 
			
			
			
			
			
			हाम्रो देश नेपाल हिमाल, पहाड र तराइले भरिएको अद्भुत सौन्दर्य र प्राकृतिक सम्पदाको खानी हो । यहाँ धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलहरू प्रशस्तै छन् । विविधतामा एकता बोकेको नेपालको प्रकृति, संस्कृति र भूमि अत्यन्त गौरव गर्न लायक छन् । मलाई पनि नेपालका यी रमणीय स्थलहरूको काखमा बसेर प्रकृतिमा हराउन मन पर्छ ।
भन्निन्छ, “केही कुरा शुरु गर्नु छ भने पहिले आफ्नै घरबाट गर्नुपर्छ ।” यही सोचले मैले आफ्नै गाउँका सुन्दर स्थलहरू घुम्ने निर्णय गरेँ । मेरो घर बडीमालिका–२, बाजुरा हो । बाजुराको नाम सुनिँदा धेरैको मनमा पर्यटकीय स्थल बडीमालिकाको चित्र आउँछ । तर बाजुरामा यस्तै धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिएको अर्को स्थल बूढीनन्दा पनि छ । धेरै प्रचार नभए पनि बूढीनन्दा श्रद्धा र प्रकृतिको अनुपम नमूना हो।
बूढीनन्दा यात्रा तय गर्नका लागि मेरा पाइला अघि बढे । सिमसिम पानी परेको मार्तडी बजार, धुम्म फैलिएको कुहिरो र पहाडका टुप्पोमा लुकेको सुनौलो घामले हाम्रो स्वागत गर्यो । हामी केही साथीहरूले पिठ्यूँमा झोला, म्याट, स्लिपिङ ब्याग, हातमा लाठी र आँखामा चमक बोकेर यात्रा शुरु गर्यौं ।
बाजुराको भौगोलिक विकटता र सडकको कठिनाइले यात्रा सजिलो थिएन । मार्तडी नजिकैको बाउली खोला तरेर हामी जिपमा चढ्यौं । सडकमा परेको पहिरोले तीनपटक जिप परिवर्तन गर्नुपर्यो । रजातोली पुग्दा थुप्रै तीर्थयात्री हाम्रो समूहमा जोडिए । त्यहाँबाट हामीले बिरसैनसम्मको यात्रा जिपमा तय गर्यौं ।
पान्डुसैनको हरियालीले हामीलाई स्वागत गर्यो । बाटोमा स्याउका बगैंचा, धान रोपिएका खेतहरू, चराहरूको चिरबिर र खोला–झरनाको आवाजले मन लोभ्यायो । बिरसैनबाट फेरि हाम्रो पदयात्रा शुरु भयो । बाटोमा अरू तीर्थयात्रीहरूसँग भेट हुँदै हामी अघि बढ्यौं । सिमसिमे वर्षा, कुहिरो र खुला हरियालीले यात्रा रमाइलो बनाइरहेको थियो ।
साँझ पख बिरसैनबाट तल्लो कुरु हुँदै सिमकुरु पुग्दा गोधूलिको सुनौलो उज्यालोले बाटोलाई रङ्गिन बनाएको जस्तो लाग्यो । शरीर थकित भए पनि मन आनन्दित थियो । सिमकुरुको न्यानो आतिथ्यले हाम्रो यात्रा सहज र स्मरणीय बनायो ।
हाम्रो पहिलो बासस्थान भावना आधारभूत विद्यालय बन्यो । विद्यालयका प्रधानाध्यापक दिनानाथ चौधरी सरको सौहार्दपूर्ण व्यवहारले मन तृप्त भयो । स्कुल नजिकैको एउटा घरमा करीब तीसजनाले एउटै टेबलमा खाना खायौं । खानामा रोटी, तरकारी र दही थियो । हाम्रा लागि झन्झट नमानी खाना तयार पारेका घरबेटीलाई जति धन्यवाद दिन पनि कम पर्ला ।
