पनौती, काभ्रे। साहित्य, पर्यटन र सहकारी एक–आपसमा गहिरो रूपमा जोडिएका विषय भएको निष्कर्षसहित ‘साहित्यसँग सहकारी र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पनौतीमा सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले साहित्यले पर्यटन प्रवर्द्धनमा र सहकारीले साहित्यिक तथा सांस्कृतिक गतिविधिको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयाे  । पत्रकार राजेश खनालको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम,  साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार तथा पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटाले कार्यपत्रसहित धारणा राख्नुभएकाे थियाे  ।

समालोचक प्रा.डा. गौतमले सामूहिक भावनाबाट जन्मिएको सहकारीले आर्थिक कारोबारसँगै साहित्यिक सेवामा पनि योगदान दिन सक्ने उल्लेख गर्दै साहित्य संस्थागत प्रचार–प्रसारको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयाे  । सहकारीले केवल आर्थिक नाफा होइन, सांस्कृतिक जिम्मेवारी पनि वहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यको विकासमा सहकारीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका ऐतिहासिक र व्यवहारिक दुवै रूपमा महत्वपूर्ण रहेको बताउनुभयाे । उहाँले साहित्य, पर्यटन र सहकारीलाई एकीकृत ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयाे  ।

साहित्यकार तथा पर्यटन व्यवसायी प्रदीप सापकोटाले साहित्यले गन्तव्यको पहिचान निर्माण गर्न मद्दत गर्ने उल्लेख गर्दै पर्यटन विकासका लागि साहित्यिक पहल आवश्यक रहेको बताउनुभयाे  । सहकारीकर्मी श्यामहरि सापकोटाले साहित्य र पर्यटन प्रवर्द्धनमा सहकारीको भूमिका अहं रहेको बताउँदै जनमैत्री साकोसले साहित्यिक गतिविधिमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयाे  ।

कार्यक्रममा कविहरू पवन आलोक, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रदीप सापकोटा, मधु पाठक, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ, लोकनाथ सापकोटा, रामसुन्दर देउजालगायतले आ–आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे  । शंकर भारती र बालकृष्ण तामाङले पनि विचार व्यक्त गर्नुभएकाे  थियाे  ।

रामचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमैत्री साकोसका उपाध्यक्षले यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे  । श्यामहरि सापकोटाको स्वागत मन्तव्य तथा कोषाध्यक्ष तीर्थराज सापकोटाको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा प्रमुख व्यवस्थापक बेदप्रसादले सहकारीको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमको औचित्यमाथि सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले प्रकाश पार्नुभएकाे थियाे  ।