उदयपुर । लघुकथा प्रतिष्ठान, नेपालले  लघुकथाकार लता केसीलाई ‘लघुकथा अभिभावक’ उपाधिबाट सम्मान गर्ने भएको छ।

प्रतिष्ठानले मङ्सिर १ गते जारी विज्ञप्तिमा नेपाली लघुकथाको विकास, विस्तार र सैद्धान्तिक उन्नतिमा केसीले पुर्‍याउनुभएको योगदानका आधारमा यो उपाधि प्रदान गर्न लागिएको जनाएको छ।

प्रतिष्ठानका अनुसार केसीले लघुकथालाई साधारण अनुच्छेदिक संरचनाबाट उकाली लैजाँदै “मनको चाल, समाजको प्रतिविम्ब र सत्यको सर्वनाम” बन्न मद्दत गरेकाे छ । संस्थापक लक्ष्मी रिजाल र सन्दर्भ लघुकथा प्रधान पत्रिकाका प्रधान सम्पादक अक्षान्तले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा केसीको समर्पण, मौन साहित्यसेवा र निरन्तरताले आधुनिक लघुकथालाई “उत्तरदायित्वको उज्यालो” देखाएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “लघुकथा बाँचिन्छ, बोलिन्छ, रहन्छ; र त्यसलाई सम्हाल्नेहरू युगका उज्यालो हुन्।” केसीका लेखनमा ‘कलमको उपहार’, ‘कलमको अनुशासन’ र ‘कलमको संस्कार’ जस्ता तीन आधारभूत गुण देखिने प्रतिष्ठानको मूल्याङ्कन छ। कठोर बहसका अवस्थामा पनि नडगमगाई अघि बढ्ने र अँध्यारामा पनि अर्थपूर्ण संकेत पहिचान गर्ने क्षमताका कारण केसी नयाँ तथा पुराना दुवै पुस्ताका लागि प्रेरणाका स्रोत मानिनुहुन्छ ।

प्रतिष्ठानले उपाधिलाई सम्मान मात्र नभई ‘वर्तमान र भविष्यबीचको सुक्तिमय सन्धि’ का रूपमा व्याख्या गर्दै केसीको योगदानले नयाँ पुस्ताको सिर्जनात्मक यात्रामा सुदृढता थप्ने विश्वास व्यक्त गरेको छ।
प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सवलाई ‘समर्पण, सामूहिकता र सिर्जनशील जिम्मेवारीको दीपज्वाला’का रुपमा मनाउने जनाएको छ।