कवितालाई विभिन्न तरिकाले अथ्र्याउने गरिन्छ । कविताका सम्बन्धमा पूर्वीय साहित्यदेखि पाश्चात्य साहित्यसम्मका विद्वानहरूले अनेकानेक विचारहरू व्यक्त गरेका छन् । कवितासम्बन्धी सग्लो परिभाषा वा विचार अहिलेसम्म भेटिएको छैन । परिभाषा नै नभएको विषयलाई परिभाषामा बाँध्नु खोज्नु किमार्थ उपयुक्त हुँदैन । तथापि कवितासम्बन्धी चिन्तनहरू समयसमयमा भएका छन् । ती विचारहरूले कवितालाई एउटा गोरेटो भने प्रदान गरेका छन् । हामी कवितालाई कुनै वाद, सिमाना र संरचनामा बाँधिएको वस्तुका रूपमा हेर्न र देख्न नचाहने समूहले एउटा अभियानै थालेको छ । कविता कविताजस्तो हुनुपर्छ भन्ने सोचका साथ, कवितालाई कविताजस्तो बनाउन कवितासम्बन्धी चिन्तन, मनन आवश्यक छ भन्ने हामीले ठानेर साहित्यकारहरुको एउटा समूहले यो अभियानको घोषणा गरेका हुन् ।
कवि गणेश श्रमणद्वारा २०७२ सालदेखि सञ्चालित कविता चिन्तन यात्राको विस्तारित रूप कविता चिन्तन अभियान रहेको अभियानले जनाएको छ ।
यसले मूलभूत रूपमा ५ वटा विचारलाई कविताको विषयवस्तु बनाएको छ । कविताको नवीन हस्तक्षेपका साथ यो अभियान थालनी गरिएको हो । कवि र कवितामाथि केन्द्रित यस अभियानले भविष्यमा कविडाँडाबाट पहिलो कार्यक्रमको सुरुवात गर्नेछ । सम्पूण किताब नारायणगढमा युवा कविहरू सुरेन्द्र अस्तफल, गणेश श्रमण , नवराज ढुङ्गाना , लेखराम सापकोटा र रामकृष्ण अनायासको बैठकले कवितामाथि वैचारिक बहस सुरु गरेको हो । पाँच जना युवा कविहरूको सहकार्यमा यो अभियान अगाडि बढ्ने र यसले आफ्ना विचारलाइै क्रमश ः सार्वजनिकीकरण गर्ने जनाइएको छ ।
अभियानका साक्ष्यहरू
१.कविता ध्यानमा लेखिने र ध्यानमा सुनिने विषय हो ।
२.कविताको शक्ति विचार हो भने कला त्यसको जोडन हो ।
३. कविता हृदयपक्ष र बुद्धिपक्षको सम्मिलन हो ।
४. कविता बहुल विचारयुक्त हुनुका साथै कविताजस्तो हुनु कविताको प्राप्ति हो ।
५. यसले कविता लेख्नु अघि मानसिक रूपमा गुज्रने प्रक्रिया र त्यससँग सम्बन्धित वातावरण निर्माणमा जोड दिन्छ ।
कविता चिन्तन अभियानको केन्द्रमा कविता र कवि रहनेछन् । कविका रचनालाई पाठकसम्म पु¥याउन यसले सहयोग गर्नेछ । यसले कलेज तथा विद्यालयका कक्षाकोठामा समेत पुगेर कवितालेखनसम्बन्धी विचार विमर्श गर्नेछ । कविहरूलाई सम्मान तथा पुरस्कृत गर्ने, कवितासम्बन्धी विचारात्मक गोष्ठीहरू गर्ने र कविहरूका कवितामाथि खरो बहस गर्नु यस अभियानको मूल उद्देश्य रहेको जनाइएको छ ।