काठमाडौं । लामो समय अमेरिकामा बसेर नेपाल फर्किनुभएकाे पूर्व पर्यटन व्यवसायी केनी पाण्डेद्वारा लिखित अंग्रेजी उपन्यास ‘डिसेप्सन’ शनिबार सार्वजनिक गरिएको छ। चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपन्यासको आवरण अनावरण गर्दै कृतिको औपचारिक प्रकाशन घोषणा गर्नुभएकाे हाे ।
कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसीले डिभी परेर अमेरिका पुगेका एक युवाको संघर्षपूर्ण जीवनकथालाई आकर्षक ढंगबाट प्रस्तुत गरिएको ‘डिसेप्सन’ पाठकलाई नयाँ दृष्टिकोण दिने कृति भएको टिप्पणी गर्नुभयाे। समालोचक बन्धु कोइरालाले दर्जनौँ पुस्तक एकातिर राख्दा पाण्डेको कृति अर्को तौलमा रहने खालको प्रभावकारी उपन्यास भएको धारणा व्यक्त गर्नुभयाे ।
लेखक केनी पाण्डेले उपन्यासमा प्रस्तुत अधिकांश घटनाहरू वास्तविक जीवनका अनुभवहरूमा आधारित रहेको बताउनुभयाे । उहाँले अमेरिकामा आफ्नो कार्यस्थलमा रहेकाे एक श्रीलंकाली युवकको पीडा र संघर्षलाई कथानकको केन्द्रमा राखेर कृति तयार पारेको जानकारी दिनुभयाे। आगामी दिनमा आफूले तयार पारेका अन्य उपन्यासका प्लटहरू क्रमशः सार्वजनिक गर्दै जाने योजनासमेत उहाँले साझा गर्नुभयाे ।
साहित्यपोस्टद्वारा प्रकाशित ‘डिसेप्सन’ अंग्रेजी भाषा पढ्न रुचाउने नेपाली तथा वैदेशिक पाठकका लागि विशेष रूपमा रोचक र सुसम्बद्ध कृति हुने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभयाे । उहाँले साहित्यपोस्टले पुस्तक प्रकाशनसँगै अडियोबुक, इबुक र अन्य माध्यममार्फत संसारभरिका नेपालीलाई साहित्यसँग जोड्दै आएको जानकारी पनि दिनुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
६ मंसिर २०८२, शनिबार 