 खाना खाएर हामी विद्यालय भवनमा सुत्न गयौं । दिनानाथ सरले हाम्रो सुत्ने व्यवस्था मिलाइदिनुभयो । त्यो रात उहाँसँग केही समय कुराकानी गर्ने मौका मिल्यो । सरल मुस्कान र मिठासपूर्ण बोलीमा उहाँको व्यक्तित्व झल्कियो । सप्तरी जिल्लाबाट आएर बाजुराको विकट क्षेत्रमा शिक्षा क्षेत्रबाट सेवा गर्नुभएको उहाँको समर्पणले मलाई प्रभावित बनायो। विद्यालय भवनअगाडि स्याउका बगैंचा, खेलमैदान र तरकारी बारीहरू देख्दा म छक्क परेँ । उहाँ आफैँ चर्पी सफा गर्नेदेखि अफिसको कामसम्म गर्नुहुन्थ्यो । यो देख्दा “कुनै काम सानो वा ठूलो हुँदैन” भन्ने कुरा साँच्चिकै महसूस भयो।
खाना खाएर हामी विद्यालय भवनमा सुत्न गयौं । दिनानाथ सरले हाम्रो सुत्ने व्यवस्था मिलाइदिनुभयो । त्यो रात उहाँसँग केही समय कुराकानी गर्ने मौका मिल्यो । सरल मुस्कान र मिठासपूर्ण बोलीमा उहाँको व्यक्तित्व झल्कियो । सप्तरी जिल्लाबाट आएर बाजुराको विकट क्षेत्रमा शिक्षा क्षेत्रबाट सेवा गर्नुभएको उहाँको समर्पणले मलाई प्रभावित बनायो। विद्यालय भवनअगाडि स्याउका बगैंचा, खेलमैदान र तरकारी बारीहरू देख्दा म छक्क परेँ । उहाँ आफैँ चर्पी सफा गर्नेदेखि अफिसको कामसम्म गर्नुहुन्थ्यो । यो देख्दा “कुनै काम सानो वा ठूलो हुँदैन” भन्ने कुरा साँच्चिकै महसूस भयो।
दोस्रो दिन, चराहरूको चिरबिरले मलाई बिहानै ब्युँझायो । बाहिर गएर हेर्दा दिनानाथ सर स्कुलको दैलो सफा गर्दै हुनुहुन्थ्यो । उहाँले मुस्कुराएर शुभविहानीको सङ्केत दिनुभयो । हामी नजिकैको पसलमा जडीबुटी मिश्रित चिया र थोरै नास्ता खायौं । अनि सिमकुरुको चिसो हावासँगै दोस्रो दिनको यात्रा शुरु गर्यौं ।
सिमकुरुमाथिको उकालो चढ्दा घाम बिस्तारै डाँडामाथि फैलिन थाल्यो । लादे पुग्दा घाम र बादलको खेल चलिरहेको थियो । लादेको शान्त वातावरण, भैंसी र भेडा कराउने आवाजले मलाई गोठालोमा जस्तै महसूस गरायो । हामी सुन्दर दृश्यहरूलाई मोबाइल र क्यामरामा कैद गर्दै अघि बढ्यौं । लादेको खर्कमा रोटी, तरकारी र दही खायौं ।
त्यहाँबाट हाम्रो समूहमा स्थानीय सगुने रोकायाज्यु थपिनुभयो। उहाँ उमेरले वृद्ध भए पनि हिँडाइ नौजवानभन्दा कम थिएन । बाटोमा उहाँले बूढीनन्दा देवीको स्थापना, नुर्याल बासी र जुगाडी राजा जस्ता पुराना कथा सुनाउनुभयो । कथाहरूले उकालो चढेको पत्तै भएन । कान र मन दुवै कथामा अडिएको जस्तो थियो ।
चार घण्टा लामो उकालो पार गरी छाप्रे पाटन पुग्दा चिसो हावा, मुसलधारे पानी र बाक्लो कुहिरोले स्वागत गर्यो । हामी रेनकोट लगाएर करीब तीन सय मानिस अट्ने धर्मशालामा प्रवेश गर्यौं । थोरै विश्रामपछि बाहिर निस्के । चारै तर्फ हरीयाली, वरिपरि डाँडाकाँडा र बिचमा पुरानो मन्दिर, नजिकै सुन्दर धर्मशाला देख्दा मन आनन्दित भयो।
