पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समालोचक डा. ईश्वरमणि अधिकारी र गौरी तमूले कृतिमाथि समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएकाे थियाे ।
समीक्षा प्रस्तुत गर्दै डा. ईश्वरमणि अधिकारीले ‘परिधि’ले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूको मायावी केन्द्र र त्यस वरपर रहस्यपूर्ण तवरले स्वैरकाल्पनिक रंगमा पोतिएका कथा–उपकथाहरूको क्यानभास निर्माण गरेको बताउनुभयाे । बनोट, बुनोट, कथ्यको प्रयोग र शैलीका हिसाबले ‘परिधि’ उमा सुवेदीका अघिल्ला उपन्यासहरूमध्ये धेरै अर्थमा उत्कृष्ट रहेको उहाँको टिप्पणी थियो।
कृतिले मान्छेको मन, मस्तिष्क र चेतनाको गहिरो तहलाई उजागर गर्न खोजेको उल्लेख गर्दै डा. अधिकारीले पात्रहरूको भोगाइ र सोचाइ आम मानिसभन्दा भिन्न भएकाले उपन्यासमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरू जीवन्त बनेको बताउनुभयाे । कृति पढ्दा थ्रीलर र सस्पेन्स शैलीको दक्षिण भारतीय चलचित्र हेरेजस्तै रोमान्चक अनुभूति हुने उहाँले बताउनुभयाे । यद्यपि, दीर्घकालसम्म सम्झिने विषयको अभाव र अत्यधिक विषाद तथा दुःखी पात्रहरूको केन्द्रीयताप्रति उहाँले गुनासो पनि व्यक्त गर्नुभयाे ।
अर्की समीक्षक गौरी तमूले ‘परिधि’ले नारी जीवनका विविध पाटाहरूलाई प्रभावकारी रूपमा समेटेको बताउनुभयाे । उपन्यासले नारी अनुभव, पीडा र चेतनाका तहहरूलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरेको उहाँको धारणा थियो।
कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘परिधि’को रचना गर्भबारे जानकारी गराउँदै पोखराको ऐतिहासिक साहित्यिक संस्थाको ब्यानरमा आफ्नो कृतिमाथि परिचर्चा हुन पाउँदा खुसी व्यक्त गर्नुभयाे । उहाँले आगामी दिनमा अझ जिम्मेवार भएर साहित्य सेवामा लाग्ने प्रतिबद्धता जनाउनुभयाे ।
प्रमुख अतिथि साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध चरण र मोडहरूबारे चर्चा गर्दै मायिक यथार्थवाद र स्वैरकाल्पनिक लेखनका सौन्दर्य तथा चुनौतीमाथि प्रकाश पार्नुभयाे । साथै, समकालीन नेपाली आख्यानका आयामहरूमाथि उहाँले विचार व्यक्त गर्नुभयाे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन सचिव एम.डी. काफ्लेले गर्नुभएकाे थियाे । कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष साहित्यकार रिता अधिकारी ‘ऋतु’को अध्यक्षतामा सम्पन्न भएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 




