
काेरोना कहर प्रभाव पुस्तक बजारमा मात्र नभएर प्रकाशनमा पनि देखिदै आएको छ । व्यवसायिक प्रकाशक तथा स्थापित लेखकहरू पनि पुस्तक प्रकाशन गर्न डराइरहेकाे अवस्था छ । तर विषम परिस्थतिका बाबजुद पनि केन्द्र तथा माेफसलबाट दैनिकजसाे कृतिहरू विमोचित भइरहेका छन् ।
हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक सात पुस्तक । भोजपुरको वाङ्मयको अभिलेखीकरणदेखि माटोको कथासम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. भोजपुरको वाङ्मय : विमर्श तथा अभिलेखीकरण – डा. विप्लव ढकाल
डा. विप्लव ढकालको लामो खोज, अनुसन्धानबाट तयार गर्नुभएको पुस्तक हो, भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण । यो पुस्तक भोजपुरको स्थानीय समाजमा परम्परादेखि प्रचलित सबै भाषाका लोककविता, लोकगीत, लोकगाथा, लोककथा, लोकनाटक, लोकमन्त्रहरुको परिचय तथा उपलब्ध भएसम्मका सामग्रीहरुका प्रतिनिधि उदाहरणहरुको अभिलेखीकरण हो । पुस्तकमा भोजपुरका विविध पक्षहरुबारे जानकारी राख्न चाहने तथा समग्र नेपाली वाङ्मयमा चासो राख्नेहरुका लागि विशेष बनेको छ ।
पुस्तकमा भोजपुरसँग सम्बन्धित सबै भाषाका पुराना ऐतिहासिक कागजपत्र, शिलालेख, ताम्रपत्र, कांस्यपत्र आदि अभिलेखहरुको खोजी, वर्गीकरण, परिचय र अभिलेखीकरणका साथै वि. सं. १७३६ देखि २००७ सम्मका २०० भन्दा बढी, ४ लिपि र ४ भाषाका अभिलेख समावेश छन् । त्यस्तै, भोजपुरबाट प्रकाशित सबै भाषाका करिव २०० पत्रपत्रिकाको खोजी, तिनको ऐतिहासिक रुपरेखा निर्धारण, वर्गीकरण तथा परिचयात्मक विवरणले पुस्तकलाई विशेष बनाएको छ ।
त्यस्तै, पुस्तकमा भोजपुरको रङ्गमञ्चीय परम्परा, साहित्यगोष्ठी, सेमिनार र महोत्सवहरुको विवरण, ६४ वटा वाङ्मयमैत्री सङ्घसंस्थाहरुको परिचय, ११ वटा संयुक्त सङ्ग्रह, २३ वटा अभिनन्दन ग्रन्थ, स्मृतिग्रन्थ, ९३ वटा जीवनी एवं व्यक्तित्वकेन्द्रित पुस्तकहरु, ७० वटा वंशावलीहरु तथा ३१ वटा भोजपुरसँग सम्बन्धित पुस्तक र शोधपत्रहरुको विवरण तथा वि. सं. २००० सम्म ‘गोरखापत्र’ मा प्रकाशित २०९ वटा समाचारहरुको कालक्रमिक अभिलेखीकरणसमेत गरिएको छ । साथै, भोजपुरका मातृभाषाहरुको वाङ्मयको सर्वेक्षण तथा स्थानीय समाजमा बोलिने बान्तावा भाषा, तामाङ भाषा, नेपाल भाषा, मगर भाषाक, दुङ्माली भाषा, कुलुङ भाषा, साम्पाङ भाषा, शेर्पा भाषा, चाम्लिङ भाषा, भुजेल भाषा, थामी भाषा, नेवाहाङ बुङ्लावा भाषा र अन्य मातृभाषाका वाङ्मयकर्मीहरुको परिचय र योगदानको समीक्षात्मक अध्ययन पनि पुस्तकमा अटेका छन् ।
भोजपुर सेवा समाजले प्रकाशनमा ल्याएको, ८०६ पेजमा फैलिएको पुस्तकको मूल्य १५ सय रुपियाँ रहेको छ ।
२. अनायोजित – अनिता पन्थी
