‘पानीको रङ’ ऋषि बस्ताकोटीद्वारा लिखित गद्य कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहको प्रकाशन शिखा बुक्सले गरेको हो । जम्मा ९३ पृष्ठमा फैलिएको यस कृतिमा ४१ वटा कविता समेटिएका छन् । कविताहरूको विषयवस्तु नेपाली समाजको राजनीतिक, आर्थिक र वातावरणीय अवस्थादेखि लिएर कविको व्यक्तिगत जीवन र परिवारजनसम्म फैलिएको छ । बस्ताकोटी स्वयं वातावरणविद् र लेखक दुवै भएकाले उनका कवितामा प्रकृतिप्रति गहिरो संवेदनशीलता भेटिन्छ, जसले देशको समसामयिक यथार्थलाई व्यक्तिगत अनुभूतिसँग जोड्छ । यो सङ्ग्रहले राष्ट्रको सामूहिक पीडा र घरपरिवारका सूक्ष्म वेदना दुवैलाई एकै स्वरमा प्रस्तुत गरेको छ । जसले कवितालाई अझ जीवन्त र सम्पृक्त बनाएको छ । ‘पानीको रङ’ केवल भावनात्मक अनुभव होइन, यो नेपालले भोगिरहेको अवस्थाको आलोचनात्मक चित्रण पनि हो । त्यसैले यसले पाठकलाई एकातिर समाजको कठोर यथार्थसँग जुध्न बाध्य पार्छ भने अर्कोतिर मानवीय संवेदनशीलताको गहिरो तहमा प्रवेश गराउँछ ।

पहिरो जहाँ पनि जान्छ,

वनमा जान्छ

मनमा जान्छ

यौवनमा जान्छ

(पृष्ठ सङ्ख्या १, पहिरो)

किताबमा समावेश गरिएको प्रथम कविताको रुपमा ‘पहिरो’लाई राखिएको छ । सामान्यत: पहिरो भन्नाले हामी कुनै भिरालो ठाउँबाट चट्टान, माटो वा लेदो तल खसेर हुने प्राकृतिक प्रकोप भनेर बुझ्छौँ तर यस कवितामा भने पहिरोको अर्थ निकै गहिरो छ । पहिरोलाई विनाश, पीडा वा दुर्घटनाको प्रतीकको रूपमा पाठकसामु प्रस्तुत गरिएको छ । पहिरो वनमा मात्र नभई मानिसको मनमा पनि जान्छ, युवा अवस्थामा पनि जान्छ ।  “पहिरो पहाडमा जान्छ, वन नाङ्गो हुन्छ” जसको अर्थ हो कि पहिरोले हाम्रो जीवन बर्बाद पार्दछ । ‍‍‍‍‍“भावनाको आकाशैभरि प्रदूषण छाउँछ” अर्थात् पहिरो आएपछि हामी भावनात्मक रूपमा अशक्त हुन्छौँ, पीडा र दुःखले हाम्रो सोच्ने क्षमतालाई खल्बल्याउँछ । भातृत्वमा पनि पहिरो आउँछ अर्थात हामीले आफ्नै भाइहरूबाट पनि धोका पाउन सक्छौँ । नेतृत्वमा पनि पहिरो आउँछ, अर्थात भ्रष्टाचार हुन्छ । कविले अरूमा राख्ने आशा, भरोसालाई नै पहिरोको मुख्य जरा मान्छन् । यस्ता आशा र भरोसा नराखेमात्र पहिरो आउन कम हुन्छ, नत्र पहिरोले हाम्रो जीवन नै सदाका लागि नष्ट पारिदिन्छ ।

रामायण ग्रन्थका
न रावण हामीहरू
न राम हामीहरू
फगत अर्कोको लागि लड्ने
कोसोम्बोका बलराम हामीहरू ।

(पृष्ठ सङ्ख्या ७, हामी बलरामहरू)

