कारखाना बन्दैछन् र नागरिकका लागि ‘यमलोकको यात्रा’ गर्ने सजिला मार्ग जस्ता भएका छन् । सीमित साधनस्रोतको यो भन्दा कुरुप प्रयोग अरू के हुन सक्छ ?
त्यसबेला मातातीर्थ-चित्लाङ सडक विस्तारको काम चलिरहेको थियो । कहीँ मोड सुधारिँदै थियो, कहीँ पर्खाल त कहीँ नाला निर्माण भइरहेको थियो । सडक निर्माणको कछुवा गति देख्दा अचम्म लाग्थ्यो । कयौँपटक यही बाटो आवतजावत गर्ने एक सहयात्रीले आफ्नो आक्रोश र पीडा पोखे- ‘वर्षौँदेखि यो ठेक्का अलपत्र छ अङ्कल ! ठेकेदारले वर्षमा दुई महिना काम गरेजस्तो गर्छ, कमिसन बुझाउँछ अनि फेरि बेपत्ता हुन्छ । यो क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र हो, तर बाटोको यो सास्तीले गर्दा मन खिन्न हुन्छ । धुलाम्मे सडकका कारण स्थानीय बासिन्दाका घरका छाना र बोटबिरुवाका पातहरू धूलोले पुरिएर हेरिनसक्नु भएका छन् । यहाँ श्वासप्रश्वासका रोगी कति बढे होलान्, यसको लेखाजोखा कसले गर्ने ? सडक नै अवरुद्ध गरेर आन्दोलन नगर्दासम्म सरकारले सुन्दैन । हाम्रा सडक ठेक्काहरू चरम बेथितिका नमुना हुन् । साँढेको जुधाइमा बाछाको मिचाइ भनेझैँ सोझा जनता सधैँ पीडामा छन् ।’
अर्का यात्रुले आक्रोश थपे- ‘नेता दाहिना हुनुपर्छ हजुर, यो देशमा जसले जे गरे पनि हुन्छ । कानून र नियम त गरिबलाई मात्रै हो । अगुवा नै बेइमान भएपछि के लाग्छ ? व्यवस्था जतिसुकै फेरिए पनि नेता इमानी नभएसम्म देश सुध्रिँदैन ।’
मैले चालक भाइलाई सोधेँ- ‘कति वर्ष भयो भाइ यो बाटो बनाउन थालेको ?’
उसले लामो सुस्केरा हाल्दै भन्यो- ‘७-८ वर्ष भइसक्यो दाइ ! वर्षमा दुई महिना काम हुन्छ, अरू बेला उही पारा । हिलो र धूलोले गाउँले पनि पीडित, हामी पनि पीडित । देश नै ठेकेदारले चलाएको जस्तो छ । सरकार ठेकेदारलाई देखाउँछ, ठेकेदार पैसा पाएन भन्छ । म्याद थप्दा-थप्दा दोब्बर समय बित्छ । कर्मचारी र नेता नयाँ आउँदा केही दिन काम भएजस्तो हुन्छ, जब कुरा मिल्छ (सेटिङ हुन्छ), फेरि काम बन्द ! यो छोटो बाटो बन्न थालेको एक दशक हुन लाग्यो, कहिल्यै सकिएन । देशको माया गर्ने नेता नभएपछि यस्तै हो दाइ !’
चिसापानी गढी र ‘मटन भात’ को अर्थशास्त्र
हामी पहाडका हरियाली र दायाँबायाँका सुन्दर दृश्य नियाल्दै, तर मनभित्र बेथितिका नरमाइला तरङ्गहरू बोक्दै कुलेखानी ड्याम हुँदै अगाडि बढ्यौँ । उकालो काटेपछि सडक कालोपत्रे आयो, गाडीको थर्काइ कम भयो र यात्रुहरू बिस्तारै निदाउन थाले ।
केही बेरमा गाडी चिसापानी गढीनजिकै एउटा होटलमा रोकियो । बिहानको खाना खाने ठ्याक्कै बेला त भइसकेको थिएन, तर गाडीवालाको आफ्नै ‘सेटिङ’ को तालिका थियो । गाडी रोकिनासाथ होटलवाला साहुनीको अनुहारमा हर्षको बिजुली चम्कियो । उनी बाहिर निस्केर हतार-हतार भन्न थालिन्- ‘ल खाना खान बसिहाल्नुस्, सादा खाना, मटन खाना, माछा खाना, चिकन खाना, ल है बस्नुस् !’