नेपाली साहित्यमा स्नानकोत्तर गरेकी युवा स्रष्टा अनिता पन्थीको पहिलो उपन्यास हो, अनायोजित । यो विचार र तर्कलाई कथानकमा बुनिएको कृति हो । कथाकनमा व्यापक कल्पना र यर्थाथको समिश्रण छ । उपन्यासमा यौवनको उर्जा र विषमलिङ्गी प्रेमको भौतिक एवम् भावनात्मक मिलन-तृष्णाले बलेको हृदयहरु छन् । साथै, पुरुष पात्रको चिन्ता, कल्पना, समपणर् र त्याग भङ्यकर छ ।
“पहिलोपल्टै यस्तो उच्चता छुने कर्ममा लगाउने उनको कल्पना र कलमको जगत्ले प्रशंसा गर्नेछ ।”, उपन्यासको भूमिकामा डा. गोविन्दराज भट्टराई भन्छन्, “किनभने यस्ता बौद्धिक विचार यस्तो परिष्कृत भाषामा, अमूर्त लाग्ने प्रेम दर्शनको अडेसा लगाएर आख्यान निर्माण गर्न कठिन छ । यसको विषय ता यौवन र प्रेम हो जसको अप्राप्तिमा अनि प्राप्तिमा जीवन समाप्त भएको देख्ता कथामा अत्यन्तै गहिरो दुखान्तको राँको उठ्दछ । उपन्यासको अन्तर्तहमा प्रेम वञ्चित नायकको आत्मा ध्वस्त भएझैँ बाह्य रुपले प्रकृतिको पर्यावरण ध्वस्त भएको देखिन्छ ।”
उपन्यासलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । १ सय ४९ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय रुपियाँ रहेको छ ।
३. नीलो परदेश – समर चेम्चोङ “आभास”
सरम चेम्चोङ “आभास”को नवीनतम् कवितासङ्ग्रह हो, नीलो परदेश । सगरमाथा साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको सङ्ग्रहमा ५५ वटा कविताहरु सङ्ग्रहित छन् ।
“शक्तिशाली कविताको मुख्य मेरुदण्ड भनेकै विचार हो, मुद्दा हो । यही विचारको जगमा उभिएर आफ्नो अभिव्यक्तिद्वारा अत्यन्त सरल तरिकाले हरेक मानिसलाई आफ्नो अस्तित्व बोध गराउन सक्ने कवि हुन् समर चेम्जोङ आभास ।” पुस्तकको अन्तिम पृष्ठमा असीम सागर लेख्छन्, “परदेश जानुभन्दा पनि जानुपर्ने परिस्थितिको निर्माण गर्नेहरुप्रतिको आक्रोश, असन्तृष्टि र सामाजिक विसङ्गतिले जन्माएको यस्तो मौन आवाज हो नीलो परदेश, जसले शान्त तलाउमा ढुङ्गा हान्नेहरुको विरुद्ध विद्रोह गर्न सिकाउँछ । किनभने परदेशको पीडा र घरदेशको यादले चिथोरेको घाउ कति दुख्छ कवि स्वयम्ले भोगेर, देखेर आएका छन् ।”
१ यस १९ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
४. मलिलो माटो – सपना आचार्य
सपना आचार्यद्वारा लिखित पहिलो लघुउपन्यास हो, मलिलो माटो । उपन्यासलाई स्कुल आफ लिडर्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
“म पनि एक नारी । ममा पनि बहाव छ । मभित्र पनि प्रकृति छ । मभित्र पनि सहनशीलता छ ।”, पुस्तकको मेरो भन्नुमा उपन्यासकार भन्छन्, “मैले त्यो आमामा देखेँ, हजुरआमाको सुनेँ, मैले आफैँ पनि अनुभव गरेँ । अनि सबैभन्दा बढी मैले यस्ता पात्र भेटेँ जोसँगको भेट र सुनेको कथा यो मेरो लघुउपन्यासको कथा बन्यो ।”
लघुउपन्यासमा आवरण कला फाइन आर्टिस्ट ओम गुरुङको रहेको छ । १ सय ४४ पृष्ठमा फैलिएको कृतिको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
