माटोको माया – बुद्धदेवप्रसाद घिमिरे

लेखक बुद्धदेवप्रसाद घिमिरेको उपन्यास हो ‘माटोको माया’ । लेखकले उपन्यासमा पूर्वी नेपालको भोजपुर धनकुटा र झापाको परिवेश, तात्कालिन समाजको प्रतिबिम्ब सात सालको क्रान्तिलाई समेटनुभएको छ ।
”यसमा एउटा समर्पित कृषकको आदर्श चरित्र व्यक्त भएको छ।”  पुस्तकमा प्रा. डा कुमारप्रसाद कोइराला लेख्नुहुन्छ, ”यसमा कर्मवादी दर्शन छ र त्यो माटाको मायासँग मिसिएर आएको छ। मायाभन्दा कर्म र उद्योग ठूलो हुन्छ । कर्म र बुद्धिलाई अघि र भाग्य र मनलाई पछि लगाउनुपर्छ । कर्मले धन कमाउँछ, धनले बाटो बताउँछ, त्यो बाटोमा हिँड्न जान्नु र सक्नुपर्छ । मानिसको अस्तित्व मातृभूमिसँग, मातापिता र वंशपरम्परासँग जोडिएको हुन्छ । यही विशाल जालोमा मान्छे आफ्नो एक्लो अस्तित्व खोज्छ, जीवन खोज्छ, भविष्य खोज्छ । यही खोजिएको अस्तित्व नै मान्छेको जीवन हो भन्ने विचार यसमा व्यक्त भएको छ। विक्रमका सन्तान देशविदेश जताततै फैलिएका छन् । आज सञ्चारको तीव्र विकासले गर्दा विश्व सानो गाउँजस्तो भएको छ। उसका सन्तानले अमेरिका, बेलायत आउने सन्देश पठाउँछन्, तर ऊ कहीं जाँदैन। उसका लागि स्वदेश नै परमप्रिय छ। ऊ यसैलाई माया गरिरहन्छ । यसरी यस उपन्यासमा स्वदेश प्रेमको निर्मल गङ्गा बहेको देखिन्छ । वर्णनात्मक शैलीमा लेखिएको, कतै नअड्किई सरासर पढ्न सकिने, प्रवाहमय भाषाको प्रयोग गरिएको यो उपन्यास पठनीय छ ।”

त्यसैगरी पुस्तकमा लेखक बुद्धदेवप्रसाद लेख्नुहुन्छ, ”उपन्यास लेखाइको दृष्टिले ‘माटाको माया’ दोस्रो हो । यो कृति लेखेको पनि दश-बाह्र वर्ष भइसकेछ। हाम्रा छोरा आशिष र बुहारी श्रद्धा अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसनजिकको कोल्टन सिटीको एउटा एपार्टमेन्टमा बसी आफ्नो व्यवसायमा संलग्न थिए। हामी (म र अर्धागिनी कुसुम) २०७१ माघदेखि २०७२ कात्तिकसम्म त्यहाँ बस्यौं । छोरा-बुहारी दिउँसो काममा जान्थे। हामी दुईजना नाति आयानको हेरविचार र खानपिनको सुसे धन्दामा व्यस्त हुन्थ्यौं। तर पनि केही समय उब्रिन्थ्यो । हामी बसेको एपार्टमेन्ट परिसरमा पौडी खेल्ने पोखरी, हल, दुईचार हजार थान किताब भएको पुस्तकालय, एपार्टमेन्ट सञ्चालकको अफिस कोठा थिए । सञ्चालकको कोठानजिक १५-२० वटा बेन्च भएको बैठक कक्ष पनि थियो । म दैनिक दुईतीन घन्टा त्त्यही पुस्तकालयमा बसेर किताब पढ्ने गर्थे ।”

पुस्तकलाई कुशुम शर्मा घिमिरेले प्रकाशन गर्नुभएको छ । एक सय ६९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।