उनको त्यो व्यावसायिक तत्परता हेर्नलायक थियो । तर, सबै यात्रुहरू केही नबोली सिधै पिसाबघरतिर सोझिएपछि साहुनीको अनुहारमा एकाएक कालो बादल मडारियो । शौचालयबाट फर्केका यात्रुमध्ये दुईजना मात्र बेन्चमा बसेर अर्डर गरे- ‘एक कप चिया खाऊँ न, खाना त हेटौँडामै खानुपर्ला ।’ अर्का एकजनाले सादा खाना मगाए । होटलको व्यापार बढ्ने छाँट देखिएन ।
तर चालक भाइ भने बडो शानका साथ भित्र पस्यो र खानाको प्रतीक्षा गर्न थाल्यो । साहुनीले यात्रुहरूतिर एकपटक अमिलो नजर दौडाइन् र चालकको सेवामा प्रवृत्त भइन् । ९ जना यात्रुमध्ये जम्मा एक जनाले सादा खाना खाँदा चालकलाई मटन (मासु) भातको विशिष्ट सेवा दिनुको ‘अर्थशास्त्र’ साहुनीको अनुहारमा प्रष्टै पढ्न सकिन्थ्यो ।
चालकले मासुको प्लेटमा पहिलो नजर लगायो र भातमा मासुको झोल हालेर तृप्तिका साथ खान थाल्यो । साहुनीको पीडा बुझेर मैले भनेँ- ‘आज खाना खाने यात्रु र चालक दल बराबर भएछन् हगि साहुनी ?’
साहुनीले भनिन्- ‘के गर्नु हजुर, कहिलेकाहीँ यस्तै हुन्छ । हेटौँडा नजिकै छ, त्यहीँ गएर खान्छौँ भन्छन् । यहाँ खाने त धेरै भोकाएका मात्रै हुन् । यस्ता गाडीलाई खाना खुवाउन त मन लाग्दैन, तर के गर्नु… !’ साहुनीको कुरामा घाटाको हिसाब प्रष्टै देखिन्थ्यो ।
‘साहुनी, अलिकति मासुको झोल थपिदिनुस् न !’ चालकले माग्यो, साहुनीले मुटुमाथि ढुङ्गा राखेर झोल थपिन् । हामी भने सडक किनारमा टहलिन थाल्यौँ र त्यो ‘स्टाफ होटल’ को अर्थशास्त्रीय चिन्तन गर्न थाल्यौँ ।
चालकले खाना खाइसकेपछि हातमा दुईवटा मिनरल वाटरका बोतल लिएर गाडीमा राख्यो र यात्रुको टिकट चेक गर्न थाल्यो । तर, खाना र पानीको पैसा उसले होटलमा बुझाएको हामीले देखेनौँ । उसको त्यो ‘मटन भात’ यात्रुलाई त्यहाँ ओरालेबापत होटलवालाको तर्फबाट दिइएको ‘रिस्वत’ (घूस) थियो । किन यसरी सम्झौता गर्न बाध्य हुन्छन् होटलवालाहरू ?