 बेलुकी पानि रोकिनेबित्तिकै छाप्रेको वरिपरि कुहिरो हट्यो । मन्दिर नजिकको अस्थायी पसलमा जडीबुटी मिश्रित चिया पियौं । मन्दिर वरपर देउडा खेल्ने, भजन गर्ने र फोटो खिच्ने वातावरणले त्यो रातलाई उत्सवमय बनायो । मैले पनि मेरो गाउँ जुगाडा घागरका बाजे र अन्य परिचितसँग मिलेर जयजयकार गरेँ । त्यो रात भजनकीर्तनको आवाजसँगै छाप्रेको काखमा अंगालो मार्दै हामी शान्ति र आनन्दमा पल्टियौं ।
बेलुकी पानि रोकिनेबित्तिकै छाप्रेको वरिपरि कुहिरो हट्यो । मन्दिर नजिकको अस्थायी पसलमा जडीबुटी मिश्रित चिया पियौं । मन्दिर वरपर देउडा खेल्ने, भजन गर्ने र फोटो खिच्ने वातावरणले त्यो रातलाई उत्सवमय बनायो । मैले पनि मेरो गाउँ जुगाडा घागरका बाजे र अन्य परिचितसँग मिलेर जयजयकार गरेँ । त्यो रात भजनकीर्तनको आवाजसँगै छाप्रेको काखमा अंगालो मार्दै हामी शान्ति र आनन्दमा पल्टियौं ।
हाम्रो यात्राको तेस्रो दिन विशेष थियो । छाप्रेको चिसो हावाले शरीर कठ्याङ्ग्रिरहेको थियो। तर मनमा बूढीनन्दा देवीको दर्शन गर्ने उत्साहको आगो दन्किरहेको थियो । सौभाग्यवश आजको मौसम सफा थियो ।
हामी सबै तीर्थयात्री सबेरै उठ्यौं । मन्दिर र धर्मशालाबाट तल शौचालय र चर्पी नजिकै पानीको धारा बनेको थियो । नित्यकर्म सकेर हामी नजिकैको अस्थायी पसलमा चिया पियौं ।
हाम्रो समूह अगाडि लाग्यो— साथी कमल, उद्वव, प्रभु बैंक मार्तडीका व्यवस्थापक सर र म लगायत चार–पाँच जना । अरु तीर्थयात्री पुजारासँग जयजयकार गर्दै पछाडि आउँदै थिए ।
छाप्रे पाटनदेखि बरमाग्ने डाँडासम्मको दृश्य अवर्णनीय थियो । बाटोमा रङ्गीन फूलहरूले स्वागत गर्दै हाँसिरहेका थिए । प्रत्येक पाइला उर्जा थप्दै जान्थ्यो । अनगिन्ती ढुङ्गाका गेटहरूमा गोठालाहरूले टिका लगाएर स्वागत गरेका थिए । हामी पनि प्रत्येक गेटमा टीका लगाउँदै अघि बढ्यौं ।
थकान र उत्साहबीच मधुर पशुपन्छीको स्वर, बीचका भेडा र घोडाका बथानहरूले वातावरण जीवन्त बनाएका थिए । तिनलाई देख्दा लाग्थ्यो—जगतका सम्पूर्ण खुशीहरू बूढीनन्दा पाटनमा मिसिएका हुन् ।
बरमाग्ने डाँडामा पुगेर हामी आराम गर्यौं । आफूसँग बोकेको खाजा खायौं । परम्परा अनुसार ढुङ्गाको घरको आकृति बनाएर फूल, चामल, धूप, दीप, ध्वजा र भेटी चढाइ आफ्ना सबै रहर, सपना र प्रार्थना अर्पण गर्यौं । भोलि फर्किंदा ती भेटीले पूर्ति ल्याउने जनविश्वास थियो । मैले पनि लुकाएर अर्पण गरेँ ।
