काठमाडौं। गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले यसअघि झण्डै सात वर्षअघि पनि पलेँटीको मञ्चमा छन्दकाव्य वाचन प्रस्तुत गर्नुभएकाे थियाे ।
यसपटकको पलेँटीमा अग्रज र समकालीन कविहरूका करिब डेढ दर्जन काव्यात्मक रचनाहरू समेटिएकाे थियाे । पलेँटीका बाद्यवादकहरूसहित मञ्चमा उपस्थित भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘बसन्त स्नान’ का रूपमा ग्रहण गरिदिन दर्शकसँग अनुरोध गर्नुभएकाे थियाे ।
कार्यक्रमको प्रारम्भ उहाँले
‘कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।
सदा बसन्तं हृदयारबिन्दे भवं भवानीसहितं नमामि ।।’
बोलसमेटिएको मङ्गलगानबाट गर्नुभएकाे थियाे । श्लोक वाचनका क्रममा उहाँको मुहारमा भावानुकूल करुण रसको स्निग्धता झल्किएको देखिन्थ्यो।
काव्य साहित्यप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै भूषिताले यसपालिको पलेँटीलाई नवरस केन्द्रित बनाइएको जानकारी दिनुभयाे । उहाँले ‘विभत्स’ र ‘भयानक’ रसलाई सचेत रूपमा समेटिएको छैन भन्दै ‘बसन्त स्नान’ जस्तो सुन्दर साँझमा ती रस घोल्न मन नलागेको धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रम कवि सोमनाथ शर्मा सिग्द्यालको ‘बसन्त ऋतु’ शीर्षकको कविताबाट अघि बढ्दै मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, अग्निप्रसाद शर्मा बराल र भैरव अर्याल जस्ता मूर्धन्य कविहरूका रचनाहरूमा विस्तार भएको थियो।
यसक्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराईका साथै आफ्नै सृजनाहरू पनि वाचन गर्नुभयाे । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी लोकप्रिया देवकोटाको कविता प्रस्तुत गर्दै उहाँले महिलाहरूका लागि साहित्यमा स्थापित हुनु ऐतिहासिक रूपमा कठिन रहेको सन्दर्भ उठाउनुभयाे । अङ्ग्रेज साहित्यकार भर्जिनिया वुल्फको निबन्ध उद्धृत गर्दै उहाँले ‘जुडिथ सेक्सपियर’ को उदाहरणमार्फत महिला स्रष्टाको संघर्षमाथि टिप्पणी गर्नुभयाे ।
हाँस्यरसका कवि भैरव अर्यालको कविता वाचनका क्रममा उहाँले भानुभक्त र देवकोटाको परलोक भेटसम्बन्धी सन्दर्भ रोचक शैलीमा प्रस्तुत गर्नुभयाे । सोही क्रममा भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ माथिको प्यारोडी पनि सुनाउनुभयाे ।
कार्यक्रमको अन्तिम चरणमा बाल्यकालका स्मृतिमा डुब्दै पिताजीका दुई कविता वाचन गर्दा उहाँ भावुक बन्नुभएकाे थियाे । अन्ततः स्वःरचित ‘हजुरआमालाई’ शीर्षकको कविता वाचनमा उहाँका गहहरू टिलपिलाएकाे देखिन्थे, जसको भाव दर्शकदीर्घासम्म फैलिएको अनुभूति हुन्थ्यो।
कार्यक्रमको समापन लक्ष्मीप्रसाद देवकोटाको ‘एक सुन्दरी वेश्याप्रति’ शीर्षकको कविता वाचनबाट गरिएको थियो। पञ्चचामर छन्दमा आबद्ध उक्त कविता तालमय सुनिनुका साथै भूषिताको अनुहारमा भावअनुरूप रौद्रता पनि प्रकट भएको थियो।
पलेँटीका संयोजकले भूषिताको काव्यवाचन मनमोहक मात्र नभई कविता र साहित्यप्रतिको उहाँको दृष्टिकोण र दर्शन विशेष महत्वको रहेको बताउनुभयाे । उहाँले भूषिताको काव्यात्मक अध्ययन र अन्वेषणमार्फत नेपाली समाजको विकासक्रम र इतिहाससमेत चिहाउन सकिने टिप्पणी गर्नुभयाे ।
बाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, गिटारमा विक्रम कार्की तथा प्रकसन (रिदम र इफेक्ट) मा पारसमणि सुवेदीले साथ दिनुभएकाे थियाे ।
पलेँटी प्रत्येक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो। दर्शकको मागलाई ध्यानमा राख्दै पलेँटीको पहिलो दिनको कार्यक्रम लाइभ स्ट्रिमिङ समेत गरिएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा आगामी मार्च, अप्रिल र मे महिनाको तालिका सार्वजनिक गरिएको थियो। जसअनुसार मार्चमा दुर्गा खरेलमार्फत दार्जिलिङका पुराना रचनाहरू अभिलेखीकरण गरिने, अप्रिलमा गायक पवन गोले र मे महिनामा संगीतकार रञ्जित गजमेर प्रस्तुत हुने जानकारी गराइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 






