काठमाडौं । कथाकार होमशङ्कर बास्तोलाको नवीनतम कथासङ्ग्रह ‘रगतको मूल्य’ राजधानीमा लोकार्पण गरिएको छ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, समालोचक आर.एम. डंगोल, समीक्षक प्रदीप सापकोटा र कथाकार स्वयं बास्तोलाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले कथा जीवनको अनिवार्य अंश भएको उल्लेख गर्दै भन्नुभयाे, “कथा नहुने मानिस यो संसारमा छैन। कुरा के हो भने, त्यो कथालाई कसरी प्रस्तुत गरिन्छ भन्ने मात्र हो।” उहाँले बास्तोलामा पाठकलाई अनुभूत गराउने र द्रवित पार्ने क्षमता रहेको भन्दै उहाँलाई सक्षम कथाकारका रूपमा प्रशंसा गर्नुभयाे।

समालोचक आर.एम. डंगोलले ‘रगतको मूल्य’ लाई यथार्थपरक सामाजिक कथासङ्ग्रहका रूपमा वर्णन गर्नुभयाे । उहाँका अनुसार पुस्तकका अधिकांश कथा समाजकै वास्तविकताबाट निस्केका छन् र ती कथा सहज, स्वाभाविक र समयसापेक्ष छन्। उहाँले भन्नुभयाे, “कथाकार बास्तोला मैनालीकै कथा–परम्पराको रेखामा उभिएका छन्। उनले कार्यथलोमा भेटिएका पात्र र परिवेशलाई कलात्मक रूपमा कथामा उतारेका छन्।”

समीक्षक प्रदीप सापकोटाले सङ्ग्रहमा १९ वटा लघु र मध्यम आयामका कथा रहेको जानकारी दिँदै भन्नुभयाे, “यी कथाहरू सत्यका नजिक छन्, सामाजिक परिवेशमा आधारित छन्, र पात्रहरू हाम्रो वरिपरिका जीवन्त मान्छेहरू जस्ता लाग्छन्।” उहाँका अनुसार, कथाकारले स्थानीय बोली, परिवेश र चरित्रको प्रयोगले कथा सजीव बनाउन सफल हुनुभएकाे छ।

कार्यक्रममा लेखक होमशङ्कर बास्तोलाले रचना प्रक्रियाबारे बोल्दै समाजका हर्ष, पीडा, प्रेम, विकृति र विसङ्गतिबाट प्रेरित भएर कथा लेखेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “मेरा कथा समाजकै भाव र व्यवहारका साक्षी हुन्।”

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साझा प्रकाशनका भेषराज घिमिरे, साहित्यकार बोधराज पौडेललगायतका वक्ताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।