५. काव्य-पराग – विमला ढुङ्गाना
विमला ढुङ्गानाको नवीनतम् मुक्तक-सङ्ग्रह हो, काव्य-पराग । हाल अमेरिकास्थित भर्जिनिया बसोबास गर्दै आएकी ढुङ्गानाको यो नवौँ कृति हो ।
सरुभक्तका अनुसार ढुङ्गानाका मुक्तकहरुमा देश र समाजका विभिन्न विषयहरु, जीवनका सुख-दुखहरु, देशका सम्झना, पीडा र विसङ्गतिहरु अनि प्रेमिल मनका अनेक तरङ्गहरु अभिव्यक्त भएका छन् ।
त्यस्तै, पुस्तकका बारेमा मुक्तकमणिका उपाधी पाएका तीर्थराम अधिकारी भन्छन्, “मुक्तकहरु सवल र सफल छन् । पाठकहरुसमक्ष आफैँ परिचित हुन सक्ने सामथ्र्य राख्दछन् । यस पठनीय सङ्कलनको गहिरो अध्ययन गर्दा यी मुक्तककी रचनाकार विमला निरौलाको साहित्यिक क्षेत्रमा उज्ज्वल भविष्य देखेको छु ।”
पुस्तकलाई रेवा स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । ९९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रहेको छ ।
६. घामभन्दा पहिले – भवानी खतिवडा
भवानी खतिवडाको नवीनतम् नियात्रासङ्ग्रह हो, घामभन्दा पहिले । खतिवडाले पुस्तकमा मुक्तिनाथ-यात्राका चार, हलेसी-यात्राको एक र रारा-यात्राका दस नियात्राहरु सङ्ग्रह गरेकी छिन् ।
नेपाली छन्द कवितामा आफूले अब्बल साबित गरिसकेकी खतिवडाले “घामभन्दा पहिले”बाट नियात्रा लेखनमा पनि आफूलाई अब्बल प्रस्तुत गरेकी छिन् । नियात्रा कृतिमा पनि उनको काव्यिक व्यक्तित्व झुल्किएको छ, जसले कृतिलाई थप पठनीय बनाएको छ ।
“नेपाली नियात्रा विधामा उदीयमान नक्षत्रको रुपमा रहेकी भवानी खतिवडाको कलमबाट नेपालका हिमालहरु बोलेको देखेर एकदमै आह्लादित भएको छु ।” पुस्तकको अन्तिम पृष्ठमा स्व. तारानाथ शर्मा लेख्छन्, “यिनको लेखनीबाट नेपालको विशिष्ट भूगोल, कला, साहित्य र हाम्रो समृद्ध सामाजिक बनौटको स्वरुप झल्किरहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।”
पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । १ सय ४९ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।
७. चश्मा र आँखाको वार्ता – स्नेह सायमि
स्नेह सायमिको नवीनतम् कविताकृति हो, चश्मा र आँखाको वार्ता । पुस्तकमा विभिन्न छोटा आयतनका ४६ वटा कविताहरु सङ्ग्रहित छन् ।
“स्नेह सायमि कवितामात्र लेख्दैनन्, कवितामा उनेर विचार लेख्छन् । उनी सरल भाषामा ठुलाठुला सिद्धान्त वा दर्शन पनि थाहै नपाईकन पाठकको मस्तिष्कमा घुसाइदिन्छन् ।”, कृतिको भूमिकामा विधान आचार्य लेख्छन्, “कविता पढेझैँ लाग्छ, तर एउटा छोटो कविता पढिसक्दा नसक्दा टाउको झनन्न पारिदिन्छन् । अरु नै केही भन्न खोजेको जस्तो लाग्छ कविताले, तर त्यसको लक्षणा कतै अन्तै हुन्छ ।”
मूल्य २ सय ५० रहेको कविताकृतिलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










