काठमाडौं । नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक विधामा आधारित सङ्गीत एल्बम सार्वजनिक गरिएको छ। ‘मुक्तक’ नामक एल्बम सोमबार राजधानी काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
मुक्तककार रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका दुई/दुई वटा मुक्तकमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत र स्वर दिनुभएकाे छ।
कार्यक्रममा छन्द सारथि रमेश खकुरेल, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्रा. डा. देवी नेपाल, सङ्गीतकार, गायक कन्हैया सिंह परियार, र स्रष्टाका अभिभावक मीरा कणेल, लक्ष्मीभक्त कणेल र बद्रीप्रसाद ओझाले संयुक्त रूपमा एल्बम सार्वजनिक गर्नुभएकाे थियाे ।
प्रा. डा. देवी नेपालले मुक्तक छोटो तर विशिष्ट र चमत्कारिक अभिव्यक्ति दिने विधा भएको भन्दै पहिलो पटक यसलाई सङ्गीत एल्बमको रूप दिनु सिर्जनात्मक नवीनता भएको टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे , “गजलको शास्त्रीय परम्परालाई जस्तै मुक्तकको परम्परालाई पनि निरन्तरता दिइनु साहित्य र सङ्गीत दुवैका लागि महत्वपूर्ण कदम हो।”
मुक्तककार घनेन्द्र ओझाले संस्कृतको चतुष्पदी र फारसीको रुवाई बाट प्रेरित भई मुक्तक विधा विकसित भएको उल्लेख गर्दै, “हामीले शास्त्रीय छन्द र फारसी बहरसँग मेल खाइने गरी मुक्तकहरू सिर्जना गरेका हौँ,” बताउनुभयाे।
उहाँकाे अनुसार एल्बममा समावेश मुक्तकहरू भुजङ्गप्रयात्, स्रग्विणी, दिक्पाल, पञ्चचामर र विधाता छन्दमा रचिएका छन्, जसका फारसी समकक्ष मुतकारिब मुसम्मन सालिम, मुतदारिक मुसम्मन सालिम, मुजारे मुसम्मन अखरब, हजज मुसम्मन मकबुज र हजज मुसम्मन सालिम हुन्।
कार्यक्रममा सन्तोष श्रेष्ठले एल्बमका सबै छ वटा मुक्तक प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुभएकाे थियाे । उहाँलाई बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिनुभएकाे थियाे।
उक्त कार्यक्रमको आयोजना दियालो साहित्य सरगमले गरेको थियो भने सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 