रिस्वतको अपरम्पार लीला
हाम्रो समाजमा यो रिस्वतखोरी (घूसखोरी) कुनै एउटा क्षेत्र वा पदमा मात्र सीमित छैन, यो त यत्रतत्र सर्वत्र छ । चाहे बल्खुका टिकटवाला हुन्, या यात्रु घेर्ने दलाल हुन्, वा स्वयं हाम्रा सुमो चालक ! म घूस र कमिसनबाट अलग रहन्छु भन्ने मानिसले त यो समाजमा जीवन चलाउनै नसक्ने स्थिति भइसकेको छ । हुँदाहुँदा हामीले त पुजनीय विधाता (भगवान्) लाई समेत भेटीको ‘रिस्वत’ चढाएर आफ्नो इच्छा पूरा गरिदिन बाध्य पारिरहेका छौँ । इच्छापूर्तिका लागि मन्दिरमा चढाइने भेटी पनि त एक प्रकारको आध्यात्मिक घूस नै होइन र ? यसरी हेर्दा संसार रिस्वतबाट मुक्त हुन निकै कठिन छ, यसको लीला अपरम्पार छ ।
जहाँ धोकाधडी, बेइमानी र कमसल सेवाबाट धेरै नाफा कमाउने आकांक्षा राखिन्छ, त्यहाँ रिस्वतबाहेक व्यवसाय चलाउने अर्को उपाय नै हुँदैन । राजमार्गका होटलका खानेकुराको गुणस्तर र मूल्य कति कुरुप छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यो ठगी देशैभरि उस्तै छ । नियालेर हेर्यो भने लाग्छ- संसारमा सबैभन्दा बढी ठगिने प्राणी राजमार्गमा यात्रा गर्ने यात्रु हुन् र सबैभन्दा ठूला ठगहरू ती होटलवालाहरू हुन्, जसले ड्राइभरलाई प्रलोभनमा पारेर यात्रुको खल्ती र स्वास्थ्य दुवै लुटिरहेका छन् । अंकित मूल्यभन्दा बढी मूल्य लिनु त यहाँ सामान्य नियम नै हो । तर यो बेथिति हेर्ने कसले ? यहाँ त सबै कुरा कमिसनको रिस्वतले ढाकिएको छ ।
यी होटलहरूमा न कुनै व्यावसायिक कुक हुन्छन्, न सेवाको शिष्टता र मापदण्ड नै । टहरो बनायो, जस्तो पायो त्यस्तै खानेकुरा पचायो, ड्राइभरलाई हातमा लियो र ठगीको धन्दा शुरु भयो ! यदि उनीहरूले स्तरीय खानेकुरा र न्यायोचित मूल्य दिने हो भने चालकलाई कमिसन बुझाएर व्यवसाय डुबाउनै पर्ने थिएन । बरु उल्टै चालकहरूले ‘यात्रुलाई राम्रो खाना खुवाउन’ आफ्नै खुशीले गाडी रोक्ने थिए । तर त्यतातिर कसले सोच्ने ?
गत वर्ष भारत यात्राका क्रममा म तिरुपतिबाट विजयबाडा जाँदै थिएँ । बिहानको खाना खान राजमार्ग छेउको एउटा ठूलो होटलमा गाडी रोकियो । चालक, सहचालक र यात्रु सबै एउटै लाइनमा साथसाथै खाना खान बसे । होटलमा निकै भीड थियो, तर सरसफाइ र सेवा यति चुस्त र गुणस्तरीय थियो कि म चकित परेँ । खानेकुराको मूल्य पनि न्यायोचित थियो । गाडीका कर्मचारीले पनि हामीले जत्तिकै पैसा तिरेरै खाना खाए । त्यो दृश्य देख्दा मैले हाम्रा राजमार्गका होटलहरू खुब सम्झिएँ- गरे त हुने रहेछ नि ! त्यो सफलता उनीहरूको व्यावसायिक दक्षता र मूल्यका कारण सम्भव भएको थियो । विनामूल्य र विनाव्यावसायिकता गरिने धन्दा त अन्ततः चिसापानीको होटलजस्तै कुरुप हुने हो ।
चक्रव्यूहको अन्त्य कहिले ?