यो कवितामा कवि ऋषि बस्ताकोटीले नेपाली समाजका साधारण जनताको वास्तविकता उजागर गरेका छन् । हामी न त राम जस्ता आदर्शवान् छौँ, न रावण जस्ता प्रतिकूल शक्तिहरू, तर अर्काको स्वार्थ पूर्ति गर्न निरन्तर भिडन्तमा धकेलिएका ‘बलराम’ हौँ भन्ने कुरा कविले देखाएका छन् । यहाँ ‘बलराम’ भन्नाले आफ्ना लागि नभई सधैँ अरूको आदेश, प्रभुत्व र सेवामा लडाइँमा होमिने मानिसलाई जनाइएको छ ।

युद्ध मैदानमा न जीत हाम्रा लागि हुन्छ न हार, बरू हामीलाई अरूको आदेशअनुसार प्रयोग मात्र गरिन्छ भन्ने भाव यस कवितामा छर्लङ्ग भेटिन्छ । यो सन्देश नेपाली जनताको विडम्बना हो जहाँ नेताको स्वार्थ, विदेशी हस्तक्षेप वा ठूला शक्तिको प्रभुत्वका कारण सामान्य नागरिक मात्र ‘खेलौना’ बन्नुपरेको छ ।

कविले बारम्बार दोहोर्‍याएका छन्, “कोसोम्बोका बलराम हामीहरू ।” यसको अर्थ, हाम्रो श्रम, बलिदान र जीवन अरूको नाममा लेखिन्छ, तर हामी आफैँ बेनाम रहन्छौँ । हामीलाई इतिहासमा सम्मानित हैसियत दिइँदैन, बरू आत्मसम्मान गुमाएर मात्र अरूका लागि लड्नुपर्ने बाध्यता छ ।

यसरी, यो कविता जनतामाथि हुने राजनीतिक शोषण, सामाजिक अन्याय र आत्मपहिचान हराउँदै गएको पीडाको सामूहिक स्वर हो ।

बिना कुनै गन्तव्य
बिना कुनै उचाइ
उड्दै गरेका उनीहरू ।

(पृष्ठ सङ्ख्या ११, झिँगाहरू)

यस कवितामा कविले ‘झिँगा’लाई रूपक बनाएर नेपालको राजनीतिक यथार्थलाई प्रस्तुत गरेका छन् । झिँगा भन्नाले दिशाविहीन तर चञ्चल उडान गर्ने जीवलाई बुझिन्छ, जसले कुनै लक्ष्य वा जिम्मेवारी बोकेको हुँदैन । कविले यसलाई त्यस्ता राजनीतिज्ञहरूसँग तुलना गरेका छन्, जसले देश र जनताको सेवा गर्ने उद्देश्य नभई आफ्नै क्षणिक फाइदाका लागि राजनीति गर्छन् ।

कवितामा भनिएको छ, झिँगा “आफ्नो उडानलाई तयार गरेर, आत्मीयताको आलाप अलाप्दै” अरूलाई आकर्षित गर्न खोज्छन् । यसले राजनेताहरूले मीठा भाषण, नाराजस्ता आकर्षक शब्द प्रयोग गरेर जनतालाई प्रलोभनमा पार्ने तर वास्तविकतामा उनीहरू नजिकका शुभेच्छुक नभई स्वार्थी मात्र हुने सन्देश दिन्छ ।

त्यस्तै, “सुगन्ध फोहोर छान्दैनन् झिँगा” भन्ने पङ्क्तिले राजनीतिज्ञहरूको अवसरवादिता देखाउँछ । उनीहरू कुनै पनि परिस्थितिमा, जसले फाइदा दिन्छ, त्यहीँ टाँसिन्छन्; न त सिद्धान्त हुन्छ, न त निष्ठा । परिणामस्वरूप, “जहाँ जहाँ देखेका हुन्छन्, त्यहाँ त्यहाँ झिँगामय बनाउँछन्” भन्ने पङ्क्तिले सम्पूर्ण राजनीतिक क्षेत्रलाई झिँगामय, अर्थात् गन्दा, अव्यवस्थित र अविश्वसनीय बनाएको छ ।