डाँडाबाट आधा घण्टा हिँड्दा चडीदह आइपुग्यौं । यहाँ सम्पूर्ण तीर्थयात्री स्नान गरी, पूजा गरेर मात्र अघि बढ्ने चलन थियो । हामीले पनि चडीदहको सफा र कन्चन पानीमा स्नान गर्यौं । पानी चिसो थियो, तर त्यहाँको शुद्धता र पवित्रताको मिठास अनुभूति भयो ।
चडीदहदेखि धनभराणसम्मको दृश्य पनि अत्यन्तै रमणीय थियो । बूढीनन्दाबाट बगेर आएको गंगा सलबलाउँदै बगिरहेको थियो । वरिपरि रङ्गीविरङ्गी फूल र हरियाली फैलिएका थिए । बादलका टुक्रा डाँडामा छुने जस्तो देखिन्थ्यो । सफा मौसम, चन्चल हावा, पानीको कलकल, चराचुरुङ्गीको मधुर धून र फूलहरूको सुवासले हाम्रो यात्रा एक मीठो अनुभव बनाएको थियो ।
धौली पाटन, सुनालिस्नी, रूपालिस्नी र धनभराणको मनोहर दृश्य हेर्दा मलाई प्रकृतिसँग अझ नजिक भएको अनुभूति भयो ।
धनभराणको दृश्य अवलोकन गर्दा कुनै रमाइलो कम थिएन । विशाल ढुङ्गाका चट्टानको तल ठूला–सानो ओढारहरू थिए । बीच भागमा पूजा गर्ने ठाउँ र नजिकै सानो धर्मशाला थियो । हामी करीब एक घण्टापछि त्यहाँ पुगेका थियौं, अरु तीर्थयात्रीहरूको टोली पनि आइरहेका थिए । त्यो रात बस्ने परम्परा अनुसार हामी सबै तीर्थयात्री कोही ओढारमा, कोही धर्मशालामा, केही टेन्टमा बस्यौं । बेलुकी धनभराणमा विधिपूर्वक ब्रह्मणद्वारा रुद्री पूजा गरियो ।
त्यो रात बस्ने परम्परा अनुसार हामी सबै तीर्थयात्री कोही ओढारमा, कोही धर्मशालामा, केही टेन्टमा बस्यौं । बेलुकी धनभराणमा विधिपूर्वक ब्रह्मणद्वारा रुद्री पूजा गरियो ।
धनभराणमा मलाई सबैसँग खानेकुरा बाँड्ने चलन मन पर्यो । मैले आफ्ना भुटेका चिउरा, दालमोट, सातु सबै बाँडेँ । अरूले पनि दिएको खानेकुरा पाएपछि त्यहाँको आत्मीयता अद्भुत थियो । अपरिचित तीर्थयात्रीहरू बीच पनि परिवारको जस्तो अनुभव भयो ।
पूजा स्थल नजिकै सानो ओढारमा सिक्का छिराउने खेल रमाइलो थियो । नियम अनुसार पाँच सिक्का छिराउनु पर्ने थियो । मैले पाँचमध्ये तीन सिक्का सफलतापूर्वक छिराएँ । मनमनै सोचेँ— वर प्राप्त हुनेछ ।
पाडाँ पुजारीहरू पूजामा व्यस्त थिए । हामी अरू तीर्थयात्रीसँग भजन–कीर्तन सुन्दै रातभर जाग्राम बसेका थियौं । चिसो हावाको बीचमा त्यो वातावरणले मेरो जीवनका अन्य रातभन्दा पृथक् अनुभव दिएको थियो ।
प्रातःकालमा पूर्व क्षितिजमा उज्यालो फैलिन थाल्यो । आकाश कहिले खाली, कहिले बादलले ढाकिने प्रकिया चलिरह्यो । केही समयमा बादल फाटे, फेरि जम्मा भए । त्यसले आकाश कालो–निलो बनाएको थियो । मैले सोचेँ, यस्तो पुण्यभूमिमा हामी सबै भक्तजनहरू जमघट भएर रमाइरहेका छौं । तर अचानक मेघनाथको गर्जन र तेज झरी शुरु भयो । खुशीको कुरा, झरी प्रातकालसँगै बिस्तारै कम हुँदै गयो ।
