मोरङ । मोरङको सुन्दरहरैँचामा कोसी साहित्य–कला परिषद् नेपालको संयोजनमा स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विशेष रूपमा गजलकार तथा गायक राज यात्री लम्सालको स्वागतार्थ आयोजना गरिएको सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष एवम्  कवि डा. छवि वैरागी घिमिरेले जानकारी दिनुभयाे । लम्साल चाडपर्व मनाउन गृहनगर आउनुभएकाे अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो।

२०७२ सालमा ‘मेरो यात्रा’ गीत÷गजल एल्बम प्रकाशनमा ल्याउनुभएकाे लम्सालले २०६४ सालमा ‘विम्ब (भाग–२)’ संयुक्त एल्बम प्रकाशित गर्नुभएकाे थियाे । विभिन्न पत्रपत्रिकामा उहाँका फुटकर रचनाहरू प्रकाशित हुँदै आएका छन्। हाल उहाँ सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य, कोसी प्रदेश इन्चार्ज, तथा साहित्यपोस्ट युएई संयोजकका रूपमा पनि सक्रिय हुनुहुन्छ ।

संगीत क्षेत्रमा समेत सक्रिय लम्सालले ग्लोरी भ्वाइस आइकन अनलाइन गायन प्रतियोगिता (२०७४) मा तृतीय स्थान, विश्वव्यापी गजल प्रतियोगिता (२०७५) मा तृतीय स्थान र पाँचथर गजल मञ्चद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगिता (२०७५) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएकाे छ ।

सुन्दरहरैँचा–८, सलकपुरका स्थायी बासिन्दा लम्साल हाल रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (UAE) मा हुनुहुन्छ । कार्यक्रममा उहाँले करिब एक दर्जन गीत तथा गजल वाचन गर्नुभएकाे थियाे । उहाँलाई कलाकार पुण्यप्रसाद सङ्ग्रौला, भूमा अधिकारी, शर्मिला सिग्देल, लीला सङ्ग्रौला र आइतराज लिम्बूले साथ दिनुभएकाे थियाे ।

कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, डा. छवि वैरागी घिमिरे, लेखक तथा अनुसन्धानकर्ता केशु विरही,  सामाजिक व्यक्तित्व तारा घिमिरे, र युवराज ठकुरी, गीताप्रसाद श्रेष्ठ,  वासु अधिकारी, सुन्दर भट्ट, एकराज भट्टराई र मनोज कार्की लगायतको उपस्थिति रहेको थियो।

पुरन याक्खा, रमेश निरौला, सिजन श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।

कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीका अनुसार यो कार्यक्रम संस्थाको तेस्रो शृङ्खला हो। यसअघि यस्तै कार्यक्रम रङ्गेलीमा चिरञ्जीवी काफ्ले र बेलबारीमा नवराज पोखरेल ‘नवशिला’को घरमा सम्पन्न गरिएको थियो। उहाँका अनुसार, “घरमै पुगेर यस्ता कार्यक्रम गर्दा स्रष्टासँगको आत्मीयता बढ्ने, अन्तरङ्ग छलफल हुने र नयाँ–नयाँ साहित्यिक स्वाद चाख्न पाइने भएकाले यो प्रयास निकै सार्थक भएको छ।”