काठमाडौं । नेपालयको लोकप्रिय साङ्गीतिक श्रृंखला पलेँटी यसपटक गायिका ज्ञानु राणाको प्रस्तुतिले रंगिने भएको छ। आगामी शुक्रबार र शनिबार (अक्टोबर ३१ र नोभेम्बर १) का दिन नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने कार्यक्रमले नेपाली संगीतको स्वर्णिमकाललाई सम्झाउने बताइएको छ।
यसपटकको पलेँटी स्वर्गीय लोकगायक धर्मराज थापाको स्मृतिमा समर्पित हुनेछ। ज्ञानु राणा थापाकी सुपुत्री हुन्, र उहाँ आफ्ना सुपुत्र विकाश जङ्ग राणासँगै कार्यक्रममा सहभागी हुँदै तीन पुस्ताको साङ्गीतिक संगम प्रस्तुत गर्नुहुनेछ। विकाश जङ्गले थापाका लोकप्रिय गीतहरू प्रस्तुत गर्नुहुनेछ।
ज्ञानु राणाले गाउनुभएकाे ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ (नारायण गोपालसँग), तथा गोपाल योञ्जनको तामाङसेलो ‘च्याङ्बा होए च्याङ्बा’ जस्ता गीतहरू अहिले पनि नेपाली संगीतप्रेमीका प्रिय बनेका छन्। पलेँटी मा उहाँकाे युगल गीतहरूमा गायक रुपक चौधरीले साथ दिनुहुनेछ।
कार्यक्रम संयोजक आभासका अनुसार, “ज्ञानु दिदी नेपाली लोक र आधुनिक गायनकी दोभान हुन्। यो पलेँटीले पुरानो पुस्तालाई स्मृतिमा फर्काउनेछ र नयाँ पुस्तालाई लोकप्रियताको मौलिक स्वाद दिनेछ।”
कार्यक्रममा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, ‘साइँली रिमै चौँरी गाई’, ‘हरियो डाँडामाथि’ लगायत करिब डेढ दर्जन गीत प्रस्तुत गरिनेछ।
१४ वर्षको उमेरदेखि गायन यात्रामा लाग्नुभएकाे ज्ञानु राणा भावुक हुँदै भन्नुहुन्छ “बुवाले हात समातेर रेडियो नेपाल पुर्याएको हिजो जस्तो लाग्छ। गीत गाइरहँदा जीवन बित्यो, माया दिने श्रोतालाई धन्यवाद छ।”
पलेँटी कार्यक्रम २० वर्षअघि सुरु भएको हो। यसपटकदेखि आयोजकले नयाँ ‘पे–पर–भ्यू’ प्रणाली सुरु गरेका छन्, जसअन्तर्गत विदेश वा देशभित्रका दर्शकले अनलाइनबाटै निश्चित शुल्क तिरेर प्रत्यक्ष लाइभ हेर्न सक्नुहुनेछ। टिकट र ‘लाइभ स्ट्रिम’को विवरण www.paleti.com.np मा उपलब्ध छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ कार्तिक २०८२, मंगलवार 