चौथो दिन हाम्रो यात्राको चरम दिन थियो । झरी रोकिएको थिएन । हामी सबै तीर्थयात्री मुख्य थान, बूढीनन्दा तालतर्फ लाग्यौं । चट्टानै चट्टानको साँघुरो भिरालो बाटो डरलाग्दो थियो । हरेक पाइला चुनौतीपूर्ण थियो, तर हृदयमा गन्तव्यप्रति तृष्णा व्याप्त थियो ।
तीन घण्टाको कठिन हिँडाइपछि ताल नजिकै पुग्यौं । दृश्यले मलाई शब्दविहीन बनायो । समुद्री सतहबाट करीब ४७०० मिटरको उचाइमा बूढीनन्दा तालले प्रकृतिकै कला झैं देखिन्थ्यो । वरिपरिका नाङ्गा डाँडा र अन्य साना तालहरू मिलेर वैकुण्ठधामको दृश्य बनाइरहेका थिए । तालमा प्रतिबिम्बित निलो आकाश, वरिपरिका हिमश्रृंखलाहरूले रोमाञ्चित बनायो ।
मैले तालको परिक्रमा गरेर स्नान गरी दर्शनको लागि लाइनमा उभिएँ । चिसो पानीले शरीर कपायो, तर मन पवित्र भयो । दर्शनपछि मैले ताल वरिपरिको हिमाल र दृश्यहरू मोबाइलमा कैद गरें ।
बूढीनन्दा तालको अनुपम सौन्दर्यले देशभर शान्तिको सन्देश फैलाइरहेको अनुभव भयो । यो स्थल हिन्दू–बौद्ध दुवैको पवित्र धाम हो । यसको संरक्षण र प्रचार–प्रसार अत्यावश्यक छ । प्राकृतिक सौन्दर्य, जडीबुटी, जनजीवन र जैविक विविधता देख्दा गर्व लाग्छ ।
त्यस दिन दर्शन पूरा भएपछि हामी फिर्ती यात्रामा लाग्यौं । धनभराण, चडीदह, बरमाग्ने डाँडा हुँदै छाप्रेपाटन आइपुग्यौं । वर खोज्ने परम्परा अनुसार सबै तीर्थयात्री खोज्दै थिए । मैले पनि वर भेटें, मनमा छुट्टै खुशी भयो ।
छाप्रेपाटनमा आइपुग्दा साँझ परिसकेको थियो । एक तीर्थयात्री हराएका थिए । प्रहरी निरीक्षक लोकराज अवस्थीसँग मिलेर हामीले खोजी थाल्यौं । त्यहाँका स्थानीय गोठालाहरूको सहयोगले उनी भेटिए । उनी मानसिक रोगबाट पीडित रहेछन् । भेटिएपछि खुशी र राहत अनुभूति भयो । पुरस्कार र सहयोगले मानवता र सहयोगको महत्त्व देखायो ।
अन्तिम दिन, हामी फेरि सिमकुरु हुँदै बिरसैन फर्कियौं । बूढीनन्दा नगरपालिका वडा नं ४ का अध्यक्ष नरबहादुर बोहराज्यूले सहयोग गरे, नास्ता खुवाए । पान्डुसैन र मार्तडिबाट दृश्यको आनन्द लिँदै हामी घर फर्क्यौं ।
बूढीनन्दा यात्राले मलाई जीवनका बहुमूल्य पाठ सिकायो— प्रकृतिको अनुपम सौन्दर्य, धार्मिक आस्था, मानवीयता, मित्रता, साहस र आत्मीयता । यस क्षेत्रको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन र संरक्षणले स्थानीय अर्थतन्त्र र सांस्कृतिक पहिचानलाई बलियो बनाउन सक्छ ।
बूढीनन्दा यात्राको सम्झना मेरो जीवनको चम्किलो पानाजस्तो हो । हरियो पाटन, निलो ताल, सुन्दर दृश्य र सहयात्रीको हाँसो सधैं मनमा ताजा रहनेछन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	