चालक भाइले सबैको भाडा असुल्न थाल्यो । गजबको कुरा के थियो भने, सबै यात्रुको भाडादर फरक-फरक थियो- कसैको पाँच सय, कसैको छ सय, कसैको सात सय ! तर सबैलाई दिइएको टिकटको दर भने एउटै थियो । पैसा चुक्ता नगरेका पछाडिका यात्रुहरूले भाडा घटाउन बार्गेनिङ शुरु गरे, चालकले पनि कसैलाई पचास त कसैलाई सय रुपैयाँ छोडिदिँदै हिसाब फर्स्योट गर्यो ।
हातमा लिएको नगद गणना गर्दै चालकले चलान हेर्यो र मुख अमिलो पार्दै पैसा खल्तीमा राख्यो । मैले यात्रु सङ्ख्या र उसको नोट गन्ती हेरेर हिसाब गरेँ- कुल रकमबाट एउटा मोटो रकम गायब थियो ! त्यो गायब भएको रकम तिनै बल्खु चोकका ‘नायक’ (दलालहरू) को खल्तीमा पुगिसकेको थियो- न कुनै लगानीको जोखिम, न कुनै मिहिनेत, न करको झन्झट ! गजबको अर्थतन्त्र चलाएका छन् ती दलालहरूले !
गाडीभित्र बसिसकेपछि मैले चालक भाइलाई अन्तर्वार्ताको शैलीमा सोधेँ- ‘भाइ, गाडीका यात्रुले खाना नखाए पनि तपाईंहरूलाई यसरी मासु-भात खुवाउँदा ती साहुनीहरूको अर्थतन्त्र त डामाडोल हुने रहेछ नि, हैन ?’
मेरो प्रश्न सुनेर उसले एउटा कुटिल हाँसो हाँस्यो र भन्यो- ‘के गर्नु सर, गाडी रोकिदे भन्दै मरिहत्ते गर्छन् । मेरो काम रोकिदिने हो, यात्रुले खाने-नखाने उनीहरूको कुरा । आफूले त पेट भर्नै पर्यो नि सर, के गर्नु !’ उसको अनुहारमा आफ्नै खालको अर्थशास्त्रीय चिन्तन मुस्कुराइरहेको थियो ।
मैले थपेँ- ‘भनेपछि, बल्खुका दलालले तपाईंलाई हैरान पारे, तपाईंले यहाँ होटलवालालाई हैरान पार्नुभयो- हिसाब बराबर ! कि कसो भाइ ?’
‘त्यस्तै भन्नुपर्यो दाइ !’ ऊ मौन भयो र गाडी ओरालो बाटोमा हुइँक्यायो ।
करिब ४ घण्टाको यो सास्तीपूर्ण र विचारोत्तेजक यात्रापछि हामी हेटौँडा पुग्यौँ । अब हेटौँडा बसपार्क पुगेपछि फेरि यही नाटकको दोस्रो भाग दोहोरिनु थियो, किनकि हाम्रो त्यस दिनको अन्तिम गन्तव्य वीरगञ्ज थियो । बल्खु चलचित्रको पुनरावृत्ति हेटौँडामा पनि भोग्दै हामी वीरगञ्जतर्फ लाग्यौँ ।
बेलुका वीरगञ्जको होटलको ओछ्यानमा पल्टिएर हामीले दिनभरिको यात्रा, दलाली र राजमार्गका होटलको विकृत अर्थशास्त्रबारे लामो छलफल गर्यौं र एउटै निचोड निकाल्यौँ- हामी बाँचिरहेको समाजमा ‘मामाको घोडा मेरो हिही’ को यो चक्रव्यूह यत्रतत्र सर्वत्र व्याप्त छ ।
यो बेथितिको चक्रव्यूह कहिले तोडिएला ? प्रश्नको उत्तर हामीले भविष्यकै गर्भमा छाडिदियौँ र हामीचाहिँ थकान मेट्न निद्रादेवीको आत्मीय काखमा लुपुक्क टाँसियौँ ।