यसरी, कविले झिँगाको रूपक प्रयोग गरेर देशका असफल, दिशाहीन र अवसरवादी नेताहरूको आलोचना गरेका छन् । यो कविता जनतालाई सचेत गराउने चेतावनी हो । झिँगाजस्ता नेताबाट अपेक्षा नगरी सच्चा नेतृत्व खोज्नुपर्ने सन्देश यस कविताले दिएको छ ।

जहिले देखेँ मैले
मेरा बालाई देखेँ
सधैँ सधैँ हाँसिरहेको देखेँ
सधैँ सधैँ सकारात्मक देखेँ ।

(पृष्ठ सङ्ख्या ४०, मेरा बा )

यस कवितामा कविले आफ्ना बुबाको जीवनयात्रा र त्यागलाई भावुक ढङ्गले प्रस्तुत गरेका छन् । यहाँ “बा” केवल कविको पिता मात्र नभई नेपाली समाजका हजारौँ साधारण पिताका प्रतिनिधि हुन्, जसले आफ्ना सपना र चाहनालाई छोडेर सधैँ परिवारका लागि बाँचेका हुन्छन् ।

कविता भन्छ, “मेरा बा अलि–अलि सबैका लागि बाँच्नु भयो, तर आफ्नै लागि कति बाँच्नुभयो होला ?” यसले नेपाली परिवार संरचनाको आम समस्या देखाउँछ ।  आफ्नो इच्छा, स्वतन्त्रता र सुखलाई त्यागेर परिवार, गाउँ र समाजका लागि जीवन समर्पण गर्ने बाबुहरू ।

कविले आर्थिक सङ्घर्षको पीडा पनि देखाएका छन् । “थोरै–थोरै सबैतिर छरिनुभयो” भन्ने पङ्क्ति, अलिकति आमाका लागि, अलिकति सन्तानका लागि, अलिकति गाउँका लागि, यसले आयआर्जन थोरै भए पनि धेरै जिम्मेवारीले थिचिएको दैनिकी प्रष्ट पार्छ ।

अन्तिमतिर कवि प्रश्न गर्छन्, आफ्नो मर्यादा र जीवन चाहनालाई पूरा गर्ने अवसर उहाँले पाए पनि त ? यो प्रश्न केवल कविको बुबाको होइन, नेपाली श्रमिक वर्गको साझा पीडा हो । त्यसैले, ‘मेरा बा’ व्यक्तिगत स्मृतिमात्र नभई श्रमजीवी जीवन र बलिदानको सामूहिक प्रतिबिम्ब हो ।

तर अचेल पानीको रङ फरक छ

अचेल पानी कतै कालो, कतै रातो, कतै खैरो, कस्तो घुमिर्लो बग्छ ।

पुस्तककै शीर्षक बनेको कविता ‘पानीको रङ’ कविको गहिरो सामाजिक दर्शनात्मक चिन्तनको उपज हो । यहाँ ‘पानी’ केवल प्राकृतिक तत्त्व मात्र नभई मान्छेको जीवन, समाज र नैतिक मूल्यको प्रतिरूप बनेर आएको छ । कविले विगत र वर्तमानको तुलना गर्दै देखाएका छन् कि पहिले नदीखोलाको पानी सफा, निर्मल र विश्वासिलो थियो तर अहिले प्रदूषित, रसायन मिसिएको र अनगिन्ती रङमा बदलिएको छ ।

प्रतीकात्मक रूपमा कविले मानिसको मन, विचार र समाजकै अवस्थालाई चित्रण गरेका छन् । “मान्छेको मन मैलोभै” भन्ने पङ्क्तिले जसरी पानी अब निर्मल छैन, त्यस्तै मान्छेको सोच र व्यवहार पनि लोभ, भ्रष्टाचार र स्वार्थले प्रदूषित भएको छ । पानीको रङ परिवर्तन हुनु भनेको मान्छेको आचरण बिग्रिनु हो ।

कविले निराशा मात्र व्यक्त गरेका छैनन् । अन्त्यमा उनी बाल्यकाल सम्झिँदै “फेरि सफा, कञ्चन र निर्मल” बन्ने सम्भावना औंल्याउँछन् । जसरी पानी फेरि शुद्ध बनाउन सकिन्छ, त्यसरी नै मान्छेको मनबाट अहङ्कार, स्वार्थ र दुराग्रह हटाइए समाज फेरि पवित्र बन्न सक्छ । पानीको रङ कविता केवल प्रदूषणको कथन होइन, मानिस र समाज शुद्धीकरणको चेतावनी र आशाको उद्घोष पनि हो ।

