काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन उद्देश्यसहित स्थापना गरिएको खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८२ पुस १२ गते काठमाडौँमा आयोजित समारोहका बीच अर्पण गरिएको छ । हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीको पहलमा स्थापित उक्त पुरस्कार विद्यालय तहका विद्यार्थीलाई हास्यव्यङ्ग्य लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले प्रदान गरिँदै आएको हो ।
‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता–२०८२’ अन्तर्गत देशभरका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनपछि पुरस्कार प्रदान गरिएको हो । मूल्याङ्कन समिति हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहेको थियो ।
प्रतियोगितामा काभ्रे इङ्लिश मिडियम स्कुल, पनौतीकी छात्रा कुसुम घिमिरे प्रथम भई २० हजार रुपैयाँ नगद र सम्मानपत्रबाट पुरस्कृत हुनुभयाे । डियरवाक सिफल स्कुल, काठमाडौँका छात्र साइमन घिमिरे द्वितीय भई १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्राप्त गर्नुभयाे । त्यस्तै, डियरवाक सिफल स्कुलकी अनुश्री आचार्य र भोजपुरको सिद्धेश्वर माध्यमिक विद्यालयकी विनिता प्रधान तृतीय भई जनही पाँच हजार रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मानित हुनुभयाे।
बाङ्गा अक्षर नेपाल शाखाका सह–संयोजक डिल्लीप्रसाद मूलतिहूनको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि फित्कौली डटकमका प्रधान सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल रहनुभएकाे थियाे । कार्यक्रममा प्राज्ञ श्याम तमोट, हास्य कलाकार मनोज गजुरेल र सुवोध गौतम, डा. टीका लम्साल, चण्डी कार्कीलगायतको उपस्थिति थियो ।
समारोहमा पुरस्कृत विद्यार्थीहरूले आफ्ना निबन्ध वाचन गर्नुभएकाे थियाे भने हास्य कलाकारहरूका प्रस्तुतिले कार्यक्रम हाँसोमय बनेको थियो । प्रमुख अतिथि लुइँटेलले खाइराइड हास्यव्यङ्ग्य पुरस्कारले नेपाली हास्यव्यङ्ग्य साहित्यको पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ पुष २०८२, आईतवार 




