भैरहवा । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीले आफ्नो २२औँ वार्षिकोत्सव तथा ८५औँ शहीद दिवसको अवसरमा माघ १६ गते शुक्रबार पुरस्कार समर्पण, साहित्यिक ‘सोपान’ लोकार्पण, २६५औँ मासिक सङ्गम एवं साहित्यिक गोष्ठी समारोह सम्पन्न गरेको छ।

सिसासका अध्यक्ष सरू ज्ञवालीको अध्यक्षता तथा साहित्यकार एवं समालोचक प्रा. डा. कपिल लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि डा. लामिछानेले सिसासका साहित्यिक सङ्गमहरू नियमित रूपमा भइरहेका र यसले नयाँ स्रष्टाहरूलाई साहित्य लेखनतर्फ उत्प्रेरित गरिरहेको बताउनुभयाे । यस्ता कार्यक्रमहरूले भाषा र साहित्यको विकासमा निरन्तर योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

कार्यक्रममा सिर्जनशील साहित्यिक पुरस्कार २०८२ सिसासका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरे ‘दीपशिखा’लाई प्रदान गरिएको छ। त्यस्तै, सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कार २०८२ चितवनका स्रष्टा धनराज गिरी, सिर्जनशील गङ्गा साहित्यिक पुरस्कार २०८२ मञ्जु ज्ञवाली, सिर्जनशील छविलाल साहित्यिक पुरस्कार २०८२ कृष्णप्रसाद ज्ञवाली तथा सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कार २०८२ नारद गौतमलाई नगदसहित समर्पण गरिएको थियो।

सो अवसरमा सिसासका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद भण्डारी र कमल पोख्रेल ‘निश्छल’ले पुरस्कृत साहित्यकारहरूको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्यामप्रसाद न्यौपाने, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकारहरू विजय सागर, वनमाली निराकार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

त्यसैगरी सम्मानित स्रष्टाहरू कृष्णप्रसाद ज्ञवाली, मञ्जु ज्ञवाली, धनराज गिरीसहित रमेश समर्थन, डि.आर. न्यौपाने ‘सूर्य’, कमला भण्डारी ढकाल, दुर्गा पौडेल, डा. राजेन्द्र पौडेल, डि.बी. पुन, यज्ञलाल सुवेदी, मधुसूदन पोख्रेललगायतले आ–आफ्ना साहित्यिक रचनाहरू वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रममा छवि ज्ञवालीले संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे जानकारी गराउनुभएकाे थियाे । भैरहवाका तथा आसपासका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम शहीद स्मृति पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सिर्जना खनालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे  भने सचिव रामराज गौतमले सञ्चालन गर्नुभएकाे थियाे ।