ऋषि बस्ताकोटी वातावरणविद् भएकाले प्राकृतिक प्रक्रियालाई सामाजिक र राजनीतिक सन्दर्भसँग जोड्ने शैलीमा अद्वितीय छ । पहिरो, झिँगा, पानी, नदीजस्ता प्राकृतिक विषयवस्तुहरू उनका कवितामा केवल भौतिक वस्तु होइनन्, बरू सामाजिक भ्रष्टाचार, राजनीतिक अवसरवाद, आर्थिक कठिनाइ र पारिवारिक विडम्बनाका रूपक बन्छन् । यसले कवितालाई बहुआयामिक बनाउँछ र पाठकलाई केवल सौन्दर्यात्मक अनुभव नभई सामाजिक बोधतर्फ पनि धकेल्छ । भाषा सरल भए पनि गहिरो अर्थ बोकेको हुनाले यसलाई विद्यार्थीदेखि बुद्धिजीवीसम्म सबैले सजिलै आत्मसात गर्न सक्छन् ।

यस सङ्ग्रहका कवितामा प्रत्यक्ष राजनीतिक टिप्पणीहरू अत्यधिक देखिन्छन् जसले प्रतीकात्मकताको सौन्दर्यलाई कम गरिदिएको भान हुन्छ । कतिपय ठाउँमा एउटै विचार फरक शैलीमार्फत दोहोरिएको अनुभूति पनि हुन्छ । तर यसलाई कविको दृष्टिकोणको निरन्तरता र प्रतिबद्धताको प्रमाणका रूपमा लिन सकिन्छ । व्यक्तिगत रूपमा मलाई यो कृतिको सबैभन्दा ठूलो विशेषता यसको सन्तुलन लाग्यो । यसले न पूर्ण निराशा दिन्छ, न आशाको मिठास भर्छ । यसले यथार्थ देखाउँछ, पाठकलाई पीडा महसूस गराउँछ तर अन्त्यमा आशा र पुनर्निर्माणको बाटो पनि देखाउँछ । यही कारण पानीको रङ नेपाली समकालीन कविता परम्परामा एउटा उल्लेखनीय योगदान हो ।

‘पानीको रङ’ केवल विद्यार्थी वा साहित्यप्रेमीले मात्र पढ्नुपर्ने पुस्तक होइन । यो त खासगरी नेताहरू, नीतिनिर्माता र सत्ता–स्वार्थमा डुबेकालाई अनिवार्य रूपमा पढाउनुपर्ने ग्रन्थ हो । किनकि यहाँ रहेका “झिँगा” हरू उनीहरूको आत्मचित्र जस्तै छन्, “पहिरो” हरू उनीहरूले ल्याएका सङ्कट जस्तै छन्, र “पानी” हरू उनीहरूको सोचझैँ प्रदूषित छन् । यदि नेताहरूले यो सङ्ग्रह पढे भने उनीहरूले आफ्नै अनुहार दर्पणमा देखेजस्तो अनुभूति गर्ने थिए, शायद ।

सामान्य पाठकका लागि भने यो सङ्ग्रह जीवन र समाज बुझ्ने अर्को दृष्टि हो । पारिवारिक पीडा, राजनीतिक अस्थिरता र वातावरणीय सङ्कटलाई एउटै मञ्चमा भेट्न चाहने सबैका लागि यो पुस्तक उपयुक्त छ तर यदि यो पढेपछि पनि कसैको मन नछुने हो भने, त्यो मानिस या त पूर्णत: निरुत्तरदायी छ, या भने कुनै राजनीतिक कुर्सीमा आधा निद्रामा बसिरहेको छ भन्ने स्वतः बुझिन्छ ।

डियरवाक सिफल स्कूल

कक्षाः ९, सैपाल, क्रमाङ्कः २९०६५