झापा। सहिद दिवस २०८२ को अवसरमा साहित्य चौतारी गौरीगञ्ज, झापाले ‘सहिद’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। साहित्य चौतारी गौरीगञ्जको नवौँ शृङ्खलाअन्तर्गत आयोजित उक्त कार्यक्रम गौरीगञ्जस्थित माविको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रम प्रवेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो भने सञ्चालन अभिषेक राजवंशीले गर्नुभएको थियो। कविता वाचन कार्यक्रममा कविहरू रमेश ओझेल, श्याम न्यौपाने, प्रवेश श्रेष्ठ, अभिषेक राजवंशी, तुलसा ढकाल, आयुष गौतम र महेन्द्र ठाकुरले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी नवोदित कविहरूतर्फ नमुना अङ्ग्रेजी माध्यमिक विद्यालयका दिलसा न्यौपाने, ज्ञानोदय आवासीय माध्यमिक विद्यालयका अनुजा बास्तोला, लबिन राजवंशी र प्रसन्न खड्काले कविता वाचन गरी सहिदप्रतिको सम्मान र सम्झनालाई साहित्यिक अभिव्यक्ति दिनुभएकाे थियाे ।

सहिदहरूको बलिदान, देशप्रेम र समर्पणलाई विषयवस्तु बनाएर प्रस्तुत गरिएका कविताहरूले उपस्थित श्रोताहरूलाई भावुक बनाएको सहभागीहरूको धारणा थियो। कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक चेतना विस्तार गर्न सकारात्मक भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ।