नेपाल सरकारको एक सय पर्यटन गन्तव्यमा सुचीकृत भोजपुर र खाेटाङको सिमानामा अवस्थित मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदयात्रा आयोजना हुने भएको छ।

संयोजनकर्ताहरूका अनुसार सम्मेलन तथा पदयात्रामा नेपालका सातै प्रदेशका स्रष्टाहरूका साथै अन्तर्राष्ट्रिय स्तरका करिब एक दर्जन देशका प्रतिनिधिहरू सहभागी हुनुहुनेछ । संस्कृतिविद् डा. भक्त राईले जानकारी दिनुभयो, “मुन्दुम पदमार्ग नेपाल र पूर्वी क्षेत्रको मात्र गन्तव्य नभएकाले यसलाई विश्वमा चिनाउँदै अझ प्रचार–प्रसार गर्ने उद्देश्यका साथ सम्मेलन र यात्राको तयारी भइरहेको छ ।”

शनिबार टेम्केमैयुङ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे थप जानकारी दिइएकाे थियाे । कार्यक्रममा डा. राईले नेपालका सातै प्रदेशका साथै भारत, भुटान, जापान, कोरिया, नेदरल्याण्ड, अमेरिका लगायतका देशबाट सहभागिता रहने बताउनुभाे ।

सरकारले देशभित्र घुम्नैपर्ने पर्यटकीय स्थलको सूचीमा राखेको मुन्दुम पदमार्ग र सो क्षेत्रमा रहेका पर्यटकीय स्थल—चखेवा भञ्ज्याङ, टेम्के, मैयुङ—को प्रचारप्रसारमा यस कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने संस्कृतिविद् डा. राईको भनाइ छ।

मुन्दुम पदमार्ग खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट सुरु भएर भोजपुरको टेम्केडाँडा, चखेवाभञ्ज्याङ, धोद्रे, हाँसपोखरी, जुके, ह्लयाकुले हुँदै लाैरे, रावाधाप, साल्पापोखरी हुँदै पुनः मैयुङ, एकराते, बाघखोर हुँदै भोजपुर टक्सार एयरपोर्टसम्म पुग्छ । कुल लम्बाइ १ सय ५३ किलोमिटर रहेको यस पदमार्ग यात्रा नेपालीका लागि पाँच देखि नौ दिन र विदेशीका लागि १० देखि १५ दिनसम्म लाग्ने स्थानीयहरूको अनुमान छ । छोटो दुरीको यात्रा तीन देखि पाँच दिनमै सम्पन्न गर्न सकिन्छ।

मुन्दुम पदमार्गको आन्तरिक तथा बाह्य पर्यटनसँग जोडिएको विकासका लागि टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी), नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारले साझा प्रयास गर्दै आएकाे छ । यसमा हेल्भेटास नेपालको प्राविधिक सहयोग रहेको